सरकारी अस्पतालको व्यवस्थापनमा समस्या - यसरी सुधार्न सकिन्छ अस्पताललाई
सरकारीे अस्पतालको व्यवस्थापनमा समस्या
डा. बच्चुकैलाश कैनी
दुर्गम जिल्लाका अस्पतालहरुमा डाक्टर छैनन् । लासको पोष्टमार्टम गर्न नसकेर लास गन्हाई सक्यो । फलानो अस्पताल फोहोर र दुर्गन्धित छ । यो अस्पतालमा एक्सरे मेसिन बिग्रेको छ, त्यो अस्पतालमा एक्सरे गर्ने मानिस नै छैन । फलानो अस्पतालमा भर्ना गर्ने वेड नै छैन । फलानो रोग नेपालमा उपचार हुन नसकी निको पार्न विदेश लैजान पर्ने भयो । आजकल अस्पतालसँग सम्बन्धित यस्ता समस्याहरु दिनहुँ जसो सबैले भोग्नु पर्ने साझा समस्याको रुपमा देखा परेका छन् । सडकदेखि संसदसम्म, सर्वसाधारण नागरिकदेखि सभासदसम्मका सबै मानिसको मुखबाट अस्पतालहरुको बिग्रँदो स्थितिको वस्तुस्थिति सम्बन्धित निकायमा जगजाहेर नभएको पनि होइन । तर, समस्या दिन प्रतिदिन घट्नुको सट्टा बढ्दै गइरहेको छ ।
समस्याको समाधानको लागि सरकारी स्तरबाट प्रयास नगरिएका पनि हैनन्, समस्याको थुप्रोमा सीमित श्रोत र साधनको परिचालनबाट गरिएका यस्ता प्रयासहरु फिक्का र अप्रभावकारी देखिएका छन् ।
कुनै पनि संस्था वा निकायको संचालन र विकासमा व्यवस्थापन वा प्रशासनको ज्यादै महत्वपूर्ण भूमिका हुन्छ । अझ अस्पताल जस्तो अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको खाँचो पर्ने संस्थामा व्यवस्थापनको अत्यन्तै ठूलो भूमिका हुन्छ । कुचिकारदेखि विशेषज्ञसम्म, विरामीदेखि अभिभावकरकुरुवासम्म, सानो सिरिञ्जदेखि अत्याधुनिक सुविधायुक्त उपकरण सम्मको कुशल परिचालनमा व्यवस्थापनले सानो त्रुटि मात्र गरेमा मानिसको ज्यान समेत जान सक्छ र त्यसको परिणाम गम्भिर हुन्छ । वर्षको तीन सय पैंसठ्ठी नै दिन र चौविसै घण्टा सेवा संचालन गरी बिरामीलाई नयाँ जीवन दिन तत्पर हुनु पर्ने संस्थामा विभिन्न व्याक्ति र शाखा-उपशाखाहरु विच समन्वय र नीति तथा योजनाको कार्यान्वयन पक्ष फितलो भएमा लक्ष्य प्राप्ति हुन सक्दैन र आम जनतावीच संस्थाको छवि बिग्रदै गई विश्वासनियतामा समेत प्रश्न चिन्ह उठ्छ ।
एउटा विरामी आˆनो घर-परिवार, साथी-भाई, इष्टमित्र, कार्यालय समग्रमा आफूले व्यथित गर्ने सम्पूर्ण जीवन शैली र वातवरण परित्याग गरी अस्पतालमा स्वास्थ्य सुधारका लागि आउँछ । बिरामी र बिरामीको परिवारको सोचाई, इच्छा र आकांक्षा नै चाँडो भन्दा चाँडो बिरामीको स्वास्थ्यमा सुधार हुनका लागि राम्रो हेरचाह, उपयुक्त वातावरण र सही परामर्श पाउनु हो । यस प्रकारको सोचाइलाई साकार पार्नका लागि प्रशासनीक कर्मचारी, मेडिकल तथा पारा-मेडिकल कर्मचारीहरुको एउटै लक्ष्य तथा उद्देश्य विरामीलाई स्तरीय एवं उपयुक्त सेवा प्रदान गर्ने हुनु पर्दछ ।
अस्पतालले मानिसको पींडा, बेदना, खुशी, जीवन र मृत्युसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्दछ । मानिस जन्मेदेखि मृत्यु पर्यन्त हरेक रोगसँग लड्नका लागि अस्पतालको सहारा चाहिन्छ । आधुनिक विज्ञान र प्रविधिको एक उत्कृष्ट नमुना हो – अस्पताल र चिकित्सा पद्दती । यस प्रकारको विज्ञान र प्रविधियुक्त थलोको संचालनमा खट्ने प्रशासनिक कर्मचारीहरुमा समेत सीप, ज्ञान, दक्षता, सुझ-बुझ र योग्यताको सम्मिश्रण हुनु अपरिहार्य छ । टिकट काउण्टरदेखि परीक्षण गर्ने व्याक्तिहरुले विरामीको मन जित्ने खालको व्यवहार प्रदर्शन गर्न सकेमा विरामीको मनोविज्ञानमा सकारात्मक छाप पर्छ । कतिपय रोगहरु निको पार्न मनोविज्ञानको गहन भूमिका हुन्छ । प्रायः अस्पतालमा कार्यरत प्रशासनीक कर्मचारीहरुले केवल विद्यालय, क्याम्पसको औपचारिक शिक्षा बाहेक अन्य कुनै पनि तालिम वा विशेष सीप, ज्ञान हासिल गर्ने मौका पाएका हुँदैनन् ।
फलस्वरुप न त उनीहरुलाई विरामीसँग गर्ने व्यवहारको बारेमा जानकारी हुन्छ, न त अस्पतालको कुशल व्यवस्थापनको बारेमा थप कुनै ज्ञान नै हुन्छ । अस्पतालको सर-सफाई, खाना व्यवस्था, सुरक्षा, सवारी, खरीद, मर्मत सम्भार, जनसम्पर्क, आर्थिक प्रशासन, राजश्व, आम्दानी, खर्च आदि जस्तो महत्वपूर्ण कार्यमा प्रशासनीक कर्मचारीहरुको संलग्नता हुने र प्रशासनीक कर्मचारीहरुलाई सेवा अवधिभर सीप, दक्षता, कार्य कुशलता, अभिवृद्धि गर्ने तालिम, अध्ययन आदिको अवसरबाट वञ्चित गर्नु वा नगण्य मात्रामा प्रदान गर्नुले अस्पताल व्यवस्थापनमा थप चुनौतीहरु देखा परेका छन् ।
सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरु अनिवार्य रुपमा दुर्गम क्षेत्रमा गई कार्य गर्नु पर्ने र दुर्गम क्षेत्रमा गई काम गरेका चिकित्सकहरुलाई तालीम, अध्ययनका लागि छनौट गर्न प्राथमिकता दिने र पदोन्नतीको अवसर दिलाउने गरी स्वास्थ्य सेवा ऐन र नियमावलीमा गरिएका व्यवस्थाहरु प्रशंसनीय भएता पनि जवसम्म यसको कार्यान्वयन पक्ष बलियो र प्रभावकारी हुँदैन तवसम्म यसको परिणाम रार्मो आउने कुन भरोसा छैन ।
यस ऐनको सफल कार्यान्वयनका लागि जिम्मेवार तहमा बसेका उच्च पदस्थ कर्मचारीहरु देखि ऐन अन्तर्गत पर्ने सम्पूर्ण कर्मचारीहरु पनि त्यत्तिकै दृढ र जिम्मेवार बनी आम नागरिकका लागि सुलभ र स्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन तन र मनले समेत तयारी हुनु आवश्यक छ । चाकडी र चाप्लुसीका भरमा राजधानीमा मात्र केन्दि्रत हुने प्रवृत्ति पुनः दोहोरिएमा यस ऐनको मर्ममा आँच पुग्ने निश्चित छ र एक पटक आम नेपाली नागरिकले आˆनो भाग्यलाई दोष दिई शासक वर्गलाई सराप्ने छन् ।
भनाई र गराइमा फरक- फरक व्यवहार देखाउने हाम्रो मनोवृत्ति तथा आचारणलाई त्याग्न नसकेमा सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा पुयाउने नारा केवल लेखाइमा मात्र सीमित हुनेछ र वर्षौ देखि नेपाली जनताले भोग्दै आएको पींडा जस्ताको तस्तै रहनेछ ।
सरकारी अस्पतालहरुको एक पटक भ्रमण गर्ने जो सुकैले पनि त्यहाँको व्यवस्थापन पक्षको सहजै अनुमान लगाउन सक्दछ । अझ उपत्यका बाहिरका जिल्ला अस्पतालहरुमा पुग्ने मानिसले व्यवस्थापनको विग्रदोे दुर्दशा देख्नु कुनै नौलो अनुभूति नै हुँदैन । जो मानिसले जुन ठाउँलाई वर्षौ देखि त्यस्तै देखेको छ, उसले त्यो ठाउँमा नयां अनुभूति कसरी गर्न सक्छ ? एउटा अस्पताल निर्माण गर्नका लागि लाखौं, करौडौ रुपैंया लगानी गर्नु पर्दछ, त्यसरी नै अस्पताल उपकरण र पूर्वाधारहरुको मर्मत-सम्भार पनि त्यत्तिकै खर्चिलो र महंगो हुन्छ । अस्पतालमा कुनै उपकरण विग्रेमा त्यसको मर्मत-सम्भार कार्य अत्यन्तै जटिल छ ।
चिकित्सा पद्धतीको लागि आवश्यक कुनैपनि उपकरण नेपालमा निर्माण नहुनु, विदेशी प्रविधिको महँगो उपकरण धेरै धनराशी खर्च गरी स्वदेश भित्राउनु पर्ने, उपकरण संचालनका लागि दक्ष प्राविधिक जनशक्ति नेपालमा नहुनु, कथंकदाचित कुनै उपकरण विग्रेमा त्यसको मर्मत-सम्भारका लागि योग्य प्राविधिक नेपालमा नहुनु आदि जस्ता समस्याहरु हाम्रो गरिवी र पछौटेपनाले उब्जेका हुन् । दातृ संस्था र दातृ राष्ट्रबाट बेला बेलामा प्राप्त हुने उपकरणहरु र सरकारले खरीद गरी अस्पतालमा जडान गरेका उपकरणहरु एक पटक विग्रेपछि त्यसै थन्केर बसेका प्रशस्त उदाहरणहरु हामीले देखेका छौं ।
देशमा उपकरण संचालन र मर्मत-सम्भारका लागि प्राविधिक जनशक्ति नहुनु र अस्पताल व्यवस्थापनले विविध कारणवस समयमा नै यस तर्फ पहल गर्न नसक्नुले हाम्रो सरकारी प्रयासलाई चुनौती दिएका छन् । एउटा सानो उपकरण मर्मत-सम्भार गर्नका लागि धेरै प्रकि्रयाहरु पुरा गर्नु पर्ने हुन्छ, जुन समयसम्म उपकरण प्रयोग गर्न सकिंदैन र विरामीको रोगको पहिचान, परीक्षण एवं निदान गर्न सकिंदैन । फलस्वरुप यसको प्रत्यक्ष पींडा विरामीले भोग्न बाध्य हुनु पर्छ ।
सरकारी अस्पतालको तुलनामा निजी अस्पताल र नर्सिङ होममा सुलभ र स्तरीय चिकित्सा सेवा उपलव्ध हुन्छ । यो स्वभाविक पनि हो । सरकारी अस्पतालहरु ज्यादै न्यून शुल्कमा सेवा प्रदान गर्छन, ठोस निर्णयका लागि सरकारी निर्देशन पर्खनु पर्छ, अस्पताल विस्तार र विकासको लागि सरकारी बजेटको प्रतिक्षामा बस्नु पर्छ, रिक्त दरवन्दी पूर्ति गर्नका लागि मन्त्रालय विभागको मुख ताक्नु पर्ने हुन्छ र सरकारको फेरबदलसँगै प्रशासनयन्त्र पनि परिवर्तन हुन्छ । यस्तै समस्याका कारण न त प्रशासनीक काम-कार्वाहीहरु प्रभावकारी ढंगले कुशलतापूर्वक संचालन हुन्छन् न त विरामीले स्तरीय र सुलभ सेवा प्राप्त गर्न सक्छन् । ठिक यसको विपरीत निजी क्षेत्रमा तत्काल निर्णय हुन्छ, हरेक सेवा र सुविधाको व्यापारीकरण हुन्छ, विरामीलाई प्रदान गर्ने सेवासँग पैसाको प्रत्यक्ष सरोकार हुन्छ, राजनीति र सरकारको परिवर्तनले हुने असर पर्दैन ।
त्यसैले आजकल सरकारी अस्पतालहरु गरीव, असहाय र निमुखा जनताको मात्र पेवा बन्दै गईरहेका छन भने आर्थिक कारणले सुदृढ र सबल मानिसहरु निजी अस्पताल र नर्सिङ होममा बिश्वास राख्दछन । तर कतिपय सेवा र सुबिधाहरु जुन सरकारी अस्पतालमा मात्र उपलब्ध छन्, तिनको निशुल्क वा न्यून शुल्क तिरेर उपभोग गर्न भने धनाढ्य वर्गलाई पनि कुनै रोकावट छैन ।
सरकारी अस्पतालका लागि जनशक्ति बिकास कार्य पनि निकै चुनौतीपूर्ण कार्य हुंदै आएको छ । सबै तह र बिषयको दक्ष जनशक्ति तयार गर्ने निकाय वा संस्था स्वदेशभित्र नहुनु, तालीमको लागि बिदेश पठाउंदा धेरै खर्चिलो हुने, देश भित्र उपलब्ध दक्ष जनशक्ति विद्यमान स्वास्थ्य संस्थाहरुका लागि पर्याप्त नहुनु, बौद्धिक पलायन हुनु, दक्ष जनशक्ति आˆनो अध्ययन अनुसारको ज्ञान र सीपको उपभोग गर्न नपाइने हुनाले दुर्गम क्षेत्रमा नजानु, प्राविधिक कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्न पर्याप्त तालिमको व्यवस्था नहुनु आदि जस्ता समस्याहरु अझै पनि स्वास्थ्य सेवाको सुलभता र सुगमतामा बाधक बन्दै आएका छन ।
हरेक बर्ष चिकित्सक बन्नका लागि करौडौं धनराशी विदेशिने प्रवृत्ति बढ्दो छ । यसका लागि निजी मेडिकल कलेजहरु स्थापना हुनुलाई सकारात्मक पक्षको रुपमा लिइएता पनि केवल सीमित विषयको अध्ययन, अध्यापन कार्य मात्र त्यस्ता मेडिकल कलेजमा हुनाले विशेषज्ञयुक्त सेवाको लागि आवश्यक सबै विषय र तहको जनशक्ति उत्पादन गर्ने निकायको खाँचो महशुस गरिएको छ ।
स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई आफ्नो कार्यक्षेत्र र विषयमा दक्ष र योग्य बनाउनुको अलावा समन्वयात्मक ढंगले काम गर्ने शैली, सही मनोवृत्तिको विकास, दृढता, आत्मविश्वास र सामुहिक लक्ष्य प्राप्तीको भावना जस्ता विषयमा पनि जागरुक र चेतनशील बनाउनु अपरिहार्य छ ।
साझा उद्देश्य परिपूर्ति गर्नका लागि समान भावना र दृष्टिकोण राख्नुपर्ने हुन्छ, व्यक्तिगत स्वार्थ र हितलाई पन्छाउनुपर्ने हुन्छ र दुरदर्शिता, पारदर्शिता र चेतनशीलताको मार्गलाई रोज्नुपर्ने हुन्छ । अस्पतालको सेवा लिने मानिसहरु मानसिक तथा शारीरिकरुपमा अस्वस्थ्य हुन्छन् । हरेक विरामीको आ-आˆनो प्रकारको व्यथा र समस्या हुन्छन् । विशिष्ट प्रविधि, दक्ष जनशक्ति, अस्वस्थ मानिस, चौविसै घण्टा सेवा -अस्पतालका विशेषता नै हुन् ।
यस प्रकारको जटिलताभित्र सरल र सरस बन्नुपर्छ- अस्पतालका कर्मचारीहरु । सरकारी नीति र योजना कार्यान्वयनदेखि विरामीको पींडामा मल्हम लगाउन, अस्पतालको सञ्चालन, विकास र विस्तारमा दत्तचित्त भई लगनशील र समर्पित हुनुपर्छ – अस्पतालका कर्मचारीहरु । यसो भएमा मात्र एक्काइसौं शताब्दिमा आउने थप चुनौतीको सामना गर्न र वर्तमान समस्याहरुको समाधान गर्न ठोस योगदान पुग्नेछ ।
(लेखक क्वीन एलिजावेथ अस्पताल, लण्डनमा बरिष्ठ व्यबस्थापक र डार्टफोर्ड काउन्सिलको निर्वाचित काउन्सिलर हुनुहुन्छ, । साथै, लेखक अस्पताल व्यबस्थापन विज्ञ हुनुहुन्छ )
२०७२ पुष १८ गते १२:०२ मा प्रकाशित
http://www.onlinekhabar.com/2016/01/370107/
ReplyDelete