तपाईं पनि काउन्सिलर बन्ने कि ?
तपाईं पनि काउन्सिलर बन्ने कि ?
डा. बच्चु कैलाश कैनी ।
बेलायतमा बस्ने धेरै नेपालीहरुसंगको अन्तरक्रियाबाट बेलायतमा बस्ने धेरै जसो नेपालीहरुलाई बेलायतमा काउन्सिलको संरचना र काउन्सिलरको काम, कर्तब्य र अधिकारहरुको बारेमा निकै थोरै जानकारी भएको पाएं । यो लेखमा काउन्सिलको संरचना र काउन्सिलरको काम तथा कर्तव्यको बारेमा जानकारी दिने प्रयास गरेको छु । आशा छ कि यो लेखले नेपाली मुलका बेलायतीहरुलाई भविष्यमा काउन्सिलर बन्न सहयोग र प्रेरित गर्ने छ । म डार्टफोर्ड बरो काउन्सिल (जुन केन्ट काउन्टी काउन्सिल अन्तर्गतको एउटा डीस्ट्रिक काउन्सिल हो) को काउन्सिलर पदमा निर्वाचित भएको झन्डै एक बर्ष भयो । त्यसैले यो लेखमा मैले मेरो अनुभव बांड्ने प्रयास गरेको छु ।
रोचक कुरा त के भने, केहि समय पहिले लण्डनमा भएको एक कार्यक्रममा बेलायतमा नेपाली मूलका काउन्सिलरसंग कुरा गर्दा उहांलाई समेत बेलायतमा स्थानीय निकायको संरचनाको बारेमा धेरै कुरा थाहा रहेनछ । कतिपयले काउन्सिलरलाई नेपालमा एउटा वडाको अध्यक्षको रुममा चित्रित गर्छन भने कसैले गाउं वा नगरपालिकाको निर्वाचित सदस्यसंग तुलना गर्छन ।
बेलायतमा काउन्सिललाई मुखयतया चार भागमा वर्गिकरण गरिन्छ । सबै भन्दा माथिल्लो निकाय र ठुलो क्षेत्रफल ओगट्ने काउन्टी काउन्सिल हो, जसलाई म नेपालको अञ्चल संग तुलना गर्छु । दोश्रो निकाय भनेको डीस्ट्रिक काउन्सिल हो । जस्तै केन्ट एउटा काउन्टी काउन्सिल हो भने केन्ट अन्तर्गत बाह्र वटा जिल्ला काउन्सिल छन, जसअन्तर्गत डार्टफोर्ड बरो काउन्सिल जिल्ला स्तरको एउटा स्थानीय निकाय हो ।
तेश्रो प्रकारको काउन्सिल भनेको टाउन वा परिश (Parish) काउन्सिल हो । जस्तै, डार्टफोर्ड बरो काउन्सिल अन्तर्गत एउटा टाउन काउन्सिल र सात वटा परिश काउन्सिलहरु छन् । यी काउन्सिलहरुलाई म नेपालको नगरपालिका वा गाउं विकाससंग तुलना गर्छु । लोकल गर्भमेन्ट असोसिएसनका अनुसार इंग्ल्याण्ड र वेल्समा गरि करिब दश हजार टाउन वा परिश काउन्सिलहरु छन् भने यी अन्तर्गत एकलाख जति काउन्सिलरहरु निर्वाचित भएका छन् ।
चौथो प्रकारको काउन्सिल भनेको एकल (Unitary) काउन्सिल हो । एकल काउन्सिललाई काउन्टी काउन्सिल र डीस्ट्रिक काउन्सिलले गर्ने सबै अधिकार प्राप्त हुन्छ, तर काउन्टी काउन्सिल भन्दा निकै सानो भौगोलिक क्षेत्र समेटेको हुन्छ । जस्तै, केन्टको मेड वे काउन्सिल र लण्डनका ३३ वटा बरो काउन्सिलहरु एकल काउन्सिल हुन् ।
इंग्ल्याण्डमा २७ वटा काउन्टी काउन्सिलहरु २ सय १ वटा जिल्ला काउन्सिलमा बिभाजित भएका छन् । यस्तैगरि इंग्ल्याण्डमा ५६ वटा एकल काउन्सिलहरु छन् । बेलायतमा बेलाबेलामा स्थानीय निकायको अधिकार समायोजन हुने हुनाले यो संख्या घटबढ भइरहन्छ ।
हरेक तहको काउन्सिललाई विभिन्न क्षेत्रमा विभाजन गरिएको हुन्छ, जसलाई वार्ड भनिन्छ । यस्ता हरेक निकायको वार्डबाट जनसंख्या अनुसार काउन्सिलर निर्वाचित हुन्छन । काउन्सिलर भनेको कुनै पनि स्थानिय निकायको निर्वाचित जनप्रतिनिधि हो । त्यो चाहे सबै भन्दा ठुलो काउन्टी काउन्सिलको होस् वा परिश काउन्सिलको नै किन नहोस । मैले जानकारी पाएसम्म अहिलेसम्म कुनै पनि नेपाली मुलका बेलायती सबै भन्दा माथिको निकायमा निर्वाचित भएको भनेको डीस्ट्रिक काउन्सिलको काउन्सिलर नै हो । यो भन्दा माथिको निकाय काउन्टी काउन्सिलमा अहिले सम्म कोहि पनि नेपाली मुलका बेलायती निर्वार्िचत भएको छैनन् ।
काउन्टी र जिल्ला काउन्सिलको काम, कर्तव्य र अधिकार विभाजन गरिएको हुन्छ । यो सबै निकायमा एउटै प्रकारको हुन्छ भन्ने छैन । उदाहरणको लागि केन्ट काउन्टी काउन्सिलले शिक्षा, वाताबरण, राजमार्ग, जन स्वास्थ्य आदिको काम हेर्छ भने जिल्ला काउन्सिलले कर उठाउने, स्थानीय पार्क, घर, विकास निर्माण, बाटो, बत्ति, आदिको जिम्मा लिन्छ । त्यस्तै, परिश काउन्सिलले फोहर मैलाको व्यवस्थापन गर्ने, स्थानिय तहमा बाटो र स्थानीय स्तरका समस्या हरु समाधान गर्छन ।
काउन्सिलरको काम भनेको स्थानीय स्तरका जन समस्याहरुलाई समाधान गर्नका लागि पहल गर्ने र स्थानीय स्तरका नीति निर्माण गर्ने काम हो । काउन्सिलरले गर्ने कामहरुलाई मुख्यतय चार भागमा बर्गीकरण गर्न सकिन्छ । पहिलो काम स्थानीय विकास निर्माणको लागि नीति नियम बनाउने हो । यी कामहरु काउन्सिलका विभिन्न समितिहरु मार्फत गरिन्छ । दोश्रो मुख्य काम भनेको स्थानीय निकायमा विभिन्न तहमा नेतृत्व दिने हो । तेश्रो काम भनेको स्थानीय समस्याहरु समाधान गर्नको लागि पहल गर्ने हो । यस्तैगरि चौथो काम भनेको विभिन्न निकायहरुसंग समन्वय गर्ने हो । यी कामका लागि काउन्सिलको विभिन्न संरचना र समितिहरु जस्तै क्याबिनेट, योजना बोर्ड, सल्लाहकार समिति, आदि हुन्छन । काउन्सिलरले यी कुनै पनि समिति वा संरचनाहरुमा बसेर काम गर्न सक्छ ।
काउन्सिलरको भूमिका मुख्य रुपमा सत्ताधारी दलको काउन्सिलर हो वा विपक्षी दलको हो भन्नेमा फरक हुन्छ । किनकि काउन्सिलको संरचना पनि राष्ट्रिय सरकारको संरचना जस्तै हुन्छ । जस्तै, मेयरले आलंकारिक भूमिका खेल्छ, सत्तादलको नेताले कार्यकारी भूमिका निभाउंछ र आफ्नो क्याबिनेट गठन गर्छ । यस्तैगरि विपक्षी दलको नेता ले आफ्नो छााया क्याबिनेट गठन गर्छ । काउन्सिलरमध्ये एकजना एक वर्षको लागि मेयर र उपमेयर चुनिन्छ । हरेक बर्ष काउन्सिलर मध्येबाट मेयर र उपमेयरको निर्वाचन हुन्छ । यो व्यवस्था प्रत्यक्ष निर्वाचित मेयर हुने कुनै काउन्सिलका लागि लागु नहुन पनि सक्छ ।
काउन्सिलरको उम्मेदवार हुनको लागि राजनीतिक दलको सदस्य हुनैपर्छ भन्ने छैन । तर, राजिनितक दलसंग आवद्ध भए निर्वाचन जित्न निकै सजिलो हुन्छ । अर्को कुरा कुनै पनि सरकारी वा गैरसरकारी जागिरमा पूर्णकालीन वा आंशिक रुपमा काम गर्दै पनि काउन्सिलर हुन सकिन्छ । काउन्सिलर हुनको लागि स्थानीय जनतासंग घुलमेल हुन सक्ने, नेतृत्वदायी भूमिका खेल्न सक्ने, राष्ट्रिय र स्थानीय नीति नियमको जानकारी राख्न सक्ने, कुशल रुपमा बोल्न र आफ्नो बिचार राख्न सक्ने, जनस्तरको समस्या हल गर्न चासो राख्ने आदि सिप र दक्षता हुनु आवस्यक हुन्छ ।
मा चाहन्छु नेपाली मुलका धेरै भन्दा धेरै बेलायतीहरु काउन्सिलर बनुन । राजनीतिक दलसंग कसरी आबद्ध हुने, कसरी काउन्सिलरको उम्मेदवार हुने र कसरी प्रभावकारी भूमिका खेल्ने भन्ने बारेमा नेपाली भाषाका पत्रपत्रिका, टेलिभिजन, रेडियो आदिले बेलायतमा बहस सुरु गर्नु र जनचेतना बढाउनु जरूरी छ । आशा छ, आगामी निर्वाचनहरुमा नेपाली मुलका धेरै भन्दा धेरै बेलायतीहरु उम्मेदवार बनुन र निर्वाचन जितुन ।
अबको स्थानीय निर्वाचनमा तपाईं पनि काउन्सिलरको उम्मेदवार बन्ने कि ? मेरो तर्फबाट शुभकामना छ । साथै मेरो सहयोग, सल्लाह र साथ सधै तपाईंहरुसंगै हुनेछ ।
(यस लेखका लेखक डा. कैनी क्वीन एलिजाबेथ अस्पताल, उलविच, लण्डनमा वरिष्ठ व्यवस्थापक, डार्टफोर्ड बरो काउन्सिलका काउन्सिलर, ग्रीनविच स्कुल अफ म्यानेजमेन्टका अशोसियट लेक्चरर र एनआरएन. युकेका सल्लाहकार हुन् ।)
- See more at: http://himalayamail.com/view/927#sthash.dLtn6RZu.dpuf
No comments:
Post a Comment