मेरो छोरा मेरो साथी - बच्चुकैलाश कैनी
मेरो छोरा सफलले सधैँझैं आज पनि मसँग पैसा माग्यो। उसलाई मसँग पैसा माग्नु, कुनै कुराको लागि अनुरोध वा आग्रह गर्नु भनेको उसको कुनै मिल्ने साथीसँग कुरा गर्नु जस्तै हो।मैले उसलाई कहिले पनि कुनै पनि कुरामा नाइँ भनेको छैन। आजकल उसले पैसा माग्ने गति अलिकति बढाएको छ। उ आजकाल सधैँभन्दा बढी नै पैसा खर्च गर्छ। साथीहरूसँगको घुमाइ पनि अलिकति बढी नै छ। मैले यसलाई उसको उमेर बढेसँगै आउने एउटा बानीको रूपमा लिएको छु।
आजकल मेरो छोरो सफलको जीवनमा छुट्टै रौनक छ। उसले भर्खर कलेज सुरु गर्यो। नयाँ नयाँ साथीहरु छन्। भर्खर किनेको नयाँ मोटरसाइकल छ। उ घरमाभन्दा बाहिर साथीसँग रमाउँछ। इन्टरनेटमा घन्टौंबिताउँछ। फोन र इन्टरनेट उसका अभिन्न अंग नै हुन्। मलाई लाग्छ, उ जीवनको सबैभन्दा सुखद् क्षणहरु बिताउँदैछ।
अस्ति मात्रै उसको एउटा साथीको फोन घरको नम्बरमा आएको थियो। मैले उठाएँ। सफलको केटी साथी प्रकृतिको कल रहेछ। मैले उनको म्यासेज टिपें र उसलाई उही दिन बेलुकी खबर पास गरें। खबर पाएपछि सफलको हाउभाउ र उसको मुखमा देखिएको भावले मलाई सफल र प्रकृतिको निकट मित्रताको बारेमा अनुमान लगाउन कुनै गाह्रोपरेन। फेरि पनि मैले यसलाई उही उमेरसँगै आउने परिवर्तनको रूपमा लिएँ।
भविष्यमा उसको चाहना कम्पुटर साइन्स पढ्ने थियो। त्यसैले उसले कलेजमा कुन विषय पढ्ने र कहाँ पढ्ने सबै कुरा आफैं खोजीनीतिगर्यो। र, आफैंले आफू पढ्ने विषय र कलेज रोज्यो। मैले उसलाई कुनै कुरामा न त हस्तक्षेप गरें न त उसको आग्रह नै अस्वीकार गरें। मैले त सिर्फ एउटा सहजकर्ताको भूमिका निर्वाह गरें। मानौ, म उसको साथी हुँ र उसलाई सिर्फ कुनै कुरामा सल्लाह र सुझाव दिँदैछु।
उमेरको परिवर्तनको कुरा गर्दा मैले पनि त्यही उमेर पार गर्दै आजको उमेरमा आइपुगेको हुँ। मेरा पनि सपनाहरू थिए। म पनि ठूलो र असल मान्छे हुन चाहन्थे। म पनि एउटा राम्रो कलेजमा पढ्न चाहन्थे। म पनि साथीहरूसँगै खेल्न, रमाउन र घुम्न चाहन्थे। तर, न त मसँग त्यो बेला खल्तीमा पैसा हुन्थ्यो, न त फुर्सद नै हुन्थ्यो। मेरो एक्लो बाल्यपन, दु:ख र अभावको जीवनले न मैले कसैलाई साथी बनाउन सकें, न त मैले आफूलाई सुखी र खुसी नै भएँ।
सफलले मेरो स्कुल जीवनको बारेमा धेरै दु:ख र ब्यथा सुनेको छ। म सानो हुँदा मेरो बा बित्नु भएको, मैले र मेरो परिवारले भोगेको कठिन जीवन यात्राको बारेमा धेरै कुरा सुनेको छ।
उ सानो हुँदा मैले सफललाई एउटा प्रश्न गरेको थिएँ, 'तिमी ठूलो भए पछि के बन्ने?' उसले सहज रूपमा भनेको थियो, 'म हजुरको साथी बन्न चाहन्छु। हजुरको सानोमा कुनै साथी थिएनन् रे, म ठूलो भएपछि हजुरको साथी नै हुन्छु।' सानो हुँदा मलाई दु:ख पर्दा उ पनि दु:खी हुन्थ्यो र म हाँस्दा उ पनिसँगै हाँस्थ्यो। त्यो बेला पनि उ मैले खोजेको जस्तै मेरो सुखदु:खको साथी थियो, अहिले पनि उ उस्तै छ।
उसले सानोमा भने जस्तै मैले सफललाई उसको असल साथी बन्नको लागि उसको चाहना र खुसीलाई प्राथमिकता दिएको हैन र दिने पनि छैन। मैले त उसलाई मेरो जस्तो विगत र मेरो जस्तो अभावमा जीवन बिताउन नपरोस्भनेर उसको लागि मैले दिन सक्ने खुसी र उसको आवश्यकता पूरा गरेको हुँ।
अहिले उ मेरो साथी र म उसको साथी। म सानो हुँदा मेरो कोही साथी नभए पनि त्यसको परिपूर्ति अहिले भएको छ। यो उमेरमा मैले मेरो साथी पाएको छु। कुनै स्वार्थले बनाएको साथी होइन, मेरो कर्तव्यवोध र जिम्मेवारीले बनाएको साथी। मेरो छोरा मेरो साथी।
No comments:
Post a Comment