अनुभूति : तिमीलाई के भनूँ ? डा. बच्चु कैलाश कैनी
साभार: अनलाइन खबर डट कम
नेपालीमा नाउँको वा थरको पछि ‘जी’, ‘ज्यू’ वा ‘सर’ / ‘म्याडम’ को प्रयोग गरिन्छ | त्यसो त आफ्नो निकटलाई उसको नामबाट मात्रै पनि सम्बोधन गरिन्छ । म सधैं ‘कन्फ्युज’ हुन्छु, कसलाई ‘जी’ भन्ने कसलाई ‘सर’ / ‘म्याडम’ भन्ने । कसलाई नामले मात्रै बोलाउने, कसको नाममा वा थरमा के थप्ने ? अनि अर्को फसाद, फेरि जसलाई ती शब्दहरु प्रयोग गरिन्छ उसले त्यो राम्रो मान्छ नै भन्ने के छ र ?
अंग्रेजीमा एउटा शब्द ‘यु’ ले सम्बोधन गरे पुग्छ । हामी त्यसैको लागि कम्तीमा पनि चार वटा शब्द ‘तँ, तिमी, तपाईं र हजुर’ प्रयोग गर्छौं । त्यसमाथि पनि ‘बक्सियोस्’ वा ‘सियोस्’ को प्रयोग थपथाप गर्ने हो भने यो सूची लामै हुन जान्छ । हाम्रो नेपाली संस्कार नै आफूभन्दा ठूलालाई आदर गर्नु र सानोलाई माया गर्नुपर्छ भन्ने छ ।
तर, आदरको लागि ‘तिमी’ भन्दा माथि ‘तपाईं’ भन्ने शब्द र मायाको लागि ‘तिमी’ भन्ने शब्द नै पर्याप्त छ । किन ‘हजुर’ को जरुरत पर्यो होला ? म सधैं यो प्रश्न गर्छु ।
मलाई लाग्छ, हामी नेपालीहरु आदर गर्न मात्रै हैन, चाकडी गर्न पनि माहिर नै छौं । सायद त्यसैको लागि होला ‘हजुर’ शब्दको कहिलेकाहीँ जरुरत पर्ने ।
मलाई लाग्छ, कसैलाई ‘तिमी’ भन्नुमा जुन आत्मीयता छ, त्यो सायद अरु कुनै शब्दमा छैन । जति निकट भयो, उति ‘तँ र तिमी’ शब्द प्रयोग गरिन्छ । त्यसले पनि देखिन्छ, ‘तँ’ र ‘तिमी’ नै निकट जनाउने शब्द हुन् । तर, ‘तँ’ शब्द भने झन् निकट बनाउन वा अरुलाई होच्चाउन समेत प्रयोग गरिन्छ ।
आजभन्दा पच्चीस वर्षअघि जब मैले बिहे गरे, मैले पत्नीलाई तिमी भन्थेँ । त्यो बेला मैले उनलाई पनि मलाई ‘तिमी’ नै भनेर सम्बोधन गर भनी अनुरोध गरेँ । त्यो बेलादेखि नै मेरी पत्नीले मलाई तिमी नै भन्छिन्, तर घरमा मात्रै ।
पितृसत्तात्मक हाम्रो समाजले पुरुषलाई जुन छुट र अधिकार दिएको छ, त्यो महिलालाई दिएको छैन । मैले पत्नीलाई ‘तिमी’ भन्ने छुट र अधिकार दिए पनि हाम्रो समाजसँग उनलाई जुन त्रास र भय छ, त्यो मैले चाहेर पनि बदल्न सकेको छैन
बाहिर समाजमा वा अरुको सामु भने उनी मलाई ‘हजुर’ ले नै सम्बोधन गर्छिन् । अरु धेरै जस्तै उनलाई पनि लाग्छ, अझै पनि हाम्रो समाजले पत्नीले पतिलाई ‘तिमी’ भनेर सम्बोधन गरेको स्वीकार गर्दैन ।
पितृसत्तात्मक हाम्रो समाजले पुरुषलाई जुन छुट र अधिकार दिएको छ, त्यो महिलालाई दिएको छैन । मैले पत्नीलाई ‘तिमी’ भन्ने छुट र अधिकार दिए पनि हाम्रो समाजसँग उनलाई जुन त्रास र भय छ, त्यो मैले चाहेर पनि बदल्न सकेको छैन । त्यो नेपालमा मात्रै हैन, हामी एघार वर्षयता बेलायतमा बस्दा पनि उनले मलाई समाज र अरु सामु त्यो ‘हजुर’ भन्ने बानी छुटाउन सकेकी छैनन् ।
हाम्रा छोरा वा छोरीले कहिलेकाहीँ हामी दुईलाई मायाले ‘तिमी’ भन्ने गर्छन् । ती बेला म ठान्छु, उनीहरु हामीसँग खुब खुसी छन् र हामीलाई निकट मानेर तिमी भनेका हुन् । त्यति बेला मेरो मन खुशीले गदगद हुन्छ । म चाहन्छु, हाम्रा छोराछोरी सधैं हाम्रो साथी रहून् र आफ्नो सबै सुखदु:ख हामीसँग निर्धक्क शेयर गरुन् । मलाई लाग्छ, म जस्तै अरु अभिभावकलाई पनि त्यस्तै लाग्छ ।
कहिलेकाहीँ म आफ्ना मित्रहरुलाई भन्ने गर्छु, मलाई ‘तिमी’ नै भन्नू । ‘तिमी’ भन्दा जुन किसिमको आत्मीयता र निकटताको महसुस हुन्छ, त्यो अरु शब्दमा पाउन सकिँदैन । त्यसैले म मेरा धेरै मित्रहरुलाई ‘तिमी’ नै भन्न मन पराउँछु । तर, यो कुरा कतिले आदर्श मान्छन्, कतिले ठीकै पनि । केटी साथीहरुले त ‘फ्लर्ट’ गर्न खोजेको ठान्न पनि सक्छन् । तर, मेरो यो व्यक्तिगत सोचाइ र रोजाइ हो । अरुले के भन्छन् भन्दा पनि म के चाहन्छु भन्ने कुरा मेरो लागि ठूलो हो ।
केही समयअघि मैले एकजना मित्रलाई नामको पछाडि ‘सर’ शब्दले सम्बोधन गरेको मात्रै के थिएँ, उनले गुनासो गरे, ‘कहिलेदेखि मेरो तह बढुवा भयो ?’ उनी मेरा निकट मित्र हुन् | सधैंजसो उनलाई मैले ‘जी’ बाट नै सम्बोधन गर्थें । त्यसैले उनलाई मैले ‘सर’ भनेको मन परेको रहेनछ । अनि मैले बुझेँ, नामको पछाडि ‘जी’ भन्दा ‘सर’ भनेको एक तह माथिको रहेछ ।
मसँग त्यस्ता अरु पनि केही अनुभव र उदाहरणह छन्, जुन बेला मानिसहरु आफूलाई ‘सर’ भनेर अरुले सम्बोधन गरुन् भन्ने ठान्छन् र ‘जी’ भनेर सम्बोधन गर्दा आफ्नो तह घटाएको महसुस गर्ने रहेछन् । उनीहरु न त कुनै स्कूल वा कलेजको गुरु हुन् न त कुनै वरिष्ठ पद धारण गर्ने उच्च तहका मानिस नै । तर पनि केही मानिस आफूलाई सधैं ‘सर’ नै ठान्छन् र त्यसैगरी सम्बोधन गरिन रुचाउँछन् ।
हाम्रो संस्कार नै यति धेरै तह र वर्गमा विभाजन भएको छ । जात, धर्म, संस्कार आदि सबैमा को सानो र को ठूलो भन्ने विचार र प्रचलन व्याप्त छ । त्यसैले पनि कसलाई के भनेर सम्बोधन गर्ने भनेर निकै विचार गर्नुपर्ने हुन्छ ।
अहिले त झन् नेपालमा विभिन्न जात र वर्गको बीचमा जुन उग्र चेतना आएको छ, त्यसले सबैलाई एकै ठाउँमा राख्न र समान रुपले सबैलाई सम्बोधन गर्न झन् कठिन छ । एउटा शब्द कसैलाई राम्रो लाग्न सक्छ भने त्यही शब्द अर्को व्यक्तिलाई होच्याएको महसुस हुन पनि सक्दो रहेछ ।
त्यसैले म बारम्बार सम्झन्छु र आफैंलाई सोध्छु, ‘म तिमीलाई के भनी सम्बोधन गरूँ ?’
२०७३ असोज १७ गते १०:१८ मा प्रकाशित, साभार: अनलाइन खबर डट कम
No comments:
Post a Comment