धर्मको सवालमा जायज र नाजायज विषय
डा. बच्चु कैलाश कैनी
धर्मको सवालमा जायज र नाजायज विषय
जब म जन्मिएँ, त्यो बेलादेखि स्वत: हिन्दु भएँ । किनकि म हिन्दु धर्म मान्ने परिवारमा जन्मिएको थिएँ । म मात्रै होइन, हरेकजसो नागरिक जन्मने बित्तिकै एउटा न एउटा धर्मसँग स्वत: अनुबन्धित हुन्छ । परिवारले अङ्गीकार गरेको धर्म अनुसार नवजात शिशु त्यही धर्मावलम्बी हुन पुग्छ र आफूलाई त्यही रुपमा परिचित गराउन थाल्छ ।
म आफू हिन्दु भएकोमा मलाई कुनै पछुतो र गुनासो छैन । तर, हिन्दु धर्म अनुसार गरिने कतिपय संस्कार र कर्मकाण्डप्रति मेरो मनमा धेरै प्रश्न उठ्छन् ।
जन्मने बित्तिकै एउटा धर्मको पगरी गुथ्ने भन्ने कुरा कति जायज र सान्दर्भिक छ, यसको बारेमा धेरै बहस गर्न सकिन्छ । कतिले यसलाई बाबु, आमा वा परिवारले दिएको उपहार ठान्लान् । कसैले भगवानको कृपा भन्लान् भने केहीले जबर्जस्ती धर्म लादिएको भन्ने पनि ठान्लान् । जसरी हाम्रो नाम बाबुआमाले राखिदिन्छन् र हामी त्यसलाई सगर्व स्वीकार गर्छौं, त्यस्तै धर्म पनि जन्मदेखि नै आउने कुरा हो ।
हुन त कानूनी रुपमा वयस्क भएपछि हामी आफ्नो नाम परिवर्तन गर्न र जुनसुकै बेला आफ्नो धर्म छान्न सक्छौं । तर, त्यो बेलासम्म निकै ढिलो भइसकेको हुन्छ । वयस्क हुँदासम्म हाम्रो आफ्नो नामले एक किसिमको पहिचान बनाइसकेको हुन्छ । त्यस्तैगरी, धर्म मार्फत हामी आफ्नो परिवार, समाज, संस्कृति र संस्कारसँग यति जोडिएका हुन्छौं, त्यो परिवर्तन गर्न निकै कठिन यात्रा गर्नुपर्ने हुन्छ । त्यसैले पनि हामी कमै मात्रले आफ्नो नाम र धर्म परिवर्तन गर्नतिर लाग्छौं ।
म जन्मेपछि गरिएका न्वारन, अन्नप्राशन, व्रतबन्ध जस्ता जति पनि धार्मिक कर्मकाण्डहरु गरिए, ती सबै हिन्दु धर्म अनुसार भए । जब करिब सात वर्षको थिएँ, व्रतबन्ध भयो । न केही जान्नु र्ने, न त केही बुझ्नु नै पर्ने । मैले कुनै कुरा नबुझ्दै मलाई हरेक किसिमको कर्मकाण्ड गर्न लगाइयो । त्यसपछि गायत्री मन्त्र जप्न लगाइयो । जनैको त्यान्द्रो पनि मेरो काँधमा झुण्डियो ।
केही हप्ता त मैले गायत्री मन्त्र नियमित जपेँ र केही समय जनै पनि लगाएँ । मलाई थाहा छैन, कहिलेदेखि हरेक दिन गायत्री मन्त्र जप्न र जनै लगाउन त्याग गरेँ । सायद व्रतबन्ध गरेको अर्को सालदेखि नै हुनुपर्छ । त्यसपछि, मेरो नियमित कर्ममा जनै र गायत्री मन्त्र जोडिन पुगेका छैनन् । मेरो मात्रै हैन, मेरो विचारमा सायद अधिकांश हिन्दु धर्म मान्ने नेपालीहरुको नियति यस्तै हो ।
मलाई त्यो बेला न त गायत्री मन्त्रको महत्व थाहा थियो, न त जनै किन लगाउने भन्ने नै थाहा थियो । त्यो बेला मात्रै हैन, अहिलेसम्म पनि यी सब कुरा मानिसको दैनिक जीवनमा के-कसरी जोडिएका छन् र यी कुराले हाम्रो दैनिक जीवनमा के महत्व राख्छन् भन्ने कुराको मैले ठोस उत्तर पाउन सकेको छैन ।
हरेक मानिसको दैनिक जीवन चलाउन, सभ्य, स्वस्थ र सुन्दर जीवन बाँच्न र यो समाजमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध गाँस्न कुन-कुन कुरा आफूले अङ्गीकार गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छन् । चाहे त्यो धर्मको कुरा होस् वा समाज, चालचलन र संस्कृतिको कुरा नै किन नहोस्, सबैको महत्व र उपयोगिता जान्नु र बुझ्नु सबैको लागि आवश्यक छ ।
अहिले मेरो छोरा अठार वर्षको भयो । मेरो छोराको अहिलेसम्म व्रतबन्ध भएको छैन । व्रतबन्ध गरेको तर कहिले पनि जनै नलगाउने, गायत्री मन्त्र उच्चारण नगर्ने, गाईको मासु बाहेक अरु मासु खाने म र व्रतबन्ध नगरेको मेरो छोराको बीचमा कुनै फरक होला ? मलाई मेरो हजुरबुवाले उतिबेला भन्नुभएको कुराको याद आउँछ, धार्मिक मान्यता अनुसार जनैको मान राख्ने हो भने जनै लगाउनू, हैन भने यसको कुनै अर्थ छैन ।
म सन् २००० तिर दुई वर्षको लागि अध्ययनको सिलसिलामा भारतको जयपुरमा बसेको थिएँ । हिन्दुहरु त्यसमाथि पनि मारवाडीहरुको निकै बाहुल्य भएको शहर हो जयपुर । मसँगै पढ्ने सबैजसो भारतीय हिन्दु साथीहरु शाकाहारी थिए, म बाहेक । उनीहरुलाई दशैंमा र अरु पर्वमा हिन्दु मन्दिरमा जनवारको बलि चढाइन्छ भन्ने जानकारी त थिएन, हिन्दु धर्म अनुसार त्यो प्रथा बेठीक हो भन्ने लाग्थ्यो ।
मेरो मनमा सधैं एउटा प्रश्न उठ्थ्यो, एउटा धर्ममा आस्था राख्नेहरुबीच किन यस्तो विपरीत मान्यता ? एउटा पक्ष हिंसा गरेर पशुबलि दिएर धर्म मान्ने र अर्को पक्ष त्यसको ठीक विपरीत अहिंसावादी हिन्दु । किन हिन्दु-हिन्दुका बीचमा पनि फरक-फरक चलन र मान्यता ? यो त केवल आफू अनुकूल धर्मको परिभाषा र संस्कार बसाल्ने चलन जस्तो लाग्छ मलाई ।
धर्म र संस्कारसँग गाँसिने कुरा कति उपयोगी, सान्दर्भिक र महत्वपूर्ण छन् भन्ने बुझेर मात्र तिनलाई अंगीकार गर्नु आजको युगको माग हो
धर्म र संस्कृतिको बीचमा धेरै अन्तर छ । हामी धेरैजसो हाम्रो संस्कार र संस्कृतिलाई धर्मसँग जोडेर हेर्ने गर्छौं र आफू अनुकूल हुने गरी धेरै कुरालाई परिभाषित गर्छौ । कसैले केही कुराको लागि कुनै धार्मिक अवसरमा केही प्रचलन चलायो र त्यो कुरा अरु धेरैले पनि अनुसरण गरे भने कालान्तरमा त्यही कुरा धर्मसँग जोडिएर आउँछ । जस्तै, आजकलका महिलाहरुले एक महिना अघिदेखि नै तीजको नाममा अनेक भोज र जमघट गर्ने चलन न त धर्मसँग जोडिएको छ, न त हाम्रो संस्कृतिसँग नै । तर पनि यो प्रचलनलाई महिलाहरुले धर्मको एक अंग नै ठान्छन् । त्यति मात्रै हैन, भविष्यमा तीज मान्ने प्रचलन र तीजको संस्कार फरक किसिमको हुने कुरामा कुनै शंका छैन । मैले माथि भने जस्तै हिन्दु धर्म मान्नेहरुबीच पनि नेपाल र भारतका नारीहरुको तीज मान्ने संस्कार र मान्यता नै फरक छ ।
माथि उल्लिखित उदाहरण त प्रतिनिधिमूलक कुरा भए । हामीसँग धेरै त्यस्ता उदाहरण छन्, जसलाई हामी धर्मसँग जोडेर हेर्छौं । जसको उपादेयता, उपयोगिता र महत्व हामीलाई थाहा नै हुन्न । तर पनि हामी आफ्नो नाक राख्नको लागि सन्तानहरुले ती कुरा अनुकरण गरुन् भन्ने चाहान्छौं । हामी पनि केही नबुझी आँखा चिम्लेर अनुकरण गर्छौं ।
हरेक कुरा समय अनुसार परिवर्तित भए जस्तै हामीले हाम्रा मान्यता र प्रचलन के-कति वैज्ञानिक छन् भनेर सोचको गहिराइ बढाउनु आवश्यक छ । हाम्रो मान्यतासँगै हामीले अनुशरण गर्ने हरेक कुरा के जायज र के नाजायज भन्ने कुराको विश्लेषण गर्नुपर्छ । धर्म र संस्कारसँग गाँसिने कुरा कति उपयोगी, सान्दर्भिक र महत्वपूर्ण छन् भन्ने बुझेर मात्र तिनलाई अंगीकार गर्नु आजको युगको माग हो ।
२०७३ कार्तिक ८ गते १२:१८ मा onlinekhabar.com प्रकाशित
No comments:
Post a Comment