http://www.nepalipatra.com/news/trend/rticle-by-drkaini/14818
छोराछोरी माथि थुपारिएका
बाबुआमाका सपनाहरु
-
डा. बच्चु कैलाश कैनी
बिदेशमा बस्ने अधिकांश नेपालीहरुले भन्ने एउटा
साझा कुरा के हो भने 'म मेरा छोराछोरीको भविष्यको लागि विदेश आएको हो, मेरो लागि त
नेपालमा नै सबै कुरा थियो ।' यो कुरा कसैको लागि आंशिक रुपमा सत्य पनि हुन सक्छ । किनकि
हाम्रो नेपाली समाज आफ्नो र बर्तमानको लागि भन्दा पनि आफ्नो सन्तति र भविष्यको चिन्तामा
बढी डुबेका हुन्छौ । मैले यो कुरा ठिक वा बेठिक भन्ने तर्क बितर्क गरेको हैन । मैले
त हाम्रो नेपाली समाजको चिन्तन, हामीले आफ्ना छोराछोरी माथि थुपार्ने सपना र उनीहरुको
आफ्नो इच्छा, आकांक्षा र रोजाईलाई कसरी लिने
भन्ने मेरो बिचार प्रस्तुत गर्ने जमर्को गरेको हुँ ।
छोराछोरीको लागि विदेश बस्ने नेपालीहरुको भनाई
अनुसार हामी आफ्ना सन्ततीको लागि यति धेरै सोच्ने गर्छौ मानौ कि हाम्रो आफ्नो कुनै
सपना, लक्ष्य वा गन्तब्य नै छैन । हामीहरु त फगत आफ्ना सन्ततीको चिन्तामा छौ । मुख्य
कुरा के हो भने हामी आफ्नो भविष्यको लागि, आर्थिक रुपमा सबल हुनको लागि, रोजगारी र
कामको लागि विदेशिने गर्छौ । मान्छे
पहिले आफ्नो बारेमा सोच्छ । अनि मात्रै आफ्नो परिवार र सन्ततीको बारेमा सोच्ने गर्छ
। आफू नाङ्गो बसेर, भोकै बसेर वा अनेक दु:ख
कष्ट सहेर अरुको बारेमा सोच्छु भन्नु मेरो
बिचारमा देखावटीपन मात्रै हो । त्यस्तो मानिसहरु हुन पनि सक्छन, तर अत्यन्तै नगन्य
होलान ।
एउटा सत्य के हो भने बिकसित मुलुक जस्तै अमेरिका,
यूरोप वा अस्ट्रेलिया जान सक्ने वा उतै बस्ने अधिकांश नेपालीहरुको उता जानु भन्दा अघि
नेपालमा नै आर्थिक, सामाजिक वा पेशागत रुपमा पनि केही न केही हैसियत पक्का हुन्छ ।
उनीहरु कम्तिमा नेपालमा बसेर पनि केही गर्न सक्ने हुन्छन । यदी नेपालमा केही हैसियत
नभए पनि केही बर्ष बिदेशमा बसेर आर्थिक र पेशागत रुपमा आफ्नो हैसियत बनाएका हुन्छन
।
यस्तो अवस्था हुँदा हुँदै पनि धेरै नेपालीहरु
आर्थिक वा पेशागत कारणले नेपाल छोडेर आफ्नै लागि बिदेशी भूमि रोजेका हुन्छन । तर, देखाउनको
लागि भने छोराछोरीको लागि विदेश बसेको भन्ने गर्छन । आफू र आफ्नो परिवारको आर्थिक र
अरु प्रगति हुँदा पक्कै पनि सन्ततीको उन्नति र प्रगति त हुने नै भयो । तर, के नेपालमा
बसेको भए त्यो सम्भब थिएन त ? वा, के आफ्ना छोराछोरीहरु बिग्रने थिए ? यी प्रश्नहरु भने अनुत्तरित नै हुन्छन । नेपालमा बसेर
पनि धेरै प्रगति र उन्नति गर्ने, सफल बन्ने र असल व्यक्तिको रुपमा परिचित हुने युवा
जमातहरुको पनि कुनै कमि छैन । मेरो बिचारमा अहिलेको युवा पिंडीलाई सफल हुनको लागि नेपालमा
नै उपयुक्त अवसर र मौका छ ।
आफ्ना सन्तानहरु असल, ज्ञानी र सफल बनुन भन्ने सबै आमाबाबुको सपना हुन्छ । तर, त्यो भन्दा पनि
बढी नेपाली समाजमा आफ्नो सन्तान डाक्टर, इन्जिनीयर वा पाइलट नै बन्नु पर्छ भन्ने छ
। एउटा सानो बच्चालाई भविष्यमा के बन्ने बाबु वा नानु भनेर सोध्ने हो भने अधिकांश केटाकेटीले
डाक्टर वा इन्जिनीयर नै बन्ने भन्छन । यो हाम्रा केटाकेटीको भन्दा पनि हामी अभिभावक
र हाम्रो समाजको सोचाईको प्रतिबिम्ब हो ।
हाम्रा छोराछोरीले
राम्रो र नाम चलेको बिषय नै पढुन भन्ने सोचाई नेपालमा बस्ने अभिभावकमा मात्रै हैन बिदेशमा बस्ने नेपालीहरुमा पनि उत्तिकै ब्याप्त छ । हामी हाम्रा केटाकेटीहरुमा के क्षमता छ त्यसको पहिचान गरेर त्यसमा बिशेष
ध्यान दिनु भन्दा पनि उनीहरु के बनुन भन्ने हाम्रो चाहना छ त्यही अनुसारको अपेक्षा राख्छौ
र तदनुरुपको शिक्षामा जोड दिन्छौ ।
मैले देखेको छु कतिपय विदेशीका बच्चाहरु प्राथमिक तहसम्म
खेली खेली पढे पनि नेपालीका केटाकेटीहरु
भने एक दुई कक्षादेखि नै ट्युसन पढ्न शुरु गर्छन । अनि, नेपाली अभिभावकहरु राम्रो
नाम चलेको बिषय र स्कूल नै पढुन भन्ने जोड गर्छन । राम्रो स्कूलमा पढाउनु नराम्रो
हैन तर त्यो स्कूलमा केटाकेटीको लागि उपयुक्त हुने बिषयको पढाई हुन्छ कि हुँदैन भन्ने बिचार गर्नु पनि महत्वपुर्ण हुन्छ ।
सबै केटाकेटीहरुमा
डाक्टर वा इन्जिनीयर बन्ने क्षमता र रुचि पक्कै हुँदैन । हरेक केटाकेटीमा एउटा न एउटा बिशेष क्षमता हुन्छ
। त्यही क्षमता र रुची अनुसारको व्यक्तित्व, आचरण, सीप, दक्षता र योग्यता आर्जन गर्नको लागि आफ्ना केटाकेटीहरुलाई सहयोग गर्नु हरेक अभिभावकको कर्तब्य र दायित्व हो । हामी हाम्रा केटाकेटीमा
आफ्नो सपना देख्ने हैन, हाम्रो कर्तब्य
र जिम्मेवारी केटाकेटीहरुलाई
उनीहरुको आफ्नै सपना देख्न, गन्तब्य तोक्न
र लक्ष्य हासिल गर्न सहयोग गर्नु हो ।
एउटा मानिस सबैभन्दा पहिले असल व्यक्ति बन्नु पर्छ । जे सुकै पेसा अंगाले पनि जे काम गरे पनि आत्मा सन्तुष्टि हुने काम र पेसा गर्नु पर्छ । कुनै पनि पेसा आफैमा खराब वा नराम्रो हुँदैन । सबै पेसाका असल र खराब दुवै पक्षहरु हुन्छन । कोही कुनै पेसामा रमाउन सक्छ भने कोही त्यही पेसामा सन्तुष्ट नहुन पनि सक्छ । त्यसैले जो जुन पेसामा रमाउँछ त्यही काम गर्नु पर्छ भन्ने मेरो मान्यता हो ।
कतिपय केटाकेटीहरु एकदम राम्रो शिक्षा, अभिभावकत्व र वातावरण पाएर पनि बिग्रेका हुन्छन । त्यसको मुख्य कारणहरु मध्ये केटाकेटीहरु आफैले जिम्मेवारी बोध गर्न नसक्नु, आवस्यक परिश्रम नगर्नु र आफ्नो गन्तब्य पहिचान गर्न नसक्नु हो । त्यस्तो अवस्थामा पनि अभिभावकको भूमिका सहयोगी मात्रै हो । जबसम्म केटाकेटीकोमनदेखि नै केही गर्नु पर्छ र जिन्दगीमा सफल हुनु पर्छ भन्ने भावना आउंदैन तबसम्म केही हुन सक्दैन ।
हरेक केटाकेटीहरुको यात्रा उनीहरुले आफै तय गर्ने
र पार गर्ने हो । उनीहरु नै आफ्नो यात्राको सारथी हुन् । हामी अभिभावक त उनीहरुको यात्राको
सहयोगी मात्रै हौ । अभिभावकको भूमिका भनेको उपयुक्त बातावरण बनाई दिने, राम्रो शिक्षा
दिने र उनीहरुलाई आवस्यक सहयोग गर्नु हो । यदी हामी अभिभावकले जानी नजानी आफ्ना केटाकेटीहरुमा आफ्नो सपना लाद्ने र आफ्नो इच्छा अनुसार केटाकेटी चलुन भन्ने हो भने त्यसको प्रतिफल नकारात्मक
आउँन पनि
सक्छ । तसर्थ, हामी अभिभावकले सही भूमिका, कर्तब्य र जिम्मेवारीको
पहिचान गरि केटाकेटीहरुको उज्ज्वल भबिष्य
र सार्थक जीवनको लागि सहयोगी भूमिका
निर्वाह गर्नु जरुरी छ ।
No comments:
Post a Comment