- डा. बच्चु कैलाश कैनी
आजकल नेपालमा दुई तिहाईको सरकारको काम कारवाही
हेर्दा जनता अलिकति निरास हुन थालेका छन् । नेपाली जनतामा नेता भनेका सबै उस्तै हुन्
र जसले जे बोले पनि नेताहरुले बोलेको केही
पुग्दैन भन्ने पर्न थालेको छ । संघिय सदनमा सत्ताधारी दल नेकपाका बरिष्ठ नेताले 'आम
जनतामा जुन जोगी आए पनि कानै चिरेका' भन्ने परेको विचार नै ब्यक्त गरे ।
कुनै पनि
देश विकासको लागि राजनीतिक दलका नेताहरुको भूमिका प्रमुख हुन्छ । दुरदृष्टी
र सफल एउटा राजनेता मात्रै देशले पाएमा देश निर्माणमा छलांग मारेका धेरै उदाहरणहरु
छन् । त्यसैले आज यो लेखमा मैले नेपालमा विकास निर्माण देखि जनचासोको बिषयमा किन जहाँसुकै ढिलासुस्ती हुँदैछ ? नेपाली राजनीतिक दलका नेताहरुमा के कमजोरी छ जसले
गर्दा आम नेपाल जनतामा त्यस्तो धारणा बन्न गयो ? भन्ने बारेमा यो लेखमा चर्चा गर्दैछु
।
१) सस्तो लोकप्रियताका लागि बोल्ने: नेपाली राजनीतिक
दलका धेरै जसो नेताहरु चुनावमुखी छन् । अर्थात, जसरी पनि र जे बोलेर भए पनि चुनाव जित्नु
पर्छ भन्ने मानसिकता छ । त्यस्तो अवस्थामा नेपाल जस्तो देश जहाँ सयौं समस्याका चाङ्ग
नै छन्, त्यस्ता समस्याहरु मैले समाधान गर्न सक्छु वा जनताले चाहे जस्तो विकास निर्माण
गरिदिन सक्छु भनेर प्रतिवद्धता गर्नु नै भूल हो । त्यसैले नेताहरुले, चुनावमा गरेका
वाचाहरु सजिलै पुरा हुन सक्दैनन् ।
धेरै जसो नेपाली मतदाता पनि आफ्नो नेताले आफ्नो
क्षेत्रको विकास भन्दा आफ्नो व्यक्तिगत काम बढी गरि दियोस भन्ने चाहन्छन । मतदाताको
ध्यान आफ्नो मान्छेलाई जागिर दिन सक्ने, आवस्यक परेको बेला जहाँ पनि भनसुन गरिदिन सक्ने,
कुनै व्यक्तिगत समस्या आयो भने केहि गरिदिन सक्ने नेताहरुलाई बढी रुचाउँछन् । तसर्थ
पनि नेताहरुको धेरै समय यस्तै काममा खर्च हुन्छ ।
२) ब्यबस्थित ढंगले योजना नबनाउने: नेताहरुले
आफ्नो क्षेत्रमा वा कुनै बिषयमा बोल्दा त्यसको बारेमा अनुसन्धान गर्ने वा कुनै योजना
बैज्ञानिक ढंगले बनाउने बानि नै छैन । विकास निर्माणको काम गर्दा योजना सम्पन्न गर्न
लाग्ने अनिमानित समय, लागत, त्यसका चुनौतीहरु आदिको बारेमा विज्ञहरु संग परामर्श गर्ने,
राय सल्लाह गर्ने र गहिराईमा बुझ्ने प्रचलन नै छैन । जनताले जे चाहेका छन् त्यो पुरा
गर्छु भन्ने तर त्यसको बारेमा धेरै जानकारी नराख्ने नेताहरुको पुरानो बानी हो ।
आजकलका नयाँ र युवा अधिकांश नेताहरुमा पनि त्यस्तै
बानी देख्न सकिन्छ । मलाई यो बिषयमा थाहा छैन वा अरु कसैसंग परामर्श गर्नु छ भन्ने
चलन निकै नै छैन । मलाइ सबै कुरा थाहा छ जस्तै गरि बोल्नु नेताज्यू हरु को सामान्य
दिनाचार्य हो । तसर्थ पनि नेपालमा अधिकांश नेताहरुले बोलेको कुरा पुग्दैन ।
३) लेखपढ गर्ने बानी नहुनु: सबै पेशा र ब्यबसायमा
लाग्नेहरुको लागि निरन्तर अध्ययन गर्नु नितान्त आवस्यक हुन्छ । पुस्तक, लेख, रचनाहरु
आदि नपढी राजनीतिक आदर्श र दर्शन मात्रै नबुझिने हैन जनताका समस्याहरु कसरी समाधान
गर्ने भन्ने पनि थाहा हुन्न । नेता भनेको ब्यबस्थापक हो, 'रोल मोडेल' हो र नीति निर्माता
हो । त्यसैले नेतामा धेरै बिषयको ज्ञान र अनुभव हुनु जरुरी हुन्छ । सबैले सबै कुरा
सधैं जान्दैनन् । त्यसैले नेताहरुले लेख पढ गरेर विभिन्न स्थानिय, राष्ट्रिय, अन्तर्राष्ट्रिय
बिषयहरुमा जानकारी लिनु जरुरी हुन्छ । अनि मात्रै सबै कुराको सही र सटिक विश्लेषण गर्न
सकिन्छ । अध्ययन र अनुसन्धानको अभावमा नेताहरुको
बोल्ने बोली केवल हचुवा हुन्छ । तसर्थ पनि नेपालमा नेताहरुले बोलेको पुग्ने सम्भावना
निकै कम हुन्छ ।
४) दलको घोषणा पत्र हचुवामा लेखिनु: राजनीतिक
दलको घोषणा पत्र नै दलको नेताहरुको लागि मुख पत्र वा गीता, बाईबल वा कुरान सबै हो ।
सामान्यतया त्यसमा जे लेखिएको छ त्यसैको आधारमा आफ्नो दलको सरकारको नीति तथा कार्यक्रम
बन्ने हो । सरकारको नीति तथा कार्यक्रमको आधारमा नै देश विकासको मार्गचित्र कोर्ने
र विकास निर्माणका कामहरु गर्ने हो । तर, नेपालमा राजनीतिक दलका घोषणा पत्रमा उल्लेखित
धेरै कुराहरु हचुवाका भरमा लेखिन्छन् । बिना गृहकार्य, सही विश्लेषण नगरी लेखिने त्यस्ता
कुराको आधारमा नेताले जनतालाई आश्वासन दिने हो भने पुरा हुने सम्भावना हुँदैन ।
त्यसमाथि हरेक प्रदेश, जिल्ला र संसदीय क्षेत्रमा
राजनीति गर्ने नेताहरुले आफ्नो प्रभावको आधारमा विकास निर्माणका योजनाहरु राख्न लगाउँछन्
। कतिपय पटक आफ्नो नजिकको नेता सत्ता वा सरकारबाट बाहिरियो भने आफुले भनेको र राख्न
लगाएको योजना पुरा हुने सम्भावना कम हुन्छ ।
५) जनताको अघि 'हुँदैन' भन्न नसक्नु: धेरै नेताहरुलाई 'हुँदैन' वा 'नाई' भन्न आउदैन । अर्थात, म बाट यो काम हुँदैन भन्न सक्दैनन् । सबै काम म गर्न सक्छु भन्ने थाहा हुँदा हुँदै पनि नाई भन्न नसक्दा उनीहरु आफैं अफ्ठ्यारोमा पर्न सक्छन । अनि, जनताको लागि नाइँ भन्ने हो भने भबिष्यमा भोट पाइदैन भन्ने लाग्छ ।
नाई भन्न सक्नु पनि एक कला हो । यो जीवन जिउन, राजनीति गर्न, कुनै पनि ब्यापार, ब्यबसाय
र पेसा गर्न आवश्यक पर्ने कला हो । कसैको स्वभाव नै 'नाई' भन्न नसक्ने हुन्छ
भने कसैको पेसा नै त्यस्तो । राजनीतिमा भने धेरै जसो नेताहरु भोटमुखि
हुने हुनाले 'नाई' भन्नु पर्ने बेला पनि नाई नभनि ढाँटने हुनाले त्यस्तो
बेलामा नेताले बोलेको पुग्ने सम्भावना
हुँदैन ।
६) विज्ञहरुको राय सुझाव नलिनु: स्थानिय, प्रदेश
र संघिय तहमा नीति, कार्यक्रम तथा योजना बनाउन बिज्ञहरुको भूमिका ठूलो हुन्छ । सम्बन्धित
क्षेत्रका बिज्ञहरुको संलग्नतामा धेरै बिचार बिमर्श गरेर मात्रै कुनै पनि नीति तथा
कार्यक्रम तय गर्नु पर्छ । नेताहरुको भूमिका भनेको बिज्ञहरुले बनाएको हरेक कार्यक्रमको
सकारात्मक र नकारात्मक पक्षहरु, चुनौती र अवसरहरु विश्लेषण गरेर देश र जनताको हितमा
निर्णय गर्नु हो । बिज्ञ समुहको राय बिना शुरुमा नीति, कार्यक्रम र योजना बनाउँदा नै
सही किसिमको बन्दैन । दोश्रो बने पनि लागु गर्ने पर्याप्त श्रोत र साधन हुँदैन । अनि
नेताहरुले बोलेको पुग्न कसरि सम्भव हुन्छ ?
धेरै जसो राजनीतिक निर्णयहरु आफ्नो क्षेत्र, बिशेष
आर्थिक, राजनीतिक र व्यक्तिगत रुचिका आधारमा निर्णय गरिन्छ । त्यस माथि पनि राम्रा भन्दा हाम्रा मान्छेहरुलाई
योजना लागु गर्ने ठाउँ मा राखिन्छ । गलत मान्छेको हातमा योजना परे पछि धेरै योजना अलपत्र
परेका धेरै उदाहरणहरु छन् । त्यसैले पनि नेताहरुको बोलि एकातिर काम अर्को तिर हुने
गरेको छ ।
नेताहरुको काम, कारवाही र बोलीले नेपालमा धेरै बिकृति र विसंगति ल्याएको कुरा सर्वविदितै छ । सर्वसाधारणमा नेता भनेका ढाँटने, चल्ने
र स्वार्थी हुन्छन भन्ने परेको छ । त्यसको मुख्य कारण धेरै जसो नेताहरुको बोलि र ब्यबहारमा धेरै अन्तर हुन्छ । तसर्थ अब नेताहरुले जे पुरा गर्न सकिन्छ त्यही बोल्ने र आफूले जे बोलिंछ त्यो पुरा गर्नु पर्छ । अनि मात्रै नेता र जनता बिचको दुरी कम हुन्छ र देश विकास निर्माणको गति तिब्र हुन्छ ।
No comments:
Post a Comment