डर, चिन्ता, तनाव
र खुसी
-
डा. बच्चु कैलाश कैनी
http://wenepali.com/2019/12/65759.html
सफल वा असफल हुने, देखाई, सुनाई र भोगाईका हिसाबले भन्ने
हो भने प्रत्येक मान्छेको जीवन धेरै कुरामा फरक हुन्छ । भावनात्मक रुपमा अर्थात अनुभूतिका
हिसावले हेर्ने हो भने जीवन सबैको उस्तै उस्तै हो । मान्छेले भित्री रुपमा मनमा अनुभूती
गर्ने कुराहरु अर्थात भावनाका कुराहरु जस्तै खुसी वा आनन्दित हुने, दु:खी हुने, डर
वा चिन्ता मान्ने, घृणा गर्ने, रीस उठ्ने र
अचम्मित हुने कुरा भने सबैको मनमा आउंछ । फरक के कुरामा हुन्छ भने यी भावनाहरु मध्ये
कोहीले कुनै कुरा धेरै मात्रामा अनुभव गर्छन भने कोही कुनै कुरा थोरै अनुभव गर्छन ।
अर्थात, भावनामा बग्ने अनुभवको मात्रा भने हरेक व्यक्तिमा फरक फरक हुन्छ । जो मान्छे
यी मध्ये नकारात्मक भावनाहरुलाई त्याग्दै मनमा सकारात्मक सोच ल्याउँछ त्यही मान्छे
खुसी र आनन्दित हुन्छ ।
माथि उल्लेख गरे जस्तै कुनै न कुनै कारण मान्छेले धेरै
किसिमका भावनाहरुको अनुभूति गर्छ । हामी सबैले आफ्नो जीवनको कुनै न कुनै मोडमा केही
न केही कुराले गर्दा डर लागेको अनुभव गर्नु स्वभाविक हो । त्यसैले यो कुनै नयाँ कुरा
भएन । तर, डरले गर्दा हुने दिर्घकालिन चिन्ता र अनि त्यसका कारण हुने तनाव कसरी ब्यबस्थापन
गर्ने र गराउने भन्ने कुरा सबैको चासोको बिषय हुन्छ ।
जसरी कुनै रोगको उपचार गर्न रोगको निदान गर्नु जरुरी हुन्छ त्यसरी नै डर वा चिन्तासंग जुध्नका लागि पहिले डर
वा चिन्ताको मुख्य कारण थाहा पाउन जरुरी हुन्छ । कुनै डर भौतिक वस्तु वा आफूलाई डर
लाग्ने कुनै जनावर, चिज, वस्तु, रुप, समय आदिका कारण हुने भए त्यो कुनै खास समस्या
हैन । तर, कुनै मानिस भविष्य प्रतिको असुरक्षा, परिवारमा पर्न गएको बज्रपात, कुनै मानसिक
समस्या, आर्थिक समस्या आदिका कारण डर मान्न थाल्यो भने त्यस्तो डरले मान्छेलाई गहिरो
चिन्ताको अवस्थामा पुर्याउँछ । चिन्ताले मान्छेलाई तनाव दिन्छ ।
सबै डर नकारात्मक मात्रै हुँदैनन । कहिले कहीं डरले मान्छे
गलत बाटोमा लाग्नबाट जोगिन्छ । जस्तै असफल हुने डरले गर्दा वा समाजमा हेपिने डरले आफूलाई
धेरै मेहेनती बनाउँछ । नैतिकता गुम्ने डरले गर्दा नै मानिस अनुसाशित हुन्छ । घरमा अभिभावक
वा बाबु आमाको डरले गर्दा केही गर्नु पर्ने बाध्यताका कारण केहि गर्नु पर्ने अवस्था
पनि फाइदाजनक नै हुन्छ ।
डरसंग जुधेको अवस्थामा मानिस 'फाइट वा फ्लाइट' गर्छ ।
अर्थात मानिस डरसंग कि जुध्छ वा डरसंग भाग्छ । जो मानिस डरसंग जुध्छ र डरलाई जीवनबाट
टाढा भगाउँछ उही मानिस सफल हुन्छ र चिन्तामुक्त हुन्छ । जो मानिस भविष्यप्रति बढी चिन्चित
हुन्छ वा भविष्यको बारेमा धेरै सोच्छ उही मानिस बढी तनावमा रहन्छ । हामी सबैलाई थाहा
छ, हामी बाँच्ने वर्तमानमा हो । अतित गई सक्यो, न फर्केर आउंछ न त्यसलाई फेरी अनुभूती
गर्न सकिन्छ । अतितबाट केवल पाठ सिक्ने हो । भविष्य कसलाई के थाहा छ र ? त्यसैले जिउने
आज हो, अहिलेको पलमा हो ।
हामी आफ्नो जीवनलाई धेरै जसो अतिरंजित गरेर भविष्यसंग
जोडेर हेर्छौ । आफ्नो मात्रै हैन आफ्नो सन्तति र आउने पुस्ताको चिन्ता गर्छौ । हामीले
नदेखेको र नजानेको भविष्यको चिन्ता गर्ने हो भने हामीसंग अनगिन्ति बिषयहरु छन् । हामी
भविष्यको योजना, आफ्नो स्वास्थ्य, परिवारको प्रगति र उन्नति, बुढेसकालको चिन्ता, आर्थिक
बोझ, मृत्यु, एकांकीपन आदि धेरै कुराहरु मनमा खेलाएर चिन्ता प्रकट गर्छौ । यो स्वाभाविक
पनि हो । तर, तनाव नै हुने गरी अस्वाभाविक रुपमा यी कुराहरुको चिन्ता गर्नु र मनमा
धेरै कुरा खेलाउनु मानसिक र शारीरिक स्वास्थ्य
दुबैको लागि हानिकारक हुन्छ ।
सामान्य रुपमा आफूलाई एउटा सिमा भित्र राखेर जीवन बाँच्न
जाने हाम्रो जिन्दगी सरल र सरस छ । जिन्दगीलाई जति जटिल र बोझिलो बनायॊ उति धेरै चिन्ता
र तनाव पैदा हुन्छ । मानिसको जीवनमा खुसी स-साना कुराले दिने हो । स्वच्छ हावामा हिंड्ने,
मन पर्ने किताव पढ्ने, मन पर्ने मानिस वा आफन्तसंग समय बिताउने, योग, ध्यान, आध्यामिक
चिन्तन आदिले हामीलाई पैसा खर्च नै नगरी खुसी मिल्छ । खुसी आफै भित्र पाउने कुरा हो
। यसको लागि हामीलाई थप मेहेनत र धेरै पैसा कमाउनु पर्दैन ।आफैमा आत्मनिर्भर भई खुसी
साथ बाँचु नै सामान्य जीवन जिउनु हो ।
हामीलाई भौतिक रुपमा सुख अवश्य चाहिन्छ । तर, हामी आफूलाई
चाहिने भन्दा धेरै सुख सयल खोज्छौ । आजको युगमा हाम्रो खुसी प्रतिस्पर्धा, देखासिकी,
भौतिकबादी चिन्तन, अनावश्यक महत्वाकांक्ष आदिले खोसेको छ । सबै भन्दा ठूलो कुरा आफूले
आफैलाई बुझ्नु, आफ्नो मुल्यांकन गर्नु र त्यही अनुसार आफ्नो जीवन सार्थक, सामान्य,
सरल र सरस बनाउने हो भने धेरै खुसी जीवन बाँच्न सकिन्छ । मेरो तर्फबाट मलाई र हजुरहरु
सबैलाई खुसी र आनन्दमय जीवनको हार्दिक शुभकामना
छ ।
(लेखक डा. कैनी बेलायतको विश्वबिद्ध्यालयमा प्राध्यापक
र क्विन एलिजाबेथ अस्पताल, लण्डनमा बरिष्ठ ब्यबस्थापकको रुपमा काम गर्छन ।)
No comments:
Post a Comment