Monday, 1 June 2020

म अक्षर


म अक्षर

म अक्षर
- डा. बच्चु कैलाश कैनी

म अक्षर
मलाई पढ्नेहरूले चिने
लेख्नेहरूले लेखे
मलाई प्रयोग गरी
कतिले कथा लेखे 
कतिले कविता लेखे
कतिले लेख रचना लेखे
धेरैले किताब लेखे
म भने आफ्नै कथा लेख्दै छु
मेरै व्यथा पोख्दै छु ।

म अक्षर
न मेरो जात छ
न मेरो राष्ट्रियता छ
न मेरो भेष छ
न मेरो रङ छ
न मेरो कुनै थर छ
त्यसैले म सबैको साझा हुँ
म सिर्फ अक्षर हुँ
ज्ञानको ज्योति बाँड्ने साधन हुँ ।

सबैको साझा भए पनि
धेरैको लागि म बिरानो छु
अनेक अर्थ दिने भए  पनि
धेरैको लागि म निरर्थ छु
ज्ञानको ज्योति बाँड्ने भए पनि 
धेरैको लागि म अन्धो छु
सबैको लागि निःशुल्क  भए पनि
धेरैको लागि म सःशुल्क छु
म क्रान्तिको ज्वाला बन्ने भए पनि
आफ्नो लागि म मौन छु ।
  
म अक्षर
कहिलेकाहिँ मलाई मनखुसी प्रयोग गर्छन
कहिले बाङ्गो अर्थ लाग्ने गरी
कहिले राष्ट्रियता भड्काउने गरी
कहिले प्रेम सम्बन्ध तोड्ने गरी
कहिले छिमेकीको चित्त दुखाउने गरी
कहिले मेरै चित्त दुखाउने गरी 
कहिले यता प्रयोग गर्छन
कहिले उता प्रयोग गर्छन
तरपनि म मौन छु ।

मेरो गलत प्रयोगले
कतिको भविष्य धरापमा परेको छ
कति फेल भएका छन्
कति जेल गएका छन्
कति धोकामा परेका छन् 
कति यता न उता भएका छन 
कतिले आफैँलाई पाठ सिकाएका पनि छन्
लाग्छ मैले सबैलाई
उत्तिकै स्वतन्त्रता दिएको छु
उत्तिकै महत्त्व दिएको छु
र, आफैँलाई वाक स्वतन्त्रताको प्रतीक बनाएको छु ।

म एक्लो अक्षर हुँदा
केही अर्थ दिन सक्दिन
केही व्यक्त गर्न सक्दिन
केही बुझाउन सक्दिन
म किताबमा मात्रै सीमित हुँदा
परिवर्तनको वाहक बन्न सक्दिन
ज्ञानको ज्योति बन्न सक्दिन
कसैको पनि आफ्नो हुन सक्दिन ।

त्यसैले,
मलाई एक अर्कोसँग जोडेर
शब्द, वाक्य र परिच्छेद बनाएर
सबैले पढेर र बुझेर
सकारात्मक सोच बनाएर 
आफू, समाज र देश बनाए
म सबैको प्यारो हुने थिएँ
धन्य हुने थिएँ
र, आफैँलाई सफल ठान्ने थिएँ ।
(डा. कैनी क्विन एलिजावेथ अस्पताल, लण्डनमा वरिष्ठ व्यवस्थापक र आर्डेंन विश्वविद्यालय, लण्डनमा स्वास्थ्य व्यवस्थापन विषयको सह-प्राध्यापकको रूपमा काम गर्छन् ।)
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७, १८:५८:००

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...