Sunday, 27 September 2020

कोरोनाको कारण आफैं बिरामी स्वास्थ्य क्षेत्र


कोरोनाको कारण आफैं बिरामी स्वास्थ्य क्षेत्र

- डा बच्चुकैलाश कैनी

अहिले विश्व कोभिड-१९ को संक्रमणको कारणले आक्रान्त छ। यो अवस्थामा स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी र सबै स्वास्थ्य संस्थाहरुको जिम्मेवारी र दायित्व निकै बढेको छ। जब विश्वमा महामारीको अवस्था आउँछ, तब स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुले चुनौतीको सामना गर्दै थप कार्यबोझ लिनुपर्ने हुन्छ। यो निकै स्वभाविक र पेसागत दायित्व पनि हो। 

कोभिड-१९ को महामारीको बेला स्वास्थ्य संस्थाहरु कोभिड-१९ र अन्य बिरामीको उपचारमा सक्रिय छन्। तर समग्र रुपमा भने स्वास्थ्य संस्थाहरु आफैं पिडित र आक्रान्त छन्। स्वास्थ्य सेवा देशको आर्थिक र सामाजिक अवस्थासँग प्रत्यक्ष जोडिएको हुन्छ। कुनै पनि देशको अर्थतन्त्र जति सबल र सबल हुन्छ त्यति नै स्वास्थ्य सेवा पनि सुदृढ़ र सहज हुन्छ।  

अहिले कोभिड-१९ को महामारीका बेला पनि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुले कोभिड-१९ को बिरामी मात्रै होइन, अरु पनि सामान्य बिरामीदेखि अति गम्भीर किसिमका बिरामी पनि हेर्नुपर्ने हुन्छ। त्यसैले अहिलेको अवस्थामा सबैले काममा प्राथमिकता निर्धारण गर्नुपर्छ। त्यस्तै आकस्मिक सेवा र वैकल्पिक अर्थात् 'इलेक्टिभ' सेवा दुवै किसिमका सेवाहरु सबैको लागि उपलब्ध गराउनुपर्ने हुनाले क्षमता र स्रोत हेरेर कामको प्राथमिकता तोकेर सेवा दिन सक्नुपर्छ। 

अहिले विश्वभरका स्वास्थ्य संस्थाहरुमध्ये धेरैले कोभिड-१९ का बिरामीको अलावा अरु नियमित रुपमा आउने र फलोअपका बिरामी पनि बिरामी हेर्नुपर्ने अवस्था छ। यो अवस्थामा विश्वका हरेकजसो देशमा आशातित रुपमा आउनुपर्ने नयाँ बिरामी र फलोअपका बिरामीहरु अस्पताल आउने संख्या स्वात्तै घटेको तथ्यांक आएको छ।   

जेजस्तो भए पनि मानिसको स्वास्थ्यले अस्पताल जाने वा नजाने आफैं जान्ने कुरा भएन। कस्तो अवस्थामा स्वास्थ्य संस्था वा अस्पताल जाने वा नजाने यो व्यक्ति स्वयंले निर्णय गर्ने कुरा हो। हिजो जस्तो अवस्थामा अस्पताल जानुपर्ने हो, आज पनि त्यस्तै अवस्थामा अस्पताल जानुपर्ने हुन्छ। तर पनि व्यवहारमा यस्तो भइरहेको छैन। यसो हुनुको केही कारणको चर्चा यो लेखमा गरेको छु। 

स्वास्थ्य सेवा किन प्रभावित भयो? 
अहिले हरेक विश्वका धेरैजसो देशहरुमा आकस्मिक सेवा सहित धेरै जसो सेवाहरु पहिले सामान्य अवस्थामा जस्तै उपलब्ध छन्। कतिपय सेवाहरु भर्चुअल अर्थात् अनलाइन वा टेलिफोनमार्फत मात्रै सञ्चालित छन् भने कतिपय स्वास्थ्य सेवाप्रदायकहरुले वैकल्पिक अर्थात् 'इलेक्टिभ' सेवाहरु बन्द पनि गरेका छन्। नेपालमा पनि कतिपय अस्पतालहरुले आफ्नो सेवा आंशिक वा केही थोरै अस्पतालले पूर्णरुपमा बन्द गरेको समाचार समेत आएका छन्। त्यसैले पनि अहिले स्वास्थ्य संस्थाहरु प्रभावित भएका छन्। 

अस्पतालको जनशक्ति, शय्या, उपकरण, स्रोत र साधन आदि केही मात्रामा भए पनि कोभिड-१९ का बिरामीका लागि छुट्याउनुपर्ने अवस्था छ। यो अवस्थामा स्वास्थ्य संस्थाहरुको स्रोत र साधन नियमित रुपमा आउने सेवाग्राहीहरुको लागि पूरा रुपमा छुट्याउन सकिने अवस्था छैन। यही अवस्थामा अस्पतालमा काम गर्ने जनशक्ति संक्रमणका कारण बिरामी परेको हुनाले सेवा प्रभावित समेत भएका पनि छन्। त्यसैले पनि स्वास्थ्य सेवाग्राहीहरू स्वास्थ्य संस्थाहरुमा जान हिच्किचाएका पनि छन्। यसको प्रत्यक्ष मार संस्था संस्थाहरुमा परेको छ।   

अर्को महत्वपूर्ण कुरा भनेको अहिले कोभिड-१९ को संक्रमणबाट जोगिएका वा संक्रमण नभएका र अरु कुनै कारणले स्वास्थ्य संस्था वा अस्पताल जानुपर्ने अस्पताल जाँदा कोभिड-१९ को संक्रमण हुन्छ कि भन्ने डरले पनि अस्पताल जान सकेका छैनन्। कतिपयलाई अस्पतालको सेवाहरुबारे जानकारी छैन भने कतिपयलाई अहिले अस्पताल सकेसम्म जानु हुँदैन भन्ने परेको छ। 

यसको अर्को महत्वपूर्ण पाटो भनेको देशको अर्थतन्त्र पनि हो। अहिले देशको अर्थतन्त्र कोभिड-१९ को कारण थला परेको छ। जनतालाई कसरी भोक टार्ने भन्ने चिन्ता छ। जागिर गुमाउने वा नपाउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। आफ्नो दैनिकी चलाउन नै मुस्किल परेको बेला बाध्यताको कारण स्वास्थ्य सेवा लिन जान नसक्नेको संख्या पनि धेरै छ। 

अहिले देशमा सवारी साधनहरु पूर्ण रुपमा चलेका छैन। कतिपय जिल्ला वा ठाउँमा आंशिक वा पूर्ण रूपमा लकडाउन चलिरहेको छ। त्यसैले पनि स्वास्थ्य सेवाग्राहीहरु स्वास्थ्य संस्थामा सजिलै जानसक्ने अवस्था छैन। हुन त सैद्धान्तिक रुपमा बिरामीको लागि स्वास्थ्य संस्थामा जान कसैले रोक्न सक्ने अवस्था छैन तर व्यावहारिक रुपमा भने स्वास्थ्य सेवाग्राहीहरूलाई धेरै बाधा र अड्चन छ। त्यसैले पनि स्वास्थ्य संस्थाहरु नराम्रोसँग प्रभावित भएका छन्। 

स्वास्थ्य संस्था चलायमान गराउन के गर्नुपर्ला?
स्वास्थ्य सेवा लिने व्यक्ति वा बिरामीहरु समयमा नै अस्पताल नजाँदा धेरै बेफाइदाहरू छन्।  त्यसको बारेमा जनचेतना बढाउने र बिरामीलाई अस्पताल वा स्वास्थ्य संस्थामा उपचारको लागि सुरक्षित तवरले जान प्रेरित गर्नुपर्छ। यो काम स्थानीय, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, सरकारी वा  गैरसरकारी संस्था, स्वयंसेवकहरुबाट पनि गराउन सकिन्छ। हरेक बिरामीको लागि अस्पताल वा स्वास्थ्य संस्थामा सहज र बिना संकोच परीक्षण, उपचार र निदानको लागि अस्पताल जाने व्यवस्था मिलाउन, आवश्यक सूचना दिन, जनचेतना जागृत गराउन र प्रेरित गर्न सबैको आ-आफ्नो क्षेत्रबाट महत्वपूर्ण भूमिका हुन्छ। 

अहिलेको अवस्थामा बिरामीलाई कुन सेवा दिने भन्ने कुरामा मिलेसम्म र सकेसम्म विकल्प दिनुपर्छ। जस्तै सहरी वा सुलभ क्षेत्रहरुमा घरबाट फोनमा नै परामर्श वा अनलाइन परामर्श दिने व्यवस्था मिलाउन सकिन्छ। जति स्वास्थ्य सेवाको पहुँच बढ्छ उति बिरामी वा सेवाग्राहीले स्वास्थ्य सेवाको उपयोग र उपभोग गर्छन्।  

स्वास्थ्य संस्थाहरुलाई पहिले जस्तै पूर्ण रुपमा चलायमान बनाउन सबैभन्दा बढी सरकारको भूमिका निकै महत्वपूर्ण हुन्छ। अहिलेको अवस्थामा हरेकजसो निजी, गैरनाफामुलक वा सरकारी संस्थाहरुसँग यो चुनौती सामना गर्न सीमित स्रोत र साधन छ। अनि सरकारको भूमिका भनेको अहिलेको अवस्थालाई सहज बनाउन सबै संस्थाहरुबीच समन्वय गर्ने, आवश्यक स्रोत र साधन उपलब्ध गराउने र स्वास्थ्य सेवाको नियमन गर्ने हो। यो सबै कामका लागि सरकारका हरेक तह र निकायबाट सक्रिय भूमिका खेल्नु जरुरी छ। 

त्यसपछि स्वास्थ्यकर्मीको आफ्नै भूमिकाले पनि स्वास्थ्य संस्थाहरुलाई चलायमान बनाउन सकिन्छ। कोभिड-१९ बाट आफू बच्न र सेवाग्राहीलाई पनि बचाउन स्वास्थ्यकर्मीहरुले सबै किसिमको सुरक्षाको उपाय र सावधानी अपनाउनु जरुरी छ। यो महामारीको अवस्थामा जुन बेलासम्म सेवाग्राहीहरू व्यवहार र कामबाट आश्वस्त हुँदैनन् तबसम्म सेवाग्राहीहरू स्वास्थ्य संस्थामा परीक्षण, निदान र उपचारका लागि जान तयार हुँदैनन्। स्वास्थ्य सेवाग्राहीहरु समयमा नै स्वास्थ्य संस्थामा परीक्षण, निदान र उपचारको लागि जान स्वास्थ्यकर्मीहरुले जनचेतना अभिवृद्धि गर्ने काम पनि गर्नुपर्छ। 

स्वास्थ्य संस्थाहरुलाई चलायमान बनाउन सबै किसिमका स्वास्थ्य संस्थाहरुले आफ्नो स्रोत, साधन र पहुँचले  सकेसम्म कुनै कसर बाँकी नराखी काम गर्नुपर्छ। यसका लागि अस्पतालमा कोभिड र ननकोभिड बिरामीको उपचारमा छुट्टाछुट्टै ठाउँमा छुट्टाछुट्टै कर्मचारीबाट गराउनु पर्छ। स्वास्थ्य संस्था वा अस्पतालमा स्वास्थ्यकर्मीले कोभिड-१९ बाट बच्न पूर्ण रुपमा सबै नियम पालना गर्ने र गराउने अनि सुरक्षित सेवा प्रदान गर्ने, गराउने जिम्मा पनि सम्बन्धित स्वास्थ्य संस्थाको पनि हो। 

सबैको सहयोग र साथ लिएर काम गर्ने बेला हो यो। निजी, सरकारी वा गैरसरकारी सबै किसिमका स्वास्थ्य संस्थाहरु सबैको लागि स्थापित भएका हुन्। देशमा स्वास्थ्य सेवा सहज किसिमले उपलब्ध गराउन सबै किसिमका संस्थाहरुको भूमिका उल्लेख्य हुन्छ। आफैं बिरामी परेका स्वास्थ्य संस्थाहरुलाई महामारीको प्रकोपबाट बचाउन र तन्दुरुस्त राख्न अनि सबैको लागि सरल, सुलभ र सहज स्वास्थ्य सेवा उपलाब्भ गराउन हामी सबैजना अहिले नै हातेमालो गरौँ। आफू पनि स्वस्थ र सुरक्षित रहौं र अरुलाई पनि यो महामारीको प्रकोपबाट बचाउन मद्दत गरौँ। हामी सबैको लागि यो एउटा मौका पनि हो, स्वास्थ्य सेवा, समाज र देशको लागि योगदान दिने। अस्तु। 

(डा कैनी लन्डनस्थित क्विन एलिजावेथ अस्पतालकf वरिष्ठ व्यjस्थापक र आर्डेंन विश्वविद्ध्यालय, लन्डनका स्वास्थ्य व्यवस्थापन विषयका सह-प्राध्यापक हुन्।) 

https://swasthyakhabar.com/story/35225?fbclid=IwAR3cH9BLGeLm1fRnBw0NgeMS2OL3a_j-Hegkn62PsAVNzS9_5v2IujEi78k

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...