धेरै पछि घुम्न जाने सोच आएको थियो मेरो । घुम्न जाने भन्ने बित्तिकै कहाँ जाने कहाँ ? यो निर्णय गर्न त्यति सजिलो छैन मलाई। घुम्न जाने धेरै ठाउँको बारेमा जानकारी भए पनि मलाई भने आफू नगएको ठाउँ जाने सोच खासै आउँदैन । धेरै पटक गए पनि मलाई सुन्दरीजल अति मन पर्छ । त्यहाँ प्रकृतिको संगम भेट्छु म । खोलाको झंकार, चराचुरुङ्गीको आवाज, बोटबिरुवाको सुस्केरा, चारैतिर हरियाली आदि सबै भेटिन्छ त्यहाँ । त्यसैले आजको गन्तव्य आफैंले तोकेँ, ‘सुन्दरीजल।’
बिहानको करिब एघार बजेको थियो, म घरबाट निस्कें । आफ्नै सवारी साधन नभएको हुनाले सार्वजनिक सवारी साधन चढ्नुको बिकल्प थिएन मसँग । म आफूसँग जे छ त्यसैमा रमाउँछु । जे छैन त्यसको सोख र चासो राख्दिनँ । मेरो लागि मेरो चाहनाका सिमाहरू म आफैँले तोक्छु र आफैँले त्यसको पालना पनि गर्छु ।
फागुनको महिना भएको हुनाले पारिलो घाम लागेको थियो । ठिक्क थियो मौसम, न चिसो न तातो । हल्का पातलो ज्याकेट लगाए मात्र पुग्ने । घुम्न जाने मान्छे म । मौसम अनुसारको लुगा र हिंड्न सजिलो हुने गरी जुत्ता लगाएको थिएँ ।
घरबाट एकछिनको हिँडाइपछि म जोरपाटी पुगेँ । त्यहाँ धेरै भीडभाड थियो । मान्छेहरूको हुल देखिन्थ्यो । त्यत्तिकै गाडीहरू पनि थिए । यो शहरमा कहिलेकाहीँ म छक्क पर्छु । त्यत्तिका मान्छेहरू कहाँबाट जम्मा भए होलान् ? अनि यी गाडीहरू कहाँ जाने होलान ? गन्तव्य सबैको आ-आफ्नै छ । सबैलाई हतार छ यो शहरमा । ओहो, सम्झदा पनि अत्यास लाग्छ मलाई यो भीड देखेर ।
बस स्टपमा गाडी कुर्दै थिएँ । त्यहाँ म जस्तै अरू मान्छेहरू पनि थिएँ । मेरो छेवैमा एक जना मेरै उमेरको जस्तो लाग्ने महिला पनि करिब चार पाँच वर्षको एउटी सानी नानी लिएर बसिरहनु भएको थियो । त्यी सानी नानी आफ्नी आमाको हात समाएर आफ्नी आमासँग अनेक प्रश्हरू गरी रहेकी थिइन् । त्यसैले मेरो नजर त्यी आमा छोरीमा पर्यो।
उताबाट विपरीत दिसामा जाने एउटा बस आयो । सायद त्यही बसलाई देखेर होला, नानुले ममीलाई प्रश्न गरिन्, ‘ममी हजुरले कहिले बस चलाउने ?’ ममीले सहज उत्तर दिइन्, ‘तिमी ठूलो भएर तिमीले किने पछि ।’ ‘कहाँ किन्ने ममी बस ? मलाई पनि एउटा बस हजुरले नै किनिदिनु पर्छ ममी ।’
‘मलाई पनि थाहा छैन छोरी कहाँ किन्ने बस । विदेशबाट बनेर नेपाल आउँछ भन्ने सुनेको मैले । बस किन्न धेरै पैसा लाग्छ छोरी, त्यति धेरै पैसा मामुसँग छैन नि !’ ‘विदेश भनेको कहाँ हो ममी ?’
‘धेरै पर । हामी बसेको ठाउँबाट धेरै पर छोरी । म पनि त्यहाँ अहिलेसम्म गएकी छैन । तिमी ठूलो भएपछि विदेश जाने । म पनि तिमीसँगै गएर हेर्ने ल विदेश ।’

‘त्यहाँ कसरी जाने ममी ?’ उनको बाल मस्तिष्कले फेरि अर्को प्रश्न तेर्स्यायो । ‘प्लेन चढेर जानु पर्छ छोरी ।’ ममीले धैर्य पूर्वक जवाफ दिइन् ।
‘प्लेन कहाँबाट चड्ने ममी । हामी पनि प्लेन चढ्न जाऊँ न ममी !’ ‘प्लेन चढ्न एयरपोर्ट जानु पर्छ छोरी । त्यो निकै ठूलो हुन्छ । त्यसैले जहाँसुकै आउँदैन।’
‘हामी पनि एयरपोर्ट नै जाऊँ न ममी प्लेन चढ्न ।’ नानीले जिद्धी गरिन् । ‘हामी जाने ठाउँमा प्लेन जाँदैन छोरी । अब एकछिनमा बस यहीँ आउँछ । त्यसैमा चढेर जाने है छोरी मामाघर ।’ ममीले छोरीलाई सम्झाउन खोजिन् ।
बस स्टपमा बसेर बसबाट शुरु भएको कुरा अब प्लेन र एयरपोर्टसम्म पुग्यो । मलाई भने निकै चासो लागेको थियो । ती सानी नानीको बाल मस्तिष्कमा आउने कुरा र उनको प्रश्न सोध्ने बानीले । त्यति मात्रै हैन ममीले जुन प्रकारले आफ्नी छोरीलाई सम्झाएकी थिइन्, त्यो पनि सुन्न लायक थियो ।
‘ममी मामाघरबाट एयरपोर्ट कति टाढा छ ? त्यहाँ कसरी जाने ममी ? हामी पनि प्लेन चढ्न जाऊँ न ममी !’ उनले फेरि एयरपोर्टको प्रसङ्ग निकालिन् । ‘धेरै टाढा छ छोरी। फेरि प्लेन चढ्न धेरै पैसा चाहिन्छ । त्यति धेरै पैसा मसँग छैन । तिमी ठूलो भएपछि तिमीले कमाउने, अनि हामी फेरि सँगै प्लेन चढ्ने ल नानु ।’
‘कसरी कमाउने ममी पैसा ? मलाई पनि धेरै पैसा चाहिन्छ ममी । मामाघरमा टिका लगाएको पैसाले पुग्दैन ममी प्लेन चढ्न?’
‘अब मामाघर गएपछि कुरा गर्ने ल पैसाको ।’ ममीले कुरा टुङ्ग्याउन खोजे जस्तो वा पैसाको कुरा त्यहाँ गर्न नखोजेको प्रष्ट थियो । त्यति मात्रै हैन, पैसाको कुरा गरेपछि ममी अलिकति भावुक भएको जस्तो आवाज आयो ।
‘ममी भन्नुस न धेरै पैसा कसरी कमाउने ? म पनि धेरै पैसा कमाउने के ! धेरै पैसा कमाएर मलाई धेरै कुरा किन्नु छ ममी । हजुरलाई पनि म केके कुरा किनिदिन्छु ल ममी ।’ उनले आफ्ना असिमित चाहनाहरू भएको कुरा प्रष्ट राखिन् । त्यति मात्रै हैन ममीको इच्छा पनि पूरा गरिदिने आश्वासन दिइन् ती सानी नानीले ।
‘पैसाको कुरा पछि गर्ने ल नानी । मामाघरमा जाने अनि सबै कुरा गर्ने ल !’ ममीले पैसाको कुरा थाँती राख्दै कुरा अन्त्य गर्न खोजेको प्रष्ट भयो ।
त्यत्तिनै बेला उताबाट हामी चढ्ने बस आयो । हामी सबै प्रतीक्षारत यात्री हतार हतार बस चढियो । ती सानी नानी र उनकी ममी पनि बस चढे । बसभित्र भीडभाड थियो । मेरा कान र आँखाहरूले उनीहरूलाई खोज्दै थिए । यी दुवै बसको पछिल्लो कुनामा पुगेछन् । म भने ढोका कै आसपास उभिएको थिएँ ।
हामी चढेको बस सुन्दरीजलतिर अघि बढ्यो। मेरो मन र मस्तिष्कमा भने यी दुई आमा छोरीको संवादले कता कता गहिरो छाप छोड्यो । आजको यो दिनको यात्रामा सुन्दरीजल भन्दा पनि आमा छोरीको संवाद सम्झन लायक भयो।
ती सानी नानीकी ममीको पहिरन र लवजबाट प्रष्ट हुन्थ्यो, उनी सम्पन्न छैनन् । तर पनि आफ्नी छोरीको लागि उनी सबथोक थिइन् । सबै कुराले भरिपूर्ण थिइन् । यस्तो लाग्थ्यो, आफ्नी छोरीप्रति अगाध र असीम माया पोखिएको थियो त्यहाँ । ममताको प्रतिमूर्ति बनेर उभिएकी थिइन् उनी त्यहाँ ।
धेरै वा थोरै, टाढा वा नजिक, ठूलो वा सानोको भेद छुट्टयाउने उमेर थिएन ती सानी नानीको । उनको मनमा जे जस्तो कुरा आउँथ्यो, त्यस्तै प्रश्न गर्थिन् ममीलाई । ममी पनि आफूले जे जानेकी थिइन् वा जस्तो बुझेकी थिइन् त्यस्तै उत्तर दिन्थिन् । ती नानीलाई पैसा थाहा छ, तर पैसाको श्रोत थाहा छैन । प्लेन थाहा छ तर कहाँ कसरी उड्छ त्यो थाहा छैन ।
आमा छोरीका यी संवाद सुनेर म पनि भावुक भएँ । यी सबै कुराले मलाई मेरो बालपनको याद आयो । मेरा अभिभावकले ममाथि थुपारेका इच्छा र आकांक्षाहरूको याद आयो । मेरो बा र आमाले सानोमा मलाई पनि पैसा कमाउनु पर्छ र ठूलो मान्छे बन्नु पर्छ भनेको याद आयो मलाई । धेरै पढ्ने र पछि पैसा कमाउने हो भनेको कुरा याद आयो ।
अहिले मलाई याद छैन, तर मैले पनि त्यसरी नै अबोध प्रश्नहरू गरेको थिएँ होला भन्ने लाग्यो मलाई । अहिले मैले जीवन बुझिसकें, भोगिसकें र वास्तविकता देखिसकें। पैसा के हो, जीवन के हो र जिउनु के हो भन्ने बुझिसकें मैले । त्यसैले ती आमा छोरीको संवाद भित्र लुकेको चाहना र यथार्तता मैले बुझेको छु ।
म सानो हुँदा मलाई मेरो बुवासँग घुमेको याद छैन । आमासँग पनि खासै नौलो ठाउँ वा अन्त कतै घुमेको याद छैन । तर धेरैपटक आमासँग मामाघर गएका थुप्रै सम्झनाहरू छन् । यी आमा छोरीको संवादले मलाई मेरी आमासँग म पनि मामाघर गएको याद आयो । अनि मैले भोगेको दु:खका दिनहरूको याद आयो ।
गाडी चढ्न झण्डै पन्ध्र मिनेट जति पर्खनु पर्यो होला मलाई। तर पनि यी चञ्चले सानी नानी र यिनकी ममीको कुराकानीले मलाई बस कुर्दा समय गएको थाहा नै भएन । अहिले भने ती संवाद र ती नानीको त्यो चन्चले अनुहार याद आएको छ मलाई ।
No comments:
Post a Comment