ऊ अर्थात् मेरो साथी जितु । मेरो बच्चा  देखिको साथी।  हामी एउटै गाउँमा हुर्केको।  एउटै स्कुल पढेको।  उति बेला ऊ मेरो एकदम मिल्ने साथी थियो।  कुनै साथीसँग म झगडा गरेर बोलिन भने ऊ पनि त्यो साथीसँग बोल्दैन थियो।  कुनै कारणले म स्कुल गइन भने स्कुल छुट्टी हुने बित्तिकै ऊ मेरो घरमा आउँथ्यो। ऊ क्लासमा जहिले पहिला हुन्थ्यो।  मलाई भने पास हुन पनि मुस्किल हुन्थ्यो।  कुनै  बेला म उसैको साथ र सहाराले पास भएको थिएँ।

मलाई लाग्थ्यो, उति बेला हामी एक अर्कोको परिपूरक हौँ।  जितु बिना म र म बिना जितुको जीवन चल्दैन जस्तो लाग्थ्यो हामीलाई। एक अर्काको घरमा बिना रोकतोक जानु, सँगै खानु, खेल्नु, पौडिन जानु आदि हाम्रो दिनचर्या  थियो। हाम्रो मन मात्रै मिल्ने हैन, हामी दुवैको  पारिवारिक, सामाजिक र आर्थिक अवस्था पनि उस्तै उस्तै थियो।

वास्तवमा उसको नाम जितेन्द्र थियो।  हरेक क्रियाकलाप र कक्षामा प्रथम भएर सबैलाई जित्ने भएकोले मैले नै एकदिन ‘तिमी जित हौ, मेरो प्यारो साथी जितु हौ’ भनेको थिएँ।  त्यसै दिनदेखि  उसको बोलाउने नाम जितु रहेको थियो।

अहिले पनि सम्झन्छु, स्कुले जीवनमा एकदिन कबड्डी खेल्दा कृष्णले मलाई धकेलेर भुइँमा लडाउँदा म घाइते भएको थिएँ।  त्यस बेला उसैले मलाई उठाएर मेरो घाउ सफा मात्रै गरेको थिएन, त्यही निहुँमा कृष्णलाई कुटेको थियो ।  मेरो लागि ऊ मेरो साथी, अभिभावक र कवाज सबै थियो।

उति बेला स्कुले जीवनपछि विभिन्न कारणले हामी अलग भयौँ। मेरो बुवाले मलाई पढ्नको लागि काठमाडौँ पठाउनु भयो। अनि  पढाइपछि मैले उतै जागिर सुरु गरेँ।  जितु भने गाउँकै स्कुलमा पढाउन थाल्यो। हामी दुवै आ-आफ्नो पढाइ, काम, परिवार र निजी जीवनमा व्यस्त हुन थाल्यौँ। कालान्तरमा हाम्रो सम्पर्क पनि हुन सकेन।  यसमा जितु भन्दा म नै दोषी थिएँ।  मेरो व्यस्तता र कामको कारण म गाउँबाट टाढा  भएको थिएँ।  तर, ऊ भने गाउँ कै स्कुलको लागि आफ्ना जीवन अर्पण गर्न तयार थियो र गर्यो पनि ।

म त्यहाँ जितुलाई भेट्न आएको कुरा पत्यार लागेको थिएन उसलाई। मलाई थाहा थिएन, मेरो उपस्थितिले ऊ खुसी हुन्छ वा हुँदैन। उसको चाहना मलाई भेट्ने थियो वा थिएन।  तर, म भने उसलाई भेट्न र उसको कुरा सुन्न आतुर थिएँ।

मनमा बेचैनी थियो।  करिब बिस वर्षको अन्तराल पछि म जितुलाई भेट्दै थिएँ, त्यो पनि एकदम कठिन र अनौठो परिस्थितिमा।  एकातिर बालापन र स्कुले जीवनको जितुको याद ताजै थियो भने अर्कोतिर अहिलेको परिस्थितिले जन्माएको उसको त्यो कालो दाग र ऊप्रति समाजले हेर्ने दोषी नजरको तस्बिर पनि मेरो सामु प्रस्ट आएको थियो।

मेरो मनभित्र हजारौँ कुराहरू खेलेका थिए। सयौँ प्रश्नहरू थिए मसँग जितुलाई सोध्न।  जुन दिन मैले थाहा पाएँ, जितुले एक बालिकालाई बलात्कारको  प्रयास गरेको र यौन हिंसा गरेको मुद्दामा जेलमा परेको छ, त्यसै दिनदेखि म उसलाई भेटेर सत्यतथ्य कुरा सुन्न, जान्न र बुझ्न लालायित थिएँ।  मैले चिने, जानेको र बुझेको जितु त्यस्तो थिएन। के, कसरी र किन त्यस्तो घटना भयो म त्यो जान्न आतुर थिएँ।  मलाई विश्वास थियो, कम्तीमा मलाई उसले सत्य कुरा भन्ने छ।

दुई ठुला ठुला पर्खालको बिचमा रहेको सानो र अँध्यारो ठाउँबाट ऊ अगाडि बढ्दै गरेको मैले देखेँ।  मैले उसलाई देख्ने बित्तिकै टाढैबाट हात हल्लाएँ। तर उसको हात उठेन। मलाई देख्न बित्तिकै उसको अनुहार मलिन भयो।  ऊ मलाई देखेर झस्क्यो। मलाई पनि निकै अप्ठ्यारो लाग्यो।  के गर्ने के नगर्ने भयो। आफैँले आफूलाई सम्झाएँ। म दुःखी  र निराश भए ऊ झन् दुखी हुन्छ।  त्यसैले, म सामान्य हुनु पर्छ र ऊसँग सामान्य रूपमा नै कुरा गर्नु पर्छ आज। मैले अठोट लिएँ।

जितुलाई भेट्ने प्रतीक्षामा जेलको कैदी बन्दीहरू भेट्ने ठाउँमा रहेको प्लास्टिकको सानो कुर्चीमा म बसेको थिएँ।   हाम्रो बिच फलामको बार थियो। एक अर्कालाई हेर्न र दुई जना बोल्न मात्रै मिल्ने, तर छुन र नजिक जान नमिल्ने गरी हामी बिचको दुरी थियो।  जितु मेरोअघि आयो। म उसलाई देखेर निकै भावुक भएँ।

अनायासै मैले मेरो दायाँ हातअघि बढाएँ। मैले जितुलाई स्पर्श गर्न सक्ने अवस्था थिएन त्यहाँ। तरपनि जितुसँग हात मिलाउन निकै आतुर भए जस्तै मेरो दाहिने  हात अघि बढ्यो। अघि बढेको हात मैले तुरुन्तै झारेँ।  त्यहाँ एकछिन सन्नाटा छायो। उसले मेरो अनुहार एकटकले हेर्यो, अनि मैले उसको।

ऊ शान्त र मलिन थियो। मैले नै कुराकानीको सुरुवात गर्नु पर्ने अवस्था आयो।  हाम्रो बिच सामान्य भलाकुसारी भयो।  उसले मेरो घर, परिवार र जागिरको बारेमा सोध्यो।  मैले उसको अहिलेको स्वास्थ्य र त्यहाँको बसाइको बारेमा सोधेँ।  म यति कुरा गर्नको लागि मात्रै जितुसँग भेट्न त्यहाँ गएको थिइन। मलाई जान्नु थियो त्यो समय, परिस्थिति र घटना जसले जितुलाई त्यो कालकोठरीको चिसो छिँडीमा पुर्याएको थियो।  आखिर मैले बुझेको त्यो मेहेनती, साधु र सन्त जस्तै जितु कसरी अपराधीको रूपमा अहिले जेलसम्म पुग्यो।

मैले प्रसङ्ग निकाल्नु थियो, निकालेँ। मेरो मनमा उब्जेका प्रश्नहरू ओकल्नु थियो, ओकलेँ। मेरो नियन्त्रणमा भएको कुरा सिर्फ त्यही थियो, बाँकी उत्तर दिने वा नदिने उसको इच्छा। वास्तवमा मैले जितुबाट सिधा प्रश्नको सिधा उत्तर खोजेको थिएँ।

= = =

उसले पनि आफ्नो कुरा राख्दै मलाई त्यो घटना र त्यसको पृष्ठभूमिको बारेमा यसरी बतायो –

ती नानी मेरी छोरी जस्तै हुन्। नानी र मेरी छोरी सँगै एघार कक्षामा पढ्छन्।  दुवै मिल्ने साथी पनि हुन्। मैले नै ती नानीलाई मेरी छोरीसँगै एउटै कक्षामा भर्ना गरिदिएको हुँ। उसको छोरा र छोरी दुवैले एकै पटक एसइई पास गरे पनि  छोरालाई मात्रै पढाउने तर आफ्नी छोरीलाई नपढाउने कुरा गरेको थियो उसले त्यति बेला । अब पुग्यो छोरीलाई पढाउन, अब मेरो पढाउने हैसियत छैन भन्दै छोरीलाई नपढाउने कुरा गरेको थियो। मैले नै उसलाई पढेको छोरी र नपढेको छोरीको अन्तर बताएर उसको भविष्यमा खेलबाड नगर्न अनुरोध गरेको थिएँ। पढाउन नसकेको अवस्थामा छोरीलाई पढाउन भरथेग सहयोग म पनि गरुँला भनेर आड भरोसा दिएको थिएँ। यसरी मैले उसको छोरीलाई मेरै स्कुलमा भर्ना गर्न सहमत गराएको थिएँ।

जुन स्कुलमा मैले झन्डै बिस वर्ष पढाएँ, त्यही स्कुलको कक्षा कोठाबाट मलाई प्रहरीले समात्यो।  उति बेला मलाई थाहा नै थिएन, म कुन कसुरमा पक्राउ परेको थिएँ।  पछि प्रहरी चौकीमा ल्याए पछि थाहा पाएँ, मैले नन्दुको छोरीलाई पढाउने निहुँमा मैले घरमा बोलाई बलात्कार गर्ने प्रयास गरेको र यौन हिंसा गरेको जाहेरी परेको रहेछ। अचम्म के भने जुन बेला म पक्राउ परेँ, ती नानी मेरै स्कुलको कक्षा कोठामा पढ्दै थिइन्। जाहेरी परेको दुई दिनसम्म पनि मलाई यो कुराको सुइँको थिएन।  न त नन्दुले, न मलाई ती नानीले यो कुराको बारेमा केही भनेका थिए।   मलाई मात्रै हैन, मेरो घर परिवारमा मेरी श्रीमती र ती नानीसँग पढ्ने मेरी छोरीलाई पनि यो कुरा जानकारी नभएको पछि मलाई थाहा भयो।

जुन स्कुलमा मैले अहिलेसम्म धेरै बालबालिकालाई नैतिक शिक्षा सिकाएँ, त्यही स्कुलमा केटाकेटी कै अघि अनैतिक र  बलात्कारी जस्तै गरी मलाई प्रहरीले हतकडी लगायो।  अहिले म यहाँ यौन हिंसा र बलात्कार प्रयासको अभियोगमा पुर्पक्षको लागि थुनामा छु।  मैले आफ्नो सबै कुरा न्यायालय समक्ष राखेको छु।  मलाई आशा छ, मैले एकदिन न्याय पाउने छु।

यो कुरा बुझ्न अहिलेको यो परिस्थिति मात्रै हेरेर हुँदैन। अलिकति पहिले देखिको कुरा सुन्नु, बुझ्नु र जान्नु जरुरी छ।  तिमिलाई मैले नभने कसले भन्ने ?

ती नानीको बाबु नन्दु काम खोज्ने सिलसिलामा  करिब पाँच  वर्ष अघि लम्जुङकाे दुर्गम गाउँबाट यहाँ आएको थियो। मेरो घर नजिकै एउटा पर्यटकीय रिसोर्ट बन्दै थियो।  ऊ त्यहाँ ज्याला मजदुरी गर्न आएको थियो। त्यही बेला उसले बस्ने ठाउँ खोजेको हुनाले मेरो घर छेउकै मेरो जग्गामा मैले एउटा छाप्रो बनाएर नन्दुलाई बस्न दिएको थिएँ।

त्यो रिसोर्ट काम सुरु भएको करिब एक वर्ष पछि बन्यो। अनि नन्दुको काम पनि सकियो।  उसको लागि त्यहाँ अरू कुनै रोजगारी  थिएन। मेरो खेतीपाती गर्न र मेरो घरको सबै काममा सहयोग गर्न मलाई एक जना मान्छे चाहिएको थियो।  त्यसैले मैले नै उसलाई मेरो घरमा मेरो परिवार र खेतीपातीमा सहयोग गर्न मासिक एकमुष्ट तलब दिने र खाना हामीसँगै खाने गरी त्यही बस्न दिएको थिएँ। ऊ पनि खुसी थियो।  म पनि एक जना सहयोगी भएको हुनाले परम्परागत खेतीपातीलाई आधुनिक तरकारी खेतीमा रूपान्तरण गरेर आफ्नै घरपाईको जागिर कृषि फर्म चलाउन पाएकोमा म पनि दङ्ग थिएँ।

मेरो घरमा काम सुरु गरेको एक वर्षपछि उसले आफ्नो परिवार श्रीमती, दुई छोरा र एक छोरी पनि सँगै यहीँ ल्याउने योजना मलाई सुनायो। मैले त्यसमा सहमति दिएँ। मलाई लाग्यो, नन्दुको परिवार पनि ऊ सँगै हुने, मेरो कृषि फर्मलाई थप एक जना सहयोगी पनि मिल्ने। यो सही कुरा हो।

नन्दुले उसका तीन बच्चाहरूको लागि स्कुल भर्ना गर्न सकिने हो वा होइन भन्ने जिज्ञासा राख्यो।  मैले उनीहरूको उमेर र अहिले पढेको कक्षा सोधेँ।

उति बेला उसको तेह्र वर्षको कान्छो छोरा पाँच कक्षामा पढ्ने, अर्को पन्ध्र वर्षको ठुलो छोरा आठ कक्षामा पढ्ने कुरा मलाई बतायो।  साथै, छोरी आठ कक्षामा पढ्दा पढ्दै सोह्र बर्षकै उमेरमा तीन वर्षअघि गाउँ कै एक जना केटासँग भागेर बिहे गरेको, बिहे गरेको एक वर्ष पछि केटाले  छोडेकाे, र पछि छोरी आमासँगै बसेको कुरा पनि उसले मलाई बताएको थियो ।

नन्दुको  कुरा सुनेर मैले उसको दुई छोरा र छोरी तिनै जनालाई मेरो स्कुलमा भर्ना गरिदिने बताएको थिएँ।  मैले उसको ठुलो छोरा र छोरी दुवैलाई आठ कक्षामा भर्ना गर्नु पर्ने सुझाव दिएको थिएँ।  उसले छोरी अहिले करिब उन्नाइस  वर्ष भएको र ठुली भइसकेको हुनाले पढाउन नसक्ने कुरा गर्दा मैले छोरा र छोरी दुवैको उमेर घटाएर उमेर मिलाइदिने र मेरै स्कुलमा भर्ना गरिदिने कुरा बताएको थिएँ।  यो कुरामा नन्दु पनि सहमत भयो।

यसै बमोजिम मेरै सल्लाह र सहयोगमा तीन वर्षअघि नन्दुले सबै परिवार यता ल्याएको थियो।  त्यही बेला मैले उसको ठुलो छोरा र छोरी  दुवै  जनाको उमेर घटाएर मेरै स्कुलमा आठ कक्षामा भर्ना गरिदिएको थिएँ।  त्यसरी नै सानो छोरालाई उसको उमेर कायमै राखेर पाँच कक्षामा भर्ना गरिदिएको थिएँ।

यसरी नन्दु  र उसको परिवार मेरो परिवारसँग जोडिएको थियो। आफ्नै परिवार जस्तै गरी राखेको थिएँ।  समयमा तलब दिएको थिएँ।  बस्ने अस्थायी घर बनाउन जग्गा, केटाकेटीलाई पढाउने वातावरण र मेरो साथ मैले नन्दु र उसको परिवारलाई दिएको थिएँ।  मलाई पनि नन्दु र उसको श्रीमतीको सहयोग थियो।

नन्दुले आफ्नी श्रीमतीले गाउँको लघु बित्तबाट केही वर्ष पहिले पाँच लाख रुपैयाँ ऋण लिएको, त्यसको सावाँ र ब्याज गरी अहिले झन्डै दश लाख रुपैयाँ तिर्न बाँकी भएको कुरा मलाई गत वर्ष बतायो।  मलाई उसले पाँच लाख रुपैयाँ रकम सहयोग गर्न अनुरोध गरेको थियो।  त्यति रकम मसँग नभएको कुरा उसलाई बताएको थिएँ।  मसँग भएको रकम एक लाख रुपैयाँ तलबबाट काट्ने गरी गत वर्ष मैले उसलाई सहयोग गरेको पनि थिएँ। यसै बेलादेखि नन्दु मसँग असन्तुष्ट थियो।  नन्दुको माग थियो, उसको घर र अलिकति भएको जग्गा लघुवित्तको चङ्गुलबाट बचाइदिनु पर्यो।  मसँग त्यो हैसियत उहिले पनि थिएन र अहिले पनि छैन।

त्यसपछि नन्दुको अनेक बहाना निस्केका थिए।  कहिले बिरामी भएको बहाना बनाएर हप्तौँसम्म काम नगरी दिने, कहिले उपचारको लागि रकम माग्ने।  कहिले आफन्त भेट्न गाउँ जाने, कहिले छोरा छोरीलाई मेरै अघि कुनै न कुनै निहुँमा कुटपिट गर्ने।  रक्सी खाएर पैसाका लागि मलाई धम्काउने, बेला न कुबेला कुनै निहुँ निकालेर मलाई गाली गलौच गर्ने, तँलाई पनि म जस्तै सडकमा ल्याइदिन्छु भन्ने कुरा सामान्य नै भइसकेको थियो।  तरपनि, म नन्दुका छोरा छोरीलाई मेरा जस्तै मान्थेँ र उनीहरूको भविष्यको लागि एक दिन ऊ सुध्रिने छ भनेर आशावादी हुँदै बस्थेँ।

मैले उसलाई सम्झाउने प्रयास पनि गरेँ।  नन्दु र उसकी श्रीमतीलाई एकै ठाउँमा राखेर सम्झाएँ पनि।  छोरा छोरीको भविष्य हेर्न भनें। ऋण लाग्दैमा दिन लाग्दैन,  मेहेनत गर्ने हो भने बिस्तारै सबै ठिक हुन्छ भन्ने कुरा  उदाहरणसहित दिएँ।  तरपनि उसको ऋणको सावाँ र ब्याज तिर्न नसक्नुमा ऊ अरूलाई हैन मलाई नै दोष दिन्थ्यो।  मैले गरेको सहयोग हैन, मैले सहयोग गर्न नसकेको कुरा ऊ बारम्बार गर्थ्यो।  यसैमा उ म प्रति दिन प्रतिदिन रिसाउँदै थियो।

हरेक दिन मेरो घरमा बेलुका म मेरी छोरीलाई गृहकार्य गर्न सिकाउँदा नन्दुकी छोरी ती नानीलाई पनि सँगै राखेर गृहकार्य गर्न सिकाउँथे।  जुन दिन मैले ती बालिका नानीलाई यौन दुर्व्यवहार गरेको र बलात्कार गर्न प्रयास गरेको भन्ने आरोप लागेको थियो, त्यो दिन मेरी छोरी मामाघर गएकी थिइन्।  ती नानी मेरो घरमा आएको सत्य हो।  मैले करिब पन्ध्र मिनेट जति ती नानीलाई उनको होमवर्क गर्न सिकाएको पनि सत्य हो।  म ती नानीलाई आफ्नै छोरी जस्तै माया र सहयोग गर्छु। त्यसैले मैले कुनै यौन दुर्व्यवहार गर्ने र बलात्कारको प्रयास गरेको कुरा सरासर झुटो हो।

मलाई लाग्छ नन्दुको म प्रति रिस साँध्ने र मलाई खत्तम पर्ने यो एक उपाय हो।  मैले सुनेँ, मलाई पक्राउ गरेको दिनदेखि उसको परिवार त्यहाँबाट अन्तै सरेको छ।  मैले ती नानीलाई भेट्ने र उनको प्रतिक्रिया सुन्ने अवसर पाएको छैन।  मेरो परिवार र छोरीले पनि ती नानीसँग भेट्ने र बोल्ने अवसर नपाएको कुरा मैले सुनेँ।

म अहिले निकै तनावमा छु।  घरमा कमाउने  र परिवारको लागि केही गर्ने मेरो जीवन नरक जस्तै भयो।  जेलभित्र बन्दीको रूपमा अन्तिम न्यायको पर्खाइमा छु।  आशा छ, मैले न्याय पाउने त्यो दिन पक्का आउने छ।  तर, मैले भोगका यी दिनहरू र मेरो जीवनमा लागेका कालो धब्बाहरूको क्षतिपूर्ति कहिले हुने छैन। मलाई आर्थिक, मानसिक र सामाजिक रूपमा परेको क्षतिको जति हिसाब किताब गरे पनि कम हुन्छ।  म अब कुनै रूपमा पनि सामान्य मान्छे हुन सक्दिन।

ल ! मैले भन्नु पर्ने सत्य र तथ्य यति हो।  फेरी पनि भन्छु, म निर्दोष छु।  आशा छ, एक दिन मैले न्याय पाउने छु।

= = =

जितुका यी सबै कुरा सुने पछि म नि:शब्द भएँ।  उसले पुरा आत्मविश्वास र निर्धक्क भएर यी कुराहरू भने पछि मलाई मनमनै लग्यो, ऊ निर्दोष हुन सक्छ। त्यति बेला मौका मिले मैले ती नानी र नन्दुको कुरा पनि सुन्ने निधो गरेको थिएँ।  तर, अहिलेसम्म त्यो मौका मिलेको छैन।  तपाईंहरूले कतै नन्दु र उनकी ती छोरीलाई भेट्नु भयो भने मेरो कुरा सनाई दिनु होला।  म उनीहरूको कुरा पनि सुनेर बाँकी कथा पुरा गर्ने प्रयास गर्नेछु। अन्त्यमा अर्को भन्ने पर्ने कुरा, जितु, उसको परिवार र म अझै पनि न्यायालयको अन्तिम फैसला कुन दिन हुनेछ भनेर पर्खिबसेका छौँ।