Saturday 11 November 2023

मेरो गाउँको समाजवादको यात्रा

https://nepalilink.com/2023/11/10/78377.html 

मेरो गाउँको समाजवादको यात्रा

डा. बच्चु कैलाश कैनीनोभेम्बर १०, २०२३
facebook sharing button
twitter sharing button
messenger sharing button

तस्विर: मेरो बुवासहित अन्य सात जना तनहूँ कांग्रेसका नेताहरु बायाँबाट क्रमश: श्री तेज बहादुर पन्त, श्री गोबिन्दराज जोशी, श्री कृष्ण चन्द्र नेपाली, श्री रामचन्द्र पौडेल, श्री अमरराज कैनी, स्व पुरुषोत्तम काफ्ले, स्व मेघनाथ कैनी २०३६ सालमा जनआन्दोलनताका कास्की कारागारमा लिइएको तस्विर

म नेपालको एक गाउँमा जन्में। उतै हुर्कें, बढें र स्कुले शिक्षा पढें। स्कुल र कलेज जीवनमा पञ्चायतको गुनगान पढ्ने बाहेक अन्य राजनीतिक सिद्धान्त र आदर्शको बारेमा औपचारिक रुपमा पढ्ने मौका मिलेन। तथापि राजनीतिक सिद्धान्त जस्तै प्रजातन्त्र, साम्यवाद, पूँजीवाद र समाजवादको बारेमा भने मलाई जानकारी थियो।

यसको श्रेय मेरा स्वर्गीय बुवा मेघनाथ कैनी लाई जान्छ। मेरो बुवा गाउँको सामान्य किसान हुनु हुन्थ्यो। तरपनि समाज, गाउँ र देशका लागि केही गर्नु पर्छ भन्ने लाग्थ्यो मेरो बुवालाई। प्रजातन्त्र, समाजवाद र राष्ट्रियताको मूल मन्त्र लिएर राजनीतिमा लाग्ने नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता हुँदा मेरो बुवा पंचायत कालमा पटक पटक जेल पर्नु भयो। मेरो घरमा नियमित रुपमा राजनीतिक जमघट र बैठक समेत हुन्थ्यो।

उतिबेला स्कुले जीवनमा म सानो हुँदा राजनीतिको कुरा सुन्दा मलाई दुई वटा कुराहरु प्रजातन्त्र र समाजवादले आकर्षित गरेको थियो। प्रजातन्त्र भनेको लेख्ने, बोल्ने, ब्यक्तिगत स्वतन्त्रता र मताधिकार मार्फत आफ्नो प्रतिनिधि छान्ने अधिकार भन्ने सामान्य बुझाई थियो। त्यस्तै, समाजवाद भनेको निमुखा, गरीव, किसान लगायत सबैको हित गर्ने, समान अधिकार दिने, श्रोत र साधनको न्यायोचित वितरण गरी समानताको लक्ष्य प्राप्त गर्ने पद्धती भन्ने मेरो बुझाई थियो उतिबेला सानोमा।

मेरो बुवाले यसैका लागि पञ्चायत कालमा आफ्नो जीवनको उर्जाशील समय खर्च गर्नु भयो। धेरै धन सम्पत्ति खर्च गर्नु भयो। उतिबेला आफ्नो गाउँमा चेतनाको ज्योती छर्नु भयो। उहाँलाई पनि देशमा प्रजातन्त्र ल्याउनु थियो र प्रजातान्त्रिक समाजवाद मार्फत गाउँ, समाज र देशको विकास गर्नु थियो। यो अहिलेको कुरा हैन, आज भन्दा करिव चालिस–पचास वर्ष अघिको कुरा थियो।

मेरो बुवा २०४४ सालमा देशमा प्रजातन्त्र नआउंदै बित्नु भयो। उहाँले देखेको सपना मध्ये देशमा प्रजातन्त्र आयो। उहाँ जहाँ भएपनि निकै खुशी हुनु भयो होला यो कुराले। तर, मेरो बुवाले देखेको अर्को सपना समाजवादमार्फत गाउँ, समाज र देशको विकास गर्ने थियो। यो कुरा सम्झेर अहिले मेरो गाउँ तिर फर्केर हेर्ने हो भने मेरो मनमा धेरै प्रश्नहरु उठ्छन्।

नेपालमा पञ्चायत कालमा  प्रजातन्त्र, समाजवाद र राष्ट्रियताका लागि लड्दा यो तस्विरमा मेरो बुवा (दायाँबाट पहिलो) सँगै २०३६ सालमा कास्की जेलमा बस्ने गणतन्त्र नेपालको सम्माननीय राष्ट्रपति (तस्विरमा बायाँ बाट चौथो) हुनुहुन्छ। उहाँ धेरै पटक सांसद र मन्त्री हुनुभयो। उहाँले सत्ताको सबै जसो अनुभव लिनुभयो।

तपाईंले चिन्नु भयो कि भएन, यो तस्विरमा गण्डकी प्रदेशको पूर्व मुख्यमन्त्री श्री कृष्णचन्द्र नेपाली (बायाँबाट तेश्रो), पूर्व गृह र शिक्षामन्त्री श्री गोविन्द राज जोशी (बायाँबाट दोश्रो) र मेरो काका श्री अमरराज कैनी (पूर्व सांसद र राज्य मन्त्रि, बायाँबाट पाँचौ) पनि  हुनुहुन्छ। उहाँहरु सबै  उतिबेला देखि नै प्रजातन्त्र र प्रजातान्त्रिक समाजवादमार्फत देश विकासको सपना देखेर आफ्नो जीवन दाउँमा राखेर जेल नेल भोग्नुभएको थियो।

उहाँहरुकै आदर्श, सिद्धान्त, मुल्य र मान्यतालाई उचित मान्दै उतिबेला मेरो गाउँका धेरै जनताले उहाँहरुलाई समर्थन गर्नुभएको कुरा मेरो स्मृतिपटलमा अझै ताजा छ। यो तस्विरमा हुने नेतृत्व वर्गले यो कुरा भुल्ने कुरै भएन। यो तस्वीर खिचेको झन्डै दश वर्ष पछि नेपालमा प्रजातन्त्र आयो। त्यसपछि उहाँहरु वा मैले माथि नाम उल्लेख गरेका मेरै जिल्लाका नेताहरु सत्तामा पुग्नु भयो, त्यो पनि एक पटक हैन पटक पटक।

उहाँहरुले प्रजातान्त्रिक समाजवादको सपना देखाएर राजनीति गरेको पनि झन्डै पचास बर्ष पुगी सक्यो। यो अवधिमा नेपालमा धेरै राजनीतिक परिवर्तनहरु भए। तर, मेरो गाउँका पिछडिएका, दलित, सिमान्तकृत, आर्थिक अवस्था कमजोर भएका, गरीव जनताको अवस्थामा तात्विक अन्तर आउन सकेको छैन भन्ने मेरो बुझाई छ।

यो अवधिमा एकदमै देखिने परिवर्तन पनि भएको छ। त्यो के हो भने, जो सत्तामा पुगे ति मध्ये धेरैजसो नेता र तिनका परिवारको आर्थिक अवस्था र हैसियत उहिले पंचायतकालमा राजनीति गर्दा भन्दा अहिले निकै माथि छ। यो मैले प्रत्यक्ष अनुभव गरेको कुरा हो। तर, उति बेला उहाँहरुलाई साथ दिने, सहयोग गर्ने र कतिपय बेलामा गाउँमा गास र बास दिने मेरो गाउँका धेरैजसो जनताको हाल भने करिब करिब उस्तै उस्तै छ।

नेपालमा समाजवादको कुरा गर्दा आर्थिक क्रान्ति नभई आम जनताको जीवनस्तर माथि जान सक्दैन। आर्थिक क्रान्तिको लागि हरेक गाउँमा वा देश भित्रै रोजगारीको अवसर हुनु परयो। नेपालको परिवेशमा गाउँमा कृषि बाहेक अरु रोजगारीको अवसर जुटाउन निकै कठिन छ।

लेखक

उहिले भन्दा अहिले मेरो गाउँमा कृषिको अवस्था निकै नाजुक छ। त्यहाँ कृषिमा न कुनै आधुनिकीकरण भएको छ, न कृषि क्षेत्रमा काम गर्ने कुनै मजदुर पाउन सकिन्छ। कामका लागि गाउँ छोडेर बाहिर जानेको संख्या अधिक छ। खेत बारी जोत्न हाल गोरु पाल्नेहरू छँदै छैनन् भने पनि हुन्छ। सरकारले भनेको बेला मेरा गाउँका कृषकलाई मल र बीऊ दिने नसकेको धेरै उदाहरणहरु छन। अहिले मेरो गाउँमा धेरै जसो खेतीयोग्य जग्गा बाँझो छ। ब्यबसायिक तरकारी खेती गर्ने नगन्य छन्, भएपनि अपवादको रुपमा छन्। यस अर्थमा मेरो गाउँको समाजवादको यात्रा जहाँको त्यहीं छ।

शिक्षा जुनसुकै देश विकासको लागि न्युनतम शर्त हो। समाजवादको अर्को आधार स्तम्भ शिक्षा हो। सरल, सहज, सुलभ र गुणस्तरीय शिक्षा बिना देशमा दक्ष जनशक्ति उत्पादन हुन सक्दैनन। फलत चेतना, देश विकास, समाजवाद, आर्थिक उन्नति, प्रगति र सम्वृद्धिको बाटो बन्द हुन्छ। यसको प्रत्यक्ष प्रभाव मेरो गाउँमा पनि पर्छ।

म उतिबेला पढ्ने मेरो गाउँको निम्न माध्यमिक बिद्यालय अहिले माध्यमिक विद्यालय भएको छ। तर, अहिले त्यहाँ कुनै कक्षामा एकल अंकमा विद्यार्थी छन् भन्नु पर्दा दुःख लगेर आउँछ। धेरैजसो जनतालाई सामुदायिक विद्यालयले दिने शिक्षा प्रति विश्वास छैन। त्यही स्कुलमा पढाउने शिक्षकका छोरा छोरी नै नीजि स्कुलमा पढ्छन्। स्कुलमा दरबन्दी अनुसारका शिक्षक कर्मचारी पनि छन्।  तर, सरकारले मेरो गाउँका जनताको मन र भरोसा जित्ने स्कुल चलाउन सकेको छैन। यो मेरो गाउँको कुरा मात्रै हैन, देशभर त्यस्तै हालत छ। यो अर्थमा मेरो गाउँले शिक्षामा प्रगति गर्न सकेको छैन र समाजवादको बाटो अहिले सम्म पहिल्याउन सकेको छैन ।

समाजवादको कुरा गर्दा स्वास्थ्य क्षेत्रलाई भुल्ने कुरै भएन। स्वास्थ्य क्षेत्र समाजवादको अर्को प्रमुख आधार स्तम्भ हो। स्वस्थ नागरिक बिना स्वस्थ समाज बन्दैन। स्वस्थ जनता र स्वस्थ समाज बिना देश बनाउने कल्पना गर्न सकिंदैन। त्यसैले समाजवादको लक्ष्य प्राप्ति गर्ने हो भने राष्ट्र र समाजले सबै जनतालाई सुलभ, सहज र सरल रुपमा हरेक स्वास्थ्य सेवा उपलब्ध गराउन सक्नु पर्छ।

मेरो वडामा स्वास्थ्य केन्द्र भएपनि त्यो केवल नाम मात्रैको छ। न त्यहाँ भर्ना हुने सुविधा छ, न चिकित्सक नै हुन्छन त्यहाँ। तनहूँ जिल्ला सदरमुकाम दमौलीमा जिल्ला अस्पताल छ। त्यहाँ आम जनताका लागि आधारभूत स्वास्थ्य सेवा भए पनि कुनै विशेषज्ञ सेवा छैन। कुनै गम्भीर रोग लागे बिरामी पोखरा वा काठमान्डौ लानु पर्ने अवस्था छ अहिले पनि। गम्भीर रोग परिक्षण, पहिचान वा निदानका लागि चाहिने सेवा र बिशेषज्ञ चिकित्सक छैनन् त्यहाँ। त्यसैले मेरो गाउँले उतिबेला देखेको समाजवादको यात्रा अहिले पनि झन्डै जहाँको त्यही छ।

समाजवादको यात्रामा गन्तव्यमा पुग्न हरेक गाउँमा विकासका लागि भौतिक पूर्वाधार हुनु आवश्यक छ। अहिले मेरो गाउँको वडा कार्यालयसम्म पुग्न डोजरे बाटो पुगेको छ। त्यो बाहेक अरु कुनै भौतिक पूर्वाधार त्यहाँ बनेका छैनन्। पृथ्वी राजमार्ग उहिले नै मेरो गाउँमा बनेको थियो। राजमार्गको सहज पहुँच हुने मेरो गाउँको हालत त यस्तो छ भने अरु दुर्गम गाउँको नेपालको हालत कस्तो होला, त्यो सहज अनुमान गर्न सकिन्छ।

मेरो बुवा र उहाँका दौतरी राजनीतिज्ञहरुले राजनीति गर्दा उतिबेला देखेको समाजवादको सपना अहिले पनि झन्डै जहाँको त्यहीं छ। नेपालको संविधान २०७२ मा ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्ध रहने’ उल्लेख भएको, शिक्षा र आधारभूत स्वास्थ्य जस्ता कुरा जनताको मौलिक हक भन्ने प्रतिवद्धता जाहेर गरिए पनि ब्यवहारमा भने मेरो गाउँ अहिले पनि करिब करिब जहाँको त्यहीं छ। मेरो बुवाले देखेको समाजवादको त्यो सपना सायद मेरो जीवनकालमा पुरा हुने छैन। तरपनि, पुरा होस् भन्ने मेरो बुवाको त्यो चाहना मेरो पनि चाहना हो र मेरो सन्ततिको पनि चाहना रहनेछ।

(लेखक बेलायतको डार्टफोर्ड काउन्सिलका पूर्व काउन्सिलर हुन्। उनी सन् २०१७ को आमनिर्वाचनमा लेबर पार्टीको तर्फबाट सांसद उम्मेदवार थिए । हाल उनी एङ्ग्लिया रस्किन युनिभर्सिटी, बेलायतमा सिनियर लेक्चररको रुपमा कार्यरत छन्)

No comments:

Post a Comment

लघुकथा: बाबु ! कुन बाहुन ?

  लघुकथा डा. बच्चु कैलाश कैनी वैशाख १८, मङ्गलवार ०७:२० 425 SHARES Share Tweet Subscribe ‘बाबु, तपाईं कुन बाहुन ?’ ‘म कुमाई बाहुन बुवा ।’ ‘ए,...