जनतामुखी की भोटमुखी! - डा. बच्चुकैलाश कैनी
जनतामुखी की भोटमुखी!
डा. बच्चुकैलाश कैनी print
बहुदलीय लोकतान्त्रिक व्यवस्थामा जनता सर्वोपरी हुन्छन् र जनताको भोट राज्य सञ्चालनमा निर्णायक मानिन्छ। जनताद्वारा चुनिएका व्यक्तिले शासन सञ्चालन गर्छन्। लोकतान्त्रिक व्यवस्थामा कार्यपालिकाको रुपमा सरकार र व्यवस्थापिकाको रुपमा संसद दुवै स्थानमा जनताले चुनेका व्यक्ति रहन्छन्। यसको अर्थ देशको यी दुई अंगमार्फत् जनता नै सर्वोपरी मानिन्छन्। लोकतन्त्रमा जनता र जनताद्वारा दिइने भोट दुवै अत्यन्त महत्वपूर्ण हुन्छन्। अब प्रश्न उठ्छ यी दुईमध्ये पहिलो प्राथमिकता कसले पाउने?
नेपालमा लोकतन्त्र पुनस्थापनापछि हरेक राजनैतिक दलका नेताको क्रियाकलाप र गतिविधिको सुक्ष्म अध्ययन र विश्लेषण गर्ने हो भने अधिकांश नेताको ध्यान आगामी चुनावमा कसरी बढी भोट प्राप्त गर्ने भन्ने कुरामा केन्द्रित भएको देखिन्छ। बहुदलीय व्यवस्थामा भोट निर्णायक हुन्छ तर राजनीतिमा भोटभन्दा जनता र जनताप्रति उत्तरदायी भूमिका सबैको लागि महत्वपूर्ण हुन्छ। भोटमूखी कार्यक्रमभन्दा आमजनताका समस्या समाधान गर्ने कार्यक्रम र त्यस्ता कार्यक्रमको कार्यान्वयन पक्ष कालान्तारमा लोकप्रीय हुन्छन्। त्यसो त भोटमुखी कार्यक्रमले जनताका समस्याहरु समाधान हुँदैहुँदैन भन्नु पनि तर्क सङ्गत छैन। तर, भोटमुखी कार्यक्रमहरु निश्चित स्वार्थ, आफूलाई भोट दिने जनताका लागि र केवल चुनावमा भोट प्राप्त गर्ने उद्धेश्यले अभिप्रेरित हुन्छन्।
विगत र वर्तमानका कतिपय कार्य भविष्यमा ठीक वा बेठीक प्रमाणित हुन्छन्। समयले कतिपय कार्यहरुलाई सही वा गलत प्रमाणित गरिदिन्छ। यसका लागि धैर्यता र संयम आवश्यक हुन्छ। चुनावमुखी कतिपय कार्यक्रमहरु सम्बन्धित क्षेत्रका व्यक्तिका लागि तत्काल ठीक देखिए पनि समग्रमा ठीक वा वेठीक भन्ने एकिन गर्नका लागि समयको प्रतिक्षा गर्नुपर्छ।
भोट साध्य हो साधन होइन। जनता साध्य र साधन दुवै हुन्। जनताका लागि नेता समर्पित भए भने नेताप्रति जनता समर्पित हुन्छन्। देश विकासको लागि हरेक व्यक्ति र संस्थाको भूमिका अहम् हुन्छ। जनप्रतिनिधि चुन्न जनताको भूमिका, जनताका समस्याहरु हल गर्न जनप्रतिनिधिको भूमिका तथा जिम्मेवारी तोक्न र निर्वाह गर्न राजनैतिक दलहरुको भूमिका अहम् हुन्छ।
जनताद्वारा दिइने, जतनाको हितका लागि दिइने र जनताको स्वइच्छामा भर पर्ने भोटलाई मात्र प्राथमिकता दिने हो भने तमाम जनतालाई एकातिर पन्छाउनु पर्ने हुन्छ। कुनै एक व्यक्तिलाई प्राप्त हुने भोट एक निश्चित निर्वाचन क्षेत्रबाट प्राप्त हुन्छ भने जनता देशका हरेक कुना काप्चामा बसोवास गर्छन्। भोट निर्वाचन जित्ने माध्यम भएता पनि चुनाव सम्पन्न हुँदैमा वा कसैले चुनाव जित्दैमा समस्या समाधान हुन्छ भन्ने केही छैन।
भोट वा चुनाव लोकतन्त्रको अपरिहार्य तथा एउटा महत्वपूर्ण पक्ष हो। समग्र परिस्थिति, जनता र देशको हितका लागि सोच्ने प्रवृतिभन्दा भोटमुखी हुने प्रवृति देश र जनताको लागि जति प्रत्युत्पादक हुन्छ त्यति नै यसले राजनीतिज्ञका लागि दुरगामी असर पार्छ। भोटमुखी राजनीतिका कारण आफू र आफ्नो आसपासमा बस्ने एवं आफ्नो निर्वाचन क्षेत्र मात्र देख्ने हाम्रा नेताहरुका लागि देश र जनता भन्दा भोट र सत्ता प्यारो लागिरहेको छ।
भोटलाई सत्तामा पुग्ने माध्यम मात्र ठानेर चुनाव पछिका दिनहरुमा राजधानीमा बस्ने तथा जनता र जनताका समस्याहरुलाई बेवास्ता गर्ने हो भने जनताले पनि त्यस्ता नेताहरुलाई बेवास्ता गर्नेछन्। नेताका लागि भोट जति प्यारो हुन्छ, जनताका लागि त्यो भन्दा पनि प्यारो आफ्नो देश र देशका सर्वोपरि हित हुन्छ।
देशका प्रशासकलाई लोकतान्त्रिक शासन पद्धति अनुसारको पाठ सिकाउनु र निर्देशन दिनुभन्दा आफ्नो व्यक्तिगत स्वार्थ, राजनैतिक लाभ र दलिय हितकालागि उपभोग गर्न रुचाउने राजनैतिक दलका नेताहरुको मानसिकताले लोकतन्त्रलाई कसरी परिपक्व बनाउने हो? सबैले सोच्नु जरुरी छ।
कर्मचारीहरुको सरुवा, बढुवा र परिचालनमा अहिले देखा परेको राजनैतिक प्रभावलाई न्युन गरिएन भने देशले ठूलो प्रशासनिक समस्या भोग्नु पर्छ। प्रशासनतन्त्र सबल, सक्षम र पारदर्शी भएन भने राजनैतिक विशुद्धिकरणको प्रभाव नगण्य हुन्छ। हचुवा र राजनैतिक पूर्वाग्रहको भरमा कर्मचारीलाई परिचालन गर्दा योग्य र सक्षम कर्मचारीहरुको मनोवल गिर्छ। यसको दुरगामी प्रभाव देशको विकास र लोकतान्त्रिक मान्यतामा पर्छ। कर्मचारीवर्गले पनि आफ्नो निहीत स्वार्थ र उद्धेश्य प्राप्तिका लागि राजनैतिक दलको झण्डा बोक्नु भन्दा आफ्नो योग्यता, दक्षता र शीप अभिवृद्धि गर्नु उचित हुन्छ।
राजनैतिक दलबाट प्राप्त हुने लाभ अल्पकालीन हुन्छ र यसले कर्मचारीको दक्षता र सीप विकास गर्नुभन्दा चाकरी र चाप्लुसी गर्ने बानीको विकास हुन्छ। आफ्नो स्वाभिमान र मेहेनतमा प्राप्त गरेको जागिरलाई राष्ट्रको विकास र जनताको हितमा समर्पित गर्दै आफूले लिएको सपथ बमोजिमको आचरण गर्नु नितान्त आवश्यक छ। राजनैतिक दलको भोटका लागि काम गर्नुभन्दा जनताका लागि काम गर्ने प्रवृति विकास भएन भने कर्मचारी वर्ग केवल राजनैतिक दलको एउटा भातृ संस्थाको कार्यकर्ताको रुपमा मात्र हेरिने समय पनि आउन सक्छ।
लोकतन्त्र जति परिपक्व हुँदै जान्छ, जनता उति नै सचेत र सजक हुन्छन्। आफ्नो कर्तव्य र उत्तरदायित्व प्रति सजक र सचेत जनता लोकतन्त्रको कुशल रक्षक हुन्छन्। उपलब्ध विकल्पमध्ये कुन विकल्प सही र कुन गलत भन्ने छुट्याउन सक्ने भएपछि स्वतः सही विकल्प चयन हुन्छ। देशमा लोकतन्त्रको वहालीका लागि जसरी जनताले प्राण उत्सर्ग गरे, ज्यानको बाजी राखे र आफ्ना सबै स्वार्थहरुलाई तिलाञ्जली दिए, आवश्यक परे त्यसरी नै लोकतान्त्रिक मान्यताको रक्षा र संबर्द्धनका लागि र देश विकासका लागि जनता सडकमा आउन सक्छन्। राजनैतिक दलका नेताहरुले बुझ्नु पर्ने कुरा के हो भने आफूलाई भोट दिने जनता नै एकदिन आफ्नै विरुद्ध सडकमा निस्कन सक्छन् र देशमा व्याप्त भ्रष्टाचार, मनपरितन्त्र र अनियमितताका विरुद्ध विगुल फुक्न सक्छन्।
दलिय स्वार्थका लागि राष्ट्रको स्वार्थलाई एकातिर पन्छाउने र राजनैतिक लाभको हिसाव गर्ने मानसिकताले केवल भोटका लागि राजनीति गर्ने प्रवृतिलाई उजागार गर्छ। यसले कुनै राजनीति दलको हित त होला, तर देश र जनताको हितलाई कसरी बिर्सन मिल्छ र!
देश विकासका लागि राजनैतिक स्वार्थभन्दा देश र जनताको हितलाई पहिलो प्राथमिकता दिनुपर्ने हुन्छ। र, यो सोचाई हाम्रो देशका राजनैतिक दलका नेताहरुमा विकसित हुनु जरुरी छ। राजनैतिक दल देश र जनताका लागि कि राजनैतिक दलका नेताहरुका लागि मात्र? यो प्रश्नको उत्तर जति सहज र सरल छ, नेताहरुको व्यवहार परिवर्तन गर्न त्यत्तिकै कठिन छ। लोकतन्त्रको मर्म र हितलाई ध्यानमा राखेर लोकतान्त्रिक पद्धति र संस्कार अनुरुपको व्यवहार नगर्ने हो भने आजको जटिल राजनैतिक स्थितिको निकास पाउन कठिन छ।
अन्त्यमा, लोकप्रिय हुनको लागि जनतामुखी हुनु आवश्यक छ। असल आचरण, लोकतान्त्रिक संस्कार तथा मान्यता अनुरुपको क्रियाकलाप र जनचाहना अनुसारको काम गर्ने शैली विकास गरेमा जनतामुखी हुने काम असम्भव छैन।
No comments:
Post a Comment