Sunday, 28 February 2016


के नेपाल फर्कने पक्कै हो त ? - डा. बच्चुकैलाश कैनी

के नेपाल फर्कने पक्कै हो त ?

नेपालीहरु विदेशमा बसाइँ सर्न थालेको धेरै भएको छैन। मेरो बिचारमा हाम्रो पुस्ता नै पहिलो पुस्ता हो। त्यसैले पनि बसाइसराई, विदेश बसाई, काम, कमाई आदिको रुपमा हाम्रो अनुभव, हामीले गर्ने आचरण तथा हामीले नेपाल प्रति देखाउने माया र सद्भावले दिर्घकालिन रुपमा धेरै अर्थ राख्छ। साथै, यसले हाम्रो सन्तति र विदेश बस्ने भाबि पुस्तालाइ पनि दिशानिर्देश गर्छ।

डा. बच्चु कैलाश कैनी


नेपालीहरु विदेशमा बसाइँ सर्न थालेको धेरै भएको छैन। मेरो बिचारमा हाम्रो पुस्ता नै पहिलो पुस्ता हो। त्यसैले पनि बसाइसराई, विदेश बसाई, काम, कमाई आदिको रुपमा हाम्रो अनुभव, हामीले गर्ने आचरण तथा हामीले नेपाल प्रति देखाउने माया र सद्भावले दिर्घकालिन रुपमा धेरै अर्थ राख्छ। साथै, यसले हाम्रो सन्तति र विदेश बस्ने भाबि पुस्तालाइ पनि दिशानिर्देश गर्छ।
Dr.-Bachu-Kailas-Kainiआजकल विदेश बस्ने नेपालीहरुको पार्टी, भोजभतेर तथा साथीभाईहरुको जमघटमा कतिपयले नेपाल फर्कने कुरा गर्छन। यो कुरालाइ मैले सकारात्मक रुपमा लिएको छु, चाहे त्यो कुरा देखाउनको लागि होस् वा मनदेखि नै किन नहोस। विदेश बस्ने हाम्रो पुस्ताको नेपालीहरु बीचमा नेपाल फर्कने चर्चा हुनु पक्कै राम्रो कुरा हो, र यो हुनु जरुरी पनि छ। कुरा मात्रै हैन, बिदेशमा विभिन्न पेशामा कार्यरत नेपालीहरु नेपाल फर्कनु त झनै राम्रो कुरा हो, यदि सबै परिस्थिति अनुकुल छ भने। किनकि, कुनै पनि बिकशित मुलुक भन्दा नेपाल जस्तो विकासशील मुलुकलाई अनुभबी र दक्ष जनशक्तिको धेरै खाँचो छ।
सबैको मन, चाहना, परिस्थिति र भाग्य एउटै हुँदैन। कतिपय नेपाल साच्चै फर्कन चाहन्छन, कतिपयको परिस्थिति बिबिध कारणबस अनुकुल छैन । हाम्रा लागि नेपाल फर्कने प्रतिकुल परिस्थिति हुनुमा मुख्य दुई कारण छन् ।
पहिलो व्यक्तिगत कारण, जस्तै केटाकेटी हुर्काउनु, बढाउनु र पढाउनु पर्ने, आर्थिक पक्ष सबल बनाउनु पर्ने, रोजगारीको राम्रो अवसर बिदेशमा नै हुनु आदि । दोश्रो कारण, नेपालको राजनीतिक र आर्थिक परिस्थिति अनुकुल नहुनु र धेरै लामो राजनीतिक संक्रमण तथा अस्थिरता हुनु ।
यी त भए सामान्य तथा सैधान्तिक कुरा। अब आफ्नै कुरा गरूँ। मेरो नेपाल फर्कने कुरा कुरा गर्नु भन्दा पहिले म विदेश किन आएँ भन्ने कुरा गरूँ। नेपाल फर्केर जानु पर्ने माथि उल्लेखित दुई मुख्य कारणहरु मेरो हकमा विदेश आउने कुरामा पनि लागु भएका थिए । पहिलो राजनीतिक कारण र दोश्रो मेरो आफ्नै कारण।
सन् २००५ मा जब म बेलायत आउने भएँ, मलाई चिन्ने सबैको मनमा निकै खुल्दुली र प्रश्नहरु थिए। आखिर सरकारी अस्पतालमा दशौ तहमा स्थायी पदमा कार्यरत युबक, राम्रो कमाइ, काठमान्डूमा सरकारी आवासमा बस्न पाउने भाग्यमानी, कार्यालय समय भन्दा बाहिर आंसिक समय काम गरेर थप आम्दानि, नाम र दाम सबै कमाउन तथा आफ्नो पेशामा सफल मान्छे किन विदेश जानेरु मेरा हकमा मेरो आत्मासम्मान, आत्मासन्तुस्टी र महत्वाकांक्षाको अघि यी त सबै देखाउने कुराहरु मात्र थिए।
अब कुरा गरूँ मेरो पहिलो कारण, जसले मलाई नेपाल छोड्न प्रेरित गर्यो। म नेपालमा जुन सरकारी अस्पतालमा काम गर्थे,, त्यो अस्पतालमा कतिसम्मको सरकारी हस्तक्षेप र राजनीति थियो भन्ने कुराको एउटा उदाहरण दिन चाहन्छु।
म काम गर्ने शहिद गंगालाल अस्पतालमा प्रशासकीय प्रमुखको रुपमा काम गर्दा गर्दै मलाई सरकारी खर्चमा भारतमा अस्पाताल व्यवस्थापनमा स्नाकोत्तर पढ्ने अवसर मिल्यो। म दुई बर्षको लागि भारत गएँ । डेढ बर्षको सैधान्तिक पढाइ सकेर छ महिनाको व्यवहारिक अभ्यासको लागि म नेपालमा बसेर काम गर्न चाहन्थे, त्यो पनि मैले काम गर्ने अस्पतालमा नै। त्यसो गर्दा मैले सिक्ने अवसर पनि पाउने, अस्पतालले पनि एक जना अनुभवी कर्माचारीको सेवा पाउने, त्यो पनि थप तलब र खर्च नहुने।
त्यसैले मैले आफुले काम गर्ने अस्पातालमा नै छ महिना पहिले काममा फर्कन पाउ भनेर निबेदन दिएँ।
तर दुर्भाग्य, मेरो निबेदन अस्पतालले अस्विकृत गर्याे। अझ झन् रोचक कुरा त के भने, त्यसको केहि हप्तामा नै तत्कालिन स्वास्थ्यमन्त्री तथा संचालक समितिको अधक्ष्यको एकजना आफन्तलाइ मेरो ठाउँमा नियुक्ति गरियो। म चकित भएँ, म मात्रै हैन अस्पतालका धेरै कर्मचारी मित्रहरु पनि चकित भए। मैले त्यसको जवाफ धेरै खोजे। आखिर किन यति धेरै अन्याय ? अस्पतालका तत्कालिन कार्यकारी निर्देशक, जो निकै नाम चलेका चिकित्सक र प्रशासक हुन, उनले समेत यसको जवाफ दिएनन्। सायद उनीसंग पनि आफ्नो जागिर बचाउने भन्दा अर्को विकल्प थिएन कि ?
जब अस्पताल ब्यबस्थापनको डिग्री लिएर म अस्पातालमा हाजिर भएँ, मलाई उनै मन्त्री निकट नवनियुक्त प्रशासन प्रमुख, जोसंग अस्पताल व्यवस्थापनको कुनै अनुभव थिएन र आर्मीबाट रिटायर्ड मेजर थिए, अन्तर्गत काम गर्न भनियो । त्यति मात्रै हैन, हाजिर भएको धेरै महिनासम्म न त मलाइ कुनै काम दिइयो, न त बस्ने कुनै कोठा नै।
सरकारी खर्चमा पढ्न पठाएर अस्पातालको संस्थापक र पहिलो कर्माचारीलाई जुन किसिमको ब्यबहार गरियो, त्यो निकै कस्टदायी र अपमानजक थियो। मैले ठाने, यस्तै रहेछ यहाँको चलन, अनि विकल्प खोजे। यो घटना नै मेरो लागि विदेश आउने सोच बनाउने पहिलो कारक बन्यो।
हुन त मन्त्रीको पद गए पछि मन्त्रीले नियुक्त गरेका प्रशासन प्रमुखको जागिर चट भयो। अनि फेरि मेरै काँधमा प्रशासन प्रमुखको जिम्मेवारी आयो। अनि मैले करिब चार बर्ष त्यहि अस्पतालमा काम गरे र अध्ययन गर्दाको मेरो करार अनुसार मैले गर्नु पर्ने काम गरे। निकै थोरै समय बाँकी अवधिको पैसा तिरें। म प्रति जुन किसिमको व्यवहार र अपमान गरियो त्यो फेरि दोहोरिन्न भन्ने के ग्यारेन्टी थियो र ?  त्यसैले मैले विदेशमा गएर काम तथा पढाई गर्नु पर्छ भन्ने सोचाई आयो।
मेरो लागि नेपाल छोड्नु दोश्रो कारण मेरो आफ्नै महत्वाकांक्षा थियो। म राम्रो विश्वबिद्यालयबाट विद्यावारिधी गर्न चाहन्थें। आफ्नो अनुभव, दक्षता र कार्यकुशलतालाई निखार्न चाहन्थें। राम्रो अस्पतालमा ब्यबस्थापनको तालिम लिन चाहन्थें। मेरो जागिरको लागि थप सिप र उर्जा चाहन्थें। त्यसको साथ साथै केटाकेटीलाई राम्रो शिक्षा, विदेशको बसाई, अनुभव तथा आर्थिक उन्नति त संगै आउने कुरा भए। यी कुराहरु मुख्य नभए पनि पक्कै बिचारणनीय थिए।
म विदेश आउनु ठिक बेठिक के थियो, त्यसको पक्ष र बिपक्षमा तर्क बितर्क गर्न सकिन्छ। जे भयो भयो, त्यसलाई न त सुधार गर्न सकिन्छ, न त अरु केहि नै। सिर्फ यसलाई समयको कसौटीमा छोडी दिउँ। विदेश आउनु तथा बिदेशमा बसेर मैले जे गरेको छु, त्यसमा मलाई कुनै पछुतो र गुनासो छैन। मेरो बिचारमा मैले मेरो लागि त धेरै कुरा सिके, तर त्यो भन्दा पनि नेपालको लागि पनि उपयोग हुने निकै कुरा सिकेको छु। ति मध्ये अस्पताल व्यवस्थापनको लागि चाहिने सीप र अनुभव, शैक्षिक योग्यता, बेलायती राजनीतिक अभ्यास, स्थानीय निकायको संचालन र अरु थुप्रै कुरा मेरा लागि मात्रै हैन नेपालको लागि पनि निकै काम लाग्ने छन्।
म जुन कारणले विदेश आएँ, ति मध्ये राजनीतिक अवस्था अझै झन् बिग्रेको छ। यसमा कुनै सुधार छैन। हरेक ठाउँमा राजनीतिक हस्तक्षेप व्यापक छ। सबैलाई राम्रा हैन हाम्रा मान्छे चाहिएको छ। योग्यता र दक्षताको अघि राजनीतिक पहुँचको बिगबिगी छ। न त मैले नेपालको राजनीतिक अवस्था सुधार गर्न सक्छु, न त नेपाल बसेको भए यसको लागि कुनै योगदान नै दिन सक्थे। तर मैले मेरो व्यक्तिगत लक्ष्य र महत्वाकांक्षा पुरा गरें । त्यसैले, के म अब नेपाल फर्कने बेला भयो त ?
मैले मेरा साथीभाईहरुसंग नेपाल फर्कने कुरा गर्ने हो भने धेरैले पक्का जाने हो ? भन्ने प्रश्न गर्छन। कतिले व्यवहारिक हुन सम्झाउछन भने केहिले राम्रै हुने कुरा गर्छन। सुन्न त सबैको कुरा सुन्नु पर्यो, तर निर्णय गर्दा आफ्नै मनको कुरा सुन्नु पर्यो। राजनीतिक अवस्था सुधार होला वा नहोला कुनै ठेगान छैन। अब नेपाल फर्कने वा नफर्कने कुराको ठेगान मनले लगाउने बेला भएको छ। तर पनि नेपाल जाने पक्कै हो त ? यो कुराको अझै टुंगो लागेको छैन। अरु थप कुरा जब टुंगो लाग्ला अनि फेरि अर्को लेखमा लेखुँला। अहिलेलाई अस्तु। जय नेपाल ।
२०७२ फागुन २ गते १६:४४ मा प्रकाशित (२०७२ फागुन ३ गते १७:५२मा अद्यावधिक गरिएको)

No comments:

Post a Comment

स्वास्थ्य सेवामा सुधारको सन्देश

  https://swasthyakhabar.com/story/58098 विचार/विश्लेषण स्वास्थ्य सेवामा सुधारको सन्देश स्वास्थ्यखबर बुधबार, कात्तिक ७, २०८१   १४:०३ स्वास्थ...