डा. बच्चु कैलाश कैनी
हामी सबै सपना
देख्छौ, सपनामा कहिले कता जान्छौ, कहिले के गर्छौ र
कहिले सोचेको त कहिले नसोचेको काम गर्छौ । यो सबै मानिसमा लागु हुने कुरा हो ।
त्यति मात्रै हैन, हामी सधै मनमा केही न
केही कुरा सोची रहेका हुन्छौ । कहिले
आफूले गर्न सक्ने र आफ्नो क्षमताले गर्न
सक्ने कुरा सोच्छौ भने कहिले आफ्नो क्षमता
भन्दा बाहिरको कुरा सोच्छौ । यो नियमित प्रक्रिया हो । मानिसको मन एकदम सिर्जनशील
हुन्छ । त्यसैले नै मानिस सबै भन्दा
बिबेकसिल र उत्कृष्ट प्राणी हो ।
तर सबैले देख्ने
सपना र सबैको मनले सोच्ने कुरा धेरै सोच बिचार गरेर मात्रै हामी मुखबाट बाहिर
निकाल्छौ र सावजनिक गर्छौ । एउटा जिम्मेवार मानिस जस्तै नेता, मन्त्री वा कुनै उच्च पदस्थ जिम्मेवार ब्यक्तिले आफूले सोचेको कुरा सार्बजनिक गर्दा धेरै कुरा सोच
बिचार गर्नु पर्ने हुन्छ । जस्तै, आफूले सोचेको कुरा पूरा हुन सक्छ कि सक्दैन, पूरा हुनको लागि के कति काम गर्नु पर्छ, कति समय लाग्छ, त्यसको आर्थिक
लागत के कति हुन्छ, त्यसको लागि के कति चुनौती छन् र काम कुरा गर्ने के कति
विकल्प छन् आदि कुराहरुको सोच विचार गर्नु पर्ने हुन्छ । तर, मैले कतिपय नेपाली राजनीतिज्ञ र सरकार चलाउनेहरुले आफूलाई मनमा जे आयो त्यही बोल्ने, सपना जे देख्यो त्यही बक्ने वा जनताको बिचमा लोकप्रिय हुनको लागि जे बोल्नु पर्छ त्यही भन्ने गरेको सुनेको छु ।
म यहाँ कुनै
प्राबिधिक र बिज्ञ भएर यो कुरा गर्दै छैन ।
म त एउटा सामान्य मानिसले गर्ने सामान्य बिचार वा 'कमन सेन्स'
को कुरा गर्दैछु ।
मैले देश बिकास निर्माणका जटिल पक्षको
कुरा गरेको हैन । मैले त एउटा सामान्य
मानिसले आफ्नो घर परिवार चलाउन पनि जे जस्तो तरिकाले सोच्छ त्यहि प्रकारले सामान्य
कुरा गरेको हुँ ।
सरकारमा बस्ने वा राजनीति गर्ने जो सुकैले पनि देश बिकासको लागि सपना देख्न सक्छन, आम नागरिकको हितको लागि आफ्नो मनमा धेरै कुराहरु सोचविचार गर्न सक्छन । यो उनीहरुको काम नै हो ।
तर त्यसको लागि एउटा विधि र प्रक्रिया हुन्छ ।
सरकारमा बस्नेहरुले देशका बिभिन्न निकायहरुको परिचालन गरेर देश बिकासका लागि अनुसन्धान, संभाब्यता अध्ययन, योजना बनाउने काम, नीति नियमको तर्जुमा गर्नु पर्ने हुन्छ । त्यसैको लागि त देशमा धेरै निकायहरु जस्तै राष्ट्रिय योजना
आयोग, मन्त्रालयहरु तथा धेरै निकाय त प्राविधिकहरु
छन् । यी सबै निकाय र संयन्त्रको परिचालन गरेर मात्रै सरकारले आफ्नो अल्पकालीन र
दिर्घकालिन नीति तथा कार्यक्रम बनाउछ ।
त्यही नै सरकारको औपचारिक कार्यक्रम तथा योजना हो । यदि सरकारमा बस्ने कसैले आफ्नो
सपना र आफुले सोचेको कुरा सार्वजनिक गर्ने हो भने सरकारी नीति तथा कार्यक्रम
मार्फत गर्नु पर्छ । यदि त्यस्तो तयारी वा कार्यक्रम बिना सरकारमा बस्नेले वा राजनीति गर्नेले
बोल्ने हो भने कुनै पनि दलका नेता, प्रधानमन्त्री वा मन्त्रि जसले जे बोले पनि त्यो केवल सपना बाड्ने काम मात्रै
हो । भ्रम बाड्ने काम मात्रै हो । जनतालाई बेवकुफ बनाउने काम मात्रै हो । जसलाई
मनमा जे लाग्यो वा जसले जे सपना देख्यो, त्यहि बोल्ने हो
भने सरकारी नीति, नियम, विधि, प्रक्रिया र निकायको के
काम भयो त ?
मैले नेपाली राजनीतिक दलहरुका
पनि देश बिकासका लागि कुनै ठोस कार्यक्रम वा योजना बनाएको देखेको छैन । जे छन खाली सतही रुपमा हामी यसो गर्छौ वा उसो गर्छौ भन्ने कुरा मात्रै छन । तर, देश बिकासका लागि कुन योजना कसरी बनाउने, कस्तो आर्थिक वा अन्य नीति कुन रुपमा लागू गर्ने भन्ने ठोस नीति र योजना छैनन । त्यति मात्रै हैन त्यस्तो नीति र योजना बनाउनको कुनै पनि राजनीतिक दलमा कुनै बिज्ञ समूहको संलग्नता
भएको थाहा पनि छैन ।
तसर्थ, नेपाली
राजनीतिक दलहरुले पनि राजनीतिक दलको नीति, कार्यक्रम र घोषणा पत्र तयार गर्न बिज्ञहरु समेत संलग्न समूह तयार पार्नु जरुरी छ । साथ-साथै हरेक राजनीति दलहरुले विषयगत
समितिहरु जस्तै शिक्षा, स्वास्थ्य,
अर्थतन्त्र, कानून, जलश्रोत,
आदि विषयको समिति बनाई पार्टीको नीति र कार्यक्रम बनाउनको लागि बिशेष ध्यान दिनु जरुरी छ । मलाई बेलायतको अहिलेको दोश्रो
ठूलो राजनीतिक दलको बार्षिक महाअधिवेशनमा पार्टी
जिल्ला समितिको तर्फबाट
महाअधिवेशन प्रतिनिधि भएर एक पटक भाग लिने मौक़ा मिलेको थियो ।
त्यो बेला मलाई अनुभव भयो की पार्टीको नीति तथा कार्यक्रम तयार पार्नको लागि कति धेरै समय खर्चेर ठूलो प्रयास र लगानी गरिंदो रहेछ । लेबर पार्टी मात्रै हैन बेलायतका हरेक राजनीतिक पार्टीहरुले
हरेक बर्षको अधिवेशनमा
सबै भन्दा धेरै समय पार्टीको विषयगत
नीति र कार्यक्रमको लागि बिभिन्न समूह बनाएर बिज्ञ समेतको सहयोगमा निकै छलफल र बिचार बिमर्श गर्छन । त्यो नै हरेक पार्टीको पहिलो र महत्वपूर्ण काम हो, नकी हावाको भरमा नेताले जे मन लाग्यो त्यही बोल्ने वा जनतालाई झुटो सपनाको खेती गर्ने ।
कुनै पनि देशको
सरकार संचालनको लागि धेरै विधि, प्रक्रिया, कर्मचारी संयन्त्र
र सांगठानिक निकायहरु हुन्छन । जसको लागि अरबौ रुपयै खर्च गरिएको हुन्छ
र जसको सहयोग बिना कुनै पनि काम गर्न
सकिन्न । सरकारको काम भनेको यी सबै अंग र निकायहरुको परिचालन गरेर आफूले तय गरेको
नीति तथा कार्यक्रम लागु गर्ने हो ।
कुनै पनि सरकारले
देश बिकास गर्छु भन्ने चाहना राख्ने हो
भने सबै भन्दा पहिले सरकारी निकाय र संयन्त्रलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउनु पर्छ ।
सरकारमा बस्ने दुईचार जना व्यक्तिले जति चाहे पनि सरकारी निकाय र
संयन्त्रको सहयोग बिना कुनै काम गर्न सक्दैनन् ।
यदि सरकारलाई केही गर्छु भन्ने लागेको छ भने तिनै सरकारी निकाय, कर्मचारी र
संयन्त्रको परिचालन गरेर र विस्वासमा लिएर भरपर्दो नीति तथा योजना बनाउने, त्यसलाई सरकारी नीति मार्फत घोषणा गराउने हो र त्यसको
प्रभावकारी कार्यान्यन गराउने हो ।
अर्को थप कुरा के
भने, राजनीतिक दलका अन्धभक्त कार्यकर्ता र
समर्थकहरुले पनि आफ्नो नेताले जे बोल्यो
त्यसको आखाँ चिम्लिएर समर्थन गर्नु भन्दा कुन सहि र कुन गलत छुट्टाएर आफ्नो नेताले
गलत कुरा गरेको छ भने त्यसलाई गलत नै छ भन्न सक्नु पर्दछ । त्यसो भए मात्रै
नेताहरु लाई सहि दिशा हिड्न मार्गदर्शन मिल्छ । अनि, देश, जनता र राजनीतिक दलको पनि हित हुन्छ । सबै जसो
राजनीतिक दलका अन्धभक्त कार्यकर्ता र समर्थकहरुको अन्ध समर्थनले सबै जसो दलका
नेताहरुले लोकतन्त्र आएको यति समयसम्म पनि देशलाई कुनै दिशा दिन सकेका छैनन र जनताको विस्वास जित्न
सकेका छैनन् ।
कुनै पनि सरकारले
देश बिकास गर्छु भन्ने दृढ प्रतिज्ञाका साथ् काम गर्ने हो भने त्यो असम्भव छैन ।
त्यसका लागि सहि नीति तथा योजना बनाउनु पर्छ । सहि निकाय र स्रोतको परिचालन गर्नु गराउनु पर्छ । अनि, सहि तरिकाले काम
गर्नु पर्छ । यदि विस्वका अरु देशले उच्च आर्थिक वृद्धि डर हासिल गरि सपन्न भएका
छन् भने त्यो केवल राजनीतिक दृढ संकल्प र योजनाका साथ सम्पन्न भएका छन् । त्यसैले, नेपालमा पनि त्यो सम्भब छ । तर, जसले जे पायो त्यहि बोल्दै हिडेर, सपना बाँडेर, आफैलाई हासिमजाकको पात्र बनाएर हैन कि, देशका सबै संयन्त्र र
निकायको उचित परिचालन गरेर, सहि योजना तर्जुमा गरेर र
त्यस्ता योजनाको सहि किसिमले कार्यान्यन गरेर मात्रै नेपालको बिकास सम्भब छ ।
अस्तु ।
No comments:
Post a Comment