-
डा. बच्चु कैलाश कैनी
हिजो राति ढिलो भयो सुत्न । अंग्रेजी
'न्यू ईयर
इव' मनाउँदा मनाउँदै कति
बेला रातको दुई बजेछ थाहा नै भएन । आजकल काठमाण्डुमा 'न्यू ईयर इव' को दिन रातको बाह्र बजेसम्म धेरै जागा बसेका हुन्छन । मलाई पनि खूब मन पर्छ ठमेल र दरबारमार्ग
वरिपरि घुम्न र उक्त दिनको रात्रिकालीन समयको मजा लिन । त्यसैले म पनि उतै बरालिएको थिएँ ।
मध्य पुषमा काठमाण्डुको जाडो । काठमाण्डुको चिसोमा हार्ड ड्रिंक नभई तात्ने कुरा पनि भएन । मैले पनि साथीसँग बिदेशी हार्ड
ड्रिंक लिएको थिएँ । त्यसले मलाई थप रौनक र ऊर्जा दिएको थियो ।
मेरो साथी प्रकाश र म भेट नभएको धेरै भएको थियो । हामी फोनमा धेरै नै कुरा गर्छौ । तर उ नोकरीको सिलसिलामा काठमाण्डु
बाहिर बस्नु पर्ने भएकोले भेट गर्ने अवसर नजुटेको झन्डै
एक बर्ष भन्दा बढी नै भएको रहेछ । त्यसैले हामीले अंग्रेजी नयाँ बर्षको 'न्यू ईयर इव' लाई नै भेट्ने राम्रो अवसरको
रुपमा लिएका थियौ । उसको बानी पनि निकै रमाइलो गर्नु पर्ने खालको छ । हार्ड ड्रिंक, मोजमस्ती, नाचगान
आदि उसको जिन्दगीको एउटा हिस्सा नै हुन । मेरो त झन के कुरा गर्नु ! मलाई त सिर्फ बाहना मात्रै चाहिन्छ । उमेर अधबैशे भए पनि रमाइलो गर्ने
मामलामा म टीनएजर जस्तै छु ।
प्रकाश र मेरो मिल्ने थप बिशेषता के भने हामी दुबै जना सरकारी जागिर खान्छौ र दुबै जना सामजिक सञ्जालमा उत्तिकै सक्रिय
छौ । म जस्तै उ पनि फेसबुकको स्टाटस
लेख्न र फोटो अपलोड गर्न उत्तिकै माहिर छ ।
'न्यू ईयर इव' को रातको रमाइलो पछि हामी आआफ्नो घर जानु भन्दा पहिले प्रकाशले एउटा फोटो खिच्ने इच्छा जाहेर गर्यो । मेरो परम मित्रको आग्रहलाई
मैले नाईं भन्ने कुरा नै भएन । मैले एक क्लिक गर्ने जमर्को के गर्दै थिएँ, उसले मलाई पख पख भन्यो र खोल्तिबाट ढाका टोपी निकाल्यो । टोपी मिलाउँदै उसले मुस्कान छोड़्यो । मैले पनि उसको त्यो क्षण क्यामरामा कैद गरें ।
त्यति मात्रै कहाँ हो र ! उसले मलाई पनि ढाका टोपी लगाउन र मेरो पनि एउटा तस्बिर खिच्न
अनुरोध गर्यो । म पनि के कम ! मैले पनि उसले भने जस्तै गरें । उसले मेरो ढाका टोपी सहितको एउटा तस्बिर खिच्यो
र भन्यो, 'भोलि ढाका टोपी दिवस' हामी दुईको तस्बिर फेसबुकमा छाउने भयो ।' मैले भनें, 'आखिर हामीलाई अंग्रेजी होस वा नेपाली, दिवस मनाउनु र फेसबुकमा
तस्बिर हाल्नुसँग मतलब छ ।' उसले पनि स्वरमा स्वर मिलायो र भन्यो, 'अंग्रेजी नयाँ बर्ष पनि दिवस, ढाका टोपी दिवस पनि दिवस ।'
नभन्दै आजको फेसबुकमा हामी दुईले दुबै दिवस मनाएको तस्बिरहरू सार्वजनिक भएका छन र ती तस्बिरहरूमा लाइक र कमेंट गर्नेको कुनै कमी छैन । आखिर म
र प्रकाश जस्तै सामजिक सञ्जालमा
छाउने, एकछिन अघि अंग्रेजी नयाँ बर्षमा रमाउने र तत्कालै आफूलाई ढाका टोपीमा सजाई खाट्टी नेपालीमा
रूपान्तरित गराउने समाजको कमि कहाँ छ र !
No comments:
Post a Comment