https://khulamancha.com/news/53891
डा. कैनीले ल्याए एकैदिनमा पाँच पुस्तक
कात्तिक ५, काठमाडौं ।
साहित्यकार डा. बच्चुकैलाश कैनीले आज एकै दिन विभिन्न विधाका पाँचवटा कृति ल्याएका छन् । अदृश्य मनका सादृश्यहरू (निबन्धसङ्ग्रह) सिमाहीन सिमा र रङ्गको पहिचान (कवितासङ्ग्रह) भिसागर्ल (कथासङ्ग्रह) र प्रतिबिम्ब (गजलसङ्ग्रह) । पाँचवट कृतिको लोकार्पण समारोहका प्रमुख अतिथि प्रसिद्ध साहित्यकार प्रा. डा. अभि सुवेदी लगायतका अतिथिहरूले एकैसाथ लोकार्पण गरे ।
आवरण प्रकाशनको ब्यानरमा आयोजित समारोहमा प्रा. डा. अभि सुवेदीले साहित्यकार डा. कैनीका कृतिमा जीवन जगतलाई सहज ढङ्गले प्रस्तुत गरेको बताउँदै जिन्दगीको फराकिलो क्यान्भासलाई संक्षेपीमा प्रस्तुत गर्न सक्नु लेखकको खुवी भएको दावी गरे ।
समारोहका विशेष अतिथि वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले एकैपटक पाँचवटा कृति ल्याउँदा अचम्भित भएको बताउँदै डा. कैनीलाई बधाई दिए ।
बरिष्ठ निबन्धकार, नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले अदृश्य मनका सादृश्यहरू निबन्धसङ्ग्रहबारे चर्चा गर्दै निबन्धकार डा. कैनीले रोजेको बाटो जोखिमको भए पनि यसैले उनलाई अमर बनाउने तर्क राखे ।
सीमाहीन सीमा र रङको पहिचान कवितासङ्ग्रहमाथि चर्चा गर्दै बरिष्ठ कवि प्रा. डा खुमनारायण पौडेलले दुवै कृतिमा ५०/५० कविताहरू समेटिएको जानकारी दिँदै कविताभित्र राजनीति, प्रकृति र व्यङ्ग्य भएको उल्लेख गरे ।
भिसागर्ल कथासङ्ग्रहमाथि चर्चा गर्दै वरिष्ठ कथाकार शिव प्रकाशले विदेशमा बस्ने नेपाली साहित्यकारले पनि उत्कृष्ट कृति दिन सक्ने बताउँदै कथाले परिष्कार खोजेको तर्क पेश गरे । कवि तथा कलाकार रमेश पौडेलले कृतिकार डा. कैनी चालीसको दशकदेखि नै सक्रिय रहेको र उनी वहुप्रतिभधाशाली भएको बताए ।
वरिष्ठ समाजसेवी एवम् पूर्वराज्यमन्त्री अमरराज कैनीले सामान्य परिवारमा जन्मेर बेलायतमा पिएचडी गरेका डा. कैनी अस्पताल व्यवस्थापनका अलावा नेपाली साहित्यमा देखाएको रुचि सारै सराहनीय भएको बताए ।
समारोकी सभाध्यक्ष साहित्यकार डा. प्रभा कैनीले आफेनो परिवारको सदस्य डा. कैनीले बेलायतमा समेत ख्याति कमाएको बताइन । कवि यादव भट्टराईले डा. कैनीको बहुआयामिक क्षेत्रमा क्रियाशील रहेको जानकारी दिए । नेपाल क्यान्सर अस्पताल हरिसिद्धीका अध्यक्ष डा. सुदिप श्रेष्ठलगायतले अस्पताल व्यवस्थापनमा विज्ञता हासिल गरेका डा.कैनीले अस्पताल व्यवस्थापनका बाबजुद साहित्यमा कलम चलाएकोमा खुसी व्यक्त गरे ।
कृतिकार डा.कैनीले चालीसको दशकदेखि कविता लेख्दै आएको बताउँदैे आज लोकार्पित अधिकांश कृतिहरू बेलायतमा हुँदा नै लेखिएको स्पष्ट पारे । सो अवसरमा उनले लोकार्पित कृतिबाट केही रचनाहरू पनि सुनाए । तनहुँको ब्यास नगरपालिका वडा नं १२ कमलबारीमा जन्मिएका डा. कैनीले ग्रीनवीच युर्निभर्सिटी लण्डनबाट अस्पताल व्यवस्थापनमा पीएचडी गरेका छन् भने हाल उनी नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । यस अघि डा. कैनीका मेरो रहर कवितासङ्ग्रहका अतिरिक्त स्वाथ्य र व्यवस्थापन विषयका पुस्तकहरू पनि प्रकाशित छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा भएको समारोहमा अतिथिहरूलाई आवरण प्रकाशनको प्रतीक चिन्ह सहितको आकर्षक मायाको चिनो वितरण गरिएको थियो ।
No comments:
Post a Comment