Monday, 24 October 2022

साहित्यकार डा.बच्चुकैलाश कैनीका पाँच कृति विमोचन

https://onlineradionepal.gov.np/2022/10/22/337732.html 


साहित्यकार डा.बच्चुकैलाश कैनीका पाँच कृति विमोचन 


काठमाडौँ । साहित्यकार डा.बच्चुकैलाश कैनीका पाँच कृति विमोचन गरिएका छन् ।

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा.कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरू’, कथासङ्ग्रह ‘भिसागर्ल’, गजल सङ्ग्रह ‘प्रतिबिम्ब’, कविता सङ्ग्रह ‘सीमाहीन सीमा’ र ‘रङ्गको पहिचान’ आज विमोचन गरिएको हो ।

उक्त कृतिको विमोचन गर्दै वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदीले डा कैनीको कृतिले नेपाली साहित्य जगतमा नयाँ इँटा थपिएको बताउनुभयो । “हरेक कृतिमा जीवनलाई सहज ढङ्गले लेखेको पाइयो, फराकिलो क्यान्भासलाई छोटकरीमा लेखिएको छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ मुटु रोग विशेषज्ञ एवं साहित्यकार डा.भगवान कोइरालाले एकै पटक धेरै कृति नेपाली साहित्य जगतमा ल्याउनु उल्लेखनीय कार्य भएको बताउनुभयो । उहाँले लेखक डा.कैनीलाई आगामी कृति लेखनको शुभकामनासमेत दिनुभयो । ‘अदृश्य मनका सादृश्यहरू’ निबन्ध सङ्ग्रहबारे चर्चा गर्दै नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले निबन्धकार डा कैनीले मनका कुरा निबन्धमार्फत प्रस्तुत गरेको बताउनुभयो । उहाँले कृतिले लेखकलाई सँधैभर अमर राखेको उल्लेख गर्नुभयो ।

‘भिसागर्ल’ कथासङ्ग्रहमाथि चर्चा गर्दै वरिष्ठ साहित्यकार शिव प्रकाशले प्रवासमा बसेर लेखिएका कृतिमा नेपालीपन घुस्ने गरेको बताउनुभयो । उहाँले समग्रमा कथासङ्ग्रह राम्रो भएपनि केही कथाहरू हतारमा लेखिएको भान पाठकमा भएको उल्लेख गर्नुभयो ।

‘सीमाहीन सीमा’ र ‘रङको पहिचान’ कविता सङ्ग्रहमाथि चर्चा गर्दै कवि प्रा.डा.खुमनारायण पौडेलले ५०÷५० कविता समावेश भएका दुई वटै कृति सरल भाषामा लेखिएका बताउनुभयो । उहाँले कविताभित्र राजनीति, प्रकृति र व्यङ्ग्य भएको उल्लेख गर्नुभयो ।

वरिष्ठ समाजसेवी एवं पूर्व राज्यमन्त्री अमरराज कैनीले सामान्य परिवारमा जन्मेर बेलायतमा विद्यावारिधि गर्नुभएका डा.कैनीले अस्पताल व्यवस्थापन बाहेक नेपाली साहित्यमा देखाएको रुचि सराहनीय भएको बताउनुभयो । उहाँले डा.कैनी बहुप्रतिभाका धनी भएको उल्लेख गर्नुभयो ।

साहित्यकार प्रभा कैनी, आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेल, नेपाल क्यान्सर अस्पताल हरिसिद्धीका अध्यक्ष डा.सुदिप श्रेष्ठलगायतले अस्पताल व्यवस्थापनमा विज्ञता हासिल गरेका डा.कैनीले अस्पताल व्यवस्थापनका बाबजुद साहित्यमा कलम चलाएकामा खुसी व्यक्त गर्नुभयो ।

लेखक डा.कैनीले २०४० सालको दशकदेखि कविता लेख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि नयाँ कृति प्रकाशन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आज विमोचन भएका कतिपय कृतीहरू बेलायतमा हुँदा नै लेखिएको स्पष्ट पार्नुभयो । 

तनहुँको ब्यास नगरपालिका–१२ कमलबारीमा जन्मनुभएका डा.कैनीले ग्रीनवीच युनिभर्सिटी लण्डनबाट अस्पताल व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको छ । 

उहाँले यसअघि प्रिन्सिपल अफ हस्पिटल म्यानेजमेन्ट, फाइनान्सियल म्यानेजमेन्ट र मेरो रहरलगायत पुस्तक प्रकाशन गरिसक्नुभएको छ । रासस

No comments:

Post a Comment

स्वास्थ्य सेवामा सुधारको सन्देश

  https://swasthyakhabar.com/story/58098 विचार/विश्लेषण स्वास्थ्य सेवामा सुधारको सन्देश स्वास्थ्यखबर बुधबार, कात्तिक ७, २०८१   १४:०३ स्वास्थ...