https://medicalpatra.com/news-details/8360/2022-10-23

काठमाडौं । साहित्यकार डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन गरिएका छन्।
नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरु’, कथासङ्ग्रह ‘भिसागर्ल’, गजल सङ्ग्रह ‘प्रतिबिम्ब’, कवितासङ्ग्रह ‘सीमाहीन सीमा’ र ‘रङ्गको पहिचान’ आज विमोचन गरिएको हो।
उक्त कृतिको विमोचन गर्दै वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीले डा कैनीको कृतिले नेपाली साहित्य जगतमा नयाँ इँटा थपिएको बताए। “हरेक कृतिमा जीवनलाई सहज ढङ्गले लेखेको पाइयो, फराकिलो क्यान्भासलाई छोटकरीमा लेखिएको छ”, उनले भने।
वरिष्ठ मुटुरोग विशेषज्ञ एवं साहित्यकार डा भगवान कोइरालाले एकैपटक धेरै कृति नेपाली साहित्य जगतमा ल्याउनु उल्लेखनीय कार्य भएको बताए। उनले लेखक डा कैनीलाई आगामी कृति लेखनको शुभकामनासमेत दिए।
‘अदृश्य मनका सादृश्यहरु’ निबन्ध सङ्ग्रहबारे चर्चा गर्दै नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले निबन्धकार डा कैनीले मनका कुरा निबन्धमार्फत प्रस्तुत गरेको बताए। उनले कृतिले लेखकलाई सँधैभर अमर राखेको उल्लेख गरे।
साहित्यकार प्रभा कैनी, आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेल, नेपाल क्यान्सर अस्पताल हरिसिद्धीका अध्यक्ष डा सुदिप श्रेष्ठलगायतले अस्पताल व्यवस्थापनमा विज्ञता हासिल गरेका डा कैनीले अस्पताल व्यवस्थापनका बाबजुद साहित्यमा कलम चलाएकामा खुसी व्यक्त गरे।
No comments:
Post a Comment