म धेरैजसो सामाजिक सञ्जाल हेर्दिन। एकातिर कामको व्यस्तता, अर्को तिर म एक्लै बस्न रुचाउने मेरो आफ्नै बानी ब्यहोरा। त्यसैले म सामाजिक सञ्जालबाट धेरैजसो अलग नै हुन्छु।
त्यस पछि झन् अहिले बिहे पछिको मेरो जिन्दगी निकै फरक छ। समय हुँदा हामी दुवै जना सँगै घुम्न जान्छौँ। खोल्तीमा पैसा हुँदा किनमेल गर्न जान्छौँ। राम्रो फिल्म लागेको थाहा पाए फिल्म हल तिर मनोरञ्जन लिन जान्छौँ। मौसम अनुकूल भए प्रकृतिको मनोरञ्जन लिन यता उता जङ्गल तिर बरालिन्छौ। यसरी नै हाम्रो समय बितेको छ आजकल।
आज शनिवार, बिदाको दिन। बिहानै मेरो अनन्य मित्र सुनिलले अमेरिकाबाट मेरो म्यासेन्जरमा फोन गरेको रहेछ। म बाथरुममा थिएँ। त्यसैले, मेरो जीवनसाथी कृपाले मेरो फोन उठाएर म बाथरुममा भएको जानकारी गराइछन्।
मेरी पत्नी कृपाले त्यही बेला मेरो फोनको म्यासेन्जरमा आएको म्यासेज देखेकी रहिछन्। अनामिका नाम गरेको एक जना मान्छेको म्यासेज आएको रहेछ, जसमा लेखिएको थियो, ‘तिम्रो खुसीमा म दुःखी छु।’
यो देखेर कृपाले मलाई पछि सोधिन, ‘यो कसको म्यासेज हो?’ मैले त्यति बेला अनभिज्ञता देखाएँ। पछि उनले भनिन, यही म्यासेज उही नामबाट मलाई पनि हिजो मात्रै आएको थियो।
त्यस पछि हामी दुवैले त्यो म्यासेज आएको समय हेर्यौं आ-आफ्नो फोनमा। दुवैको म्यासेज एकै समय उही नामबाट आएको रहेछ।
त्यसपछि, मलाई मेरी पूर्व प्रेमिका मेरिकाको याद आयो, जसले उति बेला हामी ब्रेक अप हुने बेला भनेको थिइन्, ‘तिमी अरू कोही केटीसँग खुसी भएको म देख्न सक्दिन, त्यो मलाई पिडा हुनेछ।’
यो कुरा मनमनै सम्झेर म मौन बसेँ। त्यसपछि मैले यो कुरा अझैसम्म पनि झिकेको छैन। मलाई थाहा छ, मेरो बिहे पछिको यो खुसीमा अहिले को दुःखी छ।
No comments:
Post a Comment