पहिलो भेटमा तिमी लजाउँदा
मैले तिमीलाई राम्री देखें
दोस्रो भेटमा तिमी मुस्काराउँदा
मैले तिमीलाई प्यारी देखें
तेस्रो भेटमा तिमी मसँग बोल्दा
मैले तिमीलाई आफ्नी देखें
त्यसपछिको भेटको बयान गर्न
बोलेर पुग्दैन
लेखेर सकिंदैन
शब्दहरू पर्याप्त छैनन्
मन र मुटु दुवै मिली सकेपछि
बुझ्नेले बुझी सके
जान्नेले जानी सके
हाम्रो दुई मनको मिलन भएर
मुटुसँग मुटु जोडिएर
तिमी मेरो र म तिम्रो भई सकेपछि
हाम्रा सबै सीमाहरू तोडिएपछि
लाजले केही नभन्ने रहेछ
मुस्कानले झन् आकर्षण गर्ने रहेछ
बोलीमा मादकता भेटिने रहेछ
समय हाम्रै पर्खाईमा बस्ने रहेछ
त्यो मनले यो मनलाई
यो मनले त्यो मनलाई
हरेक कदममा साथ दिने रहेछ
तिम्रो लागि म
र, मेरो लागि तिमी
राम्रो लाग्ने रहेछ
त्यो प्रेमिल र मायालु स्पर्शले
चिसो सिरेटो पनि
ठिकै लाग्ने रहेछ
गर्मीको तातो हावा पनि
न्यानो लाग्ने रहेछ
दुवैको आत्मिय मिलनले
अरुको आलोचना पनि
सामान्य लाग्ने रहेछ
बाटोमा काँडा हैन
फूल देखिने रहेछ
मायाको साथ र भरोसाले
जिन्दगीको हरेल पल
मिठो लाग्ने रहेछ
आफ्नो चारैतिर
सुन्दर बगैंचा देखिने रहेछ
माया नै माया खोज्ने यो संसारमा
प्रेमको सागरमा
अथाह माया र प्रेम पाएर
म पनि रमाएँ
तिमी पनि रमायौ
तिमीमा म र म भित्र तिमी हरायौ ।
डार्टफोर्ड, बेलायत
No comments:
Post a Comment