https://sahityapost.com/aakhyan/short-story-aakhyan/119687/
लघुकथा : मैले पनि सामाजिक सञ्जालबाट सिकेँ !
https://sahityapost.com/aakhyan/short-story-aakhyan/119687/
आजकल साथीभाइ र आफन्तको हालखबर बुझ्नु पर्यो भने सामाजिक सञ्जाल हेरे पुग्छ । सबैको हातमा स्मार्ट मोबाइल छ। अधिकांश मानिसलाई एक अर्कोसँग सामाजिक सञ्जालले जोडेको छ ।
अनुराधा मेरो स्कुलको साथी हो । उसलाई नभेटेको र ऊसँग कुराकानी नभएको पनि झन्डै चार दशक भयो होला । कुराकानी नै नभए पनि उसको मोटामोटी हालखबर म फेसबुकबाटै थाहा पाउँछु । किनकि, हरेक दिनजसो उसले केही न केही पोस्ट गरेकै हुन्छे । मलाई लाग्छ, त्यसैमा रम्ने र जम्ने उसको बानी छ ।
भर्खर फेसबुक हेर्दै थिएँ, अनुराधाको नयाँ पोस्ट आएको रहेछ । भर्खरै परिवारसँगै पोखरा घुम्दै गरेको र प्रकृतिको काखमा रम्दै गरेको फोटो हेरेर म खुसी भएँ । लाग्यो, कस्तो राम्रो परिवार । फुर्सद हुनेबित्तिकै घुम्ने जान्छे ऊ । मौकामा चौका हान्न जानेकी छे अनुराधाले, यस्तै लाग्यो मनमा ।
सँगै सोफामा बसेकी मेरी श्रीमतीलाई भने आजकल टिकटकमा रस बसेको छ । म अरु सामाजिक सञ्जालको बारेमा अनभिज्ञ छु । टिकटकको बारेमा अनभिज्ञ भए पनि बेला बेलामा उसैले दिने जानकारीले मलाई पनि यसको बारेमा थोरै ज्ञान मिलेको छ । टिकटक हेर्दै ऊ भन्दै थिई, ‘हेर यो राधा पनि निकै नक्कली र फेसनवेबल छे, भर्खरै बजारमा आएको साडी लगाएर पोखरा लेकसाइडमा फोटो सेसन गर्दै छे ।’
मैले सोधे, ‘को राधा ?’
उसले मोबाईल मेरै अघि तेर्साउँदै देखाई । म छक्क परें, उही मेरी साथी अनुराधा । तर नाम र पहिरन भने फरक ।
मैले मेरी श्रीमतीलाई भनें, ‘ऊ मेरी साथी अनुराधा हो ।’
‘ऊ मेरो फेसन डिजाइन गर्ने बुटिकको राधा हो । उसको फेसनको सेन्स एकदम राम्रो छ । र, ऊ राम्रो डिजाइनर पनि हो ।’, राधाको बारेमा मेरी श्रीमतीको जवाफ थियो ।
श्रीमतीमार्फत सुनेको थिएँ, छोराको लत भने आजकल ‘इन्स्टा’ भनिने इन्स्टाग्राममा बसेको छ र त्यही सामाजिल सञ्जालमा उसले आफ्नो तस्विर र भिडियो अपलोड गर्छ ।
कुरा गर्दागर्दै हातमा मोबाईल हेर्दै छोरा पनि आइपुग्यो र भन्यो, ‘ममी हेर्नुस न, यो मार्दी ट्रेक कति रमाइलो छ है ! म पनि छिट्टै मार्दी हिमालतिर ट्रेक गर्न जाने विचार गरेको छु ।’
म पनि घुम्न अति शौखिन मान्छे । ‘खै हेरुँ बाबु ! कस्तो रहेछ ?’, मैले उसको मोबाइलको फोटो हेर्ने इच्छा जाहेर गरें ।
म फेरि छक्क परें । उही मेरो साथी अनुराधा मार्दी हिमालतर्फ ट्रेकिंग जाँदै गरेको फोटो रहेछ । यसपटक पनि फरक नाम रहेछ । अनु । उसलाइ फेरि ट्रेकिंग गर्दाको फरक पहिरनमा देखें मैले ।
मैले यसपटक केही भनिनँ । मौसम र समयअनुसार पहिरन फेर्न मिल्ने कुरा मलाई थाहा थियो । तर, हरेक सामाजिक सञ्जालमा नाम पनि फेर्न मिल्ने मलाई जानकारी थिएन । मनमा आयो, पहिरन जस्तै नाम पनि फेर्न मिल्ने रहेछ ।
जीवन सिकाइ हो । आज नयाँ कुरा सिकियो । के गर्नु ? अनुराधाको नाम जस्तै भाग-भागमा टुक्र्याउन मिल्ने आफ्नो नाम भएन । त्यसैले यो सिकेको कुरा मेरो नामको हकमा भने लागु गर्न गाह्रो पर्ला जस्तो छ मलाई । मैले सिकेको कुरा फरक फरक सामाजिक सञ्जालमा नयाँ नयाँ नाम राखेर लागु गरूँ भने पनि मेरो यो उमेर र आदर्शले दिने छैन । त्यही पनि म मनमनै धन्य भएँ, नयाँ कुरा सिकेकोमा ।
No comments:
Post a Comment