https://sahityapost.com/aakhyan/story-aakhyan/142271/
‘आज बुढोको पारा हेर्न लायक हुन्छ होला है ?’ उसले भन्यो ।
‘किन ?’ सँगै बसेकी केटीले सोधी ।
‘हिजो क्लासमा जम्मा चार जना नआउँदा बुढो कति पड्केको थियो । आज भने हाम्रो क्लासका झन्डै आधा जस्तो महाजात्रा फिल्म हेर्न गएका छन् । हाम्रो क्लास उसलाई रित्तो लाग्छ आज । नभरिएको क्लासलाई बुढोले आफ्नो अपमान सम्झन्छ र अनि पड्कन थाल्छ बुढो । बुढो भए पछि रिस पनि बढी नै उठ्छ होला है ? मलाई त्यस्तै लाग्यो ।’ केटाले भन्यो ।
‘बुढोको बानी नै त्यस्तो ! किन मतलब राख्नु पर्यो ? खुरुखुरु आउनु, पढाउनु, तलब पकाउनु, अनि घर जानु । बुढोलाई नो टेन्सन, हामीलाई झन् मस्ती । क्लासमा आए पनि नआए पनि जाँचमा राम्रो नम्बर ल्याए भएन ? म बुढोको ठाउँमा भएको भए त्यस्तै गर्थें ।’ केटीले थपी ।
‘तेरो विचार राम्रो छ । तँ यो उपाय बताइदे बुढोलाई । तेरो सुझाव मान्छ कि बुढोले ?’ केटाले हाँस्दै सुझाव दियो ।
‘के कुरा गरेको तैंले ? आफ्नै बुढीको कुरा त मान्दैन जस्तो छ बुढो । आफ्नै तालको छ बुढो । हेर्दा पनि, बोल्दा पनि घमन्डी देखिन्छ । मलाई मात्रै हैन बुढोले कसैलाई टेर्दैन । पढाउँदा पढाउँदा कपाल सबै सेतै फुलिसके । बुढो हजुरबा जस्तै देखिन्छ ।’ केटीले आफ्नो मत राखी ।
‘बिचरा बुढोलाई पनि प्रिन्सिपलले थर्काउँछ होला । के गरोस् बुढो ! झोले जागिर बचाउन कम्ती गारो छ बुढोलाई । आजकल काला गए, गोरा आउँछन् । गोरा गए, काला आउँछन् । बजारमा छ्यापछ्याप्ती झोलेहरू जागिरको खोजीमा छन् ।’ केटाले बुढोको बाध्यता बतायो ।
केटीले भनी, ‘झोले भए पनि बुढो यो कलेजको स्थायी जस्तै हो । मैले सुनेको, यो कलेज शुरु भएदेखि काम गर्दै छ । सबै भन्दा पुरानो हो रे । राम्रो पढाउँछ भन्छन् सबैले । त्यसैले कलेजको प्रिन्सिपल देखि सबैले बुढोलाई मान्ने रहेछन् । सबैभन्दा पछि आउने त नम्रता म्याडम रे ।’
नम्रता म्याडमको कुरा निकाल्ने बित्तिकै केटाले एकाएक खुसी भाव प्रकट गर्यो र नम्रताको वर्णन गर्न थाल्यो ।
‘जहिलेदेखि यहाँ आए पनि मान्छे भने च्वाँक छे यार त्यो म्याडम । सुमधुर बोली, राम्रो पढाउने शैली, मिलेको कोकाकोला फिगर, हेर्दा पनि हेरिरहूँ जस्तै अनुहार, जीउमा फिट हुने पहिरन, के छैन त्यो म्याडमसँग । लामो कालो कपाल, मिलेका दाँतहरू, त्यस्तै उसको त्यो ओठ सबै मिलेका छन् । उसले पढाउने विषय बुझे पनि नबुझे पनि त्यो क्लास कहिले पनि बोर हुँदैन यार । ऊ क्लासमा पसेदेखि ननिस्के सम्म म मात्रै हैन, सबै केटाहरू मोहित हुन्छन् । जे हेर्यो त्यही राम्रो छ त्यसको । त्यो च्वाँक छे च्वाँक !’
केटाको कुरा सुनेपछि केटी किन चुप बस्थी । उसले पनि भनी, ‘तिमीहरूलाई राम्रा केटी देख्न हुन्छ ? म्याडम होस् कि सँगै पढेकी साथी, सीनियर होस् कि जुनियर । सबैतिर आँखा लगाउन खप्पिस हुन्छन् आजकलका केटाहरू । नम्रता म्याडमको क्लासमा सबै किन चुपचाप बस्छन् भनेर सोचेको थिएँ, यस्तो पो रहेछ कारण । बल्ल आज थाहा पाएँ । मात्तिएका मोराहरू ।’
‘तैँले ठिक भनिस्, यसैलाई भन्छन् हामी कलियुगका केटाहरू । राम्रा चिज र केटीमा कसको आँखा जाँदैन ? बगैँचामा पनि राम्रो फूलमा नै हो आँखा जाने र सबैले प्रशंसा गर्ने । मैले अरू केही भनें ? केवल नम्रता म्याडमको गुण र उनको सुन्दरताको वर्णन गरेको हुँ मैले । तँलाई ईर्ष्या लाग्यो हो ?’ केटाले प्रश्न गर्यो ।
‘मलाई किन ईर्ष्या लाग्ने ? न म तेरो गर्लफ्रेन्ड हुँ, न नम्रता म्याडम जस्तै कुनै टिचर । मलाई तँ प्रति दया लाग्यो । मनमा विकृतिको भारी बोकेर बसेको साथीसँग अहिले पनि सँगै यात्रा गर्नु परेकोमा र तेरो साथी हुनु परेकोमा खेद छ ।’ केटीले आक्रोश पोखी ।
‘ल ! यो किन रिसाएकी ? म जिस्केको मात्रै हो । मैले भनेको कुरा यथार्थ हो । हैन भने अरू केटाहरूसँग सोधे भइहाल्छ नि !’ फकाएको स्वरमा केटाले स्पष्टीकरण दिन थाल्यो ।
उनीहरूको वार्ता चल्दै थियो, बसको कन्डक्टर भाइ भाडा लिन आयो । उनीहरूले आ-आफ्नो भाडा तिरे । यत्तिकैमा बस रोकियो । उनीहरू जुन पछाडिको ढोकाबाट चढेका थिए, त्यही ढोकाबाट ओर्लिए ।
पुसको मध्य जाडोमा ऊनीको टोपी, गलबन्दी, न्यानो स्विटर आदि लगाएर बसको अघिल्लो सिटमा बसेर मेरो भन्दा दुई सिट पछि बस्ने यी केटा र केटीले गरेको सबै संवाद सुन्ने र उनीहरूले भनेको त्यो बुढो शिक्षक म थिएँ । मलाई उनीहरूले नचिने पनि म भने उनीहरूको स्वरबाट नै यी दुई मेरा विद्यार्थीहरुलाई चिन्थे ।
मलाई अप्ठ्यारो पर्यो । यी दुईको पछिपछि सँगै ओर्लूं भने उनीहरूले मलाई चिन्ने डर, नओर्लूं भने मेरो पनि गन्तव्य यही हो । म अकमक्क परें । म एकछिन ढिला गरेर सबै यात्रीहरू ओर्ले पछि अगाडीको ढोकाबाट ओर्लें । उनीहरूले भने जस्तै झोला बोकेर आफ्नो गन्तव्य र उनीहरू पनि पढ्ने उही कलेजतर्फ बिस्तारै बिस्तारै लागें ।
बस स्टपदेखि कलेजसम्म पुग्दै गर्दा यी दुईले गरेको कुराले मेरो मनमा अनेक कुराहरू चल्न थाले । मेरो पाराको बारेमा मलाई नै थाहा थिएन, आज उनीहरूले मेरो आँखा खोलिदिए । पेशा प्रतिको मेरो इमानदारिता, स्थायित्व र पेशागत मर्यादाको बारेमा पनि मैले आज अरूबाट पहिलो पटक केही कुरा सुन्न पाएँ । झोले शिक्षकहरूको बाध्यताको बारेमा मलाई राम्रै जानकारी थियो, उनीहरूलाई पनि हाम्रो परिस्थिति बारेमा अवगत रहेछ । यदि मेरो आर्थिक अवस्था सहज हुन्थ्यो भने म आज आफ्नै सवारी साधनमा कलेज जाने आउने गर्थें । किन यो काठमाडौंको पुसको जाडोमा सार्वजनिक सवारी चढ्नु पर्थ्यो ।
उमेर पुगेपछि कपाल फुल्छ । कपाल फुलेपछि मान्छे बुढो हुन्छ, यो कुरा ठिक हो । तर, कपाल फुलेका सबै विवाहित हुन्छन् भन्ने कुरा भने ठिक हैन । उनीहरूलाई के थाहा ? म अझै अविवाहित हुँ भन्ने कुरा । अविवाहित भए पनि नम्रता म्याडमको बारे उनीहरूले गरेको कुरा सुन्दा भने मेरो मनमा कताकता हलचल भने आएको थियो । भन्छन् नि, आखिर उमेर केवल अंक मात्रै हो । मन हो मान्छेलाई नियन्त्रणमा राख्ने वा नराख्ने । मैले अहिलेसम्म नियन्त्रणमा राखेको मन पनि अति राम्रीको कुरा सुन्दा हलचल भने हुने रहेछ ।
मेरो उमेर, पेशा, कार्यशैली आदि प्रति यी दुई विद्यार्थीले गरेको टिप्पणी र नम्रता म्याडमको प्रशंसा दुवै मलाई सामान्य लाग्यो । यो शायद मेरो उमेरले गर्दा होला । मनमा लाग्यो, ‘सोह्र बर्षे उमेरमा मै पनि झिल्के हुँदो हुँ ।’ उनीहरूको ठाउँमा म त्यही उमेरको भएर त्यहाँ बसेको भए मेरो मनमा पनि त्यस्तै कुराहरू आउने थिए होलान् । म उमेर र अनुभवले धेरै अघि बढें । आखिर जीवन एक गति हो, जुन एकतर्फी रूपमा अघि बढ्छ र कहिल्यै पछाडि फर्केर हिँड्दैन ।
अरूको जस्तै मेरो पनि त्यस्तै हो, म पनि अरू सामान्य मान्छे जस्तै हुँ ।
No comments:
Post a Comment