डा. बच्चु कैलाश कैनी

बेलायतको लामो हिउँद, अँध्यारा दिन, चिसो मौसम र सिमसिमे पानी पर्ने समयबाट उन्मुक्ति खोज्ने धेरै हुन्छन्।  यी मध्ये म पनि एक हुँ।  हरेक वर्ष वसन्त ऋतु लागेसँगै न्यानो घामको खोजीमा बेलायतबाहिर जान मेरो मन लालायित हुन्छ। यसै सन्दर्भमा मैले विभिन्न गन्तव्यहरूको खोजी गरेँ र अन्त्यमा क्यानरी आइल्याण्डहरूको एक टापु लान्जारोटे टापुमा यो वर्षको वसन्त ऋतुमा छुट्टी मनाउन जाने निधो गरेँ।

छुट्टी मनाउँदा जति रोमाञ्चक र रमाइलो हुन्छ, त्यत्ति नै झन्झट त्यसको पूर्व तयारी गर्न हुन्छ।  घुम्ने गन्तव्यको टुङ्गो लागे पछि त्यहाँ घुम्ने ठाउँहरू पत्ता लगाउनु, यात्रा कार्यक्रम तय गर्नु, हवाई टिकट र होटेल बुकिङ गर्नु, यात्रा बिमा गर्नु, एयरपोर्टसम्म जाने आउने साधन र पार्किङको व्यवस्था मिलाउनु आदि काम गरे पछि मात्रै घुम्ने कुरा सुरु हुन्छ।  हाम्रो सबै जसो घुमाई हामी दम्पतीको सँगै हुने भए पनि घुमाइको पूर्व तयारी गर्नु र सबै व्यवस्था मिलाउने जिम्मा भने मेरो भागमा पर्छ। दम्पती सँगै घुम्न जाने अरू धेरै जसोको पनि शायद यस्तै हुन्छ होला।

पाँच दिने यात्राको सबै बन्दोबस्त मिलाएर लन्डनको स्टानस्टेड विमानस्थलबाट हामी दम्पती लान्जारोटेको राजधानीमा रहेको आरेसिफे  विमानस्थल जाने तय भयो।  लन्डनका विमानस्थलहरूबाट हाते झोला लिएर युरोप जान त्यति धेरै झन्झट छैन। घरबाट नै चेक इन गरेर बोर्डिङ पास लिन सकिन्छ। त्यसपछि सिधै सेक्युरिटी गेटमा गएर जाँच गराए पछि इमिग्रेसन हुँदै बोर्डिङ गर्न सकिन्छ। हामीले पनि त्यस्तै गर्‍यौँ।  प्रक्रियालाई सरल बनाउन र समयको बचत गर्नको लागि प्रविधिको भरपुर उपयोग भएको छ आजकल विमानस्थलमा।

निर्धारित समयमा विमान चढियो।  युरोप तिर चल्ने अधिकांश विमानहरू किफायती र सस्तो भाडा दरवाला वा ‘बजेट एयरलाइन्स’ हुन्छन्। यस्ता विमान भित्र सबै सशुल्क हुन्छन्।  कतिसम्म भने हातमा बोक्ने वा पछि भिर्ने सानो झोला बाहेक ह्याण्ड लगेज वा त्यो भन्दा ठुलो अरू सुटकेस लानु परे अतिरिक्त शुल्क तिर्नु पर्छ।  त्यस्तै, बोर्डिङ पास लिँदा आफूले चाहेको सिटमा बस्न मन लागेर त्यो बुक गरे थप शुल्क तिर्नु पर्छ। विमान भित्र कुनै खाना नि:शुल्क हुँदैन।  पानी, मदिरा र कुनै खानेकुरा खान मन लागे शुल्क तिरेर खानु पर्छ।

बोर्डिङ पास लिँदा हामीले थप शुल्क नतिरेको कारण हामी दुई दम्पतीको सिट फरक फरक ठाउँमा पर्‍यो।  एक जना केही अघि दायाँ तर्फ र अर्को जना केही पछि बायाँ तर्फ बस्नु पर्ने भयो। वायुसेवा कम्पनीको व्यापारीकरणको मारमा हामी पर्‍यौँ। हामी दुई जना आ-आफ्नो तोकिएको सिटमा बस्यौ।  विमानमा सबै यात्रु चढेपछि मैले दायाँ बायाँ सबै तिर हेरेँ। विमानका सबै सिटहरू झन्डै भरिएका थिए। तर, म बस्ने सिटको लहरमा सँगै एक सिट खाली थियो। त्यस्तै मेरो श्रीमती बस्ने सिटको सँगैको दुई सिटहरू खाली थिए ।  म वा मेरी श्रीमती बस्ने सँगैका सिटहरू खाली भएको हुनाले हामी दुई मध्ये एक जना ठाउँ सर्न खोजेको भन्दै मैले त्यहाँ एयरहोस्टेजलाई अनुरोध गरेँ।  उनले विमान उडे पछि त्यो सम्भव हुने, तर टेकअफ भन्दा पहिले सम्भव नहुने जवाफ दिए।  उनको सुझाव अनुसार विमान उडेर सिट बेल्ट खोल्न मिल्ने भएपछि हामी सँगै बस्यौ।

बाटोमा फ्रान्स, स्पेन, पोर्चुगल र अटलान्टिक महासागर हुँदै  यात्रा गर्दा फ्रान्सको पहाडी भाग वा ‘फ्रेन्च अल्प’ मा देखिएको हिउँको दृश्य अद्भुत थियो। मौसम राम्रो भएको हुनाले विमानबाट हिउँले ढाकिएका पहाड, जङ्गलले भरिएका हरिया पहाड, तालहरू, खोला, बाटो, बस्ती आदि प्रस्ट देखिएको थियो। यी दृश्यहरू  हेर्दा विमानबाट नेपाल जाँदा नेपालको दृश्य अवलोकन गरेको याद आयो मलाई। बाटोमा खोलानाला, ताल, जङ्गल, पहाड, समुन्द्र आदि हेर्दै चार घण्टा पन्ध्र मिनेटको हवाई यात्रा पछि हामी लान्जारोटे टापुको आसपास पुग्यौ।

पश्चिमी अफ्रिकाको तटीय क्षेत्रमा रहेको यो टापु आकाशबाट हेर्दा चारै तिर निलो समुन्द्रको बिचमा रहेको सबै तिर कालो भू-भाग र फाट्टफुट्ट देखिने सबै घरहरू सेता देखिन्थे। यो दृश्य देखे पछि मेरो श्रीमतीले भनिन, ‘ओहो, यो त कालापत्थर टापु रहेछ। ‘ मलाई पनि त्यस्तै लाग्यो।  हुन पनि जमिन सबैतिर कालो थियो। जमिनमा जङ्गल र रुख बिरुवा केही नदेखिने। जति घरहरू थिए, सबै सेता घरहरू मात्रै थिए।  त्यहाँ पुगेपछि एक रोचक कुरा थाहा भयो, लान्जारोटेका घरहरूमा सेतो बाहेक अरू रङ्ग लगाउनु गैर कानुनी रहेछ।  त्यस्तै घरको झ्याल र ढोकाहरूमा पनि निलो वा हरियो रङ्ग मात्रै लगाउनु पर्ने नियम रहेछ।  यहाँको सन्दर्भमा यो नियम एकदम ठिक लाग्यो।

लान्जारोटे टापु  स्पेनको भू-भाग रहे पनि स्पेनको मुख्य भू-भागबाट यो झन्डै १ हजार किलोमिटर टाढा छ भने पश्चिमी अफ्रिकन मुलुक मोरोकोबाट करिब १ सय पच्चीस किलोमिटरको दुरीमा छ।  करिब ८ सय छयालीस वर्ग किलोमिटर क्षेत्रफल रहेको यो टापु ज्यालामुखी फुटेर बनेको टापु हो। ज्यालामुखीबाट बनेको टापु भएको हुनाले यहाँको अधिकांश जमिन खेतीयोग्य छैन। धेरै वर्षसम्म ज्वालामुखी फुटेको हुनाले त्यसको धुवाँ र धुलोको कारण यो टापुको धेरै जसो भाग कालो छ।  यहाँ बालुवा, ढुङ्गा, पहाड, जमिन जताततै केवल कालो देखिन्छ। कालो टापुको चारै तिर एकदम निलो अटलान्टिक महासागर र यहाँ बनेका सेता घरहरूले यो टापुको आकर्षण बढाएको छ।

यहाँका घरहरूमा सेता मात्रै रङ्ग लगाउनु पर्ने नियम बनाउन, यहाँको प्रकृतिसँग मेल खाने संरचना बनाउन, अद्भुत कलाकृति बनाउन, संस्कृति  जोगाउन, ज्वालामुखी टापुको पहिचान कायम राख्दै विकासको गति अघि बढाउन र यो टापुमा पर्यटक भित्राउन सिजार मनरिके भन्ने व्यक्तिको निकै ठुलो योगदान रहेछ।  एक व्यक्तिको सोच र दृष्टिले कुनै ठाउँको पहिचान र विकासको लागि कति महत्त्व हुन्छ र योगदान पुग्छ भन्ने उदाहरण लान्जारोटेमा देख्न सकिन्छ। यहाँको विमानस्थल र धेरै ऐतिहासिक ठाउँको नाउँ यिनैको नाउँबाट राखिएको रहेछ। त्यसैले सिजार मनरिकेको नाउँ यो टापुको धेरै ठाउँमा देख्न सकिन्छ। सन् १९९२ मा स्वर्गे भएका सिजारको  निवासलाई अहिले सङ्ग्रहालय र पर्यटकीय क्षेत्रको रूपमा देख्न सकिन्छ।  यहाँ यिनका कलाकृति र जीवनशैलीसँग जोडिएका धेरै कुरा अवलोकन गर्दा लाग्यो, हरेक मानिसको कामले हो आफ्नो पहिचान  बनाउने र देशको शिर उच्च राख्ने।

लान्जारोटे जानुभन्दा अघि नै मैले यो टापुको बारेमा धेरै जानकारी लिएको थिएँ। यही अनुसार हरेक दिन कहाँ र कसरी घुम्ने भन्ने योजना बनेको थियो।  यो टापुमा सार्वजनिक बस सेवा निकै भरपर्दो र सस्तो छ भन्ने जानकारी मैले पहिले नै लिएको थिएँ।  यो कुरा लान्जारोटे विमानस्थलबाट म बस्ने यो टापुको राजधानी आरेसिफे स्थित होटेल जाने क्रममा नै थाहा भयो। आरेसिफेमा चल्ने सार्वजनिक बसको एकतर्फी बस भाडा जम्मा १ युरो चालिस सेन्ट रहेछ। स्थानीय बासिन्दा, अरू सुविधा पाउने र बस कार्ड लिएर भाडा तिरे यो भन्दा निकै सस्तो पर्ने रहेछ। मलाई बस चढेर यात्रा गर्न एकदम मन पर्छ। अझै झ्यालको सिटमा बसेर चारै तिर हेर्दै दृश्य अवलोकन गर्नुको छुट्टै मज्जा हुन्छ।

भिडभाड र जाम नहुने व्यवस्थित बाटो, सफा सहर, चिटिक्क परेका साना सेता घरहरू, बाटोको दुई तर्फ फूल र बोट बिरुवा रोपिएका, छेउमा समुन्द्र, बसको झ्यालबाट जताततै देखिने मान्छे बस्न मिल्ने सामुन्द्रिक किनारा तट वा ‘बीच’ आदिको दृश्यले मेरो मन निकै प्रफुल्ल भयो।  त्यस माथि वसन्त ऋतुको समयमा पनि करिब पच्चीस डिग्रीभन्दा माथिको न्यानो मौसम र घमिलो दिनले मेरो शरीरमा फुर्ती मात्रै थपेन, छुट्टीको औचित्य पनि पुष्टि गर्‍यो।

यहाँ पुगे पछि घुम्ने मुख्य पर्यटकीय थलो भनेको टिमनफाया राष्ट्रिय निकुञ्ज हो।  लान्जारोटे टापुमा पुगे पछि यहाँ पुगिएन भने यात्रा निकै खल्लो र निरर्थक हुन्छ। यहाँ पुग्न कि आफ्नै वा भाडाको सानो सवारी साधन हुनु पर्छ वा टुर कम्पनीले व्यवस्था गर्ने कोचबाट पनि यहाँ जान सकिन्छ।  यो मध्ये हामीले कोचबाट त्यहाँ जाने विकल्प रोज्यौँ। यहाँ जाँदा बाटोको दृश्य एकदमै मनमोहक थियो। उकालो, ओरालो र एकदम साँगुरो बाटो यहाँको विशेषता रहेछ।  बाटोको कतिपय खण्ड भने मन नै जिरिङ्ग हुने साँघुरो र निकै खतरनाक बाटो थियो। निकुञ्जको मुख्य भागमा एकतर्फी मात्रै सवारी साधन साधन चल्ने व्यवस्था रहेछ।  युरोपको धेरै देश घुम्दा मैले यस्तो बाटो यहाँ बाहेक अन्त कतै देखेको थिइनँ।  त्यस्तै, नजिकबाट हेर्दा ज्वालामुखीबाट निस्केर सुकेको जस्तै रातो, कालो आदि रङ्गको रङ्गीचङ्गी आकृति, रातो, सुनौलो र कालो रङ्गको बालुवा र निकै अजङका ठुला ठुला ढुङ्गाहरू सतहमा देख्दा अहिलेसम्म नदेखेको पृथ्वीको कुनै भाग हेर्ने मौका मिलेकोमा आफूलाई भाग्यमानी ठानेँ।

एकाउन्न वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो टिमनफाया राष्ट्रिय निकुञ्ज ज्वालामुखी फुटेको क्षेत्र हो। यहाँ  सन् १८२४ मा अन्तिम पटक ज्वालामुखी विस्फोट भए पनि यो क्षेत्र अझै पनि भू-तापिए रूपमा सक्रिय छ।  यो निकुञ्जको सतहभन्दा केही सेन्टिमिटर तलको तापक्रम करिब ४ सय डिग्री सेल्सियस भन्दा बढी नै हुने रहेछ। यो क्षेत्रमा घुम्न जाने पर्यटकहरूको लागि जियो थर्मल वा भू-तापिए परीक्षण गरेर प्रदर्शन गरिने रहेछ।  रमाइलो कुरा के भने यहाँ रहेको एक मात्र रेस्टुरेन्टमा भू-तापक्रमबाट आएको तापले चिकेन रोस्ट गरिने रहेछ। त्यस्तै, यहाँको भू-तापक्रमबाट आउने तातोले पतिङ्गर बालेर, जमिनको प्वालमा पानी हाल्दा त्यहाँको ग्यास र तातोले झन्डै तीस चालिस मिटर माथि सम्म पानी र ग्याँस जाने प्रदर्शनी  पनि गरिने रहेछ।  कोचले यूनेस्को विश्व सम्पदा सूचीमा रहेको यो निकुञ्जको विभिन्न ठाउँमा रोक्दै एक पटक परिक्रमा गरायो।  यसरी परिक्रमा गराउँदा कोचका टुर गाइडले ठाउँको बारेमा, त्यहाँको परिवेश र इतिहासको बारेमा बताउँदा यो भ्रमण जानकारीमूलक समेत रह्यो।

यो सुख्खा टापुमा ऊँट चढ्ने व्यवस्था पनि मिलाइएको रहेछ। मलाई राजस्थानमा पनि ऊँट चढेको अनुभव छ। तर  टिमनफायामा भने ऊँट चढ्ने तरिका फरक रहेछ।  राजस्थान र अरब तिर ऊँटको माथि मान्छे बस्ने चलन छ भने यहाँ ऊँटको दायाँ र बायाँ बस्ने सिटको व्यवस्था मिलाइने रहेछ।  यदि एकातिर मात्रै बस्ने हो भने वा एक जनाको तौल अर्को यात्रीको तौल भन्दा कम  भयो भने अर्को तिर बोरामा तौल राखी बाँधेर सन्तुलन मिलाउने गरेको  देखियो। यसरी ऊँटमा यात्रा गर्दा सहज र सुरक्षित महसुस भयो।  करिब आधा घण्टा जति सुख्खा पहाडको केही माथिसम्म ऊँट चढेर यात्रा गर्दा मलाई कतै अरब मुलुक वा मरुभूमि तिर पो छु कि भन्ने भान परेको थियो।

यहाँको अर्को आकर्षण ‘क्वेबा डे लास वेर्देस’ पनि ज्वालामुखीसँग सम्बन्धित छ। यो मोन्टे कोरोना ज्वालामुखी विस्फोटबाट बनेको ठुलो भूमिगत ज्वालामुखी सुरुङ हो। यो संसारको सबैभन्दा लामो ज्वालामुखी ट्युब वा सुरुङ मध्ये एक हो।  यसको आकर्षण भनेको यहाँको अद्भुत र आकर्षक भौगोलिक सुरुङ वा संरचनाहरू हुन्। कतै साँगुरो, कतै फराकिलो, कालो ढुङ्गाहरूले बनेको यो ठाउँको भ्रमण गर्दा कुनै सुरुङ भित्र पसेको जस्तो लाग्दैन थियो, कुनै अद्भुत दुनियाँमा रमेको भान हुन्थ्यो।

यहाँ नाम चलेका, मनमोहक र सुनौलो बालुवाले भरिएका धेरै समुन्द्र तट भएको हुनाले हामीले पनि एक दिन पुरै समुन्द्र तटमा बिताउने निधो गर्‍यौ।  घाम छेक्न छाता भएका र सुत्न मिल्ने सनलाउन्जर भाडामा लिएर पच्चीस डिग्री तापक्रमको घाम ताप्दै, कहिले बालुवामा खेल्दै र बेला बेला समुन्द्रमा डुबुल्की मार्दै बस्दा दिन बितेको थाहा नै भएन। यहाँको चलन नै यस्तो, जसले जे गरोस्, जस्तो गरोस् कुनै मतलब नराख्ने।  त्यसैले त कोही एक पिसमा, कोही दुई पिसमा र कोही हामी जस्ता पुरै कपडा लगाएर बस्दा पनि हुने रहेछ यहाँ । पश्चिमेलीहरूको व्यक्तिगत स्वतन्त्रता र छुट सहितको जीवन शैलीले गर्दा यहाँ पनि ‘आफ्नो जीवन, आफ्नै छनौट’ गर्दा कसैलाई आपत्ति नहुने।

हामीले खासै महत्त्व नदिने सामान्य भ्युपोइन्टहरूलाई पनि लान्जारोटेमा पर्यटकीय गन्तव्य बनाएका रहेछन्।  यी मध्येको एल गल्फो एक हो, जहाँबाट एक ज्वालामुखीबाट बनेको ‘हरियो ताल’ र समुन्द्र देख्न सकिन्छ। यो हेर्न पर्यटकहरूको घुइँचोमा हामी पनि एक थियौ।  खासै सामान्य ताल जस्तो लाग्ने यो ताल हेर्दा कुनै ठुलो कुरा नलागे पनि पर्यटकहरूको भीड देख्दा यो ठाउँ निकै प्रसिद्ध लाग्ने रहेछ।  त्यस्तै लोस हेरभिडेरोस पनि त्यस्तै ठाउँ। एक अग्लो ठाउँबाट अटलान्टिक समुन्द्र र चट्टान मात्र देखिने यो ठाउँलाई पनि पर्यटकको एक गन्तव्य बनाएको देख्दा लाग्यो प्रचार प्रसार गर्ने, भौतिक सुविधा विकास गर्ने र बाटो घाटो बनाउने हो भने हाम्रो नेपालमा हजारौँ क्षेत्र निकै लोकप्रिय गन्तव्य बन्न सक्छन्।

कृषिलाई पनि पर्यटकीय गन्तव्य बनाउन सकिन्छ भन्ने उदाहरण ला-गेरियामा देख्न पाइयो । यहाँ  ढुङ्गाको पर्खालले छेकेर कालो बलौटे माटोमा अङ्गुर लगाउने गरिन्छ । त्यही अङ्गुर फर्मको बिचमा अङ्गुरको वाइन बनाउने र बिक्री गर्ने केन्द्र छ । अरूले जस्तै हामीले पनि यहाँ सानो वाइन गिलासमा एक एक ट्वाक अङ्गुरको वाइन चाखियो । किन्नेले यहाँ वाइन किने, नकिन्नेले हेरेर र चाखेर मज्जा लिए।  यो केन्द्रको बाहिर कोच र निजी सवारी साधनहरूलाई पार्किङ गर्न पालो पर्खनुले र वाइन बिक्री केन्द्र भित्रको भीडले पनि यसको लोकप्रियता सिद्ध गर्थ्यो।

वसन्त ऋतुमा पनि जताततै यहाँ पर्यटकको घुइँचो देख्दा मलाई धेरै नै अचम्म लाग्यो।  करिब एक लाख साठी हजार  जनसङ्ख्या भएको यो टापुमा हरेक वर्ष करिब तीस लाख पर्यटक आउने रहेछन्।  यस्तो कालो, बन्जार र रुखो टापुमा पर्यटकको घुइँचो देख्दा मलाई नेपाल जस्तो मुलुकमा किन सोचे जस्तो पर्यटक भित्राउन नसकिएको होला भन्ने प्रश्न मनमा उठ्यो।

लान्जारोटे टापु चारैतिर समुन्द्रले घेरिएको, यहाँ धेरै समुद्र तट वा बिचहरू समेत रहेको र यहाँको मौसम निकै राम्रो भएको हुनाले यो टापुको आकर्षण युरोपियन पर्यटक माझ बढेको कुरा अनुमान गर्न गाह्रो छैन।  यसमा पनि यो टापु ब्रिटिस पर्यटक माझ निकै लोकप्रिय छ भन्ने कुरा यहाँ आउने पर्यटक मध्ये झन्डै पैँतालिस प्रतिशत पर्यटक ब्रिटिस हुने कुराले पनि पुष्टि गर्छ।  त्यस्तै, आउने बेला विमानस्थलमा करिब तीन घण्टाको समय तालिका डिस्प्ले हुँदा पाँच वटा फ्लाइटहरू बेलायत जाने थिए। यहाँ पर्यटकको लागि धेरै प्रकारका पर्याप्त होटेल र रिसोर्ट हुनु, युरोपियन मुलुकबाट सिधा हवाई सम्पर्क हुनुले पनि यो टापुको लोकप्रियता बढेको हुनु पर्छ। यी दुई पूर्वाधारहरू पर्यटन विकासका लागि पूर्वशर्त हुन्।

हामीले लान्जारोटेमा देखेका र अनुभव गरेका धेरै कुरा यो छोटो नियात्रामा समेट्न सकिँदैन।  समग्रमा भन्दा लान्जारोटेले हाम्रो मन जितेको छ। यो भ्रमणले मनभरि धेरै यादहरू सँगालेर राखेको छ। पाँच दिनको यात्रा गरेर लन्डन आए पछि फेरी उही दिनचर्या सुरु भयो। अहिले मेरो मनमा भने लान्जारोटेको अमित छाप भने बसेको छ।