यो वर्षको एमबिए ब्याचको  पहिलो दिनको कक्षा ।  पहिलो दिन सधैँ मनमा एक प्रकारको उत्सुकता हुन्छ ।  कति विद्यार्थी छन्,  कस्ता वा कुन पृष्ठभूमिका  विद्यार्थी छन् । उनीहरूसँग के कस्तो अन्तरक्रिया गर्ने ? आदी प्रश्नहरू मनमा उब्जेका हुन्छन् ।  मनमा सधैँ एक किसिमको कौतूहल र उत्सुकता हुन्छ ।

यो शैक्षिक सत्रको पहिलो दिन ।  मेरो पहिलो पढाउने कक्षा । सधैँ झैँ म कक्षामा पसें । आफ्नो परिचय दिएँ ।  विश्वविद्यालयको बारेमा, कोर्सको बारेमा र अरू थुप्रै भन्नु पर्ने कुराहरू भनें । कक्षा कोठा नियालेँ, सधैँ झैँ यो वर्ष पनि विभिन्न देशबाट आएका विद्यार्थीहरू थिए ।बहुभाषी, बहुसांस्कृति र अनेक पृष्ठभूमी भएका विद्यार्थीलाई पढाउनु र उनीहरूसँग समय बिताउनु मेरो लागि पनि निकै ठूलो भोगाइ र सिकाइ हो ।  खासमा मलाई यो वातावरण रमाइलो लाग्छ ।

मैले परिचय दिए पछि पालो आयो विद्यार्थीहरूले आफ्नो परिचय दिने ।  यसै क्रममा एकजना विद्यार्थी उठिन्, आफ्नो परिचय दिइन्, ‘मेरो नाम एलिना थापा, म नेपालबाट आएको ।’

मलाई खुसी लाग्यो र  मैले थपें, ‘म पनि नेपालबाट आएको ।  तिम्रो कुन ठाउँ हो नेपालमा ?’

‘पोखरा’ ।

मैले भनें, ‘मलाई सबै भन्दा मन पर्ने ठाउँ हो पोखरा, मेरो सपनाको नगर हो त्यो ठाउँ ।’ उनी मख्ख परिन् ।  मैले देखें उनको अनुहारमा खुसीको बहार छायो ।

सबै विद्यार्थीले परिचय दिए पछि मैले पढाउन शुरु गरें ।  त्यो दिनको लागि मेरो काम सकियो ।  त्यसपछि म पढाउने शैक्षिक सामान प्याक गर्दै थिएँ, एलिना मेरो नजिक आइन् केही कुरा गर्न खोजे जस्तो गरी ।

मैले सोधें, ‘कहिले आएको तिमी बेलायत ? कस्तो लागेको छ बेलायतको बसाई? कहाँ बस्छौ तिमी?’ अरू विद्यार्थीलाई जस्तै मैले एलिनालाई पनि केही समस्या परे मलाई भन्नु भनें । मेरो कक्षाको चालिस विद्यार्थी मध्ये उनी एक्लो नेपाली विद्यार्थी थिइन् । त्यो दिनको संवाद सकियो । हामी आ-आफ्नो बाटो लाग्यौं ।

झन्डै पन्ध्र वर्ष भयो, मैले बेलायतको विश्वविद्यालयमा पढाएको ।  यो बीच मैले अहिलेसम्म करिब दश जना जति नेपाली विद्यार्थीहरूलाई पढाएँ ।  नेपाली विद्यार्थीलाई बेलायतमा पढाउन पाउँदा मनमा छुट्टै किसिमको आनन्द हुन्छ ।  उनीहरूसँग फरक किसिमको आत्मीयता हुन्छ । नेपाली विद्यार्थीहरूलाई भेट्दा र पढाउन पाउँदा आत्मा सन्तुष्टि हुन्छ ।  नेपाली माटो र मन यतै भेटिए जस्तो हुन्छ । शायद उनीहरूलाई पनि त्यस्तै किसिमको महसुस हुन्छ होला ।

स्वाभाविक छ, मैले पढाउने र मेरा विद्यार्थीहरूले   पढ्ने काम निरन्तर जारी हुने नै भयो ।  यसै बिचमा एलिनाले पनि कक्षामा राम्रो गरिन । कक्षामा उनी राम्रा विद्यार्थीहरू मध्ये एक थिइन् ।  उनी विश्वविद्यालय नजिकै कतै डेरामा बस्थिन् । आंशिक समय काम गर्थिन् ।म उनको बसाइ, पढाइ र कामको बारेमा जानकार थिएँ ।  कुनै समस्या परेको बेला वा कुनै सुझाव चाहिएको बेला उनी मलाई सम्पर्क गर्थिन् ।  उनको गुरुको नाताले मैले उनलाई जागिर खोज्न र पढाइसँग सम्बन्धित अरू कुरामा रायसल्लाह दिएको थिएँ ।

त्यो वर्षको दशैं आयो ।  यहाँ उनी एक्लै बस्ने गर्थिन् । एलिना बस्ने वरपर नेपालीहरूको बसोबास नभएको र विदेशमा उनको पहिलो दशैं भएको हुनाले मलाई लाग्यो, एलिनालाई मेरो घरमा बोलाउनु पर्छ । त्यो दशैंको सप्ताहान्तमा मैले एलिनालाई मेरो घरमा निम्ता गरें । उनी पनि खुसी भइन् । दुई दिन बस्ने गरी उनी मेरो घर आइन् । मैले मेरी श्रीमती र मेरा छोराछोरीहरुलाई पनि उनी आउने कुरा पहिले नै भनेको थिएँ ।  उनीहरूले पनि एलिनालाई खुसी साथ स्वागत गरे ।

हामी चार जनाको परिवार र एलिना सँगै बसेर दशैं मानियो । हामी सबै सँगै तास खेलियो ।  मेरी श्रीमतीले बनाएको विभिन्न नेपाली परिकार खाइयो ।  दशैं भने पछि स्वाभाविक हो, टिका पनि लगाइयो । पारिवारिक माहौल थियो त्यो ।  एलिनाले पनि खुसी मानिन् ।  मेरी श्रीमतीलाई भान्सामा धेरै प्रकारका परिकार बनाउन र अतिथि सत्कारमा निकै रुचि छ ।  एलिनाको पनि खाना बनाउने र भान्सामा रमाउने बानी रहेछ ।  म झन् यो मामिलामा एक कदम अघि छु ।  फुर्सदको समयमा भान्सामा पस्ने, पकाउने  र अरूलाई चखाउने मेरो पनि सोख हो ।  त्यति मात्रै हैन, बोल्ने कुरामा म एकदम बहिर्मुखी स्वभावको छु ।  एलिनाको बानी पनि त्यस्तै रहेछ ।

यही प्रसङ्गमा मेरी श्रीमतीले भनेकी थिइन्, ‘गुरु र चेलीको स्वभाव कति मिलेको ? दुवै उस्तै उस्तै ! भान्सामा काम गर्ने, गफ गर्ने र सबै कुरामा सक्रियता देखाउने ।’  म र एलिना दुवैले ‘हो मा हो’ मिलाउँदै हामी सँगै हाँसेका थियौं ।

दशैं सकियो ।  मेरो घरमा दशैं मनाउन पाएकोमा एलिना निकै खुसी भइन् र हामी सबैलाई धन्यवाद दिइन्  । मैले पनि अभिभावकत्व प्रदान गर्दै एलिनालाई आफ्नो घर बोलाउन पाएकोमा म पनि खुसी नहुने कुरा भएन । मेरा विद्यालय जाने उमेरका दुवै छोरा र छोरीहरू पनि एलिनाको उपस्थिति र साथले खुसी भएका थिए ।  एलिना घर जाने बेलामा मेरो घरमा दशैंमा खिचेको फोटो उनको फेसबुकमा राख्ने अनुमति  मागेकी थिइन् ।  मैले स्वीकृति दिए पछि उनले खिचेका फोटाहरू फेसबुकमा राखेको देखेको थिएँ  ।  केही फोटाहरू मलाई र मेरी श्रीमतीलाई पनि ट्याग भएको रहेछन् ।

दशैं लगत्तै मेरो विश्वविद्यालयमा पढाउने दिन एलिनासँग मेरो भेट भयो ।  मेरो कक्षा सकिए पछि एलिनाले मसँग भेट्ने इच्छा प्रकट गरिन् ।  मैले पनि उनको अनुरोधलाई स्वीकार गरें ।  मैले उनलाई मेरो कार्य कक्षामा भेट्न आउन अनुरोध गरें ।  कक्षा सकिएपछि म सरासर मेरो कार्यकक्ष तिर लागें ।  त्यसको केही बेरमा एलिना पनि मेरो कार्यकक्षमा आइन् ।

उनको पढाइ सम्बन्धी केही कुराहरू भए ।  त्यसपछि सामान्य ब्यक्त्तिगत भलाकुसारी गरियो ।  उनले मलाई सोधिन्, ‘सर, हजुरले स्तुति थापा चिन्नुहुन्छ ?’

एकछिन म अकमक्क परें । ‘स्तुति’ यो नाम मेरो लागि परिचित नाम थियो ।  तर, स्तुति थापा मैले चिनेको नाम हैन ।  त्यसैले मैले सोधें, ‘स्तुति थापा ?’

‘हजुर हो, बिहे पहिले स्तुति बस्नेत, अहिले स्तुति थापा । बिहे पहिले बालाजु, काठमाडौंं बस्ने, अहिले पोखरा ।’  एलिनाले थपिन् ।

मैले भनें, ‘त्यसो भए म चिन्छु, पक्का चिन्छु स्तुतिलाई !’

मैले स्तुतिलाई कसरी बिर्सन सक्छु ? बिर्सूं पनि कसरी ? मेरो र उसको भेट नभएको धन्नै तीस  वर्ष भए पनि स्तुतिसँगको मेरो सामीप्य  एकदम अनुपम थियो ।  ऊसँग अन्तिम भेट मेरो मन मस्तिष्कमा अहिले पनि ताजा छ ।  जति भुलूँ भने पनि म सक्दिनँ ।  उसको र मेरो मित्रताको बारेमा जति लेखे पनि अपुग हुन्छ । उसको र मेरो सम्बन्धको बारेमा एउटा उपन्यास नै लेख्न सक्छु म । हो, एकदम राम्रो फिल्म तयार पार्न सक्छु म उसको र मेरो सम्बन्धको बारेमा ।

ऊ र म नेपालमा सँगै कलेज पढेको हो ।   कलेज पढ्दा ताका हामी घरबाट सँगै कलेज जाने र आउने गर्थ्यौं ।  ऊ मेरो नजिकको साथी थिई ।  ऊ मेरो आड र भरोसा पनि थिई ।  मेरो सुख दु:ख बाँड्ने, मन मिल्ने र मलाई विश्वास गर्ने साथी थिई ऊ ।  कुनै दिन विशेष समय र परिस्थितिले  म र ऊसँगै कलेज जान वा आउन नसकेको दिन उराठ लाग्थ्यो ।  मन निराश हुन्थ्यो ।  मनमा अनेक कुराहरू खेल्थे ।  उतिबेला कसैले मलाई पढाइ ठूलो  कि स्तुति  ठूलो भन्ने प्रश्न सोधेको भए मैले पक्कै मेरो लागि स्तुति  नै पहिलो प्राथमिकता हो वा ऊ नै ठूलो हो भन्ने उत्तर दिन्थे ।  म स्तुति  प्रति त्यति बिघ्न एकोहोरो रूपमा लागेको थिएँ । मानूँ उसको नाम अनुसार म उसको स्तुतिमा लागेको थिएँ । हरेक कुराको लागि म स्तुतिलाई सघाउन तयार थिएँ ।

ऊ पनि मलाई उत्तिकै माया गर्थी । घरको सानो ठूलो कुरा सबै सुनाउँथी । मेरो लागि आफ्नै हातले स्विटर बुनेकी थिई ।  उसले बनाएको खाजा  धेरै पटक खाएको छु ।  धेरै फिल्म हेरेका छौं सँगै । लाग्थ्यो, मेरो लागि ऊ र उसको लागि म एक अर्कोको परिपूरक नै थियौं ।  सँगै पढाइ, हिंडाइ र घुमफिर हाम्रो दिनचर्या थियो ।

एकदिन उसको बुवाले हामी दुईलाई बालाजु पार्कमा सँगै भेटेपछि भने, सँगै जीवन बिताउने हाम्रो भविष्यको योजनामा निकै ठूलो तगारो लाग्यो । त्यसको भोलि पल्ट नै उसको बुवाले स्तुतिलाई कलेज आउन दिनु भएन ।  उसको मिल्ने साथी काजललाई स्तुति र मेरो सम्बन्धको बारेमा थाहा थियो । काजलले नै मलाई यो सब कुरा भनेकी थिई ।  त्यसको करिब एक महिना भित्र स्तुतिको बिहे भएको थियो । यो बिचमा धेरै कुराहरू भए, त्यो कि स्तुतिलाई थाहा छ कि मलाई मात्रै । पूरै लेखे निकै लामो कहानी बन्छ ।

स्तुतिको बिहे भन्दा अघि काजलको सहयोगले मैले स्तुतिसँग झन्डै तीन घण्टा काजलको  घरमा एक्लै भेट्ने मौका पाएको थिएँ ।  त्यो भेट नै स्तुतिसँगको  मेरो अन्तिम भेट थियो ।  त्यो भेटमा जे भयो, सबै अहिले पनि मेरो मन र मुटुमा सबै ताजा छ ।  हामी सँगै रोयौं ।  एक अर्काको आँसु पुछ्यौं । हामी  एक अर्काको अँगालोमा बाँधियौं । भाग्यलाई दोष दियौं । स्तुतिको परिवारलाई दोष दियौं ।  जे भने पनि म र स्तुतिसँग दोस्रो विकल्प थिएन ।  न म आत्मनिर्भर थिएँ त्यति ठूलो चुनौती थेग्ने, न हामी दुईसँग परिवारको खिलाफ जाने हिम्मत नै थियो ।

त्यो बेला हामी विगतको यादमा हाँस्यौ पनि । उसको काखमा म पल्टिएँ र ऊ मेरो काखमा पल्टी । त्यति मात्रै हैन हाम्रो मन, मुटु, आत्मा, शरीर र सबै कुरा एक अर्कोमा समाहित गर्यौ ।  वैध र अवैध सबै कुरा भए त्यहाँ ।  न उसले मलाई प्रश्न गरी, न मैले उसलाई कुनै प्रश्न गरें ।  न मैले मेरो भविष्य सम्झेँ, न उसले आफ्नो भविष्यको परिवार र अरू कुनै कुरा नै सम्झी ।  बस, स्तुति र म एक अर्कोको साथ र अँगालोमा हरायौं ।

त्यस पछि ऊ विवाहित भई । म भने पढाइको ध्यानमा महत्त्वाकाङ्क्षाको भारी बोकेर केही समय पछि स्नातकोत्तर गर्न बेलायततिर हानिएको थिएँ । बेलायतमा पिएचडी सम्मको अध्ययन पुरा गरियो ।  यतै जागिर शुरु भयो ।  अनि उसको जस्तै मेरो पनि बिहे भयो ।  घर, परिवार, जागिर, कमाइ आदि इत्यादिमा भुलियो ।  नेपाल सँगको नाता भावनात्मक रूपमा बलियो भए पनि भौतिक रूपमा कमजोर  हुँदै गयो ।  मैले कहिलेकाहीँ सामाजिक सञ्जालमा स्तुतिको नाम र तस्बिर खोजे पनि कहीं कतै भेटिन ।  उति बेलाको कुरा हो, न हामीसँग सहज सञ्चारको माध्यम नै थियो निरन्तर सम्पर्क गर्न  ।

अहिले एलिनाले स्तुति थापा को नाम लिए पछि मलाई अतीतको त्यो समय र त्यो दिनको ताजा याद आयो । एलिनाका अनुसार दशैंमा खिचिएको मेरो र मेरो परिवारसँगको फोटाहरू फेसबुकमा देखे पछि स्तुतिले मेरो र मेरो परिवारको बारेमा सोधेको रहिछन् ।  अनि म नै एलिनाको अहिलेको गुरु हुँ भन्ने थाहा पाएपछि स्तुतिले म उसको कलेजको साथी भनेर छोरीलाई चिनाएको रहिछन् ।

मैले एलिनालाई भनें, ‘स्तुति मेरो कलेजको अति मिल्ने साथी हो’ ।

एलिनाले भनिन्, ‘उहाँ मेरो ममी ।’

म एकदम छक्क परें ।  एलिनालाई मेरो आफ्नै छोरीको रूपमा देख्न थालें ।

सुनेको थिएँ, बिहे गरेको नौ महिनामा नै स्तुतिले छोरी पाएको थिइन ।  यी एलिना तिनै स्तुतिको पहिलो सन्तान थिइन् ।  यिनको अनुहार हेर्दै मैले मेरी श्रीमतीले भनेको सम्झेको थिएँ, ‘गुरु र चेलीको स्वभाव कति मिलेको ? दुवै उस्तै उस्तै ! भान्सामा काम गर्ने, गफ गर्ने र सबै कुरामा सक्रियता देखाउने ।’

आखिर मन नै हो, शंकाको सुविधा किन नलिने ? अतीतको माया र त्यो अन्तिम भेटको वैध र अवैध सबै काम कुरा सम्झेर अहिले म सोचमग्न छु । मलाई थाहा छ, यो कुराको उत्तर मसँग छैन, तरपनि यो कुरा म सोच्न भने मेरो जीवनभर छोड्ने छैन ।

मैले आशा गरेको छु, भविष्यमा यहाँ बेलायतमा एलिनाको अभिभावकत्व मैले लिनेछु र उनको माध्यमबाट एकदिन फेरि मेरी स्तुतिलाई भेट्ने छु ।  यति सम्म नसोचेको, भई त सक्यो भने के थाहा अरू नसोचेको कुरा पनि हुन असम्भव छैन ।  अर्थात्, स्तुतिसँग फेरि भेट हुन सम्भव छ ।

कथा : नसोचेको पनि हुने रहेछ | साहित्यपोस्ट (sahityapost.com)