‘बाबु, तपाईं कुन बाहुन ?’

‘म कुमाई बाहुन बुवा ।’

‘ए, उतिबेला कुमाईसँग जैसी र उपाध्यायको बिहे चल्दैन थियो बाबु ।’

‘मैले पनि त्यस्तै सुनेको थिएँ बुवा ।’

भर्खर नेपालबाट बेलायत आउनु भएको मेरो साथीको बुवा र म बिचको यो संवाद मेरो आठ बर्षे छोरा र दश बर्षे छोरीले छेवैमा बसेर सुनेका थिए ।

बुवा मेरो घरबाट निस्के पछि अंग्रेजी मिसिएको ‘नेपाङ्ग्रेजी’ लवजमा मेरी छोरीले सोधिन्, ‘हामी कैनी भनेको हैन ड्याड ? तर, हजुरबाले अर्कै भनेको सुनें मैले ।’

छोराले थप्यो, ‘अफ कोर्स, वी आर कैनी । आवर सर नेम इज कैनी ।’

बेलायतमा कहिले पनि जात र उप-जातको बारेमा सुनेका थिएनन् । र मैले पनि यस बारेमा अहिलेसम्म केही भनेको थिइनँ । यसकारणले यो प्रश्न आएको अनुमान गरें ।  छोराको जवाफ पछि पनि चुप नै रहेँ ।

छोराछोरीले‍ यो प्रश्न कति सम्झन्छन्, कति बिर्सन्छन्, त्यो मलाई थाहा छैन । तर मेरो मनमा भने जीवनभर बसी नै रहन्छ अब, गहिरोसँग ।

https://sahityapost.com/aakhyan/short-story-aakhyan/144443/