एक महिनादेखि नै गुरु ज्ञानोदय श्री आनन्द स्वामी ज्यू द्वारा दिइने ‘भक्ति  विज्ञान प्रवचन तथा शान्ति मेला’ हुने चर्चा सबै तिर चलेको थियो । गाउँ शहर सबै तिर त्यही चर्चा सुनेर तोकिएको दस्तुर तिरेर मैले पनि आफ्नो नाम लेखाएँ ।  भनेअनुसार गन्तव्यमा समयमा नै पुगें र उक्त प्रवचन तथा मेलामा सहभागी भएँ ।

गुरुज्यूको प्रवचन शुरु भयो । मनै छुने प्रवचन सुन्दा कम्ती आनन्द भएन । मीठामीठा शब्द र कथाहरू सुन्ने मौका मिल्यो ।  गुरुको त्यो बोल्ने शैली, हाउभाउ र कथा निकै प्रेरणादायी थियो ।

गुरुले भन्नु भयो, ‘धन दौलतको हाम्रो भक्ति मार्गमा कुनै औचित्य छैन । धन भनेको भौतिक सुविधा किन्ने  एक माध्यम हो, भक्ति मार्गको साध्य हैन ।  मारेर जाँदा आफ्नो नाम राखेर जाने हो । पैसा कसले सँगै लिएर गएको छ ? जीवनमा लोभ गर्नु हुँदैन, लोभ आफैमा सुखको एक शत्रु हो ।’

यति सुने पछि म लगायत यहाँ आउने करिब चार हजार भक्त्तजनले प्रति सहभागी दुई हजार रुपैयाँका दरले तिरेको दस्तुरको कुल रकम मनमनै हिसाब गरें, असी लाख रुपैयाँ पो हुने रहेछ ।  त्यस्तै हजार वा  पाँच सय रुपैयाँका नोटहरूले भरिएका  केही चन्दा बाकस तिर पनि आँखा गयो । यो भने सोझो हिसाब गर्न नमिल्ने रहेछ । मनमनै लाग्यो, कम्तीमा दशौं लाख रुपैयाँ पक्का छ त्यहाँ ।

मन टोलायो । अनि लाग्यो, गुरु ज्ञानोदय श्री आनन्द स्वामीज्यूको कुरा भक्त्तजनलाई लागु हुने कुरा रहेछ । गुरुले त्यति नभन्ने हो भने हाम्रो मनबाट लोभ हटाएर दिमाग गुरुको भक्ति मार्गमा जानै सक्दैन ।  यति नहुने हो भने त्यो चन्दा पेटिका र गुरुको खाता कसरी भरिन्छ ? बाँकी हजुरहरू आफैले बुझ्ने कुरा हो ।