Saturday, 1 April 2017

नेपाल कहिले जाने?

नेपाल कहिले जाने?

नेपाल कहिले आउने?
- डा. बच्चु कैलाश कैनी

गत बर्षको सेप्टेम्बर महिनामा दुई हप्ताको लागि सपरिवार नेपाल गएको थिएँ । त्यसैले अस्ति मात्रै जस्तो लाग्छ नेपालबाट फर्केको । समय बित्न कत्ति पनि बेर नलाग्ने । आउँछ, अनि छिट्टै जान्छ । प्रतिक्षा गर्न र कल्पनामा रम्न जति उत्सुकता हुन्छ त्यत्तिकै आनन्द कुनै रमाइलो कुराको यादमा बिताउँदा पनि हुन्छ । मलाई नेपाल सम्झंदा मात्रै त रमाइलो लाग्छ भने नेपालमा बिताएको रमाइला क्षण सम्झंदा झन् कम्ति आनन्द आउँदैन ।

अस्ति मात्रै भेटेर आएका र भेट्न नसकेका नेपालका मेरा आफ्ना इस्ट मित्र, साथीभाई र चिनेजानेकाहरुले प्रश्न गर्न थालेका छन्, 'नेपाल कहिले आउने ?' हाम्रो छोरा र छोरीले पनि भन्न थालेका छन् ' नेपाल कहिले जाने?' त्यति मात्रै हैन, मेरो आफ्नै मनले प्रश्न गर्न थालेको छ, 'नेपाल कहिले फर्कने?'

मैले मेरो उमेरको करिब करिब आधा उमेर नेपालमा बिताएँ । उहीं जन्मे, बढें र हुर्कें । उतै लेखपढ गरें, स्कुल र कलेज धाएँ । करिब बिस वर्ष जति उतै जागिर खाएँ । मेरा सबैजसो आफन्तहरु नेपालमा नै छन् । मेरो जन्मघर, म खेले हुर्केको धर्ति, मैले बनपाखा गरेको ठाउँ र मेरो पूर्खाले आर्जेको धर्ती सबै उतै छ । मेरा लागि त्यो धर्ती सबै कुराले पलपल सम्झना लायक छ ।

त्यति मात्रै कहाँ हो र ! स्वर्गको टुक्रा जस्तो छ मेरो देश नेपाल । सम्झना र हेर्न लायक के छैन त्यहाँ ? हिमाल, ताल, झरना, नदि, बनपाखा, बन्यजन्तु आदि के छैनन त्यहाँ ? प्राकृतिक सुन्दरता र रमणीय वाताबरणले भरपुर छ नेपाल । त्यसैले पनि मेरा लागि नेपाल हरेक कुराले पलपल सम्झना लायक छ ।

हाम्रो जीवन प्रश्न नै प्रश्न ले घेरिएको छ । कति प्रश्नको सहज उत्तर हुन्छ भने कति प्रश्नको उत्तर धेरै पछि आउँछ । कति प्रश्न त जीवन भरि अनुत्तरित नै हुन्छन । माथि उल्लेखित प्रश्नहरुको उत्तर खोज्न आफ्नो वास्तविक धरातल र ब्यबहार पनि हेर्नु पर्ने रहेछ । आफ्नै मनले खोजेको र रोजेको सबै कहाँ पाउन सकिन्छ र ! भनिन्छ सबै भन्दा ठूलो सुख आत्मा सुख हो । आफ्नो मनले जे भन्छ, त्यही गर्नु पर्छ र आफ्नो मनको राजा आफै हुनु पर्छ ।

तर सधैं हाम्रो जीवन सोचे जस्तो वा रोजे जस्तो कहाँ हुन्छ र? हाम्रो जीवनमा कतिपय पटक हामी आफ्नै मनलाई बन्धक राखेर मनको लड्डु केवल घ्यूसँग खानु पर्ने अवस्था पनि आउँछ । किनकी हाम्रो जीवन आफूसँग  मात्रै हैन  अरु धेरै कुराहरु जस्तै, घरपरिवार, समाज, आर्थिक र सामाजिक दायित्व आदिसँग पनि  जेलिएका हुन्छ ।

बिदेशमा बस्ने नेपालीहरुलाई आफ्नो देश नेपाल जान मन त कहाँ हुन्न र ?  मैले पहिले नै भनि सकें, नेपालमा जन्मे, बढे र हुर्कने हाम्रो पुस्तालाई मात्रै हैन,  यहीं जन्मे, हुर्के र पढ्ने अहिलेको नयाँ पुस्तालाई पनि नेपालले त्यत्तिकै आकर्षित गरेको हुन्छ । उनीहरु पनि नेपाल भने पछि हुरुक्क हुने गर्छन । तरपनि आफ्नो पढाई, काम र अरु कुराहरुले भन्ने बित्तिकै न नेपाल आउन सकिन्छ, न त नेपालको तिर्सना यहाँ मेटाउन सकिन्छ ।

आफ्नो परिवार प्रतिको एउटा निश्चित जिम्मेवारी पुरा गरे पछि र आफ्नो आर्थिक, शैक्षिक, पेशागत वा अन्य कुनै उद्धेश्य पुरा गरे पछि हाम्रो पुस्ताका बिदेशमा बस्ने हामी नेपालीहरुले नेपाल फर्केर नेपाल र नेपाली प्रति गर्नु पर्ने र गर्न सक्ने थुप्रै कुराहरु छन् । जस्तै नेपालमा लगानी गर्न, कुनै ब्यबशाय वा उधोग धन्दा गर्न, आफ्नो पेशासंग सम्बन्धित पेशा अपनाउन, समाज सेवा गर्न वा राजनीति मार्फत देश बिकासमा टेवा पुर्याउन सकिन्छ । जे गर्ने हो आफ्नो मनले चाहेको कुरा गर्ने र मन देखि नै कुनै कुरा गर्ने हो भने सफलता पाउन कुनै गाह्रो छैन । धैर्य गर्नु पर्छ, कडा मेहेनत गर्नु पर्छ र आफुमा बिश्वास राख्नु पर्छ, सफलता पाउन सकिन्छ भन्ने मेरो मान्यता छ ।

हामीलाई आफ्नो पेशासँग सम्बन्धित जागिर पाउन, बिदेशमा आफ्नो पेशामा स्थापित गराउन र आफ्नो सन्ततिको भबिष्य सुनिश्चित गराउन नेपालले धेरै गुण लगाएको छ । त्यसप्रति हामी सबै आभारी पनि हुनु  पर्छ । नेपाल आमाको त्यो गुण र नेपाल प्रतिको ऋण तिर्नु हाम्रो कर्तब्य पनि हो ।  त्यसैले पनि हाम्रो मनमा 'नेपाल कहिले जाने वा फर्कने ?' भन्ने प्रश्न आउनु र मनमा त्यो भावना जाग्नु निकै सकारात्मक पक्ष हो । हुन त, नेपाल प्रतिको त्यो ऋण तिर्न नेपाल नै फर्कनु किन पर्छ र? भन्ने तर्क गर्न पनि सकिन्छ । तर, नेपालमा बसेर जे जति गर्न सकिन्छ, त्यो बिदेशमा बसेर गर्न मुश्किल पर्छ ।
बिदेशमा बस्ने नेपालीहरु मध्ये नेपाल जान मन लागे पनि हत्तपत्त नेपाल जान नसक्नुमा  यहाँ धेरैको बाध्यता पनि छ ।  कति आर्थिक कारणले आफ्नो मनलाई बाँधेका छन् । कति आफ्नो मनको खुसीलाई आफ्ना केटाकेटीको भबिष्यसँग सांटेका छन् । केही होलान विदेशको रमझम, भौतिक सुख सुबिधा र वाताबरणसँग मात्रै रमाउने । तर पनि अधिकांशको मन भने नेपालमा नै रमाउँछ  । त्यसैले त अधिकांश बिदेशमा बस्ने नेपालीहरु बिदेशमा पनि नेपाली खानपिन, रहनसहन र संस्कृतिमा रमाउँछन् । आफ्नो धर्म, चाडबाड र परम्परा मान्छन । सकेसम्म आफ्ना केटाकेटीहरुलाई पनि नेपालीपना सिकाउने प्रयास गर्छन ।

बिदेशमा बस्ने अहिलेको तन्नेरी पुस्ता नेपाली नेपालको लागि पनि भोलिका चम्किला तारा हुन् । हाम्रो पुस्ताले नेपालको चिन्ता गर्ने हो भने हाम्रा छोराछोरीको पुस्ताले पनि नेपाल र समस्त नेपालीको लागि सोच्न सक्छन । नेपाल प्रतिको हाम्रो सरोकार, चासो र नेपालको प्रगति र उन्नतिको लागि सकारात्मक कदमले हाम्रा सन्ततिहरुमा पनि नेपाल प्रति सकारात्मक सोच आउन सक्छ । त्यसैले पनि हामि मात्रै हैन हाम्रा सन्ततिलाई पनि हामी नेपाल कहिले जाने भन्न सक्ने बनाउनु पर्छ ।


हामी बिदेशमा बस्नेको लागि जति नेपाली कहिले जाने होला भन्ने कुरा हाम्रो मनमा आउँछ त्यत्तिकै नेपालमा बस्ने हाम्रा आफन्त र प्रियजनहरु पनि तिमीहरु नेपाल कहिले आउने भनेर प्रश्न गर्छन । छुट्टि  मनाउनको लागि नै भए पनि वा आफन्त साथीभाईसँग भेटभाट गर्नको लागि किन नहोस, नेपाल जानु सबैको लागि सुखद बिषय हो । त्यसैले त नेपालमा बस्ने सबैजना इष्ट मित्रहरुको प्रश्न हुन्छ, 'नेपाल कहिले आउने?'  अनि बिदेशमा बस्ने नेपालीहरुको मनमा पनि उस्तै कुरा खेल्छ, 'नेपाल कहिले जाने?' यस्तै कल्पनामा बित्ने गर्छ अधिकांश बिदेशमा बस्ने नेपालीहरुको दिन । त्यो भन्दा पनि ठूलो कुरा नेपाल आमाले नै सबै बिदेशमा बस्ने नेपालीलाई बोलाई रहेकी छिन्, 'नेपाली कहिले आउने?' कहिले एकातिर नेपालको सम्झना अनि अर्को तिर ब्यबहारिकताको बिचमा अल्झेको छ जिन्दगी । तरपनि मेरो दृढ मान्यता छ, आफ्नो मनमा आउने प्रश्न 'नेपाल कहिले फर्कने?' र आफ्ना इष्टमित्र र शुभ चिन्तकहरुले गर्ने प्रश्न 'नेपाल कहिले आउने?' को उत्तर सहजताका साथ् दिनु पर्छ, 'नेपाल छिट्टै फर्कने वा आउने' । साथै यो उत्तरलाई सहज रुपमा त्यो ब्यबहारमा पनि उत्तार्नु पर्छ ।

Nepalipatra.com published on 1 April 2017.

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...