Saturday, 22 April 2017

पालोको पैचो

पालोको पैचो - डा. बच्चु कैलाश कैनी

उ हाम्रो गाउँ कि सबै भन्दा धनि र मान्यजन मेजर प्रताप सिंह थापा कि एक्ली र एकदम राम्री छोरी । उ अर्थात मेरी साथी कोमल । त्यति बेला कसैले हेर्ने सम्म आँट गर्दैन थिए उसलाई । तर, म भने अपबाद थिएँ । किनकी म उसको एकदम मिल्ने साथी थिएँ । हामी सँगै खेल्ने साथी थियौ । माध्यमिक शिक्षासम्म हामी दुवै जना सँगै पढेको थियौ ।

त्यति बेला उसलाई कसैले अलिकति हेप्ने र होच्चाउने कुरा गर्यो की उ बाझ्न जान्थि । अनि मलाई कुरा लगाउँथि र मबाट आड भरोसा खोज्थी ।  मलाई लाग्थ्यो, उसको  दु:ख र पीडा मेरो पनि दु:ख र पीडा हो ।  तर पढाईमा भने उ एकदम कमजोर थिई ।  अंग्रेजीमा त झनै कमजोर । मेरो मिल्ने साथी भएको हुनाले  र म कक्षामा पढाईमा एकदम राम्रो भएको हुनाले उसलाई अंग्रेजी बिषय पढ्न सहयोग गर्थें ।

बिद्यालय शिक्षा पछि उ र म अलग भयौ । उ क्याम्पस पढ्न काठमान्डू तिर लागि । म भने आर्थिक अवस्था राम्रो नभएको हुनाले पढाईलाई बिट मारें र गाउँको स्कुलमा पढाउन थालें ।  हाम्रो सम्पर्क हुन छाड्यो ।  उसँग दशैमा घर आउँदा मात्रै भेट हुन्थ्यो ।

केही समय पछि उसको बिहे काठमान्डूबाट उतै तिरको केटा सँग भएछ  । घरजम गरे पछि केटाकेटी भएछन् ।  उ पनि घर गृहस्तिमा ब्यस्त । म पनि मेरो गाउँको जागिरे जीवनमा ब्यस्त । हाम्रो खास सम्पर्क नै भएन । मेरो मनमा उ एउटा मिल्ने साथीको रुपमा सधै डेरा जमाएर बसेकी थिई ।

केही बर्ष भएछ उ अमेरिका तिर हानिएकी रहेछ । गत बर्षको कुरा हो ।  उसले मलाई  फेसबुकमा 'फ्रेन्ड रिक्वेस्ट' पठाई ।  त्यसपछि उ र  म फेसबुकमा साथी छौ । धन्य छ फेसबुक ! जसले अहिले गाउँ होस् वा शहर सबै तिर पुराना साथीभाईसँग सम्पर्क गर्न र अरु पनि नयाँ साथीभाई बनाउन सहयोग गर्छ  ।

अहिले उ  मेजर प्रताप सिंह थापाकी छोरी मात्रै हैन सारिका बस्नेतकी आमा पनि भईछ । अमेरिकामा गएर काम गर्ने र गाडी हाक्ने भईछ । अधबैशे भए पनि उ उस्तै राम्री छे । उसको जोस र जाँगर उस्तै रहेछ । उसको आत्मा बिस्वास पनि जस्ताको त्यस्तै छ ।

उसमा अहिले एउटा फरक पाएँ  । उसको अंग्रेजी भने राम्रो भएछ ।  नेपालीमा मसँग कुरा गर्दा वा च्याट गर्दा धेरै नै अंग्रेजी शब्द र वाक्यहरु घुसाउँछे ।  कुनै बेला अंग्रेजी बिषयमा उसलाई सहयोग गर्ने म भने अंग्रेजीमा कुनै वाक्य राम्रोसँग लेख्न र बोल्न सक्दिन । तरपनि उ मेरो उच्चारण बिग्र्यो भने मलाई त्यसरी हैन यसरी भन्नु पर्छ भन्छे । अहिले मलाई स्कुल पढ्ने केटाकेटीलाई झैँ अंग्रेजी सिकाउँछे  जसरी मैले स्कुल पढ्दा उसलाई अंग्रेजी बिषयमा सहयोग गरेको थिएँ ।  जे होस् जहाँ गए पनि जे भए पनि उसले मलाई पालोको पैचो तिरेकी छे । म पनि हाम्रो बाल्यपनको समयको याद गर्दै यो उमेरमा पनि केही कुरा सिक्दैछु ।


No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...