Saturday, 24 November 2018

विज्ञापनको ब्यापार, सबै तिर ब्यापक

विज्ञापनको ब्यापार, सबै तिर ब्यापक

विज्ञापनको ब्यापार, सबै तिर ब्यापक
- डा. बच्चु कैलाश कैनी

बिज्ञापन समयको माग हो । सबैलाई आफ्नो ब्यापार, ब्यबसाय, नाम र सामान बिकाउने अचुक उपाय हो बिज्ञापन । बिज्ञापनको क्षेत्र पनि दिन प्रतिदिन ठूलो हुँदै छ । हरेक जिल्ला, शहर, प्रदेशमा छ्याप छ्याप्ती खुलेका टेलिभिजन, रेडियो, पत्रपत्रिकादेखि तुल, ब्यानर, पोस्टर, पम्प्लेटसम्म जतातेतै विज्ञापनको ब्यापार चलेको छ । विज्ञापनको ब्यापार गर्न सामाजिक संजाल त आधुनिक जमानाको आधुनिक माध्यम नै भयो ।

भनिन्छ, 'बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।' त्यसैले होला बिज्ञापनको ब्यापार खुब चलेको छ आजकल । गाउँ, शहर, तराई, पहाड वा हिमाल सबै तिर बोल्नेको पिठो बिकेको बिकै छ । बोल्न नसक्ने वा केही देखाउन नसक्नेहरु केही गर्न सक्ने हुँदा हुदैं पनि दबिएर बसेका छन । हाम्रो संस्कृतिको एकदम अभिन्न अंग बनेको छ बिज्ञापनको ब्यापार ।

यसो नाम चलेका पत्रिकाको पेज पल्टाउने हो भने समाचार भन्दा धेरै बिज्ञापन छापिन्छ । बिज्ञापन पनि थरि थरिका हुन्छन । एउट्टै जडिबुटी वा औषधीले रुघा खोकी, सुगर, प्रेसर, टाउको दुखेको, बाथ, ज्वरो देखि क्यान्सरको उपचार हुने बिज्ञापन नाम चलेका पत्रपत्रिकामा छापिन्छन । त्यसैको लहलहैमा लागेर रोगलाई झन् झन् जटिल बनाउनेको संख्या यहाँ धेरै नै छ । न कतै दर्ता हुनु पर्ने, न कसैबाट प्रमाणीकरण गर्नु पर्ने ! जे लेखे पनि हुने, जस्तो पनि छापिने । पैसा कमाउन छापिने यस्ता बिज्ञापनमा झुठा ब्यापार हुने सबैलाई प्रस्ट छ । तरपनि बिज्ञापन बिना रोकतोक चलेकै छ ।

केही हजार रुपैयाँ लिएर फर्म भर्न लगाएर  रोजगारी दिने ग्यारेन्टी लिने पनि सजिलै विज्ञापनको ब्यापार गर्न सफल भएका छन् । न कुनै कार्यालय हुनु पर्ने, न केही काम नै हुनु पर्ने । अमुर्त वा अनलाइन कामको लागि रोजगारी दिने धेरै छन् आजकल शहर बजारमा । जागिर नहुनेको लागि जागिर दिने ग्यारन्टी दिने गरी तालिम दिने पनि बिज्ञापनको ब्यापार पनि नेपाल जस्तो बेरोजगारीको समस्या भएको देशमा सजिलै चलेकोछ ।

बैदेशिक रोजगारको के कुरा गर्नु ? नाम चलेका पत्रपत्रिकाका धेरै पेजहरु बैदेशिक रोजगार सम्बन्धित विज्ञापनले भरिएका हुन्छन । फ्री भिसा, फ्री  टिकट र आकर्षक रोजगार भने पनि यी सबै कुरा विज्ञापनमा मात्रै सिमित छन् । धेरैजसो दलाल र ठगहरुको बिगबिगी छ यो क्षेत्रमा । बिज्ञापन जति लोभ लाग्दो हुन्छ त्यति धेरै पीडा छ यो क्षेत्रमा । यो क्षेत्रमा धेरै नै विज्ञापनको ब्यापार खुलायम झुटको व्यापारको रुपमा चलेको छ । सरकारले थाहा पाए दिन दहाडै धेरै विज्ञापनको व्यापारमा फसेर धेरै नेपाली युवा युवतीहरुको बेहाल भएको छ ।

कोही बिदेशमा सजिलै पढ्न पठाउने र कोही पढाईको नाउँमा काममा पठाइदिने आदि बिज्ञापन धेरै चलेको छ आजकल हाम्रा शहर बजारमा । स्कुल र कलेजको बिज्ञापन हेर्ने हो भने सबै उत्कृष्ट परिणाम ल्याउने मात्रै छन् यहाँ । कुनै पनि स्कुल कलेजमा भर्ना हुने बित्तिकै सबै उत्तिर्ण हुने वा सबैको उत्कृष्ट परिणाम आउने पक्का हुने जस्तै गरी बिज्ञापन गरिन्छ । लाग्छ हाम्रा कलेज र स्कुलका भौतिक पुर्वाधारहरु र शिक्षकहरु पनि अमेरिका, यूरोप र धेरै बिकशित मुलुकका भन्दा धेरै अघि छन्  ।

एकाथरी छन् जो नि:शुल्क आफ्नो बिज्ञापन गर्न माहिर छन् । जस्तै पत्रकार मित्रहरुलाई प्रभावमा परेर, पत्रिकाका सम्पादक वा कर्माचारीलाई भोज भतेरमा आमन्त्रण गरेर आफ्नो समाचार छापेर समाचाररुपी नि:शुल्क विज्ञापनको ब्यापार गर्नेहरु पनि छन । यो कसैलाई गाह्रो लाग्ने काम भए पनि धेरैको लागि भने सस्तो र भरपर्दो उपाय बनेको छ ।

आजकल अनलाइन पत्रपत्रिकाको बाढी नै आएकोछ । अधिकांश कपि र पेस्टको भरमा चल्ने पत्रपत्रिका धेरैको लागि समाचाररुपी नि:शुल्क विज्ञापनको ब्यापार गर्ने सहज बनाई दिएको छ । सम्पादकहरुको लागि छापिने सामाग्री पनि हुने, कतिको नि:शुल्क विज्ञापनको ब्यापार पनि हुने ! दुवै पक्षको लागि यो भन्दा सजिलो काईदा के हुने ?

अहिले समाज सेवामा पनि बिज्ञापन खुव चलेको छ । यसो दुई चार हजार दान गर्यो । मान, समान र खादा ग्रहण गर्यो । सामाजिक संजाल रंगायो । दान दिने र लिने दुवैको चर्चा । जतातेतै वावाही बटुल्यो । बधाई लिने फुर्सद नै नहुने । उस्तै परे प्रमाण पत्र सधैंको लागि भित्तामा झुण्डने । त्यो भन्दा ठूलो बिज्ञापन के हुन्छ ? लिने र दिने दुवैको बिज्ञापन । त्यसैले त् चलेको छ समाज सेवामा पनि विज्ञापनको ब्यापार ।

सामाजिक संजालमा गरिने विज्ञापनको के कुरा गर्नु ? को अछुतो त सामाजिक संजालबाट आजकल ? आफ्नो तस्बिर वा आफ्नो प्रचार, आफ्नो लेख रचना सित्तैमा प्रकाशन गर्न कसैको अनुमति लिनु नपर्ने, कहीं सेन्सर नहुने एक रति पनि पर्खन नपर्ने सजिलो माध्यम बनेको छ सामजिक संजाल । त्यति मात्रै हैन राजनीतिक एजेन्डा, टोल, गाउँ घर सबैतिर सबैको सूचना छाप्ने, बिज्ञापन गर्ने आदी माध्यम हो सामाजिक संजाल । कार्लालय, संघसंस्था, धर्म, जनजाति आदिको प्रचार प्रसार गर्ने नि:शुल्क माध्यम  बनेको छ सामाजिक संजाल । त्यसैले सामाजिक संजाल पनि बिज्ञापन को व्यापारको लागि अपार भएको छ ।

आजकलको युगमा बिज्ञापन ब्यापार ब्यबसायको अभिन्न अंग हो । बिज्ञापन अर्थतन्त्रको एक भाग हो । तर, विज्ञापनको नाममा झुठा आश्वासन दिनु, गलत कुराको प्रबर्धन गर्नु र आत्माप्रचार गर्नु ठिक हैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा विज्ञापनका आफ्नै नियम र मान्यताहरु हुन्छन । तर, जसले जे छापे पनि हुने जस्तो गरी विज्ञापनको खुलेयाम रुपमा गलत ब्यापार भई रहेको छ । सामाजिक संजाल मा कतिपय कुराको दुरुपयोग भई रहेको छ ।

सरकार ठूला ठूला नारामा व्यस्त छ । रेल, पानीजहाज, ठूला ठूला आयोजना नै सरकारको प्राथमिकतामा परेका छन् । आम जनताका सानातिना समस्याको कसले कुरा गर्ने ?  विज्ञापनको ब्यापार गरेर ठगी गर्ने गिरोह टोल टोलमा सबैले देख्ने गरी फस्टाउँदा पनि  लाग्छ यहाँ न त सरकार भएको भान हुन्छ न कसैले वास्ता गरेको जस्तो नै लाग्छ ।

बिज्ञापनको कुन ब्यापार सही हो र कुन ब्यापार गलत हो आफैले छुट्टाउने हो । आफै सचेत हुने हो । विज्ञापनमा हुने बढाई चढाई र झुठा कुरा देखि आफै बच्ने हो । सही सही नै हुन्छ र गलत गलत नै ।  कोही आत्मारतिमा रम्ने गरेको छ भने त्यो क्षणिक हो । विज्ञापनको ब्यापार सबैको लागि अपार र ब्यापक बनाई दिने हामीले नै हो । त्यसैले हामी नै सचेत र सजग हुनु जरूरी छ ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...