कविता: बेसार
आजकल देशभर
राजनीतिक सर्कलमा
नेतादेखि कार्यकर्तासम्म
जनतादेखि मालिकसम्म
राजनीतिक हल्ला बढेको छ
बेसारको चर्चा चलेको छ ।
आजकल यताउता
सबै परिवेशमा
गाउँदेखि शहरसम्म
हिमालदेखि पहाड र तराईसम्म
रंगको हल्ला बढेको छ
बेसारको चर्चा चलेको छ ।
आजकल जताततै
सामाजिक संजालमा
फेसबुकदेखि ट्वीटरसम्म
पत्रिकादेखि अनलाईनसम्म
नानाथरी हल्ला बढेको छ
बेसारको चर्चा चलेको छ ।
बेसार चम्किलो छ
टाढैदेखि देखिने बनेको छ
सबैको नजरमा परेको छ
बेसार पहेंलो छ
आफ्नै चमकमा
चम्किलो बनेको छ।
बेसार सर्वगुणी छ
तरकारीदेखि अचारसम्म
पूजादेखि भुजासम्म
झुपडीदेखि महलसम्म
सबैतिर आफ्नो अस्तित्व देखाएको छ
सबैतिर प्रभाव छोडेको छ।
बेसार बेसारे छ
सबै दलको नेताको भाषणमा परेको छ
उत्तर दक्षिण दुवै तिर घुमेको छ
सबै संग आफ्नो रंग मिलाएको छ
जानी नजानी आफ्नो रजाई गरेको छ
आफ्नै रंग पनि सबैलाई देखाएको छ।
आजकल बेसार मख्ख छ
जनताको भान्सामा छाएको छ
चर्चाको शिखरमा परेको छ
जनताको खोजाईमा परेको छ
नेताको रोजाईमा परेको छ
सबैको आफ्नै भएको छ।
मैले सुनेको आजकल बेसार
सबैसंग धन्य छ
सबैको प्रशंसामा रमेको छ
अझै चम्किलो र प्रतिरोधात्मक हुने
सबैको प्यारो हुने
प्रतिवद्धता गरेको छ।
सर्वगूणी बेसारलाई
मेरो पनि शुभकामना छ
आफ्नो रंग जस्तै सधैं चम्कनु
कृषकको दाम कमाउनु
प्रयोगकर्ताको शान बढाउनु
आफ्नो नाम बढाउनु।
डा. बच्चुकैलाश कैनी
शनिबार, असार १३, २०७७ (२७ जुन २०२०)
डार्टफोर्ड, बेलायत।
No comments:
Post a Comment