Friday 2 August 2024

‘बेबी अफ द हाउस’ : बेलायतका २२ वर्षीय सांसद

 https://ekantipur.com/world/2024/07/29/baby-of-the-house-22-year-old-british-mp-36-26.html

‘बेबी अफ द हाउस’ : बेलायतका २२ वर्षीय सांसद

बेलायतमा हालै सम्पन्न आमनिर्वाचनमा २२ वर्षीय साम कार्लिङ नर्थ वेस्ट क्याम्ब्रिजसायर क्षेत्रबाट निर्वाचित भए । २० वर्षदेखिका कन्जरभेटिभ सांसद शैलेश बारालाई पराजित गरेका साम हाउस अफ कमन्सको सबैभन्दा कान्छा सदस्य हुन् । संसद्‍मा प्रवेश गरेसँगै सामले ‘बेबी अफ द हाउस’ को अनौपचारिक उपाधि पाएका छन् । 
लन्डन — बेलायतमा जुलाई ४ मा सम्पन्न आमनिर्वाचनमा भारी बहुमत ल्याउन सफल लेबर पार्टीले सरकार गठन गरी काम थालिसकेको छ । प्रधानमन्त्री किअर स्टार्मर आफ्नो वाचाअनुरूप बेलायतलाई परिवर्तनको अनुभूति दिलाउन प्रयत्नरत छन् । तर सोही निर्वाचनबाट एक युवा भने निकै चर्चामा आए । ती हुन्, साम कार्लिङ । २२ वर्षको उमेरमै बेलायती संसद्मा निर्वाचित भएपछि उनी एकाएक चर्चामा आएका हुन् । 



क्याम्ब्रिज विश्वविद्यालयबाट विज्ञानमा स्नातक सामले भेट्रान कन्जरभेटिभ सांसद शैलेश बारालाई पराजित गर्दै सांसद भएका हुन् । बाराले नर्थ वेस्ट क्याम्ब्रिजसायर क्षेत्रबाट विगत २० वर्षदेखि चुनाव जितिरहेका थिए । तर यसपालिको चुनावमा भने उनी नवयुवा सामसँग ३९ मतले पराजित भए । त्योसँगै सामले भने बेलायती सांसद हाउस अफ कमन्समा पाइला राख्न पाएका छन् । हाउस अफ कमन्सको सबैभन्दा कान्छा सदस्य सामलाई कतिपयले एउटा अनौपचारिक उपाधि दिएका छन् ‘बेबी अफ द हाउस’ ।




सामकै शब्दमा उनी आफ्नो विजयलाई एउटा ‘राजनीतिक भूकम्प’ मान्छन् । उनलाई विश्वास छ आफ्नो जितले अरू थप युवा पनि सार्वजनिक पदमा उभिनेछन् । तर, वेस्ट मिनिस्टरमा आफ्नो उमेरलाई ध्यान केन्द्रित गर्न नचाहेको उनको भनाइ छ । ‘म चाहन्छु कि हामी युवाहरूको उमेरको यो अनौठो मानसिकताबाट टाढा जानुहोस् । जहाँसम्म मलाई सरोकार छ हामी अरू कोही जस्तै छौं । म केवल काममा केन्द्रित हुन चाहन्छु,’ उनले बीबीसीसँग भनेका छन् ।


बेलायतमा पछिल्लो समय देखापरेको सामाजिक र आर्थिक क्षयीकरण तथा वेस्ट मिनिस्टरमा गरिएका निर्णयहरूबीचको सम्बन्ध देखेर आफू राजनीतिमा होमिएको उनको भनाइ छ । कार्लिङ इंग्ल्यान्डको उत्तर–पूर्वको एउटा ग्रामीण सहरमा हुर्केका हुन् उनी । साम उक्त स्थानलाई ‘धेरै थोकबाट वञ्चित क्षेत्र’ बताउँछन् ।


अक्सफोर्ड विश्वविद्यालयबाट ग्य्राजुएट किअर माथरले २५ वर्षको उमेरमा गत वर्ष लेबरबाट नर्थ योर्कसायर क्षेत्रको सेल्बी एन्ड एन्स्टी उपचुनाव जितेका थिए । उनले २० हजार १३७ मत ल्याएर उपचुनाव जितेका थिए । माथर सन् १९९८ मा इंग्ल्यान्डको हल सहरमा जन्मिएर सेल्बी नजिकै हुर्केका थिए । बाल्यकालमा उनी युवा संसद्मा सामेल भएका र हल सहरमा युवाहरूका लागि लेबर समूह स्थापना गरेको उनकी आमाले बताएकी छन् । ‘उनलाई बोल्न मात्र मन पर्छ,’ आमा जिल ताम्बारोसले भनिन्, ‘उनले स्कुलमा भाषण र नाटक विषय पढेका थिए, नाटकमा अभिनय गर्न उनी रमाइलो मान्थे ।’

स्कटिस नेसनल पार्टी (एसएनपी) की एमी कालाघन अघिल्लो निर्वाचन सन् २०१९ मा २७ वर्षको उमेरमा इस्ट डनबर्टनसायरबाट सांसद निर्वाचित भएकी थिइन् । बेलायतमा राजनीतिप्रति युवा आकर्षण र उनीहरूलाई दिइने अवसरबारे यी प्रतिनिधि उदाहरण मात्र हुन् । बेलायती राजनीतिमा राजनीतिज्ञहरूका लागि उपयुक्त उमेर छ कि छैन भन्ने बहस पनि हुने गर्छ ।

बेलायती पूर्वप्रधानमन्त्री ७३ वर्षीय गोर्डन ब्राउनले हालै भनेका छन्, ‘उनी बेलायतमा राजनीतिज्ञ बन्न धेरै पाको उमेरका थिए तर अमेरिकाका लागि निकै जवान ।’ ब्राउनले अमेरिकी राष्ट्रपति ८१ वर्षीय जो बाइडेन र नोभेम्बरको राष्ट्रपतीय निर्वाचनका उम्मेदवार ७७ वर्षीय डोनाल्ड ट्रम्पप्रति टिप्पणी गरेका थिए । अझै नोभेम्बरको चुनावी दौडमा रहेका बाइडेनले चर्को आलोचनापछि गत साता मात्र उम्मेदवारी त्यागेर उपराष्ट्रपति ६० वर्षीया कमला ह्यारिसलाई अगाडि सारेका छन् ।

बेलायतमा भूतपूर्व प्रधानमन्त्रीहरू टोनी ब्लेयर र डेभिड क्यामरुन पहिलो पटक प्रधानमन्त्री निर्वाचित हुँदा दुवै ४३ वर्षका थिए । त्यस्तै, ऋषि सुनक ४२ वर्षको उमेरमा टेन डाउनिङ पुगेका थिए कान्छा प्रधानमन्त्रीका रूपमा । करिब १४ वर्षे विजनेस करिअरपछि राजनीतिक करिअर सुरु गरी सांसद भएको ७ वर्षमै सुनक डाउनिङ स्ट्रिट छिर्न सफल भएका थिए । आधुनिक समयमा नम्बर टेनमा छिर्ने उनी सबैभन्दा कान्छो ब्रिटिस–भारतीय पनि हुन् ।


ब्रिटेनबाट अलिकति पर फ्रान्सकै राजनीति हेर्ने हो भने नयाँ प्रधानमन्त्री जम्मा ३४ वर्षीय गेब्रियल एटल छन् । तर नेपालमा भने युवा पुस्तालाई पनि राजनीतिमा स्थान दिनुपर्छ भन्ने सोच अझै विकास भइनसकेको बताउँछन् बेलायतका पूर्वकाउन्सिलर, संसदीय निर्वाचनका उम्मेदवार एवं राजनीतिक विश्लेषक डा. बच्चुकैलाश कैनी । ‘नेपालमा एक पटक नेता भएपछि सधैं नेता नै भइरहने अभ्यास विपरीत बेलायतमा राज्य हाँक्नका लागि नेतृत्व लिन उमेर होइन क्षमता हेरिन्छ । यहाँ मान्छेको रंग होइन उसको प्रभाव हेरिन्छ, धर्म होइन मानवताको आधारमा सबैलाई एकै रूपमा हेरिन्छ,’ कैनी भन्छन् ।

बेलायती जनता शिक्षित, सचेत र सजग भएकाले हाम्राभन्दा राम्रा नेता र जनप्रतिनिधि छान्छन् । कुनै नेता बूढो हुँदैमा वा पाको हुँदैमा ऊ राजनीतिमा वरिष्ठ हुन्छ भन्ने मान्यता बेलायतमा छैन । देश हाँक्न यहाँ कुनै पनि राजनीतिज्ञ कति वरिष्ठ छ भन्ने कुराभन्दा उनीहरूको क्षमता, दक्षता र दुरदर्शिताको आधारमा मूल्यांकन हुने कैनीको धारणा छ ।

‘आजकलका युवा आफ्नो देश, अन्तर्राष्ट्रिय परिस्थिति, प्रविधि, समसामयिक विषय र सवालसँग राम्रो जानकार हुन्छन् । उनीहरूसँग नयाँ विचार, दृष्टिकोण, समस्या हेर्ने र समाधान गर्ने छुट्टै दृष्टिकोण हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले युवाहरूलाई राजनीतिमा पनि रुचाउने गरिन्छ ।’

हाउस अफ कमन्समा मध्यम उमेरका सांसदहरूको वर्चस्व छ । सन् २०१९ को अघिल्लो आम चुनावमा सांसदको औसत उमेर ५१ थियो । गत चुनावमा आधाभन्दा बढी सांसद (५७.८ प्रतिशत) ४० र ५९ वर्षबीचका थिए, जसमा झन्डै एक तिहाइ (३० प्रतिशत) ५० देखि ५९ सम्मका थिए ।

No comments:

Post a Comment

स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान

  (58) स्थानीय निर्बाचन २०७९को सामाजिक सचेतना अभियान, डा. बच्चु कैलाश कैनी - YouTube