‘यो देश तपाईंहरू जस्तै युवाले बनाउने हो । यो देशलाई तपाईंहरूको खाँचो छ । तपाईंहरू समुन्नत देशको पहिचान हो । जुन देशमा युवा बस्दैनन्, त्यो देश नर्क सरह हुन्छ । तपाईंहरूको समस्या सुन्न, सबै किसिमको समस्याको हल गर्न हामी तत्पर छौं । आजकल विदेश जाने युवाहरूको लर्को लागेको देख्दा मलाई झन् यही देशलाई समुन्नत र संवृद्ध बनाउने प्रबल इच्छा जागेको छ । म तपाईंहरूलाई यही देशमा केही गर्न र देश विकासमा योगदान दिन हार्दिक अनुरोध गर्दछु ।’

विश्व युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रीज्यूले यति भाषण गर्दैगर्दा मेरो छेउमा बसेर फेसबुक हेर्ने महिलाको औला फेसबुकको एक पोस्टमा पुगे पछि ठक्क रोकियो । मैले पनि छेउ मै बसेर उनको मोबाईल तर्फ आँखा लगाएँ । ती महिलाले फेसबुकमा हेर्दै गरेको  स्ट्याटस र तस्वीर मञ्चमा भाषण गर्दै गर्नुभएको मन्त्रीज्यूले गत हप्ता मात्रै पोस्ट गर्नुभएको रहेछ । यसमा आफ्नो छोरालाई एयरपोर्टमा खादा र माला लगाएर बिदाइ गर्दै गरेको तस्वीरमा मन्त्रीज्यूले लेख्नु भएको स्ट्याटस थियो, ‘तिमीलाई धेरै धेरै शुभकामना छ । विदेशमा गएर राम्रो गर्नु, त्यहाँ गएर पनि नेपालको नाम राख्नू । तिमी जहाँ हुन्छौ, हाम्रो मन त्यही हुनेछ ।’

यो देखेर पढे पछि सँगै बसेकी महिला र म आँखा जुधाएर व्यंग्यात्मक हाँसो हाँस्यौं ।