Tuesday, 10 March 2020

गुणस्तरीय स्वास्थ्य सेवा र बिरामीको सुरक्षा


गुणस्तरीय स्वास्थ्य सेवा र बिरामीको सुरक्षा

गुणस्तरीय स्वास्थ्य सेवा र बिरामीको सुरक्षा
डा. बच्चु कैलाश कैनी

स्वास्थ्य सेवाको उपयोग नगर्ने को होला र ? जन्मेदेखि मृत्युसम्म हामीले कुनै न कुनै बेला स्वास्थ्य सेवा लिएको हुन्छौ । यो क्रममा सबैले गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा राख्नु स्वभाविक हो । गुणस्तरीय स्वास्थ्य सेवा लिने र दिने क्रममा सरकार, स्वास्थ्य सेवा प्रदायक संस्था, चिकित्सक वा स्वास्थ्यकर्मी र सेवा लिने र दिने दुबै पक्ष उत्तिकै जिम्मेवार हुनु अति जरुरी हुन्छ ।

गुणस्तरीय स्वास्थ्य सेवा भनेको स्वास्थ्य सेवाग्राही वा बिरामीलाई  बिना कुनै हानी नोक्सानी समयमा नै स्तरीय र उचित स्वास्थ्य सेवा उपलब्ध गराउनु हो । साथै स्वास्थ्यकर्मीको बोलिब्यबहार राम्रो हुनु, दक्ष र योग्य स्वास्थ्यकर्मी हुनु, उचित पूर्वाधार हुनु, आवस्यक उपकरण र औजार हरुको ब्यबस्था गर्नु,  सफा र स्वच्छ वातावरण हुनु, सचेत सेवाग्राही हुनु आदी पनि  गुणस्तरीय स्वास्थ्य सेवाको लागि अति आवस्यक कुराहरु हुन् ।

स्वास्थ्य सेवामा गुणस्तरको परिभाषा देश, समाज वा स्वास्थ्य सेवा प्रदायक संस्था अनुसार फरक फरक हुनु हुँदैन । जहाँ जसले जस्तो सेवा प्रदान गरेपनि स्वास्थ्य सेवाको सिद्धान्त, मान्यता र उपयोग विश्वव्यापी रुपमा मुलत एउट्टै हुन्छ । किनकी स्वास्थ्य सेवा बिज्ञान, अनुसन्धान र सर्वव्यापी मान्यतामा आधारित हुन्छ । साथै, जुन सुकै मुलुक, समाजमा बसे पनि जस्तो आर्थिक हैसियत भएपनि हरेक व्यक्तिको ज्यान उत्तिकै महत्वपूर्ण हुन्छ । मैले बेलायतमा बसेर जस्तो सेवाको उपभोग गरेको छु वा पाएको छु, सिद्धान्तत नेपालमा पनि त्यस्तै सेवा पाउनु पर्छ । तर, के यो सम्भव छ ? आबस्यक पूर्वाधार, श्रोत र साधनको ब्यबस्था गर्ने, बिरामी र सेवाग्राहीमा जनचेतनाको विकास गर्ने, चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई उचित तालिमको ब्यबस्था गर्ने आदि जस्ता काम गर्ने हो भने मात्रै यो सम्भव छ ।

मानिसको जीवन अमुल्य हुन्छ । यो अमुल्य जीवनको हेरचाह, रेखदेख र माया गर्ने जिम्मा सबै भन्दा पहिले मानिस वा जिउधनी आफैको हो । कसैलाई कुनै समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श गर्नु, आफ्नो समस्याको बारेमा खुलस्त कुरा गर्नु, चिकित्सक वा स्वास्थ्यकर्मीको रायसल्लाह मान्नु, समयमा नै भने अनुसार औषधीको सेवन गर्नु र आफ्नो स्वास्थ्यको पुरा खेल राख्ने जिम्मा हरेक व्यक्तिको हो ।

स्वास्थ्य सेवामा कुनै कमी कमजोरी देखिएमा राय सल्लाह दिने काम सेवा उपयोग गर्ने बिरामी वा व्यक्ति र हरेक नागरिकको हो भने त्यस्तो राय सल्लाह अनुसार सेवामा सुधार गर्नु सरकार, स्वास्थ्य सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मी वा चिकित्सक सबैको दायित्व हो । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न हरेक देशका स्वास्थ्य संस्थाहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीलाई केन्द्रमा राखेर काम गर्नु पर्छ ।

जस्तै स्वास्थ्य संस्थाहरुले बिरामीलाई आफ्नो सेवाको बारेमा जानकारी दिन र बिरामीसंग सेवाको समन्वय गर्न बेलायतको 'एनएचएस'  अर्थात राष्ट्रिय स्वास्थ्य सेवाको हरेक अस्पतालमा 'पसेन्ट अड्भाईस एंड लियाजन सर्भिस' को ब्यबस्था कानूनी रुपमा नै गरिएको छ । साथै हरेक अस्पतालमा 'कम्प्ल्यान्ट डिपार्टमेन्ट' वा  गुनासो बिभाग अनिवार्य रुपमा राखिएको हुन्छ । जसले बिरामी र स्वास्थ्य सेवा उपभोग गर्नेले लिखित रुपमा दिएको उजुरीको उजुरी प्राप्त भएको तीन दिन भित्र उजुरी पाएको लिखित जानकारी र सामान्यत छ हप्ता भित्र गुनासोको छानविन गरी लिखित रुपमा जानकारी दिनु पर्ने नियम छ ।

त्यस्तै स्वास्थ्य संस्थामा हुने हरेक प्रतिकुल घटनाको दर्ता गर्ने, छानविन गर्ने, त्यस्ता घटनाबाट पाठ सिक्ने र कुनै कमि कमजोरी पाइएमा सेवामा सुधार गर्न कार्ययोजना बनाई लागु गर्ने गरिन्छ । त्यति मात्रै हैन, त्यस्ता प्रतिकुल घटना मध्ये कुनै किसिमको घटनाले बिरामीलाई मध्यम वा गम्भीर किसिमको हानी गरेको वा ज्यान नै गएको पाइएमा बिरामीसंग लिखित रुपमा माफी माग्ने, स्वास्थ्य संस्था भित्र छानविन गर्ने समिती बनाउने र अनुसन्धान वा छानविन पछि अन्तिम प्रतिवेदन बिरामी वा उसको आफन्तलाई दिनु पर्ने नियम छ ।

माथि ब्याख्या गरिएको नियमको अर्थ के हो भने गुणस्तरीय स्वास्थ्य सेवाको लागि हरेक स्वास्थ्य सेवा प्रदायक संस्था, चिकित्सक र स्वास्थ्यकर्मीहरु सेवाग्राही प्रति उत्तरदायी हुनु नितान्त जरुरी छ । अनि हरेक काममा पारदर्शीता हुनु पर्ने, थप ज्ञान लिने वा सिप सिक्ने र सिकाउने प्रवृतीलाई प्रश्रय दिनु पर्ने, आफ्नो गल्ति वा कमजोरीलाई आत्मासात गर्दै पाठ सिक्ने र आफ्नो दक्षता अभिवृद्धि गर्न जोड दिनु पर्ने हुन्छ । यो सबैको जिम्मेवार र दायित्व पनि हो ।

स्वास्थ्य संस्था र चिकित्सक वा स्वास्थ्यकर्मीबाट भुलबस गल्ति हुनु स्वभाविक हो । चिकित्सक वा स्वास्थ्यकर्मी पनि मानिस नै हो । उनीहरु जति सुकै तालिम प्राप्त भए पनि, जतिसुकै योग्य वा दक्ष भए पनि र गल्ति गर्ने कुनै नियत नभए पनि उनीहरुबाट गल्ति हुन जान्छ । तसर्थ, स्वास्थ्य सेवा प्रदायक संस्था, सरकार र चिकित्सक वा स्वास्थ्यकर्मीले त्यस्ता गल्ती बाट पाठ सिकेर भविष्यमा गल्ति नदोहोर्याउनु र गल्ति हुने मात्रा कम गर्नु सबैको दायित्व हो ।

मुलुक जस्तोसुकै धनी वा स्वास्थ्य संस्था जस्तो सुकै ठूलो र राम्रो भए पनि मानवीय गल्तिबाट स्वास्थ्य सेवा लिने व्यक्ति वा बिरामीलाई हुने हानी वा क्षति हुन्छ नै । फरक के हो भने कुनै स्वास्थ्य संस्था र मुलुकमा त्यस्ता घटनाहरु कम हुन्छन भने कुनै स्वास्थ्य संस्था र मुलुकमा अलिकति बढी हुन्छन ।

बेलायतमा एनएचएस इंग्ल्याण्डले प्रकाशित गरेको तथ्यांक अनुसार अप्रिल २०१८ देखि मार्च २०१९ सम्म इंग्ल्याण्डका अस्पताल र स्वास्थ्य संस्थाहरुमा  मात्रै  बीस लाख छत्तिस हजार छ सय एकासी बिरामीको सुरक्षासंग सम्बन्धित प्रतिकुल घटनाहरु अर्थात 'पेसेन्ट सेफ्टी इन्सिडेन्ट' भएको थियो । जसमध्ये चौहत्तर प्रतिसत अर्थात पन्ध्र लाख आठ हजार एक सय चौबिस घटनामा बिरामीलाई कुनै हानी भएको थिएन भने चार हजार पांच सय अड्सठी जनाको  ज्यान गएको थियो । यसै गरी एनएचएस ले एक सन् २०१८ मा मात्रै दुई दसमलब चार बिलियन पाउण्ड क्षतिपूर्ती रकम सेवाग्राही र बिरामीलाई तिरेको थियो ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने आजकल अस्पताल, चिकित्सक  वा स्वास्थ्यकर्मीको लापरवाहीबाट स्वास्थ्य सेवाग्राहीको ज्यान गएको वा कुनै हानी भएको शंका भए तोडफोड गर्ने र हुलदंगा गर्ने प्रवृति हावी भएको छ । त्यस्तो अवस्थामा सबै भन्दा पहिले घटनामा संलग्न नभएको संस्थामा काम गर्ने सम्बन्धित क्षेत्रको विशेषज्ञ सहितको समुह बनाएर तत्काल निष्पक्ष छानविन गर्नुपर्छ ।  छानविन समितिको प्रतिवदेन र सिफारिस अनुसार कुनै कमि कमजोरी भएको पाइएमा सिफारिस अनुसार सेवामा आवश्यक सुधार गर्ने, बिरामी वा आफन्तसंग माफ माग्ने,  क्षतिपूर्ति दिने र कुनै उपाय नलागेमा घटनाको लागि कानूनी उपाय खोज्नु पर्छ । छानविन समितिको प्रतिवेदन नआउँद़ासम्म बिरामी वा बिरामीको आफन्तले पनि धैर्य गर्नु पर्ने हुन्छ ।

गुणस्तरीय स्वास्थ्य सेवा पाउनु सबै सेवाग्राहीको अधिकार हो भने गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु सरकार, स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्यकर्मी सबैको कर्तब्य हो । स्वास्थ्य सेवा अति सम्वेदनशील सेवा हो । तसर्थ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा सबै पक्षले यो समवेदना बुझ्नु र बुझाउनु एकदम जरुरी छ । सबै पक्षको सहकार्यमा मात्रै बिरामी वा स्वास्थ्य सेवाग्राहीको सुरक्षा गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न  सम्भव छ ।

(डा. कैनी क्विन एलिजावेथ अस्पताल, लण्डनमा बरिष्ठ ब्यबस्थापक आर्डेंन बिश्वबिद्ध्यालय, लण्डनमा स्वास्थ्य ब्यबस्थापन बिषयको सह प्राध्यापकको रुपमा काम गर्छन )

(www.onlinekhabar.com  मा २०७६ फागुन २७ गते १०:५५ मा प्रकाशित)

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...