सामाजिक संजालको एउटा पोष्टमा मेरो आँखा टक्क रोकियो। धार्मिक गुरु जस्तो देखिने पहिरनमा बसेका उनले कुनै पेय पद्धार्थ बनाएको भिडिओ देखाए र सो पेय पद्धार्थको सेवनले एक महिनामा नै कोलेष्ट्रोल निको हुने दाबी गरे।
हजारौं मान्छेले लाइक, कमेन्ट र शेयर गरेको उक्त्त भिडिओको अधिकांश प्रशंसक थिए। केहीले उनलाई यस्तै थप भिडिओ बनाउन र थप रोगहरूको उपचारको बारेमा जानकारी दिन अनुरोध गरेका थिए।
उक्त्त भिडिओ सामाग्री हेरेर गुरुको दाबीप्रति म चकित भएँ। किनकि उनको यो सल्लाह र सुझावको कुनै वैज्ञानिक प्रमाण र तथ्य भेटिँदैन। तथापि, उनको त्यो पोष्टमा मैले यो कुरा व्यक्त्त गर्ने साहस गरिनँ।
चित्त नबुझेको र कुनै विज्ञान वा तथ्यले प्रमाणित नगरेका त्यस्ता पोष्टमा यसअघि मैले कमेन्ट गर्दा अन्धभक्तहरूको दुर्व्यवहारको सामना गर्नुपरेको थियो मलाई। त्यसैले म हत्तपत्त कमेन्ट गर्ने वा प्रतिक्रिया दिने हिम्मत गर्दिनँ।
यी र यस्ता लाखौं सामाग्री आजकलका सामाजिक संजालमा भेटिनु नौलो कुरा भएन। त्योभन्दा पनि थप रोचक कुरा के भने यस्ता कुराहरूलाई विश्वास गरेर व्यवहारमा उत्तार्ने र यस्ता गलत मान्छेहरूलाई समाजमा स्थापित गर्न उद्धत जमात जताततै भेटिन्छन्। यो भने सामाजिक संजालको डरलाग्दो पक्ष हो।
हेरे पनि नहुने, नहेरे पनि नहुने भएको छ आजको सामाजिक संजाल। हेर्न हुने र हेर्ने नहुने दुवै प्रकारका सामाग्री छ्यापछ्याप्ती भेटिन्छन् सामाजिक संजालमा। आफूलाई मनपर्ने र नपर्ने सबै किसिमका पोष्ट देखिन्छन् यहाँ। आफू चनाखो नहुने हो भने उल्लू बनाउने, लुट्ने र अपमानित गर्ने सबै प्रकारका गिरोह छन् सामाजिक संजालमा।
कतिले आफूलाई समाजको ठेकेदारको रुपमा प्रस्तुत गर्छन्। कतिले आफू ठूलै वैज्ञानिक भए जस्तै गरी गर्न नहुने वा गर्ने नपर्ने कुराहरू गर्न प्रेरित गर्छन्। कसैले कुनै विषय वा कुराको फाइदा मात्रै देखाएर बेफाइदा वा 'साइड इफेक्ट' बारे जानकारी दिँदैनन्। सायद उनीहरूलाई यो जानकारी पनि हुँदैन होला।
सामाजिक संजालमा यी र यस्ता विकृतिका विभिन्न रुप वा स्वरुपहरू छन्। यीमध्ये सामाजिक संजालमा सबैभन्दा बिकाउ कुरा भनेको स्वास्थ्य सम्बन्धी कुराहरू हुन्। र, गम्भीर कुरा पनि यही हो। सर्वसाधारण मानिसको स्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई पनि हुनु हुँदैन। यो दण्डनीय अपराध पनि हो।
तर, सामाजिक संजाल नियाल्ने हो भने हामीलाई गलत लाग्ने धेरै पोष्टहरू बल्ग्रेती भेटिन्छन्। यस्ता गलत पोष्टहरूलाई सामाजिक संजाल प्रयोगकर्ताले बहिष्कार गर्ने, सरकारी निकायबाट अनुगमन गर्ने र सामाजिक संजाल कम्पनीहरूले पनि निरुत्साहित पार्ने काम गर्नु आजको आवश्यकता हो।
यसै सन्दर्भमा हरेक मानिसको पहुँचमा पुगेको सामाजिक संजालमा आउने हरेक सामग्रीको तथ्य र सत्यता जाँचेर हेर्ने वा नहेर्ने, त्यसलाई सुन्ने वा नसुन्ने, पोष्टमा लेखिएका वा भनिएका कुरा मान्ने वा नमान्ने यो व्यक्तिगत कुरा र जिम्मेवारी पनि हो।
आफ्नो पेसागत संगठनमा दर्ता भई काम गर्ने स्वास्थ्यकर्मीहरूले स्वाथ्यको बारेमा जानकारी दिन वा जनचेतना बढाउन सामाजिक संजालमा जानकारीमूलक पोष्ट गर्नु स्वभाविक पनि हो। र, यो उनीहरूको पेसागत दायित्व पनि हो। यसको सबले प्रशंसा गर्नुपर्छ।
स्वास्थ्य बाहेक अन्य विषयमा ज्ञान वा सीप बाँड्ने र समाजमा सकारात्मक सन्देश दिनेहरू पनि निकै छन् सामाजिक संजालमा। कतिपयको नियत सफा छ। आफूले जानेको ज्ञान, सीप र काम अरुलाई बाँड्ने काम गर्छन्। निकै मेहेनत गरेर सामाग्री तयार गर्छन् र सामाजिक संजालमा पोष्ट गर्छन्। धेरैको नाम वा पैसा कमाउने सोच पनि छैन होला। आर्थिक रुपमा लाभ नभए पनि लाइक र कमेन्ट हेरेर मख्ख पर्छन्।
आजकल कतिपय समाचारहरू सामाजिक संजालबाट नै ब्रेक हुन्छन। राजनीतिक दल, नेता, ठूला व्यापारिक प्रतिष्ठान, साना तथा मझ्यौला व्यापारी, धार्मिक संघ र संस्था, धार्मिक गुरु, कर्मचारी, सबै प्रकारका पेसाकर्मीहरू आदि सबै सामाजिक संजालमा छन्। धेरैको आधिकारिक एकाउन्ट हुन्छ। तर आधिकारिक एकाउन्ट हुनेको नक्कली एकाउन्ट खोलेर धन्दा चलाउने पनि छन्। पर्दाभित्र लुकेर सामाजिक संजालमा सक्रिय हुने र यसैलाई कमाउ धन्दा बनाउने वा अर्काको इज्जत प्रतिष्ठासँग खेल्ने पनि भेटिन्छन्।
मानिस स्वभावैले आफ्नो ख्याती वा प्रशंसा मन पराउँछ। सामाजिक संजालबाट प्राप्त हुने प्रशंसा वा ख्यातीबाट नाम र दाम दुवै कमाउने पनि हुन्छन्, तर यो प्रतिशत नगन्य छ। योभन्दा बढी सामाजिक संजालमा आत्मारतिमा रमाउनेको जमात पनि निकै ठूलो छ।
मनोरञ्जनको दुनियाँमा खुबी हुने मानिसलाई आज कसैको पाउ मोल्दै हिँड्नुपर्ने अवस्था छैन। सामाजिक संजालले आज हरेक मानिसलाई उत्तिकै अवसर दिएकोछ। यो खुला प्रवेश वा 'ओपन एक्सेस' को फाइदा गलत मनासाय हुनेले लिइरहेका छन्। सामाजिक संजालमा थोरै गलत मनसाय हुने वा गलत काम गर्नेहरूले धेरै राम्रो काम गर्नेहरूलाई ओझेलमा पार्दैछन्।
यो बाहेक शुद्ध मनोरञ्जनको लागि सामाजिक संजालमा समय बिताउने धेरै छन्। समाजमा प्रभाव पार्ने सक्ने, राम्रो सन्देश दिनसक्ने पोष्ट गर्नेहरू निकै नै छन्। कति कुराहरू समाजको हितको लागि सामाजिक संजालमा पोष्ट गर्न जरुरत पनि हुन्छ। यी नै कुराको लागि सामाजिक संजालको प्रयोग गरेमा सबैको हित हुन्छ।
सामाजिक संजालमा भाइरल हुन कतिपयले अनेक बितण्डा गर्छन्। अर्काको गोपनियताको ख्याल नराखी हरेक ठाउँमा क्यामेरा लिएर जाने सामाजिक संजालमा 'युट्युबे' भेनेर चिनिनेको जमात पनि बाक्लै छ। यिनीहरूको हर्कतले धेरै अनुसन्धान गरेर वा मेहनत गरेर तथ्यपरक, मनोरन्जनात्मक श्रव्य-दृश्य सामाग्री उत्पादन गर्नेहरूमाथि थप चुनौती देखापरेको छ।
सामाजिक संजाललाई व्यवस्थित गर्न सबैजसो सामाजिक संजालका आ-आफ्नै नीति र नियम छन्। साथै हरेक देशको ऐन, नियम र कानुनले समेत सामाजिक संजाललाई निगरानी र व्यवस्थित गर्छ। तथापि, सामाजिक संजालमा धेरै नै विकृति र विसंगतिहरू देखिन्छन। जुन, केवल नीति र नियमले मात्रै सुधार हुने अवस्था छैन।
सबैभन्दा ठूलो मानिसको नैतिकता र चरित्रको कुरा हो। नीति, नियम र कानुनले मात्रै हरेक मानिसलाई हरपल हरेक कुराबाट बाँधेर राख्न सकिँदैन। त्यसैले व्यक्तिगत रुपमा आफ्नो कामको जिम्मेवारी लिने वा समाजप्रति जिम्मेवार नागरिकको भूमिका हरेक नागरिकले निर्वाह गरे मात्रै सामाजिक संजालको सही उपयोग हुन्छ।
No comments:
Post a Comment