Friday, 14 April 2017

नेपाली राजनीतिक दलका बेलायती कार्यकर्ता





राजनीति, शक्ति र सत्ता सम्बन्धित छन । नेपालको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने राजनीति र शक्ति एक अर्कोका पुरक नै हुन् । अझ थप कुरा के भने, नेपालमा राजनीतिक दलका नेताहरुले शासन संचालनमा मात्रै हैन देशको हरेक कुराहरु जस्तै न्याय प्रणाली, सुरक्षा निकाय, शिक्षा, स्वास्थ्य, रोजगारी, अर्थतन्त्र आदि कुराहरुमा पनि भागबण्डा गरेर 'राम्रो हैन हाम्रो' भन्ने प्रणाली बसाएका छन् । त्यसैले पनि  नेपालमा माथिदेखि नै चाकडी र चाप्लुसीलाई राजनीतिक दलका नेताहरुले नै प्रत्यक्ष प्रसय दिएका छन् । यसको प्रभाब यहाँ बेलायतमा बस्ने नेपालीहरु बिशेष गरी नेपालका राजनीतिक दलसँग आवद्द संघ संस्था र कार्यकर्ताहरुमा हरुमा पनि परेको छ । 

बिदेशमा बस्ने भए पनि यूकेमा बसेर नेपाली राजनीति गर्नेहरुको सोचाई, संस्कार र ब्यबहार नेपालमा राजनीति गर्ने राजनीतिक दलका नेता र उनीहरुको नेपालमा बस्ने कार्यकर्ता भन्दा कुनै फरक छैन । न त उनीहरुलाई बेलायतको राजनीतिक संस्कार, प्रचलन र मान्यता सिक्ने फुर्सद छ, न त आफ्नो बानी व्यहोरामा सुधार गर्नु पर्छ भन्ने सोचाई नै छ ।

बिदेशमा बस्नेले सिक्नु पर्ने एउटा महत्वपूर्ण कुरा के भने जुन देशमा बस्यो त्यही देशको राजनीतिक संस्कार, प्रणाली र समाजका हरेक  पक्ष सिक्नु, जान्नु र बुझ्नु पर्ने हो । यो समाजमा घुलमिल हुने एउटा तरिका पनि हो । मेरो अनुभबमा बेलायतमा बसेर नेपालको राजनीति गर्ने   कतिपयलाई बेलायतको स्थानिय निकायको संचालन, बेलायतका राजनीतिक दलको काम गर्ने तौर तरिका र यहाँको राज्य संचालनका कतिपय कुराहरु नै थाहा छैन ।

बेलायतमा बस्ने नेपालीहरुले नेपालका नेताहरु बेलायत आउँदा उनीहरु सँग नजिक हुन चाहने अर्को कारण पनि छ । नेपालमा नै बस्नेले आफ्ना नेताहरुलाई भेट्न समय नपाउने अवस्थामा कोही बेलायतमा बस्ने सामान्य कार्यकर्ताले नेपाल जाँदा कुनै नेता भेट्ने चाह्यो भने उनीहरुले समय सजिलै दिन्छन । त्यति मात्रै हैन, कुनै पनि दलसंग आवद्ध कोही सामान्य कार्कर्ताले  यहीबाट कुनै नेतालाई नेपालमा फोनमा कुरा गर्न चाहे  नेपाली नेताहरु  उपलब्ध  हुन्छन । त्यसको कारण नेपालीले बिससित देशमा बस्नेलाई दिने भाउ वा आफ्नो राजनीति गर्न आर्थिक सहयोग जुट्ने आशा पनि हुन सक्छ ।

अर्को अर्थमा कोही राजनीतिक दलका सच्चा कार्यकर्ताले आफ्ना नेताहरुलाई सत्कार र सम्मान गर्न चाहेर उनीहरु बेलायत आउँदा भेट्न जानु स्वबाभिक पनि हो । आफ्ना नेताहरुलाई सम्मान गर्नु नेताको बिचारलाई र आदर्शलाई पनि सम्मान गर्नु हो । यो अर्थमा नेताहरुलाई भेट्न जानु र स्वागत गर्न जानु कुनै नौलो प्रचलन हैन । तर, बेलायतमा नेपाली राजनीतिक दलका धेरै कार्यकर्ताहरु केवल चाकडी र चाप्लुसीको लागि नेपाली नेताहरु बेलायत आउँदा खादा र फूलका गुच्छा लिएर खडा हुने हरु नै धेरै छन्  ।
नेपाली राजनीतिक दलका कतिपय कार्यकर्ताहरुले बेलायतमा बसेर पनि नेपालको जस्तो गुट र उपगुटको राजनीति गर्न छोडेका छैनन । त्यसैले त आफ्नो गुटको नेता बेलायत आउँदा उनीहरुको चहलपहल हेर्न लायक हुन्छ । आफ्नो दलको कुनै शिर्ष नेता नै बेलायत आउँदा  पनि त्यति चासो नराख्नेहरु आफ्नो गुटको सामान्य नेता आउँदा देखाउने चाकडी र चाप्लुसी कतिपय अवस्थामा 'कुन्नि के गर्नेलाई भन्दा देख्नेलाई लाज' भने जस्तै हुन्छ ।

बेलायतमा बसेर नेपालमा राजनीति गर्नेहरुले पहिले त बेलायतबाट राम्रा कुराहरु सिक्ने र आफ्नो ब्यबहारमा लागु गर्नु पर्छ ।  अनि त्यस्ता राम्रा पक्षहरुलाई आफ्ना निकटका नेताहरु र राजनीतिक दल मार्फत नेपालमा पनि नीति नियम बनाउन र लागु गर्न प्रोत्साहन गर्नु गराउनु पर्छ । बेलायतको राजनीतिक प्रणाली र यहाँका नेताहरुबाट हामीले सिक्ने र नेपालमा राजनीतिक दल र तिनका नेताहरु लाई  सिकाउनु पर्ने धेरै कुराहरु छन् । अनि हामीले नेपाली नेताहरु र नेपाली राजनीतिक दलबाट सिकेका धेरै नराम्रा कुराहरु पनि छन् । त्यस्ता कुराहरु लाई हामीले चटक्कै छोड्ने र आफू पनि सुध्रिनु पर्छ । अनि मात्रै, हामी समय र परिवेश सापेक्ष्य हुन सक्छौ । 'आफू भलो त जगत भलो' भन्ने उखान चरिथार्थ गर्न  सक्छौ ।


No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...