प्रभाव, रवाफ र जवाफ
प्रभाव, रवाफ र जवाफ
- डा. बच्चु कैलाश कैनी
हरेकको जीवनमा
कुनै न कुनै मोडमा कसै न कसैको प्रभाव परेको
हुन्छ । अर्थात, हामी हाम्रो जीवनमा
धेरै कुराहरु अरुको
प्रभावमा परेर गर्छौ । हाम्रो जीवनमा साथीभाई, घरपरिवारका सदस्यहरु,
सहकर्मी, आफ्ना नातागोता वा आफ्नो सम्पर्कमा आउने मानिसहरुको प्रभाव
पर्छ । यो स्वाभाविक पनि हो । राम्रो मानिसको संगतले राम्रो प्रभाव
पर्न सक्छ भने नराम्रो मानिसको
संगत वा प्रभावले नराम्रो असर पनि पार्न सक्छ । हामी भन्छौ नि, हामी संगत गुनाको फल पाउँछौ ।
कोही कसैलाई प्रभाव पार्न सक्ने हुनको लागि
प्रभाव पार्न सक्ने मानिस स्वयं नै सक्षम, सबल र सफल हुनु जरुरी पनि छ । त्यति नभए पनि एक असल मानिस हुनु जरुरी नै छ । तर, हामी आफू असल भए पनि वा नभए पनि अरुलाई प्रभाव पार्न
कोसिस गर्छौ । अर्थात, अरु पनि म जस्तै हुन् वा मेरो अनुशरण गरुन भन्ने चाहना हुन्छ । यो हरेक मानिसको जीवनमा
लागु नहुन पनि सक्छ, तर अधिकांश मानिसको जीवनमा लागु हुन्छ ।
धेरैजसो मानिसहरुको
बिचमा हुने मनमुटाव, विवाद वा वैमनस्यताको मुख्य कारण हामी अरुलाई आफ्नो दृष्टिकोण अनुसार हेर्छौ । व्यक्ति, संघसंस्था वा हाम्रो समाजमा यति धेरै बिचारहरु, धारणाहरु
वा चाहनाहरु हुन्छन कि धेरै जसो एक अर्कोसँग मिल्दैनन् । आफ्नो विचारसँग अरुको बिचार मिले पनि वा नमिले पनि अरुलाई सम्मान
गर्न सक्नु पर्छ । अरुलाई तब मात्र प्रभाव पार्न
सकिन्छ जब आफू शालिन, सभ्य र अनुशाशित भई अरुप्रति ब्यबहार गरिन्छ ।
प्रवासमा रहेका
नेपाली संघ संस्था वा नेपालमा नै भएका संघ संस्थाको बिचमा किन गुट वा फुटको राजनीति हुन्छ भन्ने विश्लेषण गर्ने हो भने धेरै जसो कसले कसलाई कति प्रभावमा राखेको छ वा कसको गुट कति शक्तिशाली छ भन्ने कुरामा यो निर्धारण हुन्छ । शक्तिशाली गुटले अर्को गुट माथि राज गर्नु पर्छ वा शक्तिशाली नेताले आफ्नो प्रभाव सबै माथि जमाउनु पर्छ भन्ने मानसिकता नै गुट वा फुटको प्रमुख कारण हो । यो प्रसंगमा पनि कसको प्रभाव कति छ भन्ने कुरा आउँछ । जसको प्रभाव छ उसको रवाफ पनि हेर्न लायक हुन्छ ।
बिशेष गरी हाम्रो नेपाली समाजमा जो अरुलाई प्रभाव
पार्न सक्छ वा समाजमा कुनै हैसियत राख्न सक्छ, त्यत्तिकै उसको रवाफ पनि ठूलै हुन्छ
। रवाफका धेरै रुप र रंगहरु हुन्छन । यो कुरा कसैले आफ्नो संघ संस्थामा नेतृत्वको शैलीमा
देखाउंछन् र अरु माथि आफ्नो निर्णय लाद्ने गर्छन । कोही समाजमा धाक लगाउने गर्छन त
कोही आफू भन्दा ठूलो कोही छैन भन्ने देखाउँछन् । रवाफ जे जस्तो भए पनि रवाफ नै हो,
यसलाई हाम्रो समाजले सकारात्मक रुपमा लिंदैन ।
जति बोलिले अरुलाई प्रभाव पार्न
सकिन्छ, त्यो भन्दा बढी प्रभाव काम गरेर पार्न सकिन्छ । कुनै पनि नेतृत्वको मुख्य गुण अरुलाई प्रभावमा पार्न
सक्नु हो । हामी मन्दिरमा गएर पूजा गर्छौ र भगवानसँग केही न केही कुरा प्राप्तिको लागि प्रार्थना गर्छौ
। हामी अदृश्य भगवानलाई कत्तिको प्रभावमा
पार्न सक्छौ मलाई थाहा छैन, तर मलाई के थाहा छ भने चाहाने हो भने हामी आफूले आफू स्वयंलाई भने पक्का प्रभावमा पर्न सक्छौ र चाहे जस्तो गरी परिवर्तन हुन सक्छौ ।
हामी अरुलाई प्रभावमा पार्न प्रयास गरेपनि अरुलाई प्रभावमा
पार्न सक्छौ भन्ने कुरा सधैं हाम्रो हातमा हुँदैन । तर, आफ्नो जीवनशैलीमा सुधार गर्न, आफूलाई सुमार्गमा लैजान र आफ्नो संगत छान्न भने अवश्य सक्छौ । आफ्नो मन र शैलीलाई जति आफूले प्रभाव पार्न
सकिन्छ, त्यो अरुले कदापि सक्दैनन् । हामी हाम्रो मनको मालिक पनि हौ ।आफ्नो भविष्यको वा आफ्नो लक्ष्यको निर्धारणकर्ता पनि हामी आफै हौ । त्यसैले पनि हरेक मानिस असल हुने मन्त्र आफैले आफूलाई प्रभाव पर्न सक्नु हो ! जो मानिस आफै माथि राज गर्न सक्दैन वा आफैलाई निर्देशित गर्न सक्दैन, उ अरुलाई पनि प्रभावित गर्न सक्दैन ।
हरेक मानिस सबैभन्दा पहिले आफू प्रति नै उत्तरदायी र जवाफदायी हुन्छ । त्यसपछि
मात्रै हामी हाम्रो परिवार, समाज, आफू काम गर्ने संस्था र देश प्रति उत्तरदायी र जवाफदायी हुन्छौ । आफूले कुन काम कसरी गर्दैछु, कुन कामले के कस्तो प्रभाव पर्यो भन्ने कुरा आफूले आफैसँग प्रश्न
गर्ने हो । त्यसको जवाफ आफैले आफैसँग माग्ने हो । यदि त्यसको जवाफ सन्तोषजनक आएन भने सुधारको मार्ग
पनि आफैले खोज्ने हो । यो अवस्थामा अरुले पनि आफूलाई प्रभाव पार्न
सक्छन तर अरुको जति कुरा सुने पनि सबै पक्षको विचार गरेर आफूले गर्ने कामको निर्णय आफैले लिने हो र त्यसको प्रभावकारिताको
जिम्मा पनि
आफैले लिने हो ।
प्रभाव, पैसा र शक्ति एक अर्कोसँग अक्सर जोडिन्छन
। यी सबै कुराहरु मान्छेले राम्रो काम गरेर वा नराम्रो काम गरेर पनि आर्जन गर्न सक्छ
। जसले राम्रो कामले यी कुराहरु आर्जन गर्छ
उसले मान र सम्मान पनि पाउँछ । जसले समाजमा नचाहिने वा गलत काम गरेर यी कुराहरु
आर्जन गर्छ उसले केवल दुर्नाम पाउँछ । प्रभाव, पैसा र शक्तिको मात्रै पछि लागेर दुर्नाम
कमाउनेहरुले आफू र समाजलाई पनि जवाफ दिन सक्नु पर्छ ।
प्रभावको कारणले कसैले कसैलाई रवाफ दिन सक्छ ।
तर, आफूले आफैलाई वा अरुलाई पार्ने प्रभाव र अरुलाई दिने रवाफको जवाफ भने आफूले नै
दिनु पर्छ । जहाँ जवाफदायित्व छ त्यहाँ उत्तरदायित्व र पारदर्शिता पनि हुन्छ । जहाँ
जवाफदायित्व हुन्न, त्यहाँ स्वेच्छाचारिता हुन पनि सक्छ । अनि जहाँ स्वेच्छाचारिता
हुन्छ त्यहाँ मनपरीतन्त्र हुन्छ । हामी सबैलाई थाहा छ मनपरीतन्त्रले कसैको केही हित
गर्दैन ।
अन्त्यमा, पहिले आफूले आफैलाई प्रभाव
पारे पछि
मात्र अरुलाई प्रभावमा पार्न सकिन्छ । अनि कसैले कसैलाई रवाफ दिएर हैन आफ्नो कामको जवाफ पहिले आफैले आफैलाई दिएर कहीं कमजोरी छ भने सुधारको मार्ग प्रसस्त गर्न सकिन्छ । साथै, अरु प्रतिको उत्तरदायित्व पुरा गर्दै जवाफदावित्व पनि बहन गर्न सकिन्छ ।
(लेखक क्वीन एलिजाबेथ अस्पताल लण्डनमा बरिष्ठ ब्यबस्थापक, डार्टफोर्ड काउन्सिलको काउन्सिलर, ग्रीनवीच स्कुल अफ म्यानेजमेन्ट, लण्डनमा स्वास्थ्य ब्यबस्थापनको एसोशिएट लेक्चरर र एनआरएन यूकेको सल्लाहकार छन् ।)
No comments:
Post a Comment