यस्तै रहेछ यहाँको चलन: चल्नु हो, चलेकै छ, किन केही गर्नु पर्यो र?
यहाँ यस्तै हो, चलि हाल्छ नि !
- डा. बच्चु कैलाश कैनी
जीवनलाई बुझ्ने,
भोग्ने र सम्झने धेरै तरिकाहरु हुन्छन
। कसैको बिचार आफूलाई समाजमा कुनै सामाजिक काम गरेर स्थापित गराउने हुन्छ
भने कसैलाई गुमनाम
बसेर काम गर्ने रहर होला । कसैलाई कुनै महत्वाकांक्षा
बिना नै सरल र बोझ रहित जीवन बाँच्ने रहर होला त कसैलाई महत्वाकांक्षाको भारी बोकेर शिखर चढ्ने रहर होला । कोही नामको पछाडी लाग्छन होला त कोही दामको पछाडी । अनि, यहाँ धेरै जना न त नाम न दामको पछाडी नै लाग्छन । केवल काम र परिवारको लागि बाँच्ने यहाँ धेरै छन् । तरपनि जिन्दगी चलाउने हो, चलि रहेको छ ।
यो विश्वमा सबै भन्दा बढी चर्चित वा नाम चलेका
मान्छेहरु कसरी सबै भन्दा असल वा महान बने भन्ने कुरा हामीले पढेका, जानेका वा बुझेका
छौ । हामीलाई थाहा छ, गौतम बुद्ध कसरी भगवान बने । नेल्सन मण्डेला कसरी युग कै महान
नेता बने । महात्मा गान्धी कसरी सबैले मान्ने नेता बने । तर पनि हामी सबै किन त्यस्तो
बन्न सक्दैनौ ? धर्ममा नै जीवन समर्पण गर्ने
बहुसंख्यक मानिस किन भगवान बुद्ध जस्तो बन्न सक्दैनन् ? राजनीतिमा लाग्ने सबै
किन निस्वार्थ देश र समाजको लागि लागेर राजनेता बन्न सक्दैनन् ? यहाँ यस्तै हो, चलि
हाल्छ नि भन्ने तरिकाले धेरैको जीवन चलेको छ । चाहे ती राजनीति गर्ने हुन् वा चाहे
अरु कुनै पेशामा लाग्ने नै किन नहुन ।
कुनै पनि काम वा पेशामा सफल हुनको लागि आफ्नो
रुची अनुसारको काम छान्नु, दिलदेखि नै काम गर्नु, कडा मेहेनत गर्नु, कामलाई निरन्तरता दिनु, समय र परिस्थिती अनुसार
आफू वा आफ्नो पेशालाई बदल्नु, आफ्नो सीप र दक्षतालाई अभिबृदी गर्नु आदि जस्ता धेरै
कुराहरुको जरुरत पर्दछ । जो मानिस यी र यस्तै अरु कुराहरु गर्न सक्दैनन् ती मानिसहरु
सफल हुन सक्दैनन् । अनि उनीहरुको जीवन केवल चल्नेको नाममा चलि रहेको हुन्छ ।
आफ्नो पेशामा वा काममा सफल त धेरै हुन्छन । तर,
महान भने यदाकदा औलामा गन्न सक्ने मान्छे मात्रै हुन्छन । किन त्यस्तो हुन्छ त? किनकी
महान हुन सफल भएर मात्रै पुग्दैन । महान हुनु भनेको एक किसिमले सर्बमान्य हुनु पनि
हो । अर्थात्, सबैको लागि नमुनाको पात्र हुनु र आम मानिसलाई प्रभावमा पार्न सक्नु पनि
हो । महान हुन निकै ठूलो त्याग, तपस्या र योगदानको
जरुरत पर्दछ । जुन सबैले गर्न सक्दैनन् । अनि त जो कोही महान हुन सक्दैनन् । किनकी
औसत जिन्दगी जिउने अधिकांशको जीवन केवल चल्नको
लागि चलि रहेको हुन्छ । धेरैले सोच्छन, यहाँ यस्तै हो । जीवन चलेको नै छ ।
मेरो बेलायतको बाह्र बर्षको पेशागत कामको अनुभवमा
मैले सिकेको एउटा कुरा के हो भने बेलायतीहरु काममा केवल काम चलाउनको लागि काम गर्दैनन्
। चाहे राजनीति, कुनै पेशा वा ब्यबशाय नै किन नहोस अधिकांश बेलायतीहरु आफ्नो पेशा वा
काममा गम्भीर हुन्छन । तर हामी अधिकांश नेपाली
भने नेपालमा काम चलाउनको लागि काम गर्छौ र केही थोरै मात्रै काम वा पेशामा गम्भीर हुन्छौ । त्यसैले मेरो बिचारमा हामी धेरै
नेपालीमा 'यहाँ यस्तै हो, चलि हान्छ नि !'
भन्ने मानसिकता छ । त्यसैले त नेपालमा त्यति धेरै राजनीतिक परिवर्तन हुँदा, धेरै नेपाली
असल र कडा मेहेनत गर्ने हुँदा पनि आर्थिक र सामाजिक बिकास खासै हुन सकेको छैन । थप
कुरा के भने, बिदेशमा बस्दा खुब अनुसाशित र मेहेनती नेपाली नेपाल गए पछि उस्तै काम
चलाउ र अरु जस्तै अल्छि हुन्छ । अनि त्यस्तै सोचाई हुन सक्छ 'यहाँ यस्तै हो, चलि हाल्छ
नि!'
अधिकांश धेरैको
जिन्दगी औसत रुपमा चलेको छ । हामी भन्छौ नि, उ वा कोही औसत मान्छे हो । उ वा कोही मात्रै हैन हामी धेरै औसत मान्छे हौ । किनकी हामी अरुले जस्तै औसत रुपमा आफू, घरपरिवार, काम र दामको लागि काम गर्छौ र जीवन धानेका हुन्छौ
। किनकी हामी आफूलाई आफू, घरपरिवार, काम र दामको परिधी भन्दा बाहिर निकाल्न सक्दैनौ । अधिकांशको जीवन चल्नको लागि चलेको छ । हामीलाई लाग्छ यहाँ यस्तै हो, चलि हाल्छ नि !
जीवन चल्ने हो, चलि हाल्छ । त्यसरी, यसरी वा जसरी पनि जीवन चल्छ । कुरा त कसको जीवन कति सार्थक छ वा निरर्थक छ भन्ने मात्रै हो । को कति महान, सफल, औसत वा औसत भन्दा पनि तल छ भन्ने मात्रै हो । सबैको जीवन उस्तै उस्तै महान र सफल पनि हुन सक्दैन । किनकी हरेक मानिस आफूमा नितान्त रुपमा अलग र फरक गुणले सम्पन्न हुन्छ । हरेक मानिसको चरित्र,
ज्ञान, बुद्धि, विवेक,
इच्छा, आकांक्षा, मन र रुप नै फरक हुन्छ । अनि, सबैको उद्धेश्य र लक्ष्य पनि नितान्त फरक हुन्छ ।
मलाई ठिक लाग्ने कुरा अरु कसैलाई बेठिक लाग्न सक्छ । सबैको बुझाई र भोगाई पनि फरक फरक हुन्छ । जीवन सिकाई, भोगाई र गराईको सार रुप हो । यहाँ हामी अधिकांशले जे गर्छौ त्यो मुलत: औसत मानिसको रुपमा काम गर्छौ । त्यसैले पनि हामीलाई लाग्न
सक्छ, 'यहाँ यस्तै हो, चलि हाल्छ नि !'
तर, सफल हुनको लागि भने त्यति मात्रै काफी छैन । हामीले सोच्नु पर्छ, कसरी के गर्दा हाम्रो जीवन सार्थक र सफल हुन्छ । कसरी आफू र आफ्नो परिवार मात्रै
हैन मानव जगत, समाज र देशको पनि हित हुने काम गर्ने ।सबैको भलो हुने काम गरे मात्रै हाम्रो जीवन साकार, सार्थक र सफल हुन्छ । अस्तु ।
No comments:
Post a Comment