भिसा गर्ल
भिसा गर्ल
- डा. बच्चु कैलाश कैनी
रमिलाको भिसा नभएको कुरा
मैले तत्काल नै थाहा पाएको थिएँ । मलाई
निकै नरमाइलो लागेको थियो । म दोधारमा थिएँ । मैले उनलाई केही भनुँ वा नभनुँ केही
सोच्न सकेको थिइन । उनलाई नरमाइलो लाग्नु त स्वभाविक नै थियो । भिसाको लागि आवेदन दिने
हरेकको सपना अमेरिका जाने हुन्छ ।
अमेरिकाको जीवनशैली, त्यहाँ बस्ने, पढ्ने र उतै आफूलाई स्थापित गर्ने कसको पो सपना हुन्न र
! शायद उनि पनि अपवाद थिइनन ।
कार्यालयको काम सकेर साँझ
म आफ्नो घर फर्कें । घर फर्की सके पनि मैले रमिलाको त्यो अनुहार, उनी सँगको त्यो छोटो भेट र एकदमै छोटो वार्तालाप मेरो मन र
मष्तिकमा ताजा नै थियो । म दुतावासमा काम गर्ने मान्छु हुँ । त्यसैले, कामको शिलशिलामा म धेरै व्यक्तिहरुसँग सम्पर्कमा हुन्छु र हरेक दिन मैले धेरै
जनासँग वार्तालाप गरेको हुन्छु । मेरो कामको प्रकृति नै त्यस्तै छ । तर, त्यो दिन मैले जसरी रमिलालाई भेटें र उनीसँग कुरा भयो एक किसिमले मेरो लागि
सामान्य नै हुनु पर्ने हो,
तर त्यो मेरो लागि असामान्य हुन पुग्यो ।
त्यो दिन साँझ खाना खाएर
बेडमा पल्टेको थिएँ । मलाई रमिलाको याद आयो । खास उनलाई सम्झनु पर्ने कुनै कारण नै
थिएन, तर पनि उनीसँग एक पटक कुरा गरुँ गरुँ जस्तो
लाग्यो । फेरि पनि दोधारमा परें, फोन गरुँ वा नगरुँ । फोन
गरुँ भने के भन्ने, कसरी कुरा गर्ने र के
कुरा गर्ने ? खास केही एकिन गर्न सकेको
थिइन ।
धेरै सोचें, मनमा लाग्यो एक पटक फोन गरुँ । मलाई उनको फोन नम्बर र नाम
याद थियो । डराई डराई रमिलाको नम्बर डायल
गरें । उता फोन उठ्यो, 'हेल्लो रमिलाजी बोल्नु
भएको हो?'
'हजुर, म बोल्दै छु। को बोल्दै हुनु हुन्छ होला?' उनले पनि डराई डराई फोन उठाएको थिइन ।
मैले मेरो परिचय दिएँ ।
हाम्रो सामान्य कुराकानी भयो । मैले उनलाई कल गरेकोमा माफि मागें । उनलाई कहिले
काहीं यस्तै हुन्छ भनेर सम्झाएँ, प्रक्रियाको बारेमा कुरा
गरें र पू:न प्रयास गर्न अनुरोध गरें । उनले आफू अब अस्ट्रेलियाको लागि समेत
प्रयास गर्ने कुरा गरिन । मैले उनलाई शुभकामना दिएँ । फेरी कुरा गर्ने वाचा सहित
हामीले फोन राख्यौ । मेरो मनमा एक किसिमको रमाइलो अनुभूति भयो । फेरी अर्को पटक
पक्कै कुरा हुने नै छ जस्तो लाग्यो । म सुतें ।
खास मैले उनलाई सान्त्वना
दिन र उनीसँग नजिक हुन खोजेकोले फोन गरेको थिएँ । एकपटक कुरा भए पछि पू:न अर्को
पटक कुरा गर्न सजिलो हुन्छ भन्ने लागेको थियो मलाई । त्यसैले दोधारमा परे पनि मैले
मेरो मनलाई दरो बनाएर कल गरेको थिएँ । मनको सामु मैले आफूलाई कमजोर बनाएर उनलाई
फोन गरेको थिएँ । कहिलेकाहीं कुनै उद्धेस्य बिना नै मनलाई शान्त पार्नको लागि केही
केही कुरा गरिन्छ । न त्यसको प्रतिफल थाहा हुन्छ, न त कुनै फाइदा वा बेफाइदा नै । तर, पनि मनले जे
चाहन्छ, त्यही गरिन्छ ।
अर्को दिन मैले पनि
रमिलालाई सम्झें । फोन गर्छु भन्दा भन्दै घरको र कार्यालयको कामको व्यस्तताले समय
मिलेन । सप्ताहन्तामा फोन गरें । उनी
सपरिवार मामाघर गएको रहेछिन । मैले खास
अरु कुरा गरिन । फेरी अर्को दिन फोन गर्ने वाचा सहित फोन राखें । लाग्यो उनी पनि ब्यस्त छिन्, सायद अर्को दिन फोन गर्नेछिन् ।
अर्को दिन मलाई लागेको
थियो, रमिलाले फोन गर्नेछिन् । म उनको फोनको प्रतिक्षामा बसें ।
तर, उनको फोन आएन
। मैले पनि फोन गरिन । मलाई उनले
फोन गर्छिन भन्ने कुरामा पक्का बिस्वास लागेको थियो । मलाई लाग्यो, यदि अर्को दिन पनि उनको फोन आएन भने म आफै उनलाई फोन गर्नेछु ।
अर्को दुई दिनसम्म पनि
उनको फोन आएन, न त मैले नै उनलाई फोन
गरें ।
उनको फोन त आएन, तर मलाई मेरो कार्यालयमा मेरो हाकिमको फोन आयो । उसले मलाई तत्काल उसको कार्यालयमा भेट्न आउनु
भन्ने अनुरोध गर्यो । मलाई लाग्यो, यो नियमित भेटघाट
हो । म मेरो हाकिमको कार्यालयमा उसलाई भेट्न गएँ । सधै हँसिलो देखिने उ त्यो दिन अलिकति मलिन थियो । शिष्टाचार
आदानप्रदान पछि उ खास बिषयबस्तुमा प्रवेश गर्यो । उसले जुन कुरा गर्यो म झस्किएँ ।
मेरो हातखुट्टा काम्न थाले । मेरो आँखाबाट आँशु झर्यो । मैले आफुलाई कहाँ छु वा के
गर्दै छु भन्ने बिर्सिएँ । मलाई धर्ति फांटे जस्तो लाग्यो । मेरो अस्तित्व सकियो जस्तो लाग्न थाल्यो ।
खास के भएछ भने, मैले रमिलाको फोन
नम्बर मेरो कार्यालयबाट लिएर उनलाई फोन गरेकोले उनको गोपनियता भंग भएको भनि मेरो
कार्यालयमा उनले उजुरी गरेको रहेछिन । त्यसैले त्यो बिषयमा कुरा गर्न मलाई मेरो
हाकिमको कार्यालयमा बोलाइएको रहेछ । साथै, त्यो अभियोगमा
पुनरावेदन गर्ने अवसर नै नदिई मलाई तत्काल
जागिरबाट हटाउने निर्णय गरिएको रहेछ ।
उक्त निर्णय सुनाउनको लागि मलाई मेरो हाकिमको कार्यालयमा बोलाइएको रहेछ ।
त्यस पछि न त मैले
रमिलाको फोनको आशा गरें, न मैले उनलाई फोन नै गरें
। एकपटक लागेको थियो, मैले रमिलालाई फोन गरुँ र
सोधुँ कि किन उनले एउटा सानो कुराको कारण मेरो जिन्दगीमा त्यत्रो बज्रपात गरिन ?
किन मसँग कुनै कुरा नै नगरी मेरो बारेमा मेरो कार्यालयमा
उजुरी गरिन? तर लाग्यो, त्यसको कुनै फाइदा छैन । न त मैले मेरो गुमेको जागिर फिर्ता पाउन सक्छु, न त उनलाई कुनै कुरामा बिस्वास नै गर्नसक्छु ।
भनिन्छ, कुनै कुरामा द्विविधा परे मनलाई सोध्नु र मनले जे भन्छ
त्यही गर्नु । नचिनेको र नजानेको मान्छेले
धोका दिनु कुनै नौलो कुरा भएन । तर, मेरो मनले नै मलाई
धोका दियो । एउटा नचिनेको भिसाको लागि
आवेदन दिने गर्ललाई मेरो मनले चाहेको
कारणले मैले जिन्दगीमा ठूलो धोका पाएँ । आफूले आफ्नै बिस्वास गुमाएँ । मेरो नाम
बदनाम गराएँ र गरि खाने काम गुमाएँ ।
-----------------------------------------
No comments:
Post a Comment