Saturday, 28 October 2017

राजनीति: सत्ताको लागि कि परिवर्तनको लागि ?


राजनीति: सत्ताको लागि कि परिवर्तनको लागि ?
राजनीति: सत्ताको लागि कि परिवर्तनको लागि ?

-    डा. बच्चु कैलाश कैनी


नेपालको अहिलेको राजनीतिक अवस्था हेर्ने हो भने सर्वसाधारण मान्छेहरु राजनीति केका लागि भन्ने प्रश्न उठाउन थालेका छन् । यो स्वाभाविक पनि छ । किनकि सबै जसो राजनीतिक दलहरु जसरी पनि सत्ता प्राप्त गर्ने र सरकार चलाउने ध्यानमा छन् । राजनीति गर्नेहरुका लागि सत्तामा पुगे पछि मात्रै आफ्नो नीति, कार्यक्रम र विचार लागु गर्ने अवसर मिल्छ । तसर्थ पनि चुनाव जित्नु, सरकार चलाउनु र आफ्नो नीति र कार्यक्रममा उल्लेख भएका काम गर्नु सबै राजनीतिक दलहरुको मुख्य लक्ष्य हुन्छ ।

राजनीतिमा सबै भन्दा ठूलो भूमिका राजनीतिक बिचार र नीतिको हुन्छ । बिचारले राजनीतिक दललाई मार्गनिर्देश गर्छ  र नीतिले राजनीतिक बिचारलाई परिवर्तनको लागि, देश विकासको लागि र आर्थिक क्रान्तिको लागि मार्ग निर्देश गर्छ । अनि राजनीतिक दलका नीति र कार्यक्रम नै देश विकासका लिखित आधार र प्रतिबद्धता पनि हुन् । त्यसैले राजनीतिक दलहरुको लागि कार्यकर्ता र जनता आफ्नो दल तिर आकर्षित गर्ने र सबै भन्दा धेरै मत पाउनको लागि मुख्य दुइ वटा कुराहरु हुन्छन - नेतृत्व र नीति तथा कार्यक्रम ।

देशमा समस्याका चाङ्ग छन् । बेरोजगारी ब्याप्त छ । ठूला ठुला आयोजनाहरु अलपत्र छन् । भ्रष्टाचार जताततै देख्न सकिन्छ । देशमा दलालहरुको जगजगी नै छ । यस्ता समस्याहरुको सूचि थप्दै जाने हो भने धेरै लामो हुन्छ यो लेख । यी सबै समस्याहरु समाधान गर्नको लागि उचित नीति तथा कार्यक्रम र ती कार्यक्रम लागु गर्नको लागि सबल राजनीतिक नेतृत्वको आवश्यकता पर्दछ ।

त्यसो भए के नेपालका सबै राजनीतिक दलहरु देश र जनताको लागि आर्थिक, सामाजिक र राजनीतिक परिवर्तन हुने नीति र कार्यक्रम बनाउन ब्यस्त छन् अहिले ? के सबै राजनीतिक दलहरु, तिनका नेता तथा कार्यकर्ताहरु आफ्नो दलको लागि सक्षम, सबल र कुशल नेतृत्व चयन गर्नको लागि कहिलै ध्यान दिन्छन ? सरसर्ती भन्दा यी दुवै प्रश्नका उत्तरहरु सकारात्मक आउंदैनन ।

अहिले सबै दलका नेताहरु राजनीतिक गठबन्धनको लागि, जे जस्ता भए पनि दलमा कार्यकर्ता आकर्षित गर्न र राम्रा भन्दा हाम्रा लाई चुनावमा टिकट दिन र चुनाव जिताउन ब्यस्त छन् ।  न त यहाँ कसैलाई जनताको मन जित्ने घोषणा पत्र बनाउन, नीति तथा कार्यक्रम बनाउन कुनै समय छ, न त त्यसको लागि अनुसन्धान गर्न र बिज्ञासंग परामर्श गर्न नै समय छ ।





अहिलेको अवस्था भनेको सत्ताको लागि जे जसरी पनि चुनाव जित्ने हो । जव जे जसरी पनि चुनाव जित्ने भन्ने कुरा आउँछ, तब पैसाको चलखेल हुन्छ, चुनावमा गुण्डाहरुको  भूमिका हुन्छ, भ्रष्ट र बेइमानहरु अग्रसर हुन्छन । अनि त्यसरी चुनाव जिते पछि उनीहरु आफ्नो सावाँ र ब्याज असुल्न तल्लिन हुन्छन । राजनीतिक नेतृत्व पनि स्वार्थको पछाडी लाग्नु पर्ने हुन्छ । अनि देश विकास गर्न, जनताहरुको समस्या हल गर्न र आर्थिक क्रान्ति गर्नु भन्दा दल, कार्यकर्ता र आफ्नो स्वार्थ अनुसारको काम गर्न राजनीतिक नेतृत्व लाग्नु पर्ने हुन्छ ।

राजनीति सत्ता हाक्नको लागि हो । तर, सत्ता त आमुल परिवर्तनको लागि, देश विकास गर्नको लागि र आर्थिक क्रान्तिको लागि चलाउनु पर्दछ,  न कि दलगत र व्यक्तिगत स्वार्थका लागि । राजनीतिमा सत्ता र सरकार भनेको माध्यम मात्रै हुन् । राजनीतिको अन्तिम लक्ष्य भनेको जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन गर्नु, जनताको समस्याहरु हल गर्नु र देश विकास गर्नु हो । त्यो पनि जनताको मन जितेर, जनताको लागि आफ्नो समय समर्पण गरेर र निस्वार्थ काम गरेर ।

राजनीति परिवर्तनका लागि पनि हो । राजनीति निस्वार्थ रुपमा आफ्नो लागि, परिवारको लागि, समाजको लागि, देशको लागि अर्थात सबैको लागि गर्ने हो । विश्वमा जति पनि आमूल र जनाताको पक्षमा परिवर्तन भएका छन् सबै दरो राजनीतिक इच्छा शक्ति, समर्पण, त्याग, बलिदान र सबल नेतृत्वले भएका छन् । नकि कुनै अपवित्र गठबन्दन, राजनीतिक चलखेल र सत्ता केन्द्रित चुनावी खेलले ।  अहिलेको नेपालका अधिकांश राजनीतिक दलको अवस्था भनेको स्वार्थका लागि, केवल चुनाव जित्न र आफ्नो हात जगन्नाथ गर्नको लागि नै सबै राजनीतिक शक्ति र सामर्थ्य केन्द्रित भएका छन् ।

अहिले नेपालमा सत्ता हाँकेर दलगत र व्यक्तिगत स्वार्थमा लिप्त हुनेहरुको झुण्ड राजनीतिमा आकर्षित भएको छ । राजनीतिमा सत्ता प्राप्ति गर्ने र जनताको समस्या हल गर्न, आर्थिक क्रान्ति गर्न र ठूलो सामाजिक, राजनीतिक र आर्थिक परिवर्तन गर्नु भन्दा ठूलो प्राथमिकता दलगत स्वार्थ र व्यक्तिगत स्वार्थलाई दिएको हुनाले पनि  राजनीति के का लागि भन्ने प्रश्न उठ्नु स्वभाभिक पनि हो । 

राजनीति राज्य संचालनको लागि सबैको लागि मार्गदर्शन हो । जनप्रतिनिधि जनताको मताधिकार मार्फत शक्ति र अधिकार प्राप्त गर्छन र  देश संचालन गर्छन । त्यसैले लोकतन्त्रमा राज्यको सबै अधिकार र शक्तिको श्रोत जनता नै हुन् । जनता भनेको म, तपाई र हामी सबै हो । हामी सबै असल र योग्य हुने हो भने मात्रै हामी असल जनप्रतिनिधि छान्न सक्छौ । आफू कत्तिको असल र योग्य हुने भन्ने कुरा हामी र हाम्रो ब्यबहारमा पनि फरक पर्ने कुरा हो । सबैभन्दा पहिला हरेक व्यक्तिमा राजनीतिक, सामाजिक र आर्थिक चेतना आउनु जरुरी छ । त्यसका लागि राज्यको भूमिका मात्रै हैन, व्यक्ति, परिवार र हाम्रो समाज सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।  अन्त्यमा, आफू भलो त जगत भलो ।

कुनै पनि देशको राजनीतिक ब्यबस्था र नेतृत्व सफल हुने हो भने त्यो देश सजिलै बिकास हुन्छ । आर्थिक बिकास हुन्छ । सामाजिक र राजनीतिक चेतनाको पनि बिकास हुन्छ । फलस्वरूप, हरेक व्यक्ति र समाजको पनि स्वत: उन्नति र प्रगति हुन्छ । व्यक्ति र समाजको उन्नतिको लागि राज्यको भूमिका निकै ठूलो हुन्छ । कोही आफू जति अग्रसर भए पनि देशमा राम्रो शिक्षा, स्वास्थ्य, पूर्वाधार, बाटोघाटो, यातायात आदिको ब्यबस्था छैन भने खासै ठूलो उन्नति र प्रगति गर्न सक्ने अवस्था हुँदैन । त्यसैले पनि कुनै व्यक्ति, परिवार र समाजको उन्नति र प्रगतिको लागि सफल राजनीतिक ब्यबस्था, कुशल राजनीतिक नेतृत्व र प्रभावकारी राज्यसंयन्त्रको जरुरत हुन्छ । अनि मात्रै हरेक व्यक्ति, परिवार र समाजलाई प्रगति र उन्नति गर्ने असवर दिन सकिन्छ ।

तर जे भने पनि अन्त्यमा त्यही कुरा आउँछ, लोकतन्त्रमा जनताको शक्ति । देश संचालन सरकारले गर्ने हो । नीति नियम बनाउने र देश चलाउने नेता छान्ने जनप्रतिनिधिले हो । र, ती जनप्रतिनिधिहरु तपाई हामीले नै छान्ने हो । लोकतन्त्रमा जनताको मताधिकार राम्रोसँग विवेकपूर्ण ढंगले प्रयोग हुन सकेन भने देश मात्रै बर्बाद हुँदैन, हामी  जनता र हाम्रा भावी पुस्ता पनि बर्वाद हुन्छौ । त्यसैले देश विकासको लागि र नेपालको आर्थिक क्रान्तिको लागि सबल, कुशल र योग्य जनप्रतिनिधि छान्नु जरुरी छ । अनि मात्रै, राजनीति सत्ताको लागि मात्रै हैन परिवर्तनको लागि पनि हुन्छ ।

(लेखक, बेलायतको डार्टफोर्ड काउन्सिलको काउन्सिलर हुन् । उनी बेलायतको गत आम निर्वाचनमा लेबर पार्टीको तर्फबाट डार्टफोर्ड  निर्वाचन क्षेत्रको सांसदको उम्मेदवार थिए ।)


No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...