मित्रता र भ्रम
कथा: मित्रता र भ्रम
- डा. बच्चु कैलाश कैनी
अचानक सबेरै रमाको फोन आयो । म छक्क परें । छक्क पनि किन नपर्नु? करिव दश
बर्ष जति भयो मैले उनलाई भेटेको थिइन । तर उनको बारेमा थोरै भएपनि जानकारी भने राखेको थिएँ । मलाई उनको परिवारको बारेमा धेरै जानकारी नभए पनि उनको जागिर र सामाजिक जीवनको बारेमा
भने जानकारी थियो ।
रमा एकदम साहसी र निडर सहकर्मी थिईन । उनी त्यत्तिकै मेहेनती
पनि । उनको महत्वाकांक्षाको त के कुरा गर्नु ! शाखा अधिकृत भए देखि नै उनी आफूलाई भविष्यको सचिवको रुपमा देख्थिन । त्यसैले मेहेनत गर्नु, आफूलाई अपडेट
राख्नु र हरेक काममा अग्रसर हुनु उनको पहिचान थियो । समयको पालना गर्नु, काममा निष्पक्ष हुनु र कुशल नेतृत्व दिन उनले जानेकी थिईन ।
रमाको यी र यस्तै धेरै गुणहरुले गर्दा कतिपय कर्मचारीहरुउनी
सँग डराउँथे । कतिले उनको इर्ष्या गर्थे भने कति उनको सेखी कसरी झार्ने भनेर मौका हेर्थे
। कति त उनको अघि नतमस्तक भएर तारिफ गर्ने
पनि थिए । किनकी उनी त्यस्तै थिईन, सबैले तारिफ गर्ने लायक । उनी सबै जसो हाकिमको प्रिय
पात्र थिईन । किनकी उनी काममा पोख्त थिईन । आफूलाई सबै कुराहरुमा अब्बल प्रमाणित गरेकी
थिईन ।
त्यति मात्रै कहाँ हो र? रमा उत्तिकै राम्री पनि
थिईन । मिलेको जिउडाल, रुप र रंग । सफा रहने, चिटिक्क पर्ने र सधैं आफूलाई सुहाउने पोशाक लगाउने उसको बानी । मेकअप
नगरे पनि उत्तिकै सुन्दरी ।
रमा र म एउटै कार्यलयमा करिव पाँच बर्ष सँगै काम
गरेका थियौ । उनी मेरो मिल्ने साथी थिईन । शाखा अधिकृत उत्तीर्ण गर्दा हामी एउटै समूहका
थियौ । अनि दुवै जना एउटै कार्यालयमा सँगै पदस्थापना भएका थियौ । कामको सिलसिलामा कुनै
बिषयमा हामी एक अर्कासँग बिचार बिमर्श गर्थौ । परेको बेला सुख दुख बाड्ने गर्थौ हामी
। त्यसैले पनि उनी सँग मेरो सहकर्मीको मात्रै हैन भावानात्मक सम्बन्ध पनि थियो ।
पाँच बर्षको काठमाडौँ बसाई पछि मेरो सरुवा पोखरा भयो । सरकारी जागिरे, जहाँ सरुवा भयो उतै जानु पर्ने बाध्यता हुन्छ । म पनि पोखरा तिर लागें । सहकर्मी मित्रहरु र काठमाडौँ खाल्डो छोड्नु परे पनि मलाई खास दुख लागेको थिएन । किनकी पोखरा मेरो सबै भन्दा मन पर्ने शहर हो । एक पटक सानैमा बुवासँग
पोखरा पुगे पछि मलाई त्यो शहरले मोहनी लगाएको थियो । हुन पनि कसलाई पो मोहनी लगाउँदैन र त्यो शहरले । प्रकृतिको अनुपम नमुना हो पोखरा । त्यस माथि त्यहाँको हावापानी
र पोखरेलीको न्यानो मायाले मलाई सधै आकर्षित गर्छ ।
म पोखरा पुगे पछि रमासँग मेरो भेटघाट भएन । शुरुका केही दिनहरुमा बेला बेलामा फोनमा सन्चो बिसन्चो र कामको बारेमा कुराकानी हुन्थ्यो । तर, समय बित्दै जाँदा त्यो पनि हुन छाड्यो । यो संसार नै यस्तो छ । समय र परिश्थितिले धेरै कुराहरु जुराउँछ र समयले आफै टाढा बनाउँछ । समयले कसैलाई आफ्नो बनाउँछ र कसैलाई पराई पनि । आज मेरो भन्ने भोलि अर्कैको हुन पनि सक्छ । कुनै बेला मेरो लाग्ने काठमान्डौ शहर अहिले बिरानो लाग्छ । कुनै बेला अति नजिक लाग्ने रमा पछि कता हो कताको पराई जस्तो लाग्न थाल्यो ।
झन्डै दश बर्ष पोखरामा कर्मबिरको
रुपमा बिताउँदा मैले यही शहरमा घरजम गरें । यतै घर घडेरी
जोडें । हाम्रा केटा केटीहरु यतै जन्मे, हुर्के
र पढ्दैछन् । मलाई पोखरा नितान्त आफ्नै लाग्छ । अब यो मेरो ससुराली शहर मात्रै हैन, आफ्नै शहर जस्तो लाग्छ । यहाँको हरेक चिज जस्तै सुन्दरता, परिवेश,
प्रकृति, माटो, हावा, पानी आदी सबैले मलाई आकर्षित गर्छन
।
झन् मेरी पोखरेली धर्म पत्नी अप्सराको
माया र साथ त अपूर्व नै लाग्छ मलाई । उनी साँच्चै स्वर्गको अप्सरा जस्तै छिन् । उनी पोखरा जस्तै सुन्दर छिन् । निश्चल र मायालु छिन् । प्रकृतिको छटासँग तुलना
गर्छु म उनलाई । धेरै महत्वाकांक्षा
छैन उनमा । घरपरिवार, आफन्त र आफ्नै परिवेशमा रमाउँछिन्
उनी । उनको लागि परिवार सबै भन्दा पहिलो प्राथमिकता हो । मलाई उनको यो बानीले मलाई जहिले पनि आकर्षित गर्छ । म आफू सधै जस्तो जागिर, सामाजिक काम र साहित्यिक भेटघाटमा ब्यस्त हुनु पर्ने हुनाले हाम्रो जोडीको सन्तुलन
मिलेको छ । यो अर्थमा म आफूलाई भाग्यमानी ठान्छु ।
कार्यालय समयमा
आएको रमाको फोनले म छक्क परें । एकमन झस्कें । अर्को मन रमाले सम्झेकोमा खुसी पनि लाग्यो । मैले उनको हालखबर सोधें । सन्चो, बिसन्चो र परिवारको बारेमा सोधें । तर उनको जवाफ छोटकरीमा आयो । मैले सोचें, उनी खास कुनै अर्थपूर्ण कुरा गर्न खोज्दैछिन् । काम, जागिर वा कुनै अवसरको बारेमा कुरा गर्न खोजेको आंकलन गरें । आखिर यो मन नै हो, कति छिटो यता उता दौडंछ । आफू अनुकुल हुने गरी सोच्छ ।
उनले मलाई त्यति नै बेला केही समय बोल्नको लागि मिल्ने वा नमिल्ने कुरा सोधिन । साथै, नजिक अरु कोही भए नभएको बारेमा पनि सोधिन । मैले उनी केही गम्भीर कुरा गर्न खोजेको बुझी हालें । संयोगबस त्यति बेला मसँग समय थियो र आसपास अरु कोही थिएनन् । त्यसैले मैले उनसँग बोल्न सक्ने र समय पनि भएको जनाएँ । आखिर मलाई पनि मेरो एउटा पूर्वसहकर्मी र आत्मिय मित्रसँग धेरै पछि बोल्ने पाउने
अवसर आएको थियो ।
उनको स्वर दबेको थियो । त्यति योग्य, निडर र कुशल प्रशासकको आत्माविस्वास गुमेको सहजै भान हुन्थ्यो । तर पनि उनी आफूलाई सम्हाल्दै निडर जस्तै गरी प्रष्टसँग आफ्नो कुरा राख्दै थिइन । उनले मलाई केवल आफ्नो पिडा र ब्यथा सुनाउन मात्रै हैन की आफ्नो बारेमा प्रष्टीकरण दिन र आफ्नो परिवारलाई सम्हाल्न
पनि सुझाव दिइन । उनी भन्दै थिइन उनी मलाई सम्मान गर्छिन । मेरो पेशागत काम प्रतिको लगाव र साहित्य लेखनको अझै तारिफ गर्छिन । उनलाई प्रष्ट थाहा थियो, म गलत छैन, न त उनी नै गलत छिन् । यो त सिर्फ कुनै गलत सूचना र भावना मात्रै हो ।
म झन छक्क परें । जुनबेला रमा र म सँगै काम गर्थ्यो त्यति बेला समेत मैले उनी प्रति कुनै नराम्रो नजरले हेर्ने गरिन । उनी राम्री थिइन, उनको रामो बानी व्यहोरा थियो र राम्रो जागिर पनि । महत्वाकांक्षाको
भारी बोकेर पढाई, जागिर र साहित्यमा आफूलाई समर्पित गरेको
थिएँ । मेरो लागि अरु सहकर्मी मित्र जस्तै रमा पनि एक जना सहकर्मी मित्र थिइन । अरु भन्दा आत्मिय मित्र भए पनि म रमालाई सम्मान गर्थे । उनको रुप, काम र योग्यताको प्रशंसा गर्थे ।
म अविवाहित थिएँ, तर रमा विवाहित । त्यसैले पनि म रमा र उनको परिवारलाई त्यति बेला पनि सम्मान गर्थें र अहिले पनि गर्छु । उनी जति पेशामा सबल र सक्षम थिइन, त्यतिकै पारिवारिक र घरेलु पनि थिइन । उनको लागि काम, पेशा, घर परिवार र आफन्त उत्तिकै महत्वपूर्ण थिए ।
त्यति बेला यस्तो लाग्थो, म रमाको निकै ठूलो प्रशंसक हुँ । म उनको सुन्दरता, रुप, रंग, ढंग, पेशागत काम, बानी व्यहोरा, चालचलन, योग्यता,
दक्षता आदि सबैको मुक्त कण्ठले प्रशंशा
गर्थें । आज पनि मलाई रमा त्यस्तै लाग्छ । त्यसैले मैले रमालाई सम्झेर धेरै मुत्तक, गजल र कविताहरु लेखें । कतिसम्म भने रमाको बारेमा लेखिएका सबै मेरा रचनाहरु मैले एउटा नोटबुकमा लेख्ने र संकलन गर्ने गरेको थिएँ । कति प्रकाशित भए, कति अप्रकाशित । कति लोकप्रिय भए, कति औसत वा औसत भन्दा पनि कमी ।
म कार्यालयबाट सिधै घर गएँ । रमासँगको वार्तालापले मेरो मन दुखेको थियो । मनमा अनेक शंका, उपशंकाहरु उब्जिएका थिए । मेरो मन विचलित भए पनि आफू भने निष्कलंक र निर्दोष साबित हुने पुरै बिस्वास थियो । मलाई लाग्यो जुन कुराहरु रमालाई
सुनाइयो र रमाले मलाई भनिन, त्यो केवल भ्रम मात्रै हो । म के हुँ मलाई थाहा छ । म कस्तो छु केवल मलाई थाहा छ । मेरो मन, मेरो चरित्र र मेरो इमान्दारिता मलाई मात्रै थाहा छ । त्यसैले म डगमगाउनु पर्ने र आत्तिनु पर्ने कुनै सवाल थिएन ।
घर पसें । सरासर पढ्ने कोठामा छिरें । मैले रमाको लागि लेखेको रचनाहरु संकलन
गरेको नोटबुक खोजें
। तर भेटिएन । मेरी धर्मपत्नी अप्सरालाई सोधें । उनले उक्त नोटबुक हालसालै पढेको र कतै राखेको जवाफ दिइन । मलाई पक्का भयो, अप्सराले त्यही नोटबुक पढेर रमालाई फोन गरेको र मेरो र रमाको सम्बन्धको बारेमा
प्रश्न गरेको अनि रमा र मलाई गलत ठानेको ।
मैले अप्सरालाई सबै कुरा बताएँ । रमाको र मेरो मित्रता र कामको इतिहास बताएँ
। रमाको घर, परिवार र उनको जीवनको बारेमा बताएँ
। मैले अप्सरालाई यो कुरा पनि बताएँ की म साहित्यकार हुँ । म कल्पनालाई रचनामा उत्तार्छु । म सुन्दरताको बख्यान कविता,
गीत, गजल र मुत्तकमा गर्छु । मेरो मन कहिले यता जान्छ, कहिले
उता जान्छ । साहित्यकारको रुपमा जता गए पनि मेरो मन सिर्जनामा जान्छ ।
अप्सराले मसँग माफी मागिन । उनले मेरै अगाडी रमालाई फोन गरिन । भ्रमको लागि, शंकाको लागि, फोनको लागि, जानी नजानी पर्न गएको असुविधाको लागि क्षमा याचना गरिन ।
रमाले पनि त्यसलाई स्वीकार गरिन । मलाई लाग्यो, मैले पनि अप्सरालाई रमाको बारेमा पहिले
नै सबै कुरा प्रस्टसँग भनेको भए त्यस्तो भ्रम पर्दैनथ्यो होला ।
आखिर क्षणिक रुपमा जे भयो, सबैको लागि पाठ भयो । मैले पनि यो एउटा सानो परीक्षाको रुपमा लिए । मलाई थाहा छ जीवन परीक्षा हो । हामी जीवनमा एक पटक हैन सयौ पटक परीक्षा दिन्छौ । कहिले पास हुन्छौ, कहिले फेल । तर, पाठ सिक्ने अवसर भने सबै परीक्षामा मिल्छ जीवनमा ।
मैले ठानें, रमा र अप्सरा प्रतिको मेरो धारणा गलत रहेनछ । मान्छेको मन नै हो भ्रममा पर्छ । जानी नजानी कसैलाई चित्त दुखाउँछ । तर पनि निश्चल र निर्मल मन सधैं सफा नै हुन्छ । असल मनले केही गलत गरे माफी माग्छ । अनि, त्यस्तो नदोहोरिने
प्रतिबद्दता पनि गर्छ । त्यस्तै रमा र अप्सराले पनि गरे, जस्तो मैले अपेक्षा राखेको
थिएँ ।
………………………………………………………………………..
No comments:
Post a Comment