Wednesday, 24 January 2018

लघुकथा: तिमीलाई पाउन सकिन

- डा. बच्चु कैलाश कैनी

धेरै पछि मेरो कलेज पढ्दा कि मेरी मिल्ने साथी  सुष्मासँग गत हप्ता  मेरो भेट भयो । त्यो पनि हाम्रो एकजना मिल्ने साथीको छोराको बिहेको अवसरमा । धेरै पछि भेट भएको, सुख दुखको कुरा भए । जागिर, घर परिवार, छोराछोरी, उति बेलाको जिन्दगी, अहिलेको ब्यस्त जिन्दगी आदि सबै कुरा गर्न केही बाँकी रहेन ।  मेरो साहित्य प्रतिको रुचि, कथा, कविता लेख्ने बानीको बारेमा पनि चर्चा भयो ।

मधुपर्क मासिकमा मैले लेखेको कथा 'तिमीलाई पाउन सकिन' गत महिनाको अंकमा छापिएको थियो । सधैं व्यस्त रहने सुष्माले कतै कथाको केवल शिर्षक मात्रै हेरेकी रहेछिन । प्रसङ्गबस सुष्माले मलाई सोधिन, 'यो तिम्रो आफ्नै कथा हो?' मैले उसलाई प्रतिप्रश्न गरेको थिएँ, 'तिमीलाई के लाग्छ?' उसले भनेकी थिई, 'मलाई त्यस्तै लाग्छ, यो तिम्रो आफ्नै सत्य कथा तिमीले रचनामा उतारेको हुनु पर्छ ।' 

मैले भनें, 'ठिक हो । यो मेरो आफ्नै कथा हो । आफैंले भोगेको कुरा कथामा उतारेको हुँ ।'

सुष्माले भनिन, 'तिमीले अझै पनि उसलाई बिर्सन सकेको रहेनछौ है ?' म अलिकति झस्कें र भनें, 'तिमीले यो के भनेको?' उनले भनिन, 'तिमीले बिर्स्यौ ? कुनै दिन तिमीले मलाई कलेजमा रचनाको बारेमा के भनेको थियौ?' मैले मनमनै सोचें, कुरा त्यस्तो पो ? म आफैले बिर्सेको कुरा उसलाई भने ताजा नै रहेछ ।

करिव तीस बर्ष अघि म कलेज पढ्दा मेरो मनले चाहेकी मेरी मनकी प्रेमिका रचनालाई मैले माया गर्छु भन्ने उसलाई सायद थाहा पनि थिएन होला । किनको यो मेरो मात्रै एकोहोरो प्रेम थियो । म उसलाई एकदम मन पराउथे ।  मैले औपचारिक रुपमा प्रस्ताव नै गरेको भए पनि  न त उसले मेरो लागि समाज र उसको परिवारको चुनौती स्वीकार गर्न सक्थि, न म नै आर्थिक रुपमा सबल र सक्षम थिएँ । त्यसैले पनि म उसलाई पाउन सक्ने अवस्थामा थिईन र मेरो मनको कुरा कहिले पनि यथार्थमा परिणत हुन सकेन ।

उति नै बेला मैले एकदिन सुष्मालाई यो कुरा भनेको थिएँ । त्यसैले उसलाई लागेको हुन सक्छ मैले लेखेको कथा मेरो आफ्नै कथा हो ।

खास मैले लेखेको कथा 'तिमीलाई पाउन सकिन' गत बर्ष नेपाली कथा प्रतिष्ठानले आयोजना गरेको  राष्ट्रिय कथा लेखन प्रतियोगितामा शिर्ष पाँच  स्थानमा पुगे पनि मैले राष्ट्रिय पुरस्कार पाउन नसकेको सन्दर्भमा लेखेको थिएँ । त्यो कथा मैले कुनै प्रेमिका पाउन नसकेको कथा थिएन । त्यो कथा त कसरी जालझेल गरेर राम्रालाई हैन, हाम्रालाई पुरस्कार दिने प्रचलन छ र त्यसको प्रभाव लेखक र पाठकलाई कसरी पर्छ भन्ने कुराको बर्णन थियो । 

मैले यो कुरा सुष्मालाई सुनाए पछि हामी दुवै जना खित्का छोडेर हास्यौ । मैले झन्डै बिर्सेको कुरा सुष्माले मलाई सम्झाएकोमा मैले उसलाई धन्यवाद दिएँ । मनमा नै भए पनि एकछिन फेरी रचनालाई सम्झें र आफ्नो मनलाई तीस बर्ष अघि लगें ।


मलाई लाग्यो, कथा नपढे पनि कसरी कथाको शिर्षकले मानिसलाई आकर्षित गर्छ र पाठकवर्गले लेखकको बारेमा धारणा बनाउन सक्छन । मैले एउटा पाठ सिकें, कम्तिमा कथा नपढे पनि कथाको शिर्षक मात्रै हेर्ने, त्यसको चर्चा गर्ने र मन पराउने वा नपराउने पाठक पनि यहाँ हुने रहेछन । अनि अर्को तथ्य पनि थाहा भयो, कुनै कथा लेख्यो भने त्यसलाई आफ्नै कथा लेखेको भनि ठान्नेको कमि पनि रहेनछ ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...