-
डा. बच्चु कैलाश कैनी
मेरो जीवनमा एउटा बिश्वास छ, 'एकदम राम्रो हुने आशा गरौ, तर एकदम खराव परिणामको लागि तयारी गरौ!' अर्थात 'होप फर द बेस्ट, प्रेपर फर द बेस्ट!' म यो कुरामा एकदम बिस्वास गर्छु
। म जे काम गर्छु एकदम मेहेनतका साथ गर्छु र जहिले पनि मेरो काममा तगारो आउन सक्छ वा जस्तो पनि खराव परिणाम आउन सक्छ भन्ने कुरा मनमा राखेर म पूर्व तयारी गर्छु । त्यसैले म जहिले पनि आफूलाई धेरै कुराहरुमा सकारात्मक
रुपमा हेर्छु र त्यसै अनुसार काम गर्छु । तरपनि, कुनै भवितव्य पनि आउन सक्छ भन्ने कुरामा म सचेत पनि हुन्छु ।
कुनै पनि कुरामा अन्तिम परिणाम
हेर्ने हो भने सफल हुने वा असफल हुने कुरा आफूमा मात्रै हैन अन्य धेरै कुराहरुमा भर पर्छ । कामको सफल परिणाम आउने कुरा
आफ्नो मेहेनत वा काम, काममा अरुको सहयोग, आन्तरिक
वा बाह्य तत्व, सरकारी वा बाह्य सरकारी वातावरण आदि कुराहरुमा भर पर्छ । तरपनि कुनै पनि काममा आफूले सक्ने सम्मको मेहेनत
गर्नु पर्छ र सफल हुने कुरामा आत्माविस्वास पनि राख्नु पर्छ ।
म नेपालको अहिलेको सन्दर्भमा भन्नु
पर्दा के भन्छु भने धेरै कुराहरुका सकारात्मक सोच राखे पनि आशा गर्ने धेरै कुरा भने छैनन । त्यसका पछाडी मेरो व्यक्तिगत अनुभव, नेपालको राजनीतिक
दलका नेता तथा कार्यकर्ताहरुको भूमिका, सरकारी
संयत्र, सर्वसाधारण जनताको
सोच र भूमिका, नेपालको श्रोत र साधनकको वर्तमान अवस्था
आदि धेरै कारणहरु छन् ।
नेपालमा धेरै क्षेत्रमा आशाका किरणहरु देखिएका
छन् । नेपालको प्रगति र आर्थिक विकासको लागि मान्छेहरु
धेरै आशावादी र सकारात्मक पनि छन् । नेपालमा स्थिर सरकार आएको छ । लोकतन्त्र, संघियता र समावेशिताको युग सुरुवात भएको छ । प्रदेश प्रदेश बिच अब आर्थिक विकास र सम्वृद्धिको लागि प्रतिस्पर्धा गर्नु पर्ने अवस्था छ । अब राजनीतिक माग, लोकतन्त्र र गणतन्त्रका लागि संघर्ष गर्नु
पर्ने दिन छैनन् । क्षेत्रीयताको कुरा सेलाएका छन । हरेक कुराको लागि जनताको कठाघरामा उभिनु
पर्ने स्थिति छ । नागरिक सचेत भएका छन् । युवाहरु जुर्मुराएका छन् । हरेक तप्का र तहमा पारदर्शिताको
कुरा उठेको छ । आफ्नोको लागि मात्रै केही गर्नेहरु अब सबैको लागि सोच्नु पर्ने अवस्था छ । त्यसैले, सबैमा आशाका त्यान्द्रो जगाएका छन् ।
यसो हुँदा हुँदै पनि नेपालमा विगतमा धेरै आयोजनाहरुको कार्यान्वयनमा भएको ढिलासुस्ती, राजनीतिक दलको मनोदशा र प्रवृति,
सरकारी निकायको क्षमता र कार्यशैली, आमनागरिकको मनोवृति आदि कारणले गर्दा भने जस्तो आर्थिक विकास
र सम्वृद्धि हासिल गर्न निकै चुनौतीहरुको सामना गर्नु पर्ने देखिन्छ । तसर्थ, अहिले नै धेरै कुराहरुमा सफलता प्राप्त गर्ने र सम्वृद्धि हासिल गर्ने कुरामा आशावादी भए पनि उपलब्धि प्राप्त गर्ने भन्ने कुरा धेरै कारणहरुले भरपर्दो भने छैन ।
हरेक देशको प्रगति र उन्नतिको लागि र देश विकासको लागि धेरै कुराको जरुरत पर्छ । सबै भन्दा पहिले त्यो देशको राजनीतिक नेतृत्व कस्तो
छ र सरकारको नीति तथा कार्यक्रम कस्तो छ भन्ने कुरामा भर पर्छ । देशको निती तथा कार्यक्रम रामो हुँदैमा देशमा आमुल विकास हुन्छ भन्नु पनि मुर्खता हो । किनकी राम्रो निती तथा कार्यक्रम लागु गर्न देशको कर्मचारी संयन्त्र, सबै निकाय र अंग पनि चुस्त, योग्य, दक्ष र पारदर्शी हुनु आवस्यक छ । त्यति मात्र हैन हरेक तह र निकायका जननिर्वाचित प्रतिनिधिहरु
पनि त्यतिकै कुशल,
नैतिकवान, पारदर्शी, मेहेनती
र जनता प्रति उत्तरदायी हुनु जरुरत छ ।
हुनत कतिपय देशको प्रसंगमा एउट्टै
नेताले देशको उताल पुथल गरेको र देश विकास गरेको प्रसङ्ग हामीले पढेको
र सुनेका छौ । तर त्यसो भन्दैमा देशका हरेक नागरिक र संयन्त्रको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । देश विकास गर्ने, आर्थिक
र भौतिक विकास गर्ने भनेको कुरा चानेचुने कुरा र प्रयासबाट सम्भव हुँदैन । त्यसको लागि हरेक नागरिक, निर्वाचित
प्रतिनिधि, संस्था, निकाय
र अंगको भूमिका एकदम ठूलो हुन्छ ।
असल सोच राख्दैमा सबै कुरा असल हुन्छ वा सकारात्मक परिणाम आउँछ भन्ने हैन । कुनै पनि काम सफलतापूर्वक सम्पन्न गर्नमा
धेरै कुराहरुमा भर पर्नु पर्ने हुन्छ । तरपनि हरेक काममा वा सोचमा राम्रो परिणाम आउने सोचेर सकारात्मक विचार राख्नु पर्ने हुन्छ । अन्यथा, कुनै पनि सफल हुने र सफल परिणाम आउन सम्भव हुँदैन ।
सबैको चाहना छ देशको विकास द्रुततर गतिमा होस् । सबैको घर आँगनमा विकास र सम्वृद्धिको फल आवोस । तर त्यसको लागि मैले के गर्नु पर्छ र मेरो भूमिका के हुन्छ भन्ने सोचाई कसैको छैन । सबैलाई विकास र सम्वृद्धि सरकारले दिनु परेको छ । अरुले नै सबै कुरा गरिदिनु परेको छ । कुनै काम गर्न नियम मिचेर वा घुस दिएर भए पनि सजिलै र सहज रुपमा हुनु परेको छ । आफूले हैन जनप्रतिनिधिले
सबै काम गरिदिनु परेको छ । त्यस्तो अवस्थामा
आशा गरे पनि भर पर्ने अवस्था भने छैन ।
प्रशासन, सेना,
प्रहरी, न्यायलय, कर्मचारीतन्त्रमा
पनि राजनीति घुसेको
छ । अधिकांश कर्मचारी कुनै न कुनै राजनीतिक दलको सदस्य छन् वा सदस्य नभए पनि दलको नेता र कार्यकर्ताको चाकडी र चाप्लुसी गरेर दाम कमाउने धन्दामा
लागेका छन् । भनसुन, चाकडी र चाप्लुसी जताततै व्यप्त
छ । निजि क्षेत्र होस् वा सरकारी क्षेत्र कोही कहिँ अछुतो छैन भनसुन तन्त्र, चाकडी
र चाप्लुसीबाट ।
सबैलाई राम्रो हैन हाम्रो चाहिएको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ता एकोहोरो रुपमा आफ्नो
नजिकका र आफ्नो गुटका कार्यकर्तालाई मात्रै आफ्नो देख्ने र आफ्नो ठान्ने थालेको धेरै
भयो नेपालमा । मेहेनत गरेर धन आर्जन गर्नु भन्दा दलाली गरेर, घुस खाएर, कसैलाई रिझाएर दाम आउने ठाउँमा बसेर वा अन्य कुनै दुई नम्बरी धन्दा
गरेर काम गर्नेहरुको बिगबिगी छ । नेपालमा राजनितीलाई कमाउने
पेसा बनाउने धेरै छन् । राजनीति गर्नेहरु सुविधा भोग गर्न, आफ्नालाई जागिर
दिलाउन, ठेक्का पट्टा
दिलाएर पैसा कमाउन, राजनीतिक स्वार्थको लागि पदिय दुरुपयोग गर्न आदि काममा केन्द्रित छन् ।
कर्मचारीतन्त्रमा अनुशासनहिनता र कामचोर प्रवृती मौलाएको छ । यसको एउटा ज्वलन्त उदाहरण भनेको
सरकारले खटाएको प्रदेश
कार्यालयहरुमा कर्मचारी उपस्थित
हुन अटेर गर्नु पनि एक हो । जब कुनै पनि निकाय वा कार्यालयका कर्मचारी नै असल, मेहेनती र इमान्दार छैनन् भने सरकार जति सक्रिय भए पनि देश विकास, आर्थिक क्रान्ति
र सम्वृद्धिको सपना साकार हुन कठिन हुन्छ ।
तरपनि इमान्दारपूर्वक लगनशील भएर प्रतिबद्धता अनुसार काम गर्ने हो र सबै निकाय, तह र तप्का लाग्ने हो भने धेरै कुराहरु प्राप्त गर्न सम्भब छ । त्यसको लागि आजै देखि म, तपाई, हामी, स्थानिय, प्रदेश र संघीय सरकार, सरकारी र गैह सरकारी निकाय लगायत सबै कम्मर कसेर लाग्नु जरुरी छ । हाम्रो लागि अरुले केही गरि दिन्छन कि भन्ने धारणा त्याग्नु पर्छ । देश विकास र आर्थिक सम्वृद्धिको लागि सबैले आ-आफ्नो पदीय र गैह पदिय जिम्मेवारी र कर्तब्य पालना गर्नु जरुरी छ । अस्वाभाविक रुपमा तिब्र आर्थिक विकास गर्न र सम्वृद्धिको सपना पुरा गर्न सबै निकाय र व्यक्तिले पनि अस्वाभाविक रुपमा काम गर्नु पर्छ । त्यसैले अरुको आशा गरे पनि धेरै भर नपरौ र आजैदेखि आफैले सम्वृद्धिको सपना पुरा गर्न कम्मर कसेर काम गर्न तिर तन, मन र धन लगाउँ ।
(लेखक क्वीन एलिजाबेथ अस्पताल लण्डनमा बरिष्ठ ब्यबस्थापक, डार्टफोर्ड काउन्सिलको काउन्सिलर, र एनआरएन यूकेको सल्लाहकार छन् ।)
No comments:
Post a Comment