- डा. बच्चु कैलाश कैनी
अहिले जताततै सिन्डिकेटको चर्चा छ । हुनपनि किन
नहोस, सर्वसाधारण जनता, ब्यापारी, कर्मचारी एवं संघिय, प्रादेशिक र स्थानिय सरकार सबै
निकायको टाउको दुखाईको बिषय हो सिन्डिकेट । तर, सिन्डिकेट मौलाउन र सिन्डिकेटलाई प्रोत्साहन
गर्न भने राजनीतिकर्मी, कर्मचारी र सरकारका सबै निकाय र जिम्मेवार व्यक्तिका व्यक्तिवादी
प्रवृति, राजनीतिक कुसंस्कार र स्वार्थ नै जिम्मेवार छन् ।
सिन्डिकेट अंग्रेजी शब्द भए पनि यो पुरै नेपालीकरण
भई सक्यो । त्यो पनि अपराध, बलमिच्चाई र मनपरीतन्त्रको पर्यायवाचीको रुपमा । नेपालको
सन्दर्भमा सिन्डिकेट मात्रै हैन त्यस्ता धेरै प्रवृतिहरु छन् जसको जरो नउखालेसम्म देशको
सम्वृद्धि केवल नारामा मात्रै सिमित रहन्छ ।
कुनै पनि व्यक्तिहरु वा संघ-संस्थाहरुको सिमित
समुहको निहित स्वार्थको लागि एकलौटी ढंगले काम गर्न वा अपराधिक क्रियाकलापको लागि सिन्डिकेट
खडा गरिन्छ । सिण्डिकेट लागु भएको अवस्थामा अर्थ सरकार, जिम्म्मेवार निकाय र व्यक्तिहरुलाई
कुनै न कुनै प्रभावमा पारेर नाफा आर्जन गर्ने, उपभोक्ताहरुलाई ठगि गर्ने, कर नतिर्ने र अन्य अपराधिक क्रियाकलाप
हुन सक्छन ।
हरेक मुलुक जति सुकै विकसित र सभ्य किन नहोस,
त्यहाँ अपराधिक क्रियाकलापहरु हुन्छन । तर त्यस्ता अपराधिक क्रियाकलापको नियन्त्रण
गर्न सरकारले कत्तिको प्रयास गरेको छ, त्यस्तो प्रयासमा कति सफल छ र त्यस्ता क्रियाकलाप
गर्नको लागि हरेक निकाय र व्यक्तिको भूमिका कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । मौकामा फाईदा उठाउनेहरु, आफ्नो स्वार्थ खोज्नेहरु,
अस्थिर र कमजोर सरकार र ब्यबस्थामा चलखेल गर्न खोज्नेहरु जतातेतै हुन्छन । फरक के मात्र
हो भने कहीं धेरै हुन्छन, कहीं कम हुन्छन र कहीं विधिको शासनले त्यस्ता क्रियाकलापहरुलाई
नियन्त्रण गर्छ भने कहीं नियन्त्रण हुन सक्दैन ।
सिन्डिकेटको सन्दर्भमा कुरा गर्ने हो भने सबै
भन्दा महत्वपूर्ण कुरा किन र के कारणले सिन्डिकेट मौलाउँछ भन्ने कुरा थाहा हुनु जरुरी
हुन्छ । अनि मात्रै त्यसको नियन्त्रण गर्न सकिन्छ । सिन्डिकेट नियन्त्रण गर्ने र निर्मुल
पार्ने मुख्य जिम्मा सरकार वा सरकारी निकायको हो । अरु जस्तै सर्वसाधारण जनता, गैह्र
सरकारी निकाय, व्यवसायी आदि त्यो प्रयासमा सहयोगी मात्रै हुन ।
देशमा सिन्डिकेट र एकाधिकार अन्त्य गर्ने नियम
कानून भए पनि किन मौलाएको छ सिन्डिकेट ? यसको उत्तर सहज छ । राजनीतिक संरक्षण, कमिसनतन्त्र,
घुसखोरी, कर्मचारीसंग मिलिमोतो, राजनीतिक दलहरुलाई दिईने चन्दा,व्यवसायी र ठूलाबडाहरुको
दादागिरी आदि सिन्डिकेट मौलाउनुको मुख्य कारणहरु हुन ।
यस्तो अवस्थामा राजनीतिक प्रतिवद्धता, सरकारी
निकायद्वारा नियम कानूनको कठोर कार्यन्वयन,
स्थानिय निकाय र जनताको सक्रियता र सजकता, सुशासन र सुसंस्कार बिना सिन्डिकेट प्रथा
अन्त्य हुन सक्दैन ।
नेपालमा सुशासनको कुरा भएको धेरै बर्ष भयो । २०४६
सालमा बहुदल वा प्रजातन्त्र आए पछि राजनीतिकर्मीहरुले बारम्वार उच्चारण गर्ने यो शब्द र लोकतन्त्र आए पछि सबैको सामु निकै लोकप्रिय
भयो । यसै सन्दर्भमा भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता भन्ने नारा सबै सामु निकै प्रख्यात
पनि छ । देशमा सुशासन कायम गर्न र र भ्रष्टाचार नियन्त्रण गर्नको लागि चाहिने सबै निकाय,
कर्मचारी र बजेट पनि उपलब्ध छन् । नेपालमा सुशासनको लागि तालिम दिने र परामर्श उपलब्ध
गराउने गैह्र सरकारी निकायहरु पनि थुप्रै छन् । तर, यो बिषयमा अहिले सम्मको प्रगति
हेर्ने हो भने निकै निराशाजनक छ ।
सबैको सामु अहिले पनि उही प्रश्न छ जुन पंचायत कालमा थियो । देशमा किन सुशासन कायम हुन सकेको छैन ? पहिले जस्तो अहिले पनि किन उस्तै निराशाजनक खवर आउँछन ? जनप्रतिनिधि
र कर्मचारी मृतकको नाममा किन बृद्ध भत्ता लिन्छन ? किर्ते योजनामा
अहिले पनि किन बजेट खर्च हुन्छ? जनसम्पर्क हुने सरकारी निकायहरुमा किन घुस बिना काम हुँदैन ? राम्राले हैन हाम्राले मात्रै किन मौका पाउँछन् ? हरेक क्षेत्रमा किन बिचौलियाको बिगबिगी
छ ?
यी र यस्तै सयौ प्रश्नहरु अहिले पनि उस्तै रुपमा उठ्दैछन । सबै जिम्मेवार निकाय,
व्यक्ति र संस्थाहरुलाई यी समस्याहरुको बारेमा राम्रोसंग थाहा पनि छ । तरपनि सुधारको संकेत
भने अझै देखिएको छैन ।
सुशासन कायम गर्न, सिन्डिकेट प्रथाको
अन्त्य गर्न
र देशलाई सम्वृद्धिको मार्गमा दौडाउन
एउटा कुरा निकै महत्वपूर्ण हुन्छ । त्यो हो सुसंस्कार । संस्कार भनेको त्यस्तो कुरा हो, जुन एकै दिन, महिना वा बर्षमा सिक्न सकिंदैन । न त कुनै एक जना व्यक्ति, एउटा निकाय वा सिमित समूह र व्यक्तिले नै यो सिकाउन सक्छ । सुसंस्कारको बानि बसाल्नको लागि हरेक व्यक्ति, परिवार, समाज, संस्था र निकाय उत्तिकै रुपमा सक्रिय, सजक र प्रतिबद्द हुनु जरुरी छ ।
सुसंस्कार एउटा निरन्तर अभ्यास हो । यो मनको ठोस प्रतिबद्धता हो । सबै भन्दा ठूलो कुरा सुसंस्कार भनेको सही कुरा सोच्नु, सही कुरा बोल्नु र सही कुरा व्यवहारमा लागु गर्नु पनि हो । यो हरेक व्यक्ति, परिवार, समाज र निकायले सही रुपमा सोच्न, बोल्न र गर्न सके मात्रै समाजमा
परिवर्तन आउँछ । र, त्यसको शुरुवात हरेक व्यक्तिले आफैले
गर्नु जरुरी छ ।
जुन बेलासम्म कुनै मानिस घुस दिन तयार हुन्छ, घुस लिने व्यक्तिको अभाव हुँदैन । जुन बेलासम्म राजनीतिकर्मीहरु
ब्यापारी, एजेन्ट वा ठेकेदारहरुसंग चन्दा मागेर चुनाव जितेर सुशासन कायम गर्ने र सिन्डिकेट अन्त्य गर्ने
भाषण गर्छन त्यो बेलासम्म सुशासन कायम हुन सक्दैन र सिन्डिकेट प्रथा चलिरहन्छ । जुन बेलासम्म कर्मचारीसंग घुस लिएर आफ्नालाई भन्सार, एयरपोर् वा अरु कुनै पैसा आउने ठाउँमा सरुवा गर्ने प्रचलन हुन्छ तब सम्म सुशासन कायम हुन सक्दैन । जव सम्म कुनै व्यक्ति आफूलाई सक्षम नबनाई भनसुनको भरमा जागिर खोज्न भौतारिन्छा वा कोही जिम्मेवार व्यक्ति
आफ्ना लाई मात्रै जागिर दिन तम्सिन्छा तब सम्म सुशासन कायम हुन सक्दैन ।
तसर्थ पनि, सुशासन कायम गर्नको लागि हरेक व्यक्ति, परिवार, समाज र निकायले सुसंस्कारको नियम आफ्नै जीवन, तह र निकायबाट आजै देखि लागु गर्नु जरुरी छ । कुनै कुरा बोल्दैमा, योजना बनाउदैमा वा कहीं लेख्दैमा हुने भए नेपाल आज बिश्वको एउटा सम्पन्न मुलुक
हुने थियो । नेपालीहरु आज अरु मुलुकमा श्रम गर्न हैन, अरु मुलुकमा मानिस नेपालमा श्रम गर्न आउंथे ।
सरकार व्यक्तिहरुको
समूह हो । उनीहरु तपाई हामीले नै मत दिएर निर्वाचित भएका जनप्रतिनिधिहरु
हुन । त्यसैले सरकार छान्न, सुशासन
कायम गर्न, सिन्डिकेट प्रथाको अन्त्य गर्न अरुको मात्रै हैन तपाई हामी सबैको सुसंस्कार, असल विचार, सही काम र ठोस प्रतिबद्धताको आजैदेखि जरुरत छ । अनि मात्रै हामी सबैले सोचेको सम्बृद्ध नेपालको
सपना साकार हुनेछ ।
(लेखक क्वीन एलिजाबेथ अस्पताल लण्डनमा बरिष्ठ ब्यबस्थापक, डार्टफोर्ड काउन्सिलको काउन्सिलर, र एनआरएन यूकेको सल्लाहकार छन् ।)
No comments:
Post a Comment