Thursday, 21 May 2020

जीवन सकारात्मक बनाउने अवसर


जीवन सकारात्मक बनाउने अवसर

जीवन सकारात्मक बनाउने अवसर

author-image
डा. f कनी
विचार

अहिले विश्व कोरोना भाइरस महामारीको संकटमा फसेका बेला हामी केवल जिउनका लागि मात्रै जीवन चलाइरहेका छौं। सबै कुरा रोकिएको छ, तर पनि जीवन चलेको छ। कसैलाई थाहा छैन कति बेलासम्म कसरी जीवन चल्ने हो। त्यसैले अहिले सबैलाई लागेको छ जिन्दगी चलिरहन्छ। तर, कसैलाई थाहा छैन भविष्यमा जीवन कसरी चल्छ।
हरेक मानिसको जीवन चलाउने फरक-फरक उद्देश्य भए पनि दलाई लामाले भनेजस्तै जीवन मुख्य उद्देश्य खुसी हुनु हो। संकटको यो बेलामा अहिले यो भनाइ सबैका लागि मिलेको छ। फरक-फरक रीत, आशा, महत्तवाकांक्षा, विचार र उद्देश्य लिएर हिँडेका हामी सबैको एउटा उद्देश्य कोरोना भाइरसबाट बच्नु र जीवनमा खुसीको बहार ल्याउनुछ।
जीवनको बारेमा धेरै कुरा लेखिएका छन्। साहित्य, धर्मग्रन्थ, आख्यान, दर्शनशास्त्र आदि जस्ता धेरै विधामा जीवनको बारेमा धेरै कुरा उल्लेख गरिएको छ। सायद, जीवनको बारेमा जति लेखिएको छ त्यति अरू कुनै विषयमा पनि लेखिएको छैन होला। कतिले जिन्दगी चलाउनका लागि चलाउँछन्। कतिले अरूको जिन्दगी चलाउन मद्दत गर्दै आफ्नो जीवन चलाउँछन्। कतिले आफ्नो जिन्दगी चलाउन अरूको साथ र सहयोगको अपेक्षा गर्छन्। आजको अवस्थामा त्यस्तो अपेक्षा कतिको लागि अनिवार्य भएको छ। जीवनमा कठिन परिस्थितिको सामना गर्नुपरेको हुनाले व्यक्ति, समाज वा राष्ट्रबाट त्यस्तो सहयोगको अपेक्षा राख्नु स्वाभाविक पनि हो। यस्तो कठिन परिस्थितिमा जिन्दगी चलाउन सहयोग लिने र दिने दुवै पक्षको परीक्षण हुँदैछ। मानसिक वा भौतिक रूपमा सहयोग गर्दै कसैको जिन्दगी चलाउन सहयोग गर्ने र मानवीयताको परिचय दिने मौका पनि यही हो।
जिन्दगी आफैं चल्छ तर माथि उल्लेख गरिएको प्रसंगमा जिन्दगी आफैं चल्दैन पनि। जीवन चलाउन अरू धेरैको साथ र सहयोग सहयोग पाउनु जरुरी हुन्छ। विश्वमा कोरोना भाइरसबाट संक्रमित लाखौं बिरामी स्वास्थ्यकर्मी, अस्पताल र प्रविधिको सहयोगमा जीवन र मृत्युको दोसाँधमा बाँचिरहेका छन्। लाखौं स्वयंसेवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी आदि मानिस अरूलाई संक्रमणबाट बचाउन र मान्छेको जीवन बचाउन दिन-रात खटिएका छन्। कसैको सहारामा जीवन चलेको यो त एउटा उदाहरण मात्रै हो।
आपतविपत् परे पनि जिन्दगी चलिरहन्छ। तर, सहज र सफल जिन्दगी चलाउन धेरै कुरा सिक्नु जरुरी हुन्छ। यो संकटको बेला समयले नयाँनयाँ कुरा सिकाएको छ। जीवन दर्शन, आपसी भाइचारा, पारिवारिक सामिप्यताको महत्तव, धैर्यता, माया, मोह आदि कुरामा नयाँ-नयाँ दृष्टिकोणबाट चर्चा गर्न थालिएको छ। मानिसको भोगाइअनुसार समयले सिकाउँदो रहेछ जीवन जिउने कला।
जिन्दगीमा आफैंले बोलेको आफैंले मात्रै सुन्ने हो भने केही सिक्न सकिँदैन। केही सिक्न धैर्यतापूर्वक सुन्ने बानी पनि बसाउनुपर्छ। यो संकटको बेला वा मानिसको धैर्यताको परीक्षण भइरहेको बेला जीवन चलाउन केही आधारभूत तर महत्तवपूर्ण कुरा सिक्ने मौका पनि हो। आफ्ना लागि मात्रै हैन, आफ्नो परिवार, समाज, संकटमा जकडिएको समूह, राष्ट्र र सम्पूर्ण मानव र जगतका लागि केही गर्ने मौका हो यो। अर्थात जिन्दगी चलाउने चुनौतीलाई अवसरमा बदल्ने मौका हो।
सबैका लागि जिन्दगी चलाउने क्रममा जीवनको कयौं मोडमा खुसीका क्षण मात्रै हैन, समस्या पनि आइपर्छन्। समस्याबाट भाग्ने हो भने जीवनको अर्थ छैन। त्यसैले जीवन चलाउनु भनेको समस्यालाई भोग्नु र समस्यासँग जुध्नु पनि हो। आफ्नो कर्म गर्नु छँदैछ, सफल र असफल हुने कुरा केवल परिणाम हो। अर्थात गीतामा उल्लेख गरेजस्तै ‘कर्म गर फलको आशा नगर’ भनेजस्तै हो जीवन।
साइकल चढेजस्तै हो जिन्दगी चलाउनु। यदि साइकल सन्तुलित बनाउने हो भने चलाउनुपर्छ, स्थिर साइकलबिना आढ वा भरोसा ढल्छ। जब जीवन स्थिर हुन्छ सबै समाप्त हुन्छ। लाग्छ, कोरोना भाइरसको कारण संसार रोकिएको छ तर साइकलरुपी जीवन
कुनै न कुनै रूपमा आरोह वा अवरोह, सुख वा दुःख, सन्तोष वा असन्तोष भोग्दै वा पार गर्दै गन्तव्यतिर हिँड्दैछ। हो, यो अवस्थामा पनि सबैको जिन्दगी चलिरहेको छ।
जिन्दगीलाई कसरी हेर्ने सबैको आआफ्नै दृष्टिकोण, विचार र सोचाइ छन्। आफ्नो भोगाइ र महत्तवाकांक्षाले निर्धारण गरेको मापदण्डअनुसार परिभाषित हुन्छ मान्छेको जिन्दगीको अर्थ वा जिन्दगीको सफलता र असफलता। अहिले संकटको अवस्थामा पनि त्यस्तै छ। कसैलाई दुई छाक टार्नु नै जिन्दगीको सफलता हो, कसैलाई आफ्नो र आफन्तको सुरक्षित बसाई नै जिन्दगीको उद्देश्य हो। कसैलाई घरबाट निस्कनु ठूलो रहर होला त कसैलाई काममा फर्कनु।
जान्ने हो भने सरल रूपमा चलिरहन्छ जिन्दगी। मान्छेको जीवन आफैंले जटिल बनाएको हो। जटिल यो हदसम्म कि न मान्छेलाई आफ्नै विगत हेर्ने फुर्सद छ न वर्तमानमा जिउने फुर्सद नै छ। न आफ्नाको ख्याल राख्ने सोच छ, न समाजको। मान्छे केवल भविष्यका लागि, पद, पैसा र शक्तिको पछाडि दौडेको छ। जसले गर्दा मानवीय संवेदनामा थप चुनौती देखापरेको छ। कोरोना भाइरसको कारण देखापरेको संकटले मान्छेलाई यी कुरामा सोच्न बाध्य पारेको छ।
खुसी जीवन बाँच्न पैसा, पेसा र सफलताको खासै हात हुँदैन भन्ने सिकाएको छ यो संकटले। पैसा जीवन जिउन चाहिने स्रोत हो तर मान्छेको खुसीका लागि चाहिने अपरिहार्य साधन हैन भन्ने किताबमा पढ्ने हामी सबैलाई यो आफैंले भोग्ने मौका मिलेको छ। कति भन्दैछन्, एउटा अदृश्य भाइरसले सारा संसार हल्लाएर मानवीय सभ्यतालाई चुनौती दिन सक्छ भने अरू धन, सम्पत्ति, लोभ लालच को के कुरा गर्नु ?     
भगवान गौतम बुद्घले भन्नुभएको थियो ‘स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, खुसी सबैभन्दा ठूलो धन हो र वफादारी सबैभन्दा ठूलो सम्बन्ध हो।’ यो संकटको अवस्थामा सबैलाई आफ्नो स्वास्थ्यको चिन्ता छ। कसरी स्वस्थ रहने र आफ्नो स्वास्थ्यको प्रतिरक्षा प्रणाली दह्रो पार्ने चिन्ता छ सबैलाई। अहिले बाँचिएपछि सबै कुरा भोग्न र देख्न पाइन्छ। धन-दौलत सबै ब्यर्थ भइसक्यो यदि कोरोनाको त्रासमा जिन्दगी बाँच्ने हो भने। अहिले सबैलाई बोध हुँदैछ, परिवारभन्दा ठूलो अरू केही रहेनछ। सबैले जीवनमा अहिले स्वास्थ्य, खुसी र सम्बन्धलाई जोड दिन थालेका छन्।
जीवन एकपटक मात्रै बाँचिन्छ। जीवन भोग्ने कुराको कुनै ग्यारेन्टी छैन। जीवन एकपटक बाँच्नु नै काफी छ, सही जीवन जिउने हो भने। त्यसैले जीवन चलिरहन्छ तर कसरी चलाउने त्यो आफैंमा भर पर्ने कुरा हो। सकारात्मक सोच्ने, सबैको हितका लागि काम गर्ने र जिन्दगी चलाउने मौका हो यो। सास रहेसम्म चल्ने यो जिन्दगी सार्थक वा निरर्थक बनाउने काम आफ्नै हो।
-डा. कैनी लन्डनस्थित आर्डेन विश्वविद्यालयमा स्वास्थ्य व्यवस्थापन विषयका सहप्राध्यापक छन्।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...