ननकोभिड बिरामीको उपचारलाई कसरी सहज बनाउने ?
क्लिनिकल परीक्षण गर्नुपर्ने दीर्घ रोगीहरू फलोअपका लागि अस्पताल आउनै पर्ने चिकित्सकहरू बताउँछन् । बिरामीहरू भने जचाँउन अस्पताल जादाँ उल्टै कोरोना संक्रमण हुन्छ की भन्ने त्रासले उपचार नगराई बसिरहेका छन् । यस्तो अवस्थामा नन कोभिडका बिरामीको उपचारलाई कसरी सहज बनाउने भन्ने सम्बन्धमा हामीले विज्ञहरूसँग सुझाव लिएका छौ। हामीले जनस्वास्थ्य विज्ञ डा.शुरेस तिवारी र लन्डनस्थित क्विन एलिजावेथ अस्पतालका वरिष्ठ व्यवस्थापक र आर्डेंन विश्वविद्यालय, लन्डनका स्वास्थ्य व्यवस्थापन विषयका सह–प्राध्यापक डा.बच्चुकैलाश कैनीसँग कुरा गरेका छाैँ।
डा.शुरेश तिवारी
काठमाडौं लगायत ठूला शहरहरूमा संक्रमण बढिरहेको छ । संक्रमितहरू अस्पताल वा घरमै आइसोलेट भएर बस्ने नियम अहिले छ । नेपालका धेरै जनघनत्व भएका शहरमा काठमाडौं लगायतमा घरमा आइसोलेसनमा बस्न निकै समस्या देखिन्छ । यहाँ धेरै मानिसहरू एउटै घरमा डेरा गरी बसिरहेका छन् । एउटै फ्ल्याटमा छुट्टा–छुट्टै कोठामा २–३ परिवारसम्म बसिरहेका छन् । उनीहरूले एउटै शौचालय प्रयोग गर्नुपर्छ, एउटै धारा प्रयोग गर्नुपर्छ । यी कारणले गर्दा धेरै संक्रमितहरू सुरक्षित तरिकाले घरमा आइसोलेट भएर बस्न व्यवहारीक छैन ।
संक्रमणपछि हुने तनावमा आइसोलेट भएर बस्ने सुरक्षित वातावरण नहुँदा थप तनाव थपिन्छ ।
सबै संक्रमितलाई अस्पताल भर्ना गर्न सम्भव पनि छैन जरुरी छैन, अस्पतालमा सबै संक्रमितलाई भर्ना गर्न खोज्दा अस्पतालमा भीड हुन्छ र स्वास्थ्यकर्मीले सबैको राम्रो रेखदेख गर्न पनि कठिन हुन्छ । उनीहरूमा तनाव थपिन्छ ।
त्यसैले धेरै जनघनत्व भएका स्थानहरूमा तुरुन्तै १ लाख क्षमताको आइसोलेसन सेन्टर बनाउनु आवश्यक छ । आइसोलेट भएर बस्न सामथ्र्य नभएका व्यक्तिहरूलाई व्यवस्थापन गर्न अब ढिला गर्नुं हुँदैन । ती आइसोलेसन सेन्टरहरूमा रहने संक्रमितहरू सबैलाई २४ सै घण्टा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखौँ । बस्न
सम्भव भएकालाई अक्सिजनको व्यवस्था गरेर सामान्य र मध्यम संक्रमितलाई घरमा नै २४ सै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राखौँ । प्रत्येक आइसोलेसन सेन्टरमा एम्बुलेन्स र अक्सिजनको प्रबन्ध मिलाएर संक्रमितहरूको व्यवस्थापन गर्न सके संक्रमण फैलनबाट रोक्न सकिन्छ ।
अहिलेको अवस्था हेर्दा संक्रमण समुदायमा गइसकेको छ, त्यसैले हामीले सोही अनुसार तयारी गर्नुपर्छ । हुनत कोरोना भाइरस संक्रमण उपचार तथा नियन्त्रणका लागि नेपाल विश्वव्यापी मापदण्डअनुसार नै चलिरहेको छ । तरपनि नेपालले आफ्नो देशको अवस्था हेरेर सोही अनुसार अघि आवश्यक छ । त्यसैले निर्मम निर्णय गर्दै सरकारले जनस्वास्थ्य संकटकाल लगाएर अहिलेको अवस्थालाई नियन्त्रणमा लिनुपर्छ ।
ननकोभिडका बिरामीको व्यवस्थापन कसरी ?
हामी कोरोनामा केन्द्रित हुँदा ननकोभिडका बिरामीको व्यवस्थापन ओझेलमा परिरहेको छ । अन्य संक्रामक रोगहरू क्षयरोग, एड्स तथा मुटु, मिर्गौला, दम, क्यान्सर लगायतका दीर्घरोगका बिरामीहरू अस्पताल आउन नसक्दा मारमा परेका छन् । डाक्टरले बोलाएको समयमा नियमित फलोअपमा जान ढिलाई गर्दा उनीहरूको क्लिनिकल परीक्षण हुन सकिरहेको छैन । यसले बिरामीका मुख्य अंगहरूले काम नगर्ने अवस्थामा पुग्नसक्छ र बिरामीको मृत्युसमेत हुनसक्छ ।
संक्रामक रोगका बिरामीलाई त प्रत्यक्ष डाक्टरको निगरानीमा औषधि खुवाउनपर्ने हुन्छ। अहिले त्यस्ता धेरै बिरामीले डाक्टरलाई भेट्न पाएका छैनन् । यसको अर्थ, अहिले ननकोभिडका बिरामीको समस्यालाई ठूलो मानिएको छैन । अहिले यसको असर कमजस्तो देखिपनि भविष्यमा अन्य रोगका बिरामीको मृत्युदर बढ्ने निश्चित छ ।
त्यसैले यस्तो अवस्था आउन नदिन निजी अस्पतालहरूले सहकार्य गरेर जानुपर्ने देखिन्छ । निजी अस्पतालहरू एक–आपसमा मर्ज हुन सक्छन् । केही निजी अस्पतालले कोभिडको मात्रै उपचार गर्ने र केहीले ननकोभिडका बिरामीलाई हेर्ने वातावरण बनाउनु पर्दछ । कोभिडका नाममा हामीले ओपीडी घटाउदै लग्यौँ भने, सिल गर्यौँ भने अन्य रोगका बिरामीको मृत्युदर बढ्नेछ ।
डा.बच्चुकैलाश कैनी
कोरोना भाइरस संक्रमणको समस्या नेपालको मात्रै होइन । सारा विश्वले यसको सामना गरिरहेको छ । केही देशहरूमा संक्रमण घट्दो क्रममा छ भने केहीमा बढिरहेको छ । अहिले नेपालको अवस्था हेर्दा संक्रमण बढिरहेको छ । यो अवस्थामा कोभिडका बिरामीको साथसाथै ननकोभिड बिरामीको व्यवस्थापन गर्न चुनौती छ ।
अहिले कोरोनाको महामारीका बेलामा पनि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले कोभिडका साथसाथै ननकोभिडका गम्भीर बिरामीहरूको पनि उपचार गर्नु परिरहेको छ । आकस्मिक सेवा र वैकल्पिक सेवा दुवै किसिमका सेवाहरू सबैका लागि उपलब्ध गराउनु पर्ने भएकाले क्षमता र स्रोत हेरेर कार्यविभाजन गर्दै प्राथमिकताका आधारमा सेवा दिनुपर्ने हुन्छ ।
वर्तमान अवस्थामा बिरामी आफैं डराएर पनि अस्पताल जान सकिरहेका छैनन् । क्लिनिकल परीक्षणका लागि डाक्टरले भनेको समयमा फलोअपका लागि बिरामीगइरहेका छैनन । यसले बिरामीमा दीर्घकालिन असर देखिनसक्छ, त्यसैले अब ननकोभिडका बिरामीको उपचार व्यवस्थापनका सम्बन्धमा गम्भीर भएर लाग्न जरुरी छ । यसका लागि सर्वप्रथम अस्पतालमा आएर उपचार गरेमा कोभिड संक्रमण हुँदैन भन्ने कुरामा बिरामीको आत्मविस्वास बढाउन आवश्यक देखिन्छ।
त्यसका लागि गर्नुपर्ने कामहरू :
–अस्पतालमा कोभिड र नन कोभिड बिरामीको उपचार छुट्टाछुट्टै ठाउँमा, छुट्टाछुट्टै स्वास्थ्यकर्मीबाट गराउने ।
–स्वास्थ्यकर्मीहरूले कोभिडबाट बच्न पूर्णरुपमा सबै नियम पालना गर्ने, गराउने रसुरक्षित सेवा प्रदान गर्ने ।
–समयमा नै अस्पताल नजाँदा हुने बेफाइदाबारे बिरामीलाई सचेत बनाउने रसुरक्षित तवरले अस्पताल वा स्वास्थ्य संस्थामा जान प्रेरित गर्ने।
–स्वास्थ्यको पहुँच बढाउने र बिरामीका लागि विकल्प दिने । जस्तै: घरबाट फोनमा नै परामर्श लिने वा अनलाइन परामर्श दिनेजस्ता व्यवस्था मिलाउने
–स्वास्थ्य संस्थाहरूलाई सक्रिय राख्न सकेसम्म स्रोत, साधन र जनशक्ति बढाउनुपर्छ ।
–कोरोना महामारी नियन्त्रणमा मेरो पनि जिम्मेवारी छ भन्नी ठानी सबैले साथ, सहयोग र सहकार्य गरी अघि बढाउनुपर्छ ।
No comments:
Post a Comment