कविता: म अब उतै जाने हो!
डा. बच्चुकैलाश कैनी |
आफ्नो दिल दिमाग प्रयोग गरेर
आफ्नै मनले भनेको मानेर
आफ्नो लागि आफैं 'म' भएर
आफ्नै मनलाई सुनेर
सोच विचार गर्ने हो
आफ्नो गन्तब्य आफैं तय गर्ने हो
आफ्नो बाटो आफैं हिंड्ने हो
त्यसैले म अब उतै जाने हो।
कुनै बेला
मेरो सपना पुरा गर्ने
गन्तब्य बेलायत थियो
त्यो पनि मनको निर्णय थियो
आफ्नै रोजाई थियो
उति बेला मेरो मनले
मलाई यता बोलायो
भाग्यले यता डोर्यायो।
महत्वाकांक्षाको भारी बोकेर
आएको यो मान्छेलाई
सुख दु:ख सबै स्वीकार्य थियो
बाटो गाह्रो थियो
काँधमा जिम्मेवारीको भारी थियो
भविष्य अनिश्चित थियो
तथापि मनभरी आशा थियो
र,आफ्नैं क्षमतामा भरोसा थियो।
यता आएर मलाई
भाग्यले जे जस्तो भूमिका दियो
समयले जे जस्तो बनायो
सबै शिरोपर्य भयो
भाग्यले साथ दियो
बेलायतले काम, नाम र दाम दियो
ज्ञान, सिप, अनुभव र दक्षता दियो
मेरो कर्मले आफ्नै शीर ठाडो बनायो।
मन नै हो फेरी बग्न थाल्यो
मातृभूमिको सेवा गर्ने
रहर जाग्न थाल्यो
अहिले नगरे कहिले गर्ने
यस्तै सोच आउन थाल्यो
आफ्नो अन्तरात्मालाई सुन्ने हो
आफैले निर्णय गर्ने हो
त्यसैले म अब उतै जाने हो।
जे होला जस्तो होला
आशावादी हुने हो
निराशालाई पाखा लगाउने हो
आफ्नो मनलाई आफैले सुन्ने हो
आफ्नो गन्तब्य आफैं तय गर्ने हो
आफ्नो बाटो आफैं हिंड्ने हो
त्यसैले म अब उतै जाने हो
पक्कै म फर्केर नेपाल जाने हो।
१८ असोज २०७७, आइतवार (४ अक्टोबर, २०२०)
लन्डन, बेलायत।
No comments:
Post a Comment