अहिले नेपाल कोरोनाको दोश्रो लहरका कारण निकै ठूलो समस्यामा परेको छ। मृत्यु हुनेको संख्या अहिले सम्म कै उच्च छ। संक्रमित हुनेको संख्या पनि पहिलो लहरको भन्दा बढी भई सक्यो। जहाँ पनि कोरोना कै चर्चा छ। सरकारले देशको धेरै शहर र जिल्लाहरुमा निषेधाज्ञा लागु गरेको छ। सबै जसो अस्पतालहरु कोरोनाका बिरामीले भरिएका छन्। गम्भीर बिरामी हुनेको संख्या पनि निकै धेरै छ। आम जनमानसमा त्रास र भय बढेको छ।
सरकारले निजी स्वास्थ्य संस्था र अस्पतालहरुसंग समन्वय गर्नु पर्ने हो, तर हुन सकेको छैन।
शहरी क्षेत्रमा निजी अस्पतालहरुको उपस्थिती बिनाको स्वास्थ्य सेवा अहिले कल्पना गर्न सकिंदैन। त्यति मात्रै हैन धेरै जसो ठूला निजी अस्पतालहरु भरपर्दो र प्रभावकारी सेवा प्रदान गर्न चिनिएका पनि छन्। उनीहरुको सेवा निकै प्रभावकारी पनि छ। यस्तो अवस्थामा कोरोनाबाट संक्रमित बिरामीको उपचार गर्न सरकारले निजी स्वास्थ्य संस्था र अस्पतालहरुसंग समन्वय गर्नु पर्ने हो, तर हुन सकेको छैन। जस्तै शैया ब्यबस्थापन गर्न, थप शैया थप्न, गम्भीर बिरामीहरुको उपचार गर्न, भएका उपकरण, जनशक्ति, श्रोत र साधनको परिचालन र उपयोग गर्न सरकार र निजी क्षेत्र बीच समन्वय गर्नु जरुरी छ।
कोरोना संक्रमितका उपचारका लागि सरकारले केवल शुल्क तोक्दैमा आफ्नो काम पुरा भयो भन्ने मान्नु गलत हो। महामारीको अवस्थामा अहिले निजी अस्पतालहरुबाट उपलब्ध हुने स्वास्थ्य सेवाको गुणस्तर र उनीहरुले लिने सेवा शुल्कको अनुगमन गर्ने जिम्मा पनि सरकारको नै हो। कतिपयका लागि अहिलेको संक्रमण कमाऊ धन्दा बनेको तथ्य सबैको सामु छर्लंग छ। अहिले पनि कतिपयले यही बेला कोरोना संक्रमण रोक्न चाहिने अति आवस्यक सामानहरुमा समेत कालो बजारी र कृतिम अभाव सृजना गरेका छन्।
अहिलेको स्वास्थ्य सेवा प्रणालीमा स्थानीय निकायलाई निकै ठूलो भूमिका दिईएको छ। स्थानीय निकायको भूमिका प्रभावकारी हुन् सकेको छैन। धेरैजसो स्थायीय निकायहरु संग कोरोना संक्रमणका बिरामीको ब्यबस्थापन गर्न प्रयाप्त श्रोत, साधन र आवश्यक योजना छैन। त्यति मात्रै हैन, उनीहरुले पनि पहिलो लहरको ब्यबस्थापनमा के कस्ता कमी कमजोरी भए र अबको दोश्रो लहरमा त्यस्ता कमी कमजोरीबाट सिकेर के कसरी सुधार गर्न सकिन्छ भन्ने छलफल नै भएको छैन।
निषेधाज्ञा कोरोना संक्रमणको चेन ब्रेक गर्ने उपाय हो, तर यो मात्रै समस्याको समाधान हैन। सबैलाई थाहा छ, भारतको कोरोना संक्रमण कै कारण र खुकुलो सीमा ब्यबस्थापनका कारण अहिलेको दोश्रो लहरको संक्रमण नेपालमा बढेको हो।
धेरै जसो स्थानीय निकायका जनप्रतिनिधीहरुको ध्यान केवल पाखा पखेरामा डोजर चलाउने र मैले धेरै नै विकास गरें भन्नेमा केन्द्रित छ। समग्र विकासको लागि सबल शिक्षा र स्वास्थ्य प्रणाली हुनु पर्छ भन्नेमा कमैको ध्यान गएको देखिन्छ।
निषेधाज्ञा कोरोना संक्रमणको चेन ब्रेक गर्ने उपाय हो, तर यो मात्रै समस्याको समाधान हैन। सबैलाई थाहा छ, भारतको कोरोना संक्रमण कै कारण र खुकुलो सीमा ब्यबस्थापनका कारण अहिलेको दोश्रो लहरको संक्रमण नेपालमा बढेको हो। कोरोनाको संक्रमण रोक्न सिमा ब्यबस्थापनमा पहिलो लहरमा चुकेको सरकार दोश्रो लहरमा पनि फ़ेरी चुक्यो। पहिले गरेको गल्तिबाट पाठ सिक्ने भन्दा पनि आफ्नो बचाउमा सरकार लागेको देखिन्छ।
संकट ब्यबस्थापनमा पूर्व तयारी नगरी परेको बेला मात्र तात्ने सरकारको परम्पारा नै छ। सरकार मात्रै यसमा दोषी छैन। नेपाली समाजको समग्र सोच, चिन्तन र प्रवृति पनि त्यस्तै छ। यो अहिले मात्रै हैन, भुकम्पको बेला र नाकाबन्दीको बेला पनि देखिएको थियो। परेको बेला गरे जस्तो गर्ने वा केही काम गर्ने पनि, अरु बेला चलेकै छ वा चलि रहन्छ भनेर सोच्ने प्रवृति गलत सोच हो। यसले संकट ब्यबस्थापनमा चुनौती र समस्या थप्छ।
अरु जे भए पनि विश्वका कतिपय मुलुकहरुले आफ्ना नागरिकहरुलाई खोप दिन नसकेको अवस्थामा नेपाल सरकारले विदेशबाट खोप आयात गरी प्राथमिकतामा रहेका व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप दिने काम गरेकोमा सरकारलाई धन्यवाद दिनै पर्छ। यसका लागि भएका प्रयास र कामहरु प्रशंसनीय छन्। सकारात्मक कामको प्रशंसा र नकारात्मक कामको टिप्पणी नगर्ने हो भने काम गर्ने शैली र प्रवृतिमा सुधार आउन सक्दैन।
धेरै जसो आम नागरिकले कोरोनाको पहिलो लहर भन्दा अहिले कमै मात्रामा गम्भीर बनेको देखिन्छ। आफ्नो स्वास्थ्यको जिम्मेवारी पहिले आफ्नै हो भनेर सतर्कता अपनाउनु र सोही बमोजिम काम गर्नु भन्दा पनि सरकारले वा अरुले केही गरेनन भनेर बस्नेहरुको संख्या धेरै छ। वास्ताकिकता के हो भने नपरेसम्म केही हुँदैन, परेपछि संकट पर्छ। संकटको बेला मात्रै हैन, हरेक नागरिकले हर समय आफ्नो, आफ्नो परिवार र समाजको समेत ख्याल राख्नु नैतिक, कानूनी र सामाजिक दायित्य पनि हो।
कोरोना संक्रमित हुनेहरुलाई सहज, सरल र सुलभ रुपमा स्वास्थ्य सेवा दिने दायित्व पनि सरकार कै हो। तर, सरकार भने अब केही गर्न सकिंदैन भन्ने भाषा बोल्नु सबैको लागि दुर्भाग्य हो। नागरिक र समाज पनि केही हद सम्म गैह्र जिम्मेवार बन्नु र आफ्नो मात्रै स्वार्थ हेर्नु पनि बिचलन नै हो। यस्तो अवस्थामा सबैले आ–आफ्नो तर्फबाट ईमान्दार भएर समाज र राष्ट्र प्रति निष्ठा पूर्वक कर्तब्य पुरा गर्नु नै परम सेवा र धर्म हो।
(लेखक नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत हुनुन्छ । )
No comments:
Post a Comment