Friday, 11 February 2022

कथा- त्यो साँझ

कथा- त्यो साँझ

 

“तिमी अब घर नजाने ?” मैले अर्को पेग अर्डर गरे पछि उसले सोधी । 

मैले भनेँ “जाने हो, तर तिमी सँगै निस्कने ।” 

“म निस्कन अलि ढिला होला जस्तो छ,” उसले मुस्कुराउँदै भनी ।  

मैले प्रतिप्रश्न गरेँ, “मभन्दा छिटो जानुपर्ने बाध्यता तिम्रो छ । तिम्रो घरमा तिम्रो बुवाआमा पर्खेर बस्नुभएको छ । म त एक्लो मान्छे, मलाई न कसैले सोधखोज गर्छ न कसैले छिटो आऊ भनेर बोलाउँछ न कोही मेरो प्रतीक्षामा नै बस्छ ।” 

“त्यस्तो रहर छ हो तिमीलाई ? त्यसो भए बस्दोबस्त गर्ने कि ?” उसले सोधी । 

“नाइँ, मलाई मेरो स्वतन्त्रता नै प्यारो छ । उमेर नै कहाँ पुगेको छ र ?” मैले भनेँ । 

उसले ठट्टा गरी, “उमेर नै नपुगी तिमी कसरी पेग लगाउने भयौ ? तिमी जागिरे नाबालक हो कि के हो ?”

मैले पनि ठट्टा गरेँ, “जीवनसाथीबिनाको नाबालक । तिमीबिनाको नाबालक ।” 

मेरो यो भनाइले ऊ अलिकति गम्भीर भई । कुनै जबाफ आएन । एक टक आधी पेग बाँकी भएको गिलासतर्फ हेरिरही ।  मनले कही बोल्न खोजेजस्तो वा केही प्रतिक्रिया दिन चाहेजस्तो गरे पनि ऊ चुपचाप बसी ।  म पनि चुपचाप नै बसेँ ।

डा. बच्चु कैलाश कैनी

 

एकछिन पछि मलाई लाग्यो, अब मौनता तोड्नुपर्छ ।  “मैले तिम्रो चित्त दुखाएँ हो ? त्यसो भए मलाई माफ गर ।  मेरो उद्देश्य तिमीलाई दुःखी बनाउने हैन ।  म केवल जिस्केको थिएँ । आज अनायास मेरो मुखबाट यो कुरा निस्क्यो । आई डिडन्ट मिन इट यार ।” 

उसले पनि मौनता तोडी, “तिमी मेरो कलेजदेखिको साथी हौ । तिमीलाई मैले चिनेको धेरै भयो । मेरो वास्तविकता, चाहना र व्यवहार सबै तिमीलाई थाहा छ । म पनि तिमीलाई राम्रैसँग चिन्छु ।  त्यसैले म अबेरसम्म तिमीसँग यो टेबल सेयर गरेर बसेको छु । तिमीलाई भरपुर विश्वास पनि गर्छु । तिमीलाई थाहै छ म  घायल थिएँ र अहिले पनि छु । त्यसैले म आफूलाई सम्हाल्न र मन बहलाउन  कहिलेकाहीँ पेग लगाउने गर्छु ।” 

ऊ निकै गम्भीर भएको कुरा बुझ्न मलाई कठिन भएन, उसले राकेशसँगको धेरै वर्षदेखिको आफ्नो सम्बन्ध तोडिएको कुरा राखेको मैले प्रस्ट बुझेँ ।  मलाई पनि के भनूँ के भनूँ जस्तो भयो ।  मैले फेरि माफ मागेँ । ऊ फेरि मौन बसी । एकछिन हामी दुवै चुप बस्यौँ ।  

सम्बन्धित पोस्टहरु

कथा- यात्रा

“तिमी गम्भीर भएको खुब सुहाउँछ । यही बेला एकपटक हाँसे झन् सुहाउँछ । भावुक हुँदा पनि तिमी राम्री, हाँस्दा झन् राम्री ।” मैले उसको ध्यान अन्त मोड्ने प्रयास गरेँ । 

“ल धेरै कुरा नगर । अब निस्कने कि? म तिमीलाई छोडेर घर जान्छु ।”  उसले आजको कुरा र बसाइ अन्त्य गर्ने प्रस्ताव राखी ।  मैले भनेँ, “एकछिन यो पेग रित्त्याऊँ अनि निस्कनुपर्ला । तिमी पनि थप्ने कि ?”

“नाइँ, म यत्तिकैमा ठिक छु । अब पुग्यो मलाई । म जे छु जस्तो छु त्यसैमा ठिक छु । जीवन चलेकै छ । जागिर  खाएकै छु । दुई–चार पैसा आएकै छ । घरमा बाआमाले अगाध मायाँ गर्नुहुन्छ । तिमीजस्तो साथी पाएकै छु ।” उसको प्रत्युत्तर अलि थप व्याख्यासहित अनपेक्षित आयो ।  मैले बुझेँ ऊ थप कुरा गर्न चाहन्छे ।  

“बल्ल ठिक कुरा निस्क्यो । कति राम्रो कुरा गरेको तिमीले । त्यस्तो मान्छे किन गम्भीर भएको? त्यसमाथि तिम्रो साथी म, छेउमा नै छु र तिमीलाई साथ दिएको छु ।” मैले उसलाई अलिकति फकाएको जस्तो कुरा गरेँ ।  

“धन्यवाद तिमीलाई । म पनि खुसी छु तिम्रो साथले । तिमी छौ र जीवन चलेको छ जस्तो लाग्छ आजकल ।  तिमी छौ र  मैले मनको कुरा राख्ने साथी पाएको छु । तिमी छौ र मैले मन बहलाउने र दुःखसुखका कुरा गर्ने मान्छे पाएको छु । तिमी नै हो मलाई जाने र बुझ्ने जस्तो लाग्छ अनि तिम्रो स्वभावले पनि मलाई तिमीप्रति सकारात्मक बनाएको छ ।” मैले नसोचेको कुरा निस्क्यो उसको मुखबाट । 

उसले अझै थपी, “मित्रताको परीक्षण दुःखका बेला हुन्छ । साथीको महत्त्व पनि त्यस्तै बेला हुन्छ । समय राम्रो चलेको बेला सबै वरपर हुन्छन्, समय बिग्रेको बेला केवल आफ्ना मान्छे मात्रै वरपर हुन्छन् । मैले कठिन समय गुजार्दा  तिमी मेरो वरपर थियौ र अहिले पनि छौ । तिमीले  आफूलाई अब्बल मित्रका रूपमा आफ्नो परिचय व्यवहारमा दिएका छौ ।”

हुन पनि हो, आजकल ऊ अर्थात् विनीताले चाहेका बेला र मेरो समय निस्केका बेला मैले उसलाई साथ दिएकै छु । जुन बेलादेखि विनीता र राकेशको सम्बन्धमा उतारचढाउ आयो र सम्बन्ध टुङ्गियो त्यही बेलादेखि नै मैले उसको भावनामा चोट नपुगोस् र उसको मन अझै दुःखित नहोस् भनेर बेला–बेला भेट्ने गरेको छु । मलाई पनि लाग्छ, मेरो साथले विनीताले पनि मनका कुरा गर्ने साथी पाएकी छे । मैले पनि कुरा गर्ने साथी भेटेको छु । 

तर आजसम्म विनीताको मुखबाट यो कुरा अर्थात् मेरो प्रशंसाको कुरा निस्केको थिएन । मैले यो कुरा सोचेको पनि थिइन । कतिपय मनका कुरा अनायासै मुखबाट निस्कन्छन् ।  कति बेला हामी भावुक भएका बेला मनका कुरा खोल्छौ, कति बेला आवेगका बेला । कतिपटक खुसीको बेला हाम्रो मनका कुरा निस्कन्छन् । कुनै बेला भने पेग लगाउनुपर्छ मनका कुरा खोल्न । 

मलाई थाहा थियो, विनीता र राकेशको सम्बन्ध राकेशको कारणले बिग्रेको थियो । विनीता एकदम व्यावहारिक र सम्बन्धमा इमानदार तर राकेश भने आफ्नो स्वार्थका लागि विनीताको प्रयोग गर्दै थियो । अर्थात् आफ्नो काम बनाउनका लागि विनीताको उपयोग गर्दै थियो ऊ । विनीताको परिवार राजनीतिमा संलग्न भएको हुनाले त्यसैका लागि ऊ विनीता र उसको परिवारलाई उपयोग गर्न चाहन्थ्यो । त्यसमाथि ऊ विनीतालाई ऊ केही हैन भन्ने भावनाले हेर्थ्यो । हेपाइ प्रवृत्ति थियो राकेशमा । 

राकेश र विनीताको सम्बन्ध बराबरीको सम्बन्ध र मित्रता थिएन । जहाँ सम्बन्धमा स्वार्थ मिलेको हुन्छ त्यो सम्बन्ध दिगो हुँदैन । जुन सम्बन्धमा म ठूलो र ऊ सानो अर्थात् मनमा विभेदको  भावना आउँछ त्यो सम्बन्ध सम्बन्ध नै हैन, त्यो त केवल तुच्छ विचार हो ।  उनीहरू दुईको सम्बन्ध त्यस्तै थियो ।  त्यसैले मेरो सहानुभूति विनीतातिर थियो र मैले विनीतालाई साथ दिएको थिएँ । 

मलाई लाग्यो, मैले यो कुरा भन्नुपर्छ ।  अर्थात् विनीता असल केटी, इमानदार साथी र मेहनती कर्मचारी पनि हो । ऊ एक कर्तव्यनिष्ठ छोरी पनि हो ।  पढ्नमा अब्बल मात्रै हैन ऊ हरेक कुरामा अब्बल छे । उसको चरित्र, मन र भावनामा कुनै खोट छैन ।  

मैले ठानेँ यही बेला हो मनको कुरा खोल्ने । त्यसैले यी सबै कुरा मैले विनीतालाई भनेँ । मैले उसलाई राकेशसँगको सम्बन्धमा जे कुरा भयो अर्थात् जसरी सम्बन्ध टुट्यो त्यो ठिक भयो भन्ने कुरा गरेँ । मेरा कुराले उसका आँखाहरू रसाए । ऊ निकै भावुक बनी । म पनि भावुक बनेँ ।  

हामी दुवैले एक अर्काको अनुहारमा हेऱ्यौँ र अनायासै आँखा जुधायौँ । म जुरुक्क उठेँ, ऊ पनि आफ्नो कुर्चीबाट उठी । हामीले एकअर्कालाई अँगालोमा बाँध्यौँ । त्यसपछि हाम्रो जीवनमा त्यो साँझ मात्रै हैन पछि पनि धेरै कुराहरू भए ।

मेरो त्यो वाक्य  “जीवनसाथीबिनाको नाबालक । तिमीबिनाको नाबालक ।” ले हामी दुवैलाई आ–आफ्नो मनको कुरा राख्ने परिस्थिति बनायो अनि त्यो साँझले विनीताले मलाई र मैले विनीतालाई आफ्नो जीवनसाथीका रूपमा रोज्न चाहेको कुरा व्यक्त गर्ने अवसर दिलायो ।  त्यसपछि हामी दुवै सँगै बाँच्ने, हाँस्ने र जिउने निर्णय गर्ने मौका मिल्यो ।

https://sahityapost.com/top-news/47239/ 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...